राष्ट्रियसभा उपनिर्वाचन : थापा र देवकोटाबीच टक्कर!

राष्ट्रियसभा उपनिर्वाचन : थापा र देवकोटाबीच टक्कर!

काठमाडौं
राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमाले नेता एवं गृहमन्त्री रामबहादुर थापा र डा.खिमलाल देवकोटाबीच प्रतिस्पर्धा हुने भएको छ। एमालेले गहमन्त्री थापालाई उम्मेदवार बनाएको छ भने विपक्षी गठबन्धनले देवकोटालाई उम्मेदवार बनाएको हो।

देवकोटा पनि एमालेनिकट बुद्धिजीवी एवं संघीयताविद् हुन्। माओवादी केन्द्र, नेपाली कांग्रेस, नेपाल–खनाल निकट एमाले र जसपाबीचको छलफलपछि राष्ट्रियसभा उपनिर्वाचनका लागि देवकोटा उम्मेदवार बनेका हुन्।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले राष्ट्रियसभा उपनिर्वाचनमा साझा उम्मेदवार दिने दलहरूबीच सैद्धान्तिक सहमति भएको जानकारी दिए।

‘साझा उम्मेदवार दिने विषयमा कांग्रेससँग अस्ति नै सैद्धान्तिक सहमति भएको हो,’ पोखरेलले भने,‘सम्भवतः अब अर्को उम्मेदवार हुँदैनन् होला।’

पार्टी परित्याग गरी एमालेतर्फ लागेपछि माओवादी केन्द्रले थापालाई राष्ट्रियसभा सदस्यबाट पदमुक्त गरेको थियो। रिक्त पदका लागि एमालेले थापालाई नै उम्मेदवार बनाएको छ। थापा पदमुक्त भएपछि जेठ ६ गते राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदैछ।


Leave a Reply

Your email address will not be published.