काठमाडौं आइपुगे राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक दासानायके
काठमाडौं–राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पुबुदु दासानायके काठमाडौं आइपुगेका छन्। मंगलबार बिहान उनी काठमाडौं आएका हुन्।
क्रिकेट एशोसियसन नेपाल (क्यान) ले दासानायकेलाई गत मंसिर २५ गते राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
पुबुदु यसअघि पनि ४ वर्ष नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी निभाएका थिए। २०११ को अक्टोबरमा पहिलो पटक नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका दासानायकेकै प्रशिक्षणमा नेपाली क्रिकेटले उचाइ लिएको थियो। उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी–२० विश्वकप खेलेको थियो।