झापामा थप एकको कोरोना संक्रमणबाट मृत्यु

झापामा थप एकको कोरोना संक्रमणबाट मृत्यु

झापा – होम आइसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको केही समय नबित्दै झापामा अर्का एक व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका-३ सुरुङ्गाका ४५ वर्षीय उप्रेती थरका एक पुरुष छन्।

केही दिनअघि भारतबाट नेपाल आएका उनलाई उपचारका लागि कोशी कोभिड अस्पताल विराटनगर लगिएको थियो। उनी घर फर्कँदा नै संक्रमित भएर आएका थिए। केही दिन होम आइसोलेसनमा बसेका थिए। होम आइसोलेसनमा बसेको र संक्रमित भएको बताउने उनी पाँच दिन अघिसम्म मोटरसाइकल लिएर बजार घुमिरहेका थिए।

सिकिस्त भएपछि चार दिनअघि राति ११ बजे उनलाई उपचारका लागि एम्बुलेन्समा बिर्तामोडको बिएण्डसी अस्पताल लगिएको थियो। त्यहाँ आइसियु खाली नभएको भन्दै उनलाई विराटनगर पठाइएको थियो। उनको उपचारका क्रममा आज मृत्यु भएको हो। आज बिहान झापाको मेचीनगर-६ की ५८ वर्षीया एक महिलाको पनि होम आइसोलेसनमा नै मृत्यु भएको थियो। आज एकैदिन झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।


Leave a Reply

Your email address will not be published.