निर्लज्ज सरकार!
प्रधानमन्त्री केपी ओलीले वैशाख २५ मा सिएनएनसँगको अन्तर्वार्तामा कोरोना महामारीको दोस्रो लहर अहिले नियन्त्रणमा रहेको दाबी गर्दै ‘सिचुएसन राइट नाउ इज अन्डर कन्ट्रोल’ भनिदिए। उनले त्यति भनेको दिन ८ हजार २ सय ५७ संक्रमित र ५३ जनाको मृत्यु भएको थियो।
तर, लगत्तै एक दिनपछि २७ गते बेलायती पत्रिका गार्जियनको अनलाइन संस्करणमा आलेख प्रकाशन गरी ओलीले ‘दिनहुँ बढिरहेको कोरोना संक्रमितको संख्याले नेपालको समग्र स्वास्थ्य सेवा प्रणालीमा गम्भीर चुनौती खडा गरेको र बिरामीलाई आवश्यकताअनुसार अस्पतालमा बेड उपलब्ध गराउन असाध्यै कठिन भएको’ भन्दै विश्व समुदायसँग सहयोगको याचना गरे।
एक दिनअघि नियन्त्रणमा भएको कोरोना एकै दिनमा कसरी नियन्त्रण बाहिर गयो? यो ओलीले नै जानुन्।