तीव्र गतिमा पग्लिरहेका नेपालका हिमनदीहरू : दक्षिण एशियालाई ‘धेरै खतरा’

तीव्र गतिमा पग्लिरहेका नेपालका हिमनदीहरू  :  दक्षिण एशियालाई ‘धेरै खतरा’

पृथ्वीमा बढिरहेको तापक्रमले हिउँ पग्लिने क्रम बढिरहेकोवैज्ञानिकहरूले चेतावनी दिइरहेका बेला एउटा नयाँ अध्ययनले नेपाल, भारत र भुटान अनि पाकिस्तानसहित एशियाका हिमालमा हिउँ अनि हिमनदीहरू १० गुणाले पग्लिरहेको देखाएको छ।

त्यो अध्ययनका अनुसार बितेको ४० वर्षमा निकै अप्रत्यासितरूपमा हिमनदीहरू पग्लिरहेका छन्। खासगरी अघिल्लो ७ शताब्दीभन्दा बितेको ४० वर्षमा हिउँ पग्लिने दर १० गुणा बढी छ।

अनुसन्धानकर्ताहरूका अनुसार यो नेपाल भारत र भुटानसहित दक्षिण एशियाका करोडौं मानिसको जीवनमाथि नजिकिरहेको एउटा भयंकर संकेत हो। यसले जुनसुकै समयमा  ठूलो हिमपहिरो, बाढी र अन्य क्षति निम्तयाउन सक्छ। र, यो मानव जीवन र कृषिका लागि धेरै खतरनाक सुरूवात पनि हो।

अविछिन्न र तीव्र रूपमा पग्लिरहेका हिमश्रृङ्खलाहरू र हिमनदीको पानीले समुद्र सतह नसोचेकै रूपमा बढाउन सक्छ। जसरी हिमालय क्षेत्रमा हिमनदीहरू बढिरहेका छन् त्यो पूरै विश्वका लागि एउटा खतराको ‘बाढी’ पनि हो।

‘सायद कसैले सोचेको भन्दा पनि एकदमै तीव्रगतिमा पृथ्वीको यो भाग परिवर्तन हुँदैछ’ लिड्स विश्वविद्यालयका हिमनदी विज्ञ तथा वैज्ञानिक डा. जोनाथन क्यारिभिकले भनेका छन्- ‘हिमालयहरू साँच्चिकै छिटो-छिटो पग्लिरहेका छैनन्, बरू यिनीहरू झन् छिटो-छिटो पग्लिरहेका छन् र, नराम्रो संकेत लिएर हिमालय अनि हिमनदीहरू परिवर्तन भइरहेका छन्।

उनी सोमबार एउटा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएको हिमनदी सम्बन्धि एउटा नयाँ अध्ययनका एकजना सोधकर्ता पनि हुन्।

वैज्ञानिकहरूले न्यूजील्यण्ड, ग्रीनल्याण्ड तथा प्याटागोनियालगायत विश्वका अरू पनि धेरै ठूला हिमनदीहरूको अध्ययन गरिसकेका छन्। तर, हिन्दकुश हिमालय क्षेत्र (अफगानिस्तानदेखि नेपालसम्म)का हिमनदीहरूमा जति परिवर्तन अरू क्षेत्रमा देखिएको छैन।

यो अध्ययनमा त्यसको ठ्याक्कै कारण त सोधकर्ताहरूले उल्लेख गरेका छैनन् तर यो क्षेत्रमा भइरहेको जलवायु परिवर्तन र दक्षिण एशियामा फेरिइरहेको मनसुनको प्रभावले पनि केही भूमिका खेल्नसक्ने आकलन भने गरेका छन्।

र, वैज्ञानिकहरू एउटा के चाहिँ निष्कर्षमा सहमत छन् भने, विश्वमा बढ्दै गइरहेको तामक्रमका कारण हिउँ नाशिने क्रम बढेको छ। यो खानीजन्य इन्धनको प्रयोग र विश्वमा बढिरहेको हरितगृह ग्याँसको प्रभाव पनि हो। र, विश्वमा यसरि तापक्रम बढ्नुको मुख्य कारण मानिसकै क्रियाकलापले गर्दा हो भन्ने कुरा यसअघि पनि धेरै खोज अनुसन्धानहरूले देखाइसकेका छन्।

अघिल्लो महिना संयुक्त राष्ट्रसंघले जलवायु सम्मेलनमा विभिन्न देशका सरकार प्रमुखहरूलाई प्रस्तुत गरेको एउटा प्रतिवेदनमा पनि भनिएको थियो-  ‘९० को दशकदेखि हिमालय र हिउँहरूमा जसरी परिवर्तन देखा परिरहेको छ अर्थात् जसरी विश्वमा तापक्रम बढिरहेको छ यसको पछाडि एउटा मुख्य कारण मानिसहरूकै क्रियाकलपको कारण हो।

यो नयाँ अध्ययनका लागि सोधकर्ता डा. क्यारिभिक र अनुसन्धानमा संलग्न उनका साथीहरूले यो हिमालय क्षेत्रका करिब १५ हजार स्टाटेलाइट तस्विरहरूको अध्ययन गरेका थिए। त्यसमा हिमनदीहरू अनि टुक्रिरहेका हिमश्रृङ्खलाका तस्विरहरू थिए, जो विस्तारै हिमनदी र हिउँका चट्टानबाट अलग भइरहेका छन्। त्यसमा उनीहरूले ती हिउँका टुक्राहरू र हिमनदीको सुरूवाती स्थानको समेत अध्ययन गरेका छन्, जो योभन्दा अघिल्लो शताब्दीमा थिए।

त्यसपछि उनीहरूले अहिले ढाकिएको हिँउ र ४०० देखि ७०० वर्षअघि हिँउदमा हुने हिउँसँग त्यसको तुलना गरे। ‘हिउँको छोटो युग’ अर्थात् लिटिल आइस एज भनिने यो ४०० देखि ७०० वर्षको बीचमा थुप्रै हिउँ गायब भएको छ। ३९० देखि ५८६ घनकिलोमिटर हिउँ पग्लियो भने विश्वव्यापी रूपमा समुद्रको जलस्तर करिब ०.९२ देखि १.३८ मिलिमिटरसम्म बढ्नसक्छ।  

तातिरहेका हिमालहरू

अघिल्लो महिना प्रकाशित एउटा अध्ययन प्रतिवेदनले कसरी हाम्रा हिमालहरू तातिइरहेका छन् भन्ने देखाएको थियो। गत नोभेम्बरको अन्त्यतिर एशिया क्षेत्रमा पर्यावरणसम्बन्धि समाचार प्रकाशित गर्ने ‘द थर्ड पोल’ले लेखेको थियो- ‘२०२०को अक्टोबर १३ र २०२१को जनवरी २२ बीचमा हिउँले ढाकिएका क्षेत्रफल ११ प्रतिशतसम्म घटेको देखियो। यसले हिउँदसम्म पनि हिमनदीहरू पग्लने क्रम उल्लेखनीय रूपमा जारी रहने गरेको हुन सक्ने संकेत गर्छ।’

‘रिमोट सेन्सिङ’ जर्नलमा प्रकाशित भएको त्यो अध्ययन प्रतिवेदनले सगरमाथाजस्ता हिमालय क्षेत्रहरूमा कसरी तापक्रम बढिरहेको छ भनेर देखाएको थियो।

प्रतिवेदनका अनुसार करिब ५ हजार ३६४ मिटर उचाईंमा रहेको सगरमाथा आधार शिविरमा पछिल्ला केही दशकहरूमा न्यानो बढ्दै गइरहेको छ। त्यो प्रतिवेदनले देखाएको अध्ययनअनुसार २०२१को १२ जनवरीमा सगरमाथा आधार सिविरमा अधिकतम दैनिक तापक्रम ४.९ डिग्री सेल्सियस थियो। अर्कोदिन ७.१ डिग्री सेल्सियससम्म पुग्यो र त्यसपछि फेरि ६.३ डिग्री सेल्सियस रेकर्ड गरियो। यो त्यही विन्दु हो जहाँ १९५०-२०१८ सम्मका हिउँदहरूमा सबैभन्दा न्यानो भएको दिन तापक्रम २०१८को जनवरी ११मा ४.६ डिग्री सेल्सियस थियो। सामान्यतः हिउँदमा त्यहाँ पानी जम्ने तापक्रम (शून्य डिग्री सेल्सियस)भन्दा कम हुने गर्दछ।

जोखिमहरू

युटाह विश्वविद्यालयमा भूगोलकी प्रध्यापक सुमेर रूपरका अनुसार यो अनुसन्धानले आगामी शताब्दीमा समुद्रमा जलस्तर कतिसम्म पुग्नसक्छ भन्ने पूर्वानुमान गर्न सजिलो हुने बताइन्। ‘यो नयाँ अध्ययन यसअघि गरिएका कैयौं प्रयासहरूभन्दा अलि फरक छ। ती हिमनदीहरूको परिवर्तनबारे यसअघि पनि थुप्रै अध्ययनहरू भइसकेका छन्, जहाँ अहिले भएको छ’ उनले भनिन् ‘र, यसले हाम्रा हिमनदीको परिवर्तित रूप र आगामी दिनमा समुद्रको जलजीवनबारे आकंलन गर्न मदत गर्नेछ।’

दक्षिण एशियाको सबैभन्दा ठूला जलप्रवाह हुने गंगा, सिन्धु अनि ब्रह्मपुत्रजस्ता नदीहरूको मुख्य स्रोतहरू यिनै हिमालयको काखमा रहेका हिमनदीहरू हुन्। जहाँबाट निस्केका धेरै नदीहरू बग्गै-बग्दै गंगामा मिसिन्छन्। र, अध्ययनले यो प्रमाणित गरेको छ कि विश्वका अरू हिमश्रृङ्खलाहरूको तुलनामा नेपाल, भारत र भुटानका हिमनदीहरू धेरै गुणा छिटो पग्लिरहेका छन्। यो अध्ययनले त्यहाँ हिउँ कति छ? भनेर पनि अध्ययन गरेको थियो।

अध्ययनले देखाएको छ कि यी हिमनदीहरूबाट करिब ४० प्रतिशत हिउँ हराइसकेको छ। करिब २८ हजार वर्गकिलोमिटरमा फैलिएका यी हिमनदीहरू अहिले १९ हजार ६ सय बर्गकिलोमिटरमा खुम्चिसकेका छन्।

आर्कटिक र अन्टार्टिकापछि सबैभन्दा धेरै हिउँ भएका हिमनदीहरू हिमालयकै काखमा छन्। त्यसैले यो क्षेत्रलाई ‘तेस्रो ध्रुब’ पनि भनिन्छ।

र, यही ध्रुबको सबैभन्दा प्रमुख हिमालहरू नेपालमै छन्। अनि सबैभन्दा धेरै हिँउ पग्लिने दर पनि नेपालकै हिमालहरूमा छ। यो अध्ययनमा पूर्वी नेपालका धेरै हिउँश्रृङ्खलाहरूबारे गहिरो अध्ययन गरिएको थियो। अध्ययनका अनुसार एकदमै अग्लो स्थानमा मात्रै हिउँ पग्लिरहेको छैन, बरू हिउँतालहरू पनि पग्लिरहेका छन्। जब हिमालयमा हिउँ पग्लिदैं जान्छ अनि त्यसबाट धेरै हिमताल बन्छन्।

‘जसरी एकदमै ठूलोमात्रामा यो हिउँ पग्लिने क्रममा बढिरहेको छ, हामीले त्यसको अध्ययन गर्नुको खास उद्देश्य भनेको त्यसबाट हामी बेलैमा सचेत भएर वास्तविक काममा जुट्नका लागि पनि हो’ डा. क्यारिभिकले भने।

यो नजिकै आइरहेको संकटको संकेत नै हो

काठमाडौं विश्वविद्यालयका वातावरण विज्ञान विभागका प्रमुख प्राध्यापक डा. रिजनभक्त कायस्थका अनुसार यो हाम्रो नजिकै आइरहेको संकटको संकेत हो।

खासगरी पछिल्ला दशकहरूमा हिउँ चाँडै पग्लिदै जान थालेको छ। त्यो धेरै समय थुप्रिदैंन। अनि वरफ बन्न पनि सक्दैन। हिउँ जमेर वरफ बन्नका लागि कम्तीमा पनि १५ वर्षसम्म लाग्नसक्छ। तर, बढिरहेको तामक्रमले हिउँ जमेर रहिरहन सक्दैन अनि त्यो चाँडै पग्लिन्छ। र वरफ बन्न सक्दैन।

‘सबैभन्दा जोखिम त यही नै हो’ कायस्थ भन्छन् ‘९०को दशकदेखि हामीले देख्दै आएको पनि यही नै हो।’

उनका अनुसार पानी पर्ने अनि हिउँ पर्ने समयरेखाहरू परिवर्तन भएका छन्। हिउँ पर्ने बेला पानि पर्छ। पानी पर्ने बेला हिउँ।

‘अरू पनि धेरै अध्ययनहरूले यस्तो जोखिम देखाइसकेका छन्’ उनी भन्छन् ‘हिउँ पग्लिनु अनौठो होइन। तर, जुन गतिमा पग्लिरहेको छ त्यो जोखिमपूर्ण हो।’

यसअघिका अध्ययनहरूले पनि औंल्याएका छन् जोखिम

२०१९मा प्रकाशित भएको एउटा प्रतिवेदनमा शीतयुद्धकालीन जासुसी भू–उपग्रहरूले वर्षौं लगाएर खिचेका केही तस्बिरहरूको विश्लेषण गरिएको थियो। 

अमेरिकी जासुस उपग्रहरूका ती तस्बिर र अन्तरिक्षले खिचेका ताजा तस्बिरहरूको तुलना गर्दा वैज्ञानिकहरूले ४० वर्षमा हिमनदीका हिँउ व्यापक रुपमा पग्लिरहेको पत्ता लगाएका थिए।

अघिल्लो २५ वर्षको तुलनामा बितेको दुई दशकमै हिमनदीको हिँउ पग्लिने दर दोब्बरले बढेको पाइएको थियो। 

खासगरी हिन्दकुश हिमालय क्षेत्रमा रहेका हिमताल र हिमनदीका स्पष्ट तस्बिरहरूले त्यसको विष्फोटको खतरा औंल्याएको थियो। र, प्रतिवेदनमा भनिएको थियो, ‘यसको जोखिम खासगरी दक्षिण एशियाली क्षेत्रका मानिसहरूलाई देखिएको छ।’ 

ती जासुस भूउपग्रहहरु अमेरिकाले १९७० र १९८० तिर पृथ्वीका गोप्य फोटाहरू खिच्नका लागि छोडेको थियो। त्यसबाट खिचिएका तस्बिरहरू २०११मा मात्रै सार्वजनिक गरिएको थियो। 

तिनै तस्बिरका आधारमा नासाका बैज्ञानिकहरूले फेरि अन्तरिक्षमार्फत् ताजा दृश्य संकलन गरेका थिए। जसमा हिमालका तस्बिरहरू पनि सामेल थिए। 

त्यसैको आधारमा कोलम्बिया विश्वविद्यालयका वैज्ञानिकहरूले २ हजार किलोमिटर क्षेत्रफल ओगटेका करिब ६ सय ५० वटा हिमनदीको अध्ययन गरेका थिए। 

टोलीले गरेको अध्ययनअनुसार १९७५ देखि सन् २००० सम्ममा वार्षिक ४ अर्ब टन हिँउ पग्लिन्थ्यो भने २००० र २०१६ को बीचमा त्यो दर दोब्बर भएर ८ अर्ब टन पुगेको थियो। 

यही दशकमा विश्व तापमान अझैं बढेको विभिन्न वैज्ञानिक अध्ययनहरूले देखाएका छन्। 

यो अध्ययन इंगल्याण्डको लिड्स विश्वविद्यालयका लागि ६ जना वैज्ञानिकहरू मिलेर गरेका थिए।

नेचर साइन्स जर्नलकाे सहयाेगमा

https://www.aayomail.com/special/10657/

Leave a Reply

Your email address will not be published.