तीन अर्ब खाएर कता भागे अग्रवाल दाजुभाइ?

तीन अर्ब खाएर कता भागे अग्रवाल दाजुभाइ?

काठमाडौं। 

‘मिटरब्याजी’ बाट रकम लिने भनेकै दर र तोकिएकै मितिमा ब्याजसहित रकम फिर्ता गर्ने हो। त्यो पनि लाखमा होइन, करोडमा। जनकपुरबाट काठमाडौं आएको २५ वर्षमा ओमप्रकाश अग्रवाल तथा उनका छोराहरू अमित र अभिषेकले कमाएको साख थियो त्यो। अहिले त्यही अग्रवाल परिवार करिब तीन अर्ब रुपैयाँ उठाएर फरार भएको छ। अग्रवाल परिवार भारततर्फ पलायन भएपछि ब्याजमा रकम दिएर मालामाल बन्दै आएका ‘साहु’ हरू पुर्पुरोमा हात लगाएर बसेका छन्।

२२ पुस राति ओमप्रकाशकी छोरी रजनीले महानगरीय प्रहरी वृत्त, मालीगाउँमा आफ्ना बा–आमा, दाजुभाइ अनि उनीहरूका परिवारसहित नौजनाको अवस्था अज्ञात रहेको मौखिक जानकारी दिएपछि यो घटना बाहिर आएको हो। २३ पुसमा प्रहरी वृत्तमा पुगेर रजनी र उनका श्रीमान्ले उनीहरू घरमा नभएको र कहाँ छन् भन्ने जानकारी पाउन नसकेको उल्लेख गर्दै खोजतलासका लागि निवेदन दर्ता गरिन्। त्यसपछि मात्र उनीहरूलाई करोडौं रुपैयाँ सापटी दिएका ‘साहु’हरू छाँगाबाट खसेझैँ भए।

त्यसरी छाँगाबाट खस्ने मिटरब्याजीहरू मात्र थिएनन्, चारवटा ‘क’ वर्गका बैंकका अधिकारीहरू पनि थिए। अग्रवाल परिवारले नेपाल इन्भेस्टमेन्ट बैंकबाट ३२ करोड, मेगा बैंकबाट २५ करोड, एभरेस्ट बैंकबाट २२ करोड र ग्लोबल आईएमई बैंकबाट १८ करोड रुपैयाँ ऋण लिएका थिए। तीमध्ये कुनै बैंकले घरजग्गा धितो राखेका थिए, कुनैले पसलमा भएको ‘स्टक’लाई धितो बनाएका थिए।

प्रहरीका अनुसार कामना सेवा विकास बैंक र केही सहकारीबाट पनि उनीहरूले ऋण लिएको खुलेको छ। तर, कोही पनि लिखित जाहेरी लिएर आएको छैन। यसबीचमा महानगरीय प्रहरी वृत्त, मालीगाउँमा करिब १५ जना आफ्नो रकम लिएर अग्रवाल परिवार फरार रहेको बताउँदै सम्पर्कमा आएका छन्। महानगरीय प्रहरी परिसर, काठमाडौंमा पनि लगभग त्यति नै संख्याका व्यक्तिले सम्पर्क गरेका छन्। उनीहरूले कतिजनासँग कति परिमाणमा ऋण, सापटी लिएका थिए भन्ने स्पष्ट चित्र तयार पार्न प्रहरीले सकेको छैन।

अग्रवाल परिवारको दरबारमार्ग र कान्तिपथस्थित ‘ग्रिन लाइन सेन्टर प्रालि’मा इन्भेस्टमेन्ट बैंक र एभरेस्ट बैंकले ताला लगाएका छन्। र, कम्प्युटर प्रिन्ट टाँसेका छन्, ‘एभरेस्ट बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबीच भएको बराबरीको सम्झौताअनुसार दृष्टिबन्धक राखिएको स्टक’। दरबारमार्गस्थित ग्रिन लाइनको मुख्य पसलमा टाँसिएको छ, ‘केवल इन्भेस्टमेन्ट बैंकको दृष्टिबन्धकमा भएको स्टक’। बैंकहरूले ती मदिरा स्टोरमा आ–आफ्ना गार्ड राखेर रखबारी गराउँदै आएका छन्।

बैंकहरूको आत्तेस त्यतिमै सीमित छैन। काठमाडौं ज्ञानेश्वरस्थित अग्रवाल परिवारको घरको गेटैमा एभरेस्ट बैंकले टाँसेको छ, ‘यो सम्पत्ति एभरेस्ट बैंक लिमिटेडमा धरौटी राखिएको छ।’ घरसँगै जोडिएको खाली जग्गामा ग्लोबल आईएमई बैंकले पनि त्यही विधि अपनाएको छ। र, लेखेको छ, ‘यो सम्पत्ति ग्लोबल आईएमई बैंकमा धरौटी राखिएको छ।’ उक्त जग्गा आफूकहाँ धरौटी रहेको सार्वजनिक जानकारी दिन ग्लोबल आईएमई बैंकले त फ्लेक्स नै टाँगेको छ। ता कि, घामपानीका बावजुद सबैले त्यसबारे जानकारी पाऊन्।

ज्ञानेश्वरस्थित घरजग्गाको अवलोकन गर्न कोही पुग्यो भने उनीहरूका छिमेकीले गाइँगुइँ गरेको सुनिन्छ– सबैलाई दुःख दिए, करोडौँ लिएर भारततिर भागे। सोमबार अपराह्न त्यहाँ पुग्दा नजिकको छतमा रहेका छिमेकी भन्दै थिए, ‘हाम्रो टोलकै बेइज्जत गरे।’

ज्ञानेश्वरमा अग्रवाल परिवारको घरजग्गासँगै २३ आनाको जग्गा छ। काठमाडौं टंगालमा तीनवटा अपार्टमेन्ट छन्। कालीमाटीमा दुईवटा घर छन्। कालिमाटीको घरजग्गा मेगा बैंकले लिलामीमा राखिसकेको छ। यस्तै, दरबारमार्ग र कान्तिपथमा महँगा मदिराका पसल छन्। ती सबैमा अहिले बैंकहरूले आफ्नो दाबी गर्दै ताला लगाएका छन्।

उनीहरूको खोजतलासमा संलग्न एक प्रहरी अधिकृतका अनुसार सबैगरी करिब ५० करोड रुपैयाँको सम्पत्ति अग्रवाल परिवार छोडेर गएको छ। तर, बैंकहरू, सहकारी, साथीभाइ र मिटरब्याजीको करिब तीन अर्ब रुपैयाँ लिएर चम्पट खोलेको छ। त्यसमा चारवटा बैंकको मात्र ९७ करोड रुपैयाँ छ।

ती प्रहरी अधिकृतका अनुसार यो परिवार केही समयदेखि देश छाडेर फरार हुने योजनामा देखिएको छ। किनकि, ज्ञानेश्वर, कालीमाटी र टंगालका घरजग्गा र अपार्टमेन्ट यो परिवारले बिक्री गरिसकेको थियो। ‘जग्गा बिक्रीका लागि बैना लिएको पाइएको छ। तीनवटामध्ये एउटै अपार्टमेन्टको एक करोड ५२ लाख रुपैयाँ भुक्तानी लिइसकेको देखिन्छ,’ ती अधिकृत भन्छन्।

बाबु ओमप्रकाश, आमा उषा, छोराहरू अमित र अभिषेक, भारती अग्रवाल, रुचिका अग्रवाल, १७ वर्षीय नातिनी नन्दनी, ९ वर्षीय पार्था र २ वर्षीय अनव अग्रवाल बस्थे, ज्ञानेश्वरको घरमा। उनीहरू सबै अहिले लापत्ता छन्।

‘डिस्अपियरेन्स नोट’ छाडेर बेपत्ता

ओमप्रकाशकी छोरी रजनीको लिखित निवेदनपछि प्रहरी उक्त परिवारको ज्ञानेश्वरस्थित घरमा पुग्यो। घर खानतलासीका क्रममा टेबलमा एउटा ‘डिस्अपियरेन्स नोट’ फेला प¥यो। ओमप्रकाश, उनकी श्रीमती उषा, छोराहरू अमित र अभिषेकसहित पाँचजनाको हस्ताक्षर रहेको नोटमा यस्तो लेखिएको छः

‘म ओमप्रकाश अग्रवाल, श्रीमती उषा अग्रवाल, छोराहरू अमित अग्रवाल र अभिषेक अग्रवाल तथा परिवारका अन्य सदस्यहरूले विगत २५ वर्षदेखि मदिराको व्यापार गरिरहेका थियौँ। तथा, मार्केटमा राम्रोसँग सफलताका साथ व्यापार गरिरहेका थियौँ। विगत वर्षहरूमा कोभिड–१९ले गर्दा बैंक ब्याज तिर्नको लागि तथा अन्य व्यक्तिहरूलाई ब्याज तिर्नको लागि मेरो छोरा अमित अग्रवाल मिटरब्याजीहरूको फन्दामा परी आफ्नो सम्पत्ति सिध्याइसकेका छौँ। धेरैजसो मिटरब्याजीहरूलाई साँवाको दोब्बर तेब्बर पैसा तिरिसकेका छौँ। अब हामीसँग मिटरब्याजी तथा बैंकहरूलाई तिर्न कुनै पनि साधन छैन। ग्रिन लाइन सेन्टरबाट अलि अलि बैंक तथा आसामीहरूलाई ब्याज तिर्दै आएका थियौँ। तर, मिति २०७८–७–२१ मा बैंकहरूले ग्रिन लाइनलाई पनि बन्द गराई ताला लगाइदिएकोले हामीले मिटरब्याजीहरूको धम्की तथा बैंकहरूको असह्य बोझले गर्दा हाम्रो मानसिक अवस्था अस्थिर भएकाले हामीले काठमाडौं छाड्न बाध्य भएका छौँ। र, हामी कहाँ जान्छौँ, बाँचिन्छ वा मरिन्छ भन्ने कुनै ठेगान छैन। बाँचे भने फेरि आउँला। र, हामीले आफ्नो नाममा रहेका घरजग्गा, व्यापार व्यवसाय त्यत्तिकै छोडेर जाँदैछौँ। हाम्रो नाममा रहेका श्रीसम्पत्तिबाट बैंक तथा वित्तीय संस्था तथा साहुले रकम असुलउपर गर्नु होला। तथा, आफ्नो संस्थानका हिसाबकिताब जम्मै यहीँ छोडेर जाँदैछौँ। त्यसबाट साहुहरूको नाम तथा मिटरब्याजीहरूले धम्की दिएर गराएका कागजपत्र तथा तिनीहरूको नाम–नामावली थपपछि एउटा प्रतिष्ठित परिवारलाई आत्महत्या गर्ने अवस्थामा पु¥याउन लगाएका मानिसहरूलाई दण्ड सजाय दिई मेरो परिवारको आत्मालाई शान्ति प्रदान गर्न सरकारसँग माग गर्दछौँ। र, कुनै व्यक्तिलाई ऋण तिर्न नसकिएकोले क्षमाप्रार्थी छु। बाँचेको खण्डमा मेरो सन्तानले ऋण तिर्ने कोशिस गर्नेछ।’

रजनी अग्रवालको निवेदन र यही ‘डिस्अपियरेन्स नोट’लाई आधार बनाएर प्रहरीले उनीहरूको खोजतलास थाल्यो। त्यसक्रममा वीरगञ्जसम्म उनीहरूको मोबाइल ‘ट्रेस’ भयो। उनीहरू वीरगञ्ज हुँदै भारततर्फ लागेको निष्कर्षमा प्रहरी पुगेको छ। र, भारतमा थप खोजतलासको प्रक्रिया अगाडि बढाएको छ।

तर, प्रहरी र परिवार दुवै छैनन् गम्भीर

अग्रवाल परिवारको खोजीमा लागिपरेका एक प्रहरी अधिकृतका अनुसार ‘आत्महत्या’सम्मको ‘डिस्अपियरेन्स नोट’ फेला पर्दा पनि काठमाडौंमा रहेका उनीहरूका परिवारजनमा खासै गम्भीरता देखिँदैन। यसबीचमा प्रहरीले ओमप्रकाशका छोरी–ज्वाइँ, भाइबुहारी र अमितका सासु–ससुरासँग पनि कुराकानी नगरेको होइन। ‘तर, उनीहरूको अनुहारमा चिन्ताको भाव झल्किँदैन,’ ती प्रहरी अधिकृत भन्छन्, ‘खोजतलासका लागि ठाडो निवेदनबाहेक थप जाहेरी उनीहरूले दिएका छैनन्।’ त्यही भएर प्रहरीले ओमप्रकाशकी छोरी रजनीसँग रहेको ‘डिस्अपियरेन्स नोट’ पनि बरामद गरेको छैन।

प्रहरीका अनुसार रजनी र उनका श्रीमानले भाँडा पसल सञ्चालन गर्दै आएका छन्। उनीहरूले यस घटनालाई लिएर आफूहरूको मोबाइल नम्बर कसैलाई नदिन र बारम्बार आफूहरूसँग सोधखोज गरेर दुःख नदिन रजनी र उनको श्रीमानले आग्रह गरेको ती प्रहरी अधिकृत बताउँछन्। रजनी र उनका श्रीमानबाट पनि केही रकम लिएर उनीहरू फरार भएको हुन सक्ने आकलन प्रहरीको छ।

ओमप्रकाशका एक भाइ काठमाडौंको एक प्रतिष्ठित अस्पतालमा वरिष्ठ चिकित्सक छन्। उनीसँग पनि प्रहरीले कुराकानी नगरेको होइन। ‘तर, उनले पनि खासै गम्भीरतासाथ लिएनन्,’ परिसरका एक प्रहरी अधिकृत भन्छन्।

ओमप्रकाशकी एक छोरी भारत राजस्थानको जयपुरमा रहेको खुलेको छ। उनीहरू उतै गएको या आसपास कतै पुगेको अनुमान प्रहरीको देखिन्छ। या भारतको कुनै ठाउँमा लुकेर बसेको हुन सक्ने अनुमान पनि प्रहरीको छ।

‘लिखित जाहेरी कसैले दिएमा हामीले इन्टरपोलमार्फत उनीहरूको खोजी गर्न सक्ने थियौँ। संसारभरका प्रहरीको नेटवर्क भएकाले इन्टरपोलबाट खोजी गर्न सहज हुन्थ्यो,’ महानगरीय प्रहरी परिसरका एक अधिकृत भन्छन्, ‘तर, लिखित उजुरी नआएकाले इन्टरपोलमार्फत खोजी प्रक्रिया अगाडि बढाउन सकेका छैनौँ।’

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार यसबीचमा सम्पर्कमा आएका अग्रवाल परिवारलाई नजिकबाट चिन्ने साथीभाइले मनोबल उच्च रहेको परिवार भएकाले उनीहरू कुनै दिन स्वदेश फर्किने बताउने गरेका छन्।

‘डिस्अपियरेन्स नोट’मा संकेत गरिएजस्तो सामूहिक आत्महत्याको कुनै सम्भावना साथीभाइ र परिवारजनले असम्भव बताउने गरेका छन्। ‘आर्थिक लेनदेन हाम्रो क्षेत्राधिकारमा परेन। उनीहरूबाट डुबेका मानिसले सबै हरहिसाब प्रहरीले छानविन गरिदेओस् भन्ने अपेक्षा राख्छन्, जुन सम्भव छैन,’ एसएसपी गिरी भन्छन्।

उनीहरूले व्यक्तिगत ऋण लिएका अरूलाई भने सकसमा पारिदिएका छन्। व्यक्तिगत ऋण पनि २–४ लाख होइन, डेढ–दुई करोडसम्म छ। तीमध्येका कतिपयले आफूलाई ‘जीवनकै संकट’मा पारिदिएको बताउने गरेका छन्।

अमित र अभिषेक यसअघि बाबुको उपचार गराउने बताउँदै २–४ महिना भारतमा बसेर फर्किने गरेको जानकारी पनि प्रहरीले पाएको छ। महानगरीय प्रहरी परिसरमा अमितका दुईवटा चेक बाउन्सका मुद्दा छन्। त्यसमध्ये एउटा डेढ करोड र अर्को ५० लाख रुपैयाँको छ। ५० लाखको चेक बाउन्सको जाहेरी सञ्जय अधिकारीले दर्ता गराएका थिए भने डेढ करोडको उजुरी पंकजशम्शेर जबराको थियो।

तथापि, सागर डिस्टिलरी खोल्नुअघिकै मुद्दा हुन् ती। त्यसबाट पनि अग्रवाल परिवारले कति ठूलो कारोबार गथ्र्यो भन्ने देखिन्छ। अनुसन्धानकै क्रममा प्रहरीले बैंकको ब्याज तिर्न दुई करोड लिएर एक सातापछि नै १० लाख रुपैयाँ थपेर दिएको पनि फेला पारेको छ। ‘एक करोड रुपैयाँ झोलामै लिएर गएर अर्को साता पाँच लाख थपेर झोलामै पैसा लिई घरमै पु¥याएर बुझाएका उदाहरण पनि फेला पारेका छौँ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्।

प्रहरीका अनुसार अग्रवाल परिवारले एक बैंकका अधिकारीहरूलाई भारतबाट फोन गरेर फर्किने वातावरण बनाइदिन आग्रह गरेको सूचना आएको छ। तर, सम्बन्धित बैंकले त्यसबारे औपचारिक जानकारी दिएको छैन। बैंकहरूले प्रहरीलाई आफूलाई अग्रवाल परिवारले डुबाएको भन्दै कुनै उजुरी पनि दर्ता गरेका छैनन्।

एसएसपी गिरीका अनुसार ज्ञानेश्वरको जग्गा ‘प्लटिङ’ देखाएर पनि अमित–अभिषेक दाजुभाइले धेरैजनासँग बैना लिएको खुलेको छ। ‘उनीहरूले छाडेर गएको सम्पत्तिभन्दा धेरै बढी रकम साथमा लिएर गएका रहेछन् भने उनीहरू फर्केर नआउन पनि सक्लान्। र, भारततिरै कुनै फ्रेस बिजनेस शुरु गर्न पनि सक्छन्,’ एसएसपी गिरी भन्छन्।

ठूला व्यापारीसँग ठूलै ‘डिल’

जानकारहरूका अनुसार अग्रवाल परिवारको संगत र उठबस ठूला व्यापारिक घरानासँग बढी देखिन्थ्यो। ठूलो घरानाका कुनै व्यापारीले भोज आयोजना गर्दा महँगा मदिरा प्रायोजन गरिदिन्थे। त्यसमा उनलाई विश्वासमा परेर ठूलो परिमाणको ऋण स्वीकृति दिएका एक बैंकर पनि पर्थे।

‘उनका हरेक पार्टीहरूमा अग्रवालले महँगा रक्सी पठाइदिन्थे। अग्रवाल परिवारले ती बैंकरको मन यसरी जितेका थिए कि रक्सीको ‘स्टक’लाई आधार मानेर ऋण स्वीकृति गरिदिएका थिए,’ एक प्रतिष्ठित व्यापारीले आयोमेलसँग भने, ‘केही गरिखान्छु, ऋण देऊ भन्दै आउने सर्वसाधारणलाई अनेक बहाना बनाएर कर्जा स्वीकृत नगर्ने र साथी सर्कललाई मात्र सहजै र ठूलो परिमाणमा लगानी गर्ने बैंकरहरूले अबचाहीँ चेत्लान् कि!’

अग्रवाल परिवारले राजधानीका सबैजसो पाँचतारे होटलमा मदिरा सप्लाइ गर्थे। ठूला घरानाका बिहे, भोजमा उनीहरूबाटै मदिरा सप्लाइ हुन्थ्यो। एक हिसाबले मदिरा व्यापारको साम्राज्य नै खडा गरेको थियो, यो परिवारले। र, त्यो पनि बलियो विश्वासको जगमा खडा थियो। व्यवसायको यति लामो समयसम्म ठूलो विवादमा आएको परिवार पनि थिएन यो।

मदिराकै कारोबारका लागि अग्रवाल परिवारले तीनवटा कम्पनी खोलेको थियो– एलायन्स डिस्ट्रिब्युटर्स, अमि–अभि ट्रेडिङ र ग्रीनलाइन सेन्टर। एलायन्समार्फत विदेशी मदिरा आयात गर्थे। अमि–अभिमार्फत होलसेल र ग्रिनलाइनले खुद्रा बिक्री गर्थे।

ग्रिन लाइनबाट झण्डै पाँच लाख रुपैयाँसम्मका मदिरा बिक्री गर्थे। जस्तो– फ्रान्समा बन्ने केन्याक ब्रान्डीको मूल्य चार लाख ९४ हजार सात सय रुपैयाँ थियो। यस्तै, जोनीवाकरको सात सय ५० मिलिलिटरका हिस्कीको मूल्य चार लाख रुपैयाँ थियो, जुन स्टकल्यान्डमा बन्थ्यो।

व्यापारीबाट उद्योगी बन्ने महत्त्वाकांक्षाले डुबायो

त्यसो भए कसरी ऋणमा चुर्लम्म डुब्यो त अग्रवाल परिवार ?

एक होटल व्यवसायीका अनुसार बाबुको मदिरा व्यापारलाई उचाइमा पु¥याएका अमित र अभिषेकमा एकाएक महत्त्वाकांक्षा बढ्यो। उनीहरूले अब स्वदेशमै उद्योग खोलेर मदिरा व्यापार अगाडि बढाउने योजना बनाए। र, नवलपुरको देवचुलीमा सागर डिस्टिलरी स्थापना गरे। र, साेही ठाउँमा एलायन्स वाइन इन्ड्रस्ट्रिज खोले। चिनजानका साथीभाइमाझ अमित र अभिषेकले सागर डिस्टिलरी र एलायन्स वाइन इन्ड्रस्ट्रिजलाई आफ्ना ‘ड्रिम प्रोजेक्ट’का रूपमा व्याख्या गर्थे। तर, उनीहरू तिनै ‘ड्रिम प्रोजेक्ट’को फन्दामा परे।

नवलपरासीको साविक देवचुली गाविस–१ मा सागर डिस्टिलरी खोलेका थिए। आर्थिक वर्ष ०७२–७३ मा उद्योग विभागमा प्रमोदराज अधिकारीसमेतको स्वामित्त्वमा २२ करोड ६५ लाख रुपैयाँ लागत उल्लेखित उक्त डिस्टिलरी दर्ता भएको थियो। सोही आव र ठाउँमा अमित अग्रवालको नाममा एलायन्स वाइन इन्ड्रस्ट्रिज खोलेका थिए। एलायन्स भने अमितको एकल स्वामित्त्वमा थियो।

उद्योग विभागको तथ्यांकअनुसार चार करोड रुपैयाँ लागतमा स्थापना भएको एलायन्स वाइनले हरेक वर्ष फलफूलमा आधारित आठ सय किलोलिटर वाइन उत्पादन गर्न अनुमति लिएको थियो। वाइन उद्योगमा उनले ४४ जनालाई रोजगारी दिने प्रतिबद्धता विभागमा गरेको देखिन्छ। सागर डिस्टिलरीमा ६५ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका थिए।

सागर डिस्टिलरीबाट वार्षिक ५० लाख १० हजार लिटर मदिरा उत्पादन गर्नेगरी उद्योग विभागबाट अनुमति पाएका थिए उनीहरूले, जुन ०७३ सालमा सञ्चालनमा आएको थियो। त्यस वर्ष १० वटा मदिरा उद्योगले विभागबाट लाइसेन्स पाएका थिए। लाइसेन्स लिएकामध्ये सबैभन्दा ठूलो क्षमताको उद्योग अग्रवाल परिवारको सागर डिस्टिलरी नै थियो। त्यही महत्त्वाकांक्षाले उनीहरूलाई देश नै छाडेर हिँड्न बाध्य बनाएको उनीहरूलाई नजिकबाट चिन्नेहरू बताउँछन्।

‘ट्रेडिङ’मा सफलता पाएका उनीहरू उत्पादनमा जम्न सकेनन्। सोही कारण उनीहरूका दुवै मदिरा उद्योग चलेनन्। बैंकको ऋणको बोझ थाम्न नसकी धमाधम बिक्री गरे। अझै पनि सागर डिस्टिलरीमा उनीहरूको केही प्रतिशत सेयर रहेको प्रहरीको भनाइ छ। बैंकको ब्याज तिर्दै गर्दा उनीहरूलाई मिटरब्याजले गाँजिसकेको थियो। त्यो मिटरब्याज बहालवाला प्रहरी अधिकृतहरूको पनि रहेको उनले साथीभाइमाझ सुनाउने गरेका थिए। उनलाई मिटरब्याजमा ऋण लगाउने प्रहरी अधिकारी को थिए भन्ने उनले बताएका थिएनन्। तिरेर कहिल्यै नसकिने त्यही मिटरब्याजले अन्ततः उनीहरूको उठिबास लगायो।

शैली भने ठगीकै

पछिल्ला केही वर्षयता रकम लिएर व्यापारी फरार हुने शैली एकै देखिएको छ। बैंक, वित्तीय संस्था र व्यक्तिगत ऋण लिएर देश छाडेरै बेपत्ता हुने शैली अग्रवाल परिवारले पनि अपनाएको देखिन्छ। एउटै पसलको ‘स्टक’ र एउटै जग्गा धितो राखेर ऋण लिने अनि फरार हुने अग्रवाल परिवारको शैलीले भने ठगीकै रूप देखिने एक अवकाशप्राप्त प्रहरी अधिकृत बताउँछन्।

गत वैशाखमा मोरङ उर्लाबारीका सुनचाँदी पसले गोपाल गौतमले सयकडा दुई रुपैयाँ ब्याज दिने शर्तमा तीन सय जनाभन्दा बढीबाट १२ करोड रुपैयाँभन्दा बढी लिएर फरार भएका थिए। फागुन ०७७ मा सप्तरी राजविराजमा सञ्जय सिन्धी र सुनील सिन्धी पनि सर्वसाधारणबाट ब्याजको नाममा लिएको झण्डै एक करोड रुपैयाँ लिएर फरार भएका थिए।

२०७५ सालमा वीरगञ्ज घण्टाघर नजिक किराना सामानको थोक पसल चलाउने मुकेश साह तेली पनि बैंक र सर्वसाधारणबाट ऋण लिएको करिब चार करोड रुपैयाँसहित भारततर्फ भागेका थिए। मंसिर ०७५ मा विराटनगरका सुन व्यापारी सन्तोष बेगवानी पनि तीनवटा बैंक र सर्वसाधारणको गरी ४२ करोड रुपैयाँभन्दा बढी लिएर फरार भएका थिए। यस्तै, पुस ०७४ मा पोखराका चारजना भारतीय व्यापारी पनि एक हजार जनाभन्दा बढीको झण्डै १० करोड रुपैयाँ लिएर फरार भएका थिए। वैशाख ०७६ मा सर्वसाधारणको करिब एक करोड रुपैयाँ लिएर फरार भएका रौतहट कटहरिया–५ का व्यापारी भगवान साह भने जोगीको भेषमा हिँडिरहेको अवस्थामा सोही वर्ष साउनमा भारत हरिद्वारबाट पक्राउ परेका थिए।

बैंकमा धितो राखेको घरजग्गा पनि बिक्रीको प्रक्रियामा राखेको पाइनु, मदिरा पसलको अधिकांश स्टक कम दाममा बिक्री गरेर घटाउनु, मदिरा उद्योग र ‘स्टक मार्केट’को सेयर बिक्री गरेको भेटिनुलगायत कारणबाट अग्रवाल परिवारले पनि अन्य फरार व्यापारीहरूकै शैली पछ्याएको भने स्पष्ट छ।


Leave a Reply

Your email address will not be published.