रामनगरी अयोध्यामा बिजेपीलाई झट्का

रामनगरी अयोध्यामा बिजेपीलाई झट्का

काठमाडौं – भारतको उत्तर प्रदेशमा सम्पन्न पञ्चायत चुनावको परिणाम सार्वजनिक भएको छ। पञ्चायत चुनावमा रामनगरी अयोध्यासहित काशी र मथुरामा सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) ले ठूलो हार बेहोर्नु परेको छ।

उत्तर प्रदेशमा सम्पन्न पञ्चायत चुनावलाई आगामी विधानसभा निर्वाचनका लागि ‘लिटमस टेस्ट’ को रूपमा हेरिएको थियो। अयोध्याको ४० जिल्ला पञ्चायत सिटमध्ये बिजेपीले जम्मा आठ सिटमा जित हात पारेको छ। विपक्षी दल समाजवादी पार्टीले समर्थन गरेका २२ उम्मेदवार चुनाव जित्न सफल भएका छन्।

यसैगरी उत्तर प्रदेशकी पूर्वमुख्यमन्त्री मायावतीको पार्टी बहुजन समाजवादी पार्टी (बिएसपी) ले अयोध्यामा चार सिट जितेको छ।

यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र वाराणसीमा पनि बिजेपीको खातामा ४० मध्ये आठ सिटमात्रै गएको छ। त्यहाँ समाजवादी पार्टीले १४ र बिएसपीले पाँच सिट जितेको छ।

मथुरामा बिएसपीले १२ र अजित सिंह नेतृत्वको राष्ट्रिय लोक दलले नौ सिट जितेको छ भने बिजेपी आठ सिटमा सीमित हुनुपरेको छ।

बिजेपीका जिल्ला अध्यक्ष दिवाकर सिंह भन्छन्, ‘परिणाम निराशाजनक रह्यो। अयोध्या जिल्लाको सबै विधानसभा सिटमा बिजेपी विधायक रहेतापनि हामी ४० पञ्चायत सिटमध्ये मात्रै आठ सिट जित्न सकेका छौं।’


Leave a Reply

Your email address will not be published.