पहिलो स्थानीय निर्वाचन, जहाँ पुरुषले मात्र भोट खसाल्न पाउँथे

पहिलो स्थानीय निर्वाचन, जहाँ पुरुषले मात्र भोट खसाल्न पाउँथे

काठमाडाैं – प्रधानमन्त्री चन्द्रशमशेरले १९७६ साल पुस २ गते सफाइ अड्डा स्थापना गरे, जसको उद्देश्य थियो–उच्च वर्गीय व्यक्तिहरु हिड्ने बाटो सफाइ गर्नु। १९८७ सालमा काठमाडौं उपत्यकाका नौ स्थानमा पञ्चायतको स्थापना गरियो। तिनीहरुमा जनताबाट ७ जना र सरकारबाट एक गरी ८ जनाको एक पञ्चायत समिति स्थापना गर्ने भनिए पनि जनमतको प्रयोग गरिएको थिएन।

२००३ फागुन २ गते प्रधानमन्त्री पद्मशमशेरले दरबारमा केही मानिसको भेला बोलाई शासन सुधारका नाममा ‘म्युनिसिपालिटी’ स्थापना गर्ने घोषणा गरे। त्यसपछि सफाई अड्डाको संस्थागत स्वरुप परिवर्तन गरेर नगरपालिका बनाइयो।

निर्वाचन आयोगले प्रकाशित गरेको पुस्तकका अनुसार त्यतिखेर उत्तर महाराजगन्ज,दक्षिण बागमती, पूर्व धोबीखोला र पश्चिम विष्णुमति गरी चार किल्ला क्षेत्र कायम गरी काठमाडौं म्युनिसिपल स्थापना गरिएको थियो।

पद्मशमशेरले २००४ को जेठ ३ गते मुलुकभरमा निर्वाचित नगरपालिका खडा गर्ने र त्यसमा मतदानबाट प्रतिनिधि छानी मुलुकको उत्थान गर्ने घोषणा गरेका थिए।

त्यसअनुसार २००४ जेठ २९ गते निर्वाचत भयो, जसमा इतिहासमै पहिलोपटक जनताले आफ्नो मताधिकार प्रयोग गर्न पाएका थिए।

चार किल्ला तोकिएको नगरपालिकाको क्षेत्रलाई २१ वडा कायम गरी प्रत्येक वडाबाट एक–एक जना सदस्य छान्नुपर्ने प्रावधान राखिएको थियो।

त्यतिखेर २१ वर्ष नाघेका पुरुषलेमात्र भोट हाल्न पाउने व्यवस्था गरिएको थियो। यद्यपि त्यतिबेला महिलाहरुले भोट हाल्न पाउनुपर्छ भनेर माग राखिए पनि सरकारले मागको सुनुवाइ गरेन।

त्यतिबेला काठमाडौं नगरपालिकामा जम्मा घर संख्या १३ हजार ५ सय ५३ थियो भने मतदाता संख्या ६८ हजार १ सय १८ थियो। सबैभन्दा बढी मतदाता ११ नम्बर वडामा ६ हजार ६ सय ३ थिए भने कम मतदाता १८ वडामा ४ सय ४२ थिए।

यो निर्वाचनमा सरकारी तिरो तिर्न बुझाउन बाँकी नभएका २५ वर्ष पुगेका पुरुषमात्र उम्मेदवार बन्न सक्ने व्यवस्था गरिएको थियो भने सरकारी कर्मचारीलाई उम्मेदवार बन्न रोकिएको थिएन।

२१ वडामध्ये ५, ९, १० र ११ वडामा एक–एक उम्मेदवारमात्र खडा भएकाले मतपेटिका राखिएन। अन्यत्र गरी २२ ठाउँमा मतदान केन्द्र राखिएका थिए। ती मतदान केन्द्रमा प्रत्येक उम्मेदवारको अलग–अलग ढ्वाङ राखिएका थिए।

उक्त निर्वाचनमा सरदार यदुनाथ खनाल १५ नम्बर वडाबाट विजयी भएका थिए। उनी कर्मचारी भएकाले ११ नम्बर वडाको रेखदेख गर्ने जिम्मेवारी पनि पाएका थिए।

मतदान गर्ने समय दिनको ११ बजेदेखि ३ बजेसम्म तोकिएको थियो भने निर्वाचनको अघिल्लै दिन घर–घरमा मतपत्र बाँडिएको थियो। प्रत्येक उम्मेदवारको अलग–अलग रङका छुट्टाछुट्टै ढ्वाङहरु भएकाले मन परेका उम्मेदवारको रङको ढ्वाङमा मतदान गर्नुपथ्र्यो भने मत पेटिका खुला ठाउँमा राखिएको हुनाले कसले कुन मतपेटिकामा मतपत्र खसाल्यो भनेर वरपरका मानिसले स्प्ष्ट देख्थे।

निर्वाचनमा २१ वडाबाट भूवनलाल प्रधान निर्विरोध निर्वाचित भएका थिए भने करिब ६५ प्रतिशत मत खसेको अनुमान गरिएको थियो।

२१ वटा वडाबाट २१ सदस्य निर्वाचित हुन्थे भने सरकारले १० जना मनोनित गर्ने व्यवस्थाअनुसार ३१ जनाको नगरबोर्ड रहने व्यवस्था थियो। मनोनित सदस्यबाट सभापति र निर्वाचितमध्येबाट उपसभापति छान्ने व्यवस्था थियो। जसअनुसार सभापतिमा गेहेन्द्रशमशेर थापा र उपसभापतिमा शंकरदेव पन्त छानिएका थिए।

यस्तै भक्तपुर र ललितपुरमा पनि सोही वर्ष निर्वाचन भएको थियो। भक्तपुरमा निर्वाचित सदस्य १० र ललितपुरमा १२ जना थिए। दुवै नगरपालिकामा मनोनित सदस्य ४ जना हुन्थे।

१९८७ को पञ्चायत

१९८७ मा स्थापना गरिएका पञ्चायतको व्यवस्थापनका लागि जुद्दशमशेरको पालामा १९९९ मा पञ्चहरुको कर्तव्य र र योग्यता निर्धारण गर्ने प्रयोजनका लागि इस्तिहार जारी गरियो। तर त्यतिबेला स्थापना गरिएको पञ्चायत प्रशासनिक खालको थियो।

उक्त इस्तिहार कमाण्डर इन चिफको पत्रमार्फत सम्बन्धित गोश्वाराहरूमा कार्यान्वयनका लागि पठाइएको थियो। त्यतिबेला ललितपुरका लुभु, साना गाउँ, हरिसिद्धि, खोकना, चोभार, बोडेसमेत ६ ठाउँमा, भक्तपुरमा ठिमी र नगदेशमा, काठमाडौंभित्र मरुटोल इलाकामा तथा दाङ देउखुरीमा पञ्चायत स्थापना गरिएको थियो।

पछि १९९३ सालदेखि सप्तरी, पहाडमा पूर्व १ नं., पश्चिम ३ नं. लगायतका गोश्वारा इलाकामा पञ्चायत स्थापना गरियो।

त्यो बेला छानिएका पञ्चको कार्यकाल तीन वर्षको हुने गरी तोकिएको थियो भने उक्त इलाकाभित्र बसोबास भएको, तालुकदारी, जिमिदारी गरी बसेको, असल नियत र चालचलन भएको, पञ्चायतको काम गर्न सक्षम व्यक्ति हुनुपर्ने योग्यता तोकिएको थियो। २५ वर्ष उमेर नपुगेका व्यक्तिलाई पञ्च छान्न नसकिने व्यवस्था गरिएको थियो।

इलाकाभित्र बसोबास गर्ने १६ वर्ष पुगेका पुरुष प्रतिघर एक जना भेला भई छान्न छान्ने व्यवस्था थियो।

प्रधानमन्त्री पद्म शम्शेरले शासन व्यवस्थामा सुधार गर्न मुख्य मुख्य भारदारहरूसँग राय लिने काम गरे। उनले तत्काललाई निर्वाचित र मनोनीत सदस्य भएको एउटा सभा गठन गर्नेसम्बन्धी विचार बुझ्न कोशिस गरे। त्यस सभामा–मधेशबाट जेठा रैती र जिम्मेदारले छानेका ४, पहाडबाट जेठा रैती र जिम्मेदारले छानेका ४, राजधानीबाट भारदारले छानेका २, राजधानीबाट पढे लेखेका भलादमीले छानेका २, महाजनहरूले छानेका २ र मनोनीत सदस्य १४ जना राख्न कसो होला भन्ने सल्लाह लिए।

पद्म शम्शेरको योजनामा दुई वटा बुँदा निर्वाचन प्रतिनिधि छनोटसँग सम्बन्धित थिए। २००४ जेठ ३ गतेको घोषणामा उनले निर्वाचनका बारेमा घोषणा गरे– निर्वाचित भएका र सरकारबाट तोकिएका सदस्यहरूको सभा खडा भई काम चल्नुपर्छ भन्ने हाम्रो राय छ।

यो संस्थाको अधिकार र कार्य प्रणाली, संख्या, सदस्यहरू र तिनलाई छान्ने। निर्वाचकहरूका बारेमा हाल छलफल हुँदैछ। सदा र देशभरीका जिल्ला इलाका निर्वाचित म्युनिसिटिपालिटी डिस्ट्रिक्ट बोर्ड खडा गरी स्थानीय अधिकार सुम्पिदिनेछौ’।


Leave a Reply

Your email address will not be published.