झापामा एकैदिन सात कोरोना संक्रमितको मृत्यु

झापामा एकैदिन सात कोरोना संक्रमितको मृत्यु

झापा – कोरोना संक्रमणका कारण झापामा बुधबारमात्रै सातजनाको मृत्यु भएको छ। एकैदिन सातजनाको मृत्यु भएपछि झापामा थप त्रास उत्पन्न भएको छ। कोरानाको दोस्रो लहर सुरु भएपछि झापामा मृत्यु हुनेको संख्या १४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

एकैदिन सातजनाको मृत्यु भएपछि स्वास्थ्य संकट उत्पन्न भएको स्वास्थ्य क्षेत्रका व्यक्तिहरुको मत छ। बुधबार मृत्यु हुनेमा मेचीनगर नगरपालिका-६ की ५८ वर्षीया महिला, मेचीनगर-६ कै ४८ वर्षीय पुरुष, भद्रपुर नगरपालिका-३ का ७० वर्षीय पुरुष, दमक नगरपालिका-१ का ५६ वर्षीय पुरुष, दमक-२ कै ६९ वर्षीय पुरुष, बिर्तामोड नगरपालिका-५ का ७३ वर्षीय महिला र कनकाई नगरपालिका-२ का ४५ वर्षीय पुरुष छन्।

झापामा बुधबार १७८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या ८९८ पुगेको छ। बुधबार सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा ४१ जना, भद्रपुरमा ३४ जना, दमकमा ३२ जना संक्रमित थपिएका छन्।

त्यस्तै कनकाईमा १४ जना, मेचीनगरमा १० जना, अर्जुनधारा र कमलामा ९/९ जना, गौरादहमा ६ जना, झापा गाउँपालिकामा पाँचजना, शिवसताक्षी, बुद्धशान्ति र कचनकवलमा तीन/तीनजना, हल्दिबारीमा दुईजना र ठेगाना नखुलेका सातजना रहेका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ।


Leave a Reply

Your email address will not be published.