बुटवल कोरोना अस्पतालमा अक्सिजन अभाव
बुटवल – बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले अक्सिजन सक्किने अवस्था आएपछि हारगुहार गरेको छ। अस्पतालमा केही घण्टाका लागि पुग्ने अक्सिजन मात्र रहेको र अक्सिजन आइनपुगे उपचार सेवा प्रभावित हुने अस्पताल प्रशासनले जनाएको छ। अस्पतालले बुटवल कोरोना विशेष अस्पताल सञ्चालन गरिरहेको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बुधबार रातिदेखि अक्सिजनका लागि पहल गरिएको भएपनि पत्ता लागिनसकेको बताए। दैनिक १५० सिलिन्डरले काम चल्दै आएकोमा अहिले माग बढेर ५०० सिलिन्डर पुग्दा सप्लायर्सले आपूर्ति गर्न नसकेको उनले बताए।
अस्पतालमा बुधबार राति ५० र बिहान ५० सिलिन्डर अक्सिजन ल्याइएको र उक्त अक्सिजन १/२ घण्टालाइ पुग्ने अस्पतालले जनाएको छ।
अस्पतालले भेन्टिलेटर, आइसियु, अक्सिजन बेड, इमरजेन्सी बेड र भुइँमासमेत बिरामी राखि अक्सिजनको सहायताले उपचार गराइरहेको छ।
खनालले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी र लुम्बिनी प्रदेशका स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिवलाईसमेत अस्पतालको अक्सिजनको अवस्थाबारे जानकारी गराइएको बताए।
उक्त कोरोना अस्पताल लुम्बिनी प्रदेश सरकारको व्यवस्थापनमा सञ्चालनमा रहेको छ।