किन महँगी मारले थिचिइरहन्छन् नेपालजस्ता देश?

किन महँगी मारले थिचिइरहन्छन् नेपालजस्ता देश?

केही दिनअघि नेपाल आयल निगमले खाना पकाउने ग्यासदेखि सबै पेट्रोलियम पदार्थको मूल्य बढायो। यो पेट्रोलियममा भएको ‘चक्रीय’ वृद्धिपछि विद्यार्थी संगठनहरूले त्यसको विरोध गरे। कसैले विज्ञप्ति निकाले कसैले ‘मसाल’ नै बालेर विरोध गरे।

तर, आममानिसले त्यसको प्रतिक्रियामा भने– ग्यास-तेलमा त मूल्य बढिरहन्छ र विद्यार्थी संगठनहरूले त्यसको विरोध गरिरहन्छन् तर महिनौंदेखि नूनतेलदेखि चामल अनि तरकारीको भाउ निकै आकासिएको छ। यसबारे कोही किन बोल्दैनन्?

कसरी भइरहेको छ मूल्यवृद्धि?

अघिल्लो महिना नेपाल राष्ट्र बैंकले देशको आर्थिक तथा वित्तीय स्थितिबारे प्रकाशित गरेको एउटा नियमित प्रतिवेदनका अनुसार अघिल्लो वर्षको तुलनामा गत भदौमा घ्यु तथा तेलमा २८.९१ प्रतिशत, माछामासुमा १०.६६ प्रतिशत गैरमदिराजन्य पेय पदार्थ १०.२५ प्रतिशत, सुर्तीजन्य वस्तु ९.९९ प्रतिशत र यातायात क्षेत्रमा ९.९२ प्रतिशत मूल्यवृद्धि भएको छ।

यो प्रतिवेदनका अनुसार खाद्य तथा पेय पदार्थमा २.५७ प्रतिशत महँगी छ। समग्रमा राष्ट्र बैंकले महँगी दर ३.४९ प्रतिशत रहेको जनाएको छ। जबकि अघिल्लो वर्ष यही समयमा महँगीको त्यो दर ४.५२ प्रतिशत थियो।

राष्ट्र बैंकले एउटा मूल्यवृद्धिको एउटा ‌औसत विन्दुमा सीमित गरे पनि अहिले बजार भाउ भने अनियन्त्रित नै छ।

‘हाम्रो देश आयातमा निर्भर भएको देश हो। छिमेकी भारतमा बजार भाउ केही तलमाथि भएमात्रै पनि त्यसको सिधा असर हाम्रो नेपाली बजारमा परिहाल्छ,’ राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल भन्छन्, ‘तर विश्वभरि सप्लाइ चेनमा देखिएको समस्या, इन्धनको मूल्यवृद्धि जस्ता कारण पनि यहाँको बजारमा प्रभाव पर्छ।’

नेपालमा महँगीको हावा : रैथाने कारण कि विश्वबजारको प्रभाव?

अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. निरज पौड्याल काठमाडौं विश्वविद्यालका प्रध्यापक हुन्। उनले विश्वअर्थतन्त्रलाई विभिन्न कोणबाट अध्ययन गर्दै आएका छन्।

पौड्याल भन्छन्,  ‘वास्तविक मूल्यवृद्धिमा त कुनै एक देशको मात्रै हात हुँदैन। यो बेला कुनै न कुनै रूपमा विश्वव्यापी कारणहरूले मूल्यवृद्धि भएको छ। यसमा केही रैथाने कारणहरू पनि जोडिएका हुनसक्छन्।’

कहिलेकाहीँ नेपाली बजार अलिअलि बहकिन्छ, भारतमा कुनै चीजको मूल्य बढेको समाचारहरू आउँछन्। यहाँका स्थानीय बजारमा ती सामानको भाउ रातारात बढिदिन्छ।

नुन, तेल, चामल होस् वा तरकारीहरू वा माछामासु। लत्ताकपडा होस् कि दैनिक जीवनमा चाहिने अरू सामान। साँझ किन्दा एउटा भाउ हुन्छ, बिहान त अर्कै भइसक्छ।

कहिले वर्षाले तरकारी नासिन्छ अनि त्यसको भाउ बढ्छ। कहीँ कतै बाटो थुनिन्छ। अनि बजारमा सामानको भाउ बढ्छ। कहिले कुनै चीजको अभाव हुन्छ अनि भाउ बढ्छ। अर्थ बजारको एउटा सामान्य नियम नै हो कि, बजारमा माग बढ्छ। सामान थोरै हुन्छ अनि भाउ बढ्छ। यी रैथाने कारणहरू हुन्।

र, त्यसपछि सडकहरू फेरि तातिन्छन् ‘सरकारले बजार भाउ रोक्न सकेन।’ कुनै बेला राजनीतिक परिस्थितिले बजार भाउलाई तलमाथि पार्नसक्छ। महँगी यसरी कहिलेकाहिँ राजनीतिक हतियार पनि बन्नपुग्छ।

के मूल्यवृद्धिलाई सरकारले नियन्त्रण गर्नसक्छ?

तर, समग्रमा मूल्यवृद्धि सधैं सरकारको हातमा हुँदैन।

डा. पौड्याल भन्छन् ‘कृत्रिम अभाव गराएर सृजना गरिएको मूल्यवृद्धि वा केही रैथाने कारणहरूलाई सरकारले नियन्त्रण गर्नसक्छ। तर, विश्वव्यापी रूपमा परिरहेको प्रभावलाई नियन्त्रण गर्न सरकारको एकल प्रयासले मात्रै हुँदैन।’

एकाध सामानहरूमा केही रूपैयाँ बढ्नुमात्रै मूल्यवृद्धि होइन, त्यसको अवधिले त्यसलाई फरक पार्छ। अर्थात्, लामो समयसम्म हुने वृद्धिको चक्र नै मूल्यवृद्धि हो।

‘सरकारले गर्नसक्ने भनेको वृद्धिको तह कतिसम्म राख्ने भन्ने हो। तर, साँच्चिकै मूल्यवृद्धिलाई त कुनै एउटा देशको सरकारले मात्रै नियन्त्रण गर्न सक्दैन। यो उसको मात्रै हातमा हुँदैन,’ उनी भन्छन्, ‘सरकारले अलिकति करमा घटाउन सक्छ। तर, त्यसले पनि थोरैमात्र प्रभाव पार्छ।’

उनका अनुसार अहिलेको मूल्यवृद्धि विश्वकै समस्या हो। नेपालमात्रै होइन हरेक देशका नागरिकले मूल्यवृद्धिको चर्को मूल्य चुकाइरहेका छन्।

‘महामारीका कारण अनेक क्षेत्रमा समस्या सिर्जना भएको छ। कतै सप्लाई चेन बिग्रेको छ। एक ठाउँमा यसको रोकावटले विश्वमा जताततै प्रभाव पर्नसक्छ,’ उनी भन्छन्, ‘कतै इन्धनको समस्या छ। इन्धनको मूल्य बढेको छ।’

उनका अनुसार अर्को एउटा मुख्य कारण भनेको ठूला देशहरूले हठात् अपनाएको मौद्रिक नीति हो। अर्थात्, मुद्रा आपूर्तिको वृद्धिले बजार मूल्यमा असर पार्छ।

‘ठूला देशहरूले धेरै पैसा छापे र त्यसको प्रभाव विश्वभरका उपभोक्ताले चर्को मूल्य चुकाउनुपरिरहेको छ,’ पौड्याल भन्छन्, ‘हाम्रोजस्तो सानो अर्थतन्त्र भएको देशको भूमिका त्यसमा एकदमै न्यून हुन्छ। यो ठूला देशहरूले अपनाउने मौद्रिक नीतिमा निर्भर गर्छ।’

मूल्यवृद्धिको सामना कसरी गर्ने?

काठमाडौंमा डेरा गरी बस्ने सल्यानका रविन केसीले केही महिना अघिसम्म लगभग २ हजारमै सामान्य भान्सा खर्च चलाउँथे। आज ४ हजारले पनि पुग्दैन।

‘अब त चार हजारले पनि नपुग्ने भएको छ। इन्कम नै नहुनेलाई त झन् कस्तो गाह्रो,’ उनी भन्छन्, ‘त्यसैले अब त खर्च गर्ने ठाउँ (शीर्षक) पनि कटौती गर्न थालेको छु।’

पाँचथरका मनिष खड्का अनि दैलेखका धर्मेन्द्र शाहीले भोगिरहेको पीडा पनि खासै फरक छैन। बरू उनीहरूलाई कहिलेकाहीँ त लाग्छ– केही छाक भोकै बसौं। केही रात भोकै सुतौं।

‘हरेक दिन कुनै न कुनै चीजमा भाउ बढिरहेको हुन्छ। दिनदिनै मूल्य बढिरहँदा त खर्चै म्यानेज गर्न गाह्रो हुन्छ,’ उनीहरू भन्छन्, ‘त्यसैले अब हामी पनि जथाभावी खर्च गर्न छाडेका छौं। महँगा सामानको विकल्पमा सस्ता सामान किन्ने। त्यसैबाट काम चलाउने।’

अर्थशास्त्री डा. पौड्यालका अनुसार मूल्यवृद्धिलाई सामना गर्ने एउटा बलियो तरिका भनेकै रविन, धर्मेन्द्र अनि मनिषहरूले जस्तै वस्तुको विकल्प खोज्ने हो।

‘जस्तो कि एकथरि चामलको मूल्य धेरै छ भने अलि अर्कोथरि नै खाने। प्याजको भाउ बढ्छ भने थोरै खाने बरू त्यसको विकल्पहरू खोज्ने,’ डा. पौड्याल भन्छन्, ‘कन्जुमर लिटरेसी अर्थात् उपभोक्ता शिक्षा भनेको यही हो। सरकारले होइन, उपभोक्ताले चाहे महँगीलाई नियन्त्रण गर्नसक्छन्। उपभोक्ताले सामान नकिने त व्यापारीले भाउ सस्तो बनाइहाल्छ नि।’

त्यसैले पौड्यालको भनाइ छ- ‘महँगीसँग लड्नका लागि उपभोक्ता आफैंमा एउटा ठूलो हतियार हो। सरकारले त सुन्दा पनि सुन्दैन र त्यो उसको हातमा पनि हुँदैन।’

‘यो सरकारमात्रै होइन, उपभोक्ता आफैंमा निर्भर हुने कुरा हो,’ उनी भन्छन्,  ‘विश्वभरिको यो समस्या कुनै पनि एउटा देशले वा सरकार एक्लैले नियन्त्रण गर्न त असम्भव हुन्छ।’ 

मूल्यवृद्धिका विश्वव्यापी कारण

केही साताअघि अमेरिकाको एउटा व्यस्त बन्दरगाहामा लाखौं टन सामानले भरिएका हजारौं जहाजको लामो ताँती थियो।

एकातिर हप्तौंदेखि ती जहाज लाखौं टन सामानले भरिएका कन्टेनर उतार्न पर्खिरहेका थिए। अर्कोतिर, अमेरिकाभरि अत्यावश्यक सामानहरूको अभाव चुलिइरहेको थियो। यो अभाव अहिले अमेरिकाले मात्रै होइन, हरेक देशले भोगिरहेका छन्। र, हरेक घरका भान्साहरू महँगीको मारले सेकिन थालेका छन्।

अन्तर्राष्ट्रिय कम्पनी तथा व्यापार एसाेसिएसनले विश्व बजारको यो अवस्था सुध्रिन अझै केही वर्ष लाग्ने चेतावनी दिइरहेका छन्। यति बेला पूरै विश्व नै महँगी र अभावले घेरिएको छ।

डा. पौड्याल भन्छन्, ‘संसारको कुनै एक ठाउँमा बजार प्रणालीका कुनै पनि पाटो बिथोलियो भने त्यसको प्रभाव सारा विश्वले चुकाउनुपर्छ। नेपालजस्ता आयातमा निर्भर देशहरूलाई झन् त्यसको प्रभाव चाँडै पर्छ।’

यस्तो किन भइरहेको छ?

विश्वबजारमा समानको अभाव हुनुको प्रभाव ‘महँगी’ बढ्नु हो। नियमित व्यापारीहरूले सामान लुकाउनु, अनुगमन र कारबाहीमा कमी, व्यापारीको कार्टेलिङ (सामान कब्जा) अनि कुनै मौका छोपेर वस्तुको भाउ बढाउनु अभाव र महँगीका ‘रैथाने’ कारण हुन्।

यो संकटका केही विश्वव्यापी कारणहरू छन् जसले हाम्रो दैनिक जीवन र भान्सालाई महँगो बनाइरहेका छन्। बिबिसीले विश्वभरि किन महँगी बढिरहेको छ? भन्नेबारे केही कारणहरूलाई विश्लेषण गरेको छ।

जस्तो कि आपूर्ति चक्रको अनियमिता।

स्टेसी रेसगन बर्नस्टिन रिसर्चका प्रबन्ध सञ्चालक अनि वरिष्ठ विश्लेषक हुन्। अमेरिकी सेमिकन्डक्टर बजारमाथि निरन्तर अध्ययन गरिरहेका उनका अनुसार अहिले आपूर्ति चक्र विश्वभरि नै बिथोलिएको छ। उत्पादनका लागि आवश्यक कच्चा पदार्थहरूको अभाव छ र त्यसले गर्दा बजारमा नयाँ उत्पादन आउन सकेको छैन। जसका कारण भइरहेका सामानहरूको मूल्य बढिरहेको छ।

महमारीका कारण लामो समयसम्म मानिसहरू घरभित्रै थुनिए। मानिसको काम गर्ने शैली फेरियो। भइरहेका र नयाँ वस्तु, नयाँ प्रविधिको पनि मागहरू हुन थाले। जसलाई भइरहेको आपूर्ति चक्रले धान्न सकेन।

‘अभाव र महँगीको प्रकृति विश्वभरि नै फरक फरक देखिएको छ,’ उनी भन्छन्, ‘कुनै देशमा खाद्यान्न अभाव छ। कहीँकतै दैनिक अत्यावश्यक सामानको अभाव छ। कतै प्रविधिका सामानहरू छैनन्। बजारमा सिर्जना भएको यो अभावको सिधा असर महँगी बढिरहेको छ।’

मजदुर अभाव

डाक्टर नेला रिचर्डसन एडिपी रिसर्च इन्स्टिच्युटकी प्रमुख अर्थशास्त्री हुन्। उनको अध्ययन भन्छ– सारा विश्वका मानिस अहिले सामान अभाव र महँगीले पिरोलिइरहेका छन्।

‘महामारीका बेला खाद्य बजारमा सीमित सामान थियो। थोरै सामान थिए। व्यापारीहरूले पनि थोरैमात्रै सामान स्टक राखे। विश्वका धेरै देश लगभग खुला हुन थाले। लकडाउन खुल्दै गयो र मानिस घरबाहिर निस्किन थाले। मानिसहरूको माग बढ्न थाल्यो,’ उनी भन्छिन्, ‘तर, अब उत्पादनदेखि लिएर निकासी-पैठारीका लागिसमेत कामदारको अभाव छ। हरेक कुराका लागि कामदारहरूको अभाव भएपछि उत्पादन र आपूर्तिमा त्यत्तिकै समस्या निम्तिन्छ।’

उनका अनुसार महामारीका कारण धेरै मानिसले काम छाडे। जस्तो कि अमेरिका अनि भारत र नेपालमै पनि धेरै मानिसले काम छाडे। कतिले स्वेच्छिक अवकाश लिए। कति अझै काममा फर्किसकेका छैनन्।

‘काम वा रोजगारी नभएको होइन। रोजगारी छ। बेरोजगार पनि छन् तर कतिपय ठाउँमा दक्ष कामदार चाहिन्छ। महामारीका कारण काम छाडेका दक्ष कामदार पाउन अब फेरि नयाँका लागि दक्षता अनि अनुभवको आवश्यकता पर्छ। तर, त्यसका लागि समय लाग्छ,’ उनी भन्छिन्, ‘अभाव अहिले छ तर त्यसको आपूर्ति पनि अहिले नै गर्नुपरेको छ। समस्या यहीँनेर भएको हो।’

जलवायु परिवर्तन र उत्पादन

करिब दुई वर्ष सारा विश्व महामारीले थलियो। त्यसबाहेक विश्वमा जलवायु परिवर्तनका धेरै डरलाग्दा असरहरू पनि देखिए। धेरै देशले त्यस्तो अप्रत्यासित विपद् भोग्नुपर्‌यो। नेपाल पनि त्यसबाट अछुतो रहन सकेन। अनपेक्षित र अकल्पनीय वर्षका लागि भारतमा वृहत परिमाणामा तरकारीको क्षति भयो। अमेरिकामा आँधी र तुफानका कारण कपास खेती नष्ट भयो। ब्राजिलमा धेरै बालीनाली हिउँको शिकार भए। नेपालमै पनि वर्षाका कारण बाढी र पहिरोले अर्बौंको धानबाली नष्ट गरिदियो। कयौंको ज्यान पनि लियो।‌‌

जोसे सेटी अन्तर्राष्ट्रिय कफी अर्गनाइजेसनका कार्यकारी निर्देशक हुन्।

‘१८४० को दशकमा ब्राजिल विश्वकै सबैभन्दा ठूलो कफी उत्पादक थियो। र, लगभग विश्वमा खपत हुने धेरै कफी ब्राजिलकै हुन्थ्यो। गत वर्ष धेरै कफी उत्पादन हुने मुख्य ठाउँमै भयंकर खडेरी पर्‌यो। ३० प्रतिशतभन्दा धेरै बाली नष्ट भयो,’ उनी भन्छन्, ‘त्यसको असर विश्वभरि कफीको मूल्यवृद्धि भयो। र, यसपालि फेरि हिमपातले स्थिति अझ बिगारीदियो।’

उनका अनुसार यस्तै कारण अझै केही वर्ष यस्ता उपभोग्य सामग्रीहरूको मूल्यवृद्धि अझै रोक्न सकिन्न।

ढुवानी प्रणालीमा बढ्दो दबाब

एलन मेक्किनन् ह्यामबर्गस्थित कुइने लजिस्टिक युनिभर्सिटीका लजिस्टिक्स प्रध्यापक हुन्। उत्पादन भएको सामान एक ठाउँबाट अर्को ठाउँमा पुर्‌याउने तरिका र खासगरी ढुवानी उद्योगमा उनले विशेष दक्खल राख्छन्।

विश्वमा अधिकांश व्यापार समुद्री मार्गबाटै हुन्छ। र, त्यसको एउटा महत्वपूर्ण कडी हो मालबाहक जहाज। जसले लाखौं टन सामान एक ठाउँबाट अर्को ठाउँमा पुर्‌याउँछन्।

उनका अनुसार विश्वमा करिब ८० प्रतिशत सामान ढुवानी समुद्री मार्गबाट जहाजले नै गर्छन् तर त्यसलाई उतार्ने (अफलोड) गर्नका लागि विकल्पहरू एकदमै कम छन्। विश्वका सबै बन्दरगाहहरूमा यति ठूला जहाजबाट सामानहरू झार्ने क्षमता छैन।

जो बन्दरगाहसँग यस्तो क्षमता छ ती निकै व्यस्त छन्। ‘हब’ भनिने ती बन्दरगाहमा लाखौं टन सामान भरिएका  ती विशाल कन्टेनरहरू बोकेर जहाज आउने जाने गरिरहन्छन्। चीनको बन्दरगाहबाट सामान अमेरिका वा युरोपको बन्दरगाह पुग्छन्। अनि फेरि त्यहाँबाट अलग-अलग ठाउँका साना-साना बन्दरगाहरूमा पठाइन्छ।

यसरी व्यापार सरासर चल्नका लागि यस्ता हब बन्दरगाहरूमा काम निकै छिटो छरितो र एकदमै कुशलतापूर्वक चल्न जरुरी हुन्छ। र, महामारी अघिसम्म यसमा कुनै समस्या थिएन।

अमेरिकाका त्यस्ता हब बन्दरगाहरूमा एउटा पनि जहाज सामान झार्न वा चढाउनका लागि पर्खिनुपर्ने अवस्था थिएन। तर, पछिल्ला केही महिनायता सयौं त्यस्ता जहाजहरू लाममा देखिन्छन्। जो सामान उर्तान पालो पर्खिरहेका हुन्छन्। त्यसमा कयौं ठूला ‘मेगा शिप’ हरू देखिन्छन्।

‘महामारीका बेला चीन तथा अमेरिकाले कयौं प्रकारका प्रतिबन्धहरू लगाए। सामान लिएर जहाजहरू ठाउँसम्म पुगे पनि त्यसलाई उतार्नका लागि धेरै समय लाग्यो,’ उनी भन्छन्, ‘अर्कोतिर सडक मार्ग भएर हुने आपूर्ति चेनलाई हेर्ने हो भने त्यहाँ मजदुरहरूको कमी छ। कतै ड्राइभरहरू छैनन्, कतै गौदाममा कर्मचारी छैनन्। यी थुप्रै कारणहरू छन् जसले विश्वमै सामान आपूर्तिमा कमी आइरहेको छ। र, त्यसले अन्तर्राष्ट्रिय बजार नै प्रभावित भएको छ।’

कोरोना महामारीले जसरी मानव जीवन मासिरहेको छ, त्यसैगरी त्यसको प्रभाव उत्पादनमा पनि निकै गहिरो भयो। विश्व तापमान वृद्धि र जलवायु परिवर्तनजस्ता विपदहरूले बालीनाली निकै बर्बाद भयो।

र, यहीबेला विश्वबजारमा माग अचानक बढ्यो। त्यसले विश्वभरि नै आपूर्ति व्यवस्थालाई निकै तनावपूर्ण स्थितिमा पुर्‌याइदियो।

आपूर्तिको पूरै विश्वव्यापी प्रणाली नै खलबलियो। बन्दरगाहाहरूमा सामानले भरिएका जहाजहरू लामो ताँतीमा अड्किएका छन्। जसले ठूला उत्पादक कम्पनीहरूलाई उत्पादन र निर्यातमा थप समस्या कडा गरिदियो।

स्वास्थ्यको डर अनि कामदारहरूको अभावले त्यसलाई झनै अस्तव्यस्ता बनाइदिएको छ।

(याे समाचारमा उल्लेख गरिएका केही तथ्यहरू बिबिसीमा प्रकाशित सामग्रीबाट लिइएको हाे।)


Leave a Reply

Your email address will not be published.