महिलालाई मताधिकार दिइएको पहिलो निर्वाचन

महिलालाई मताधिकार दिइएको पहिलो निर्वाचन

काठमाडौं – २००४ सालमा निर्वाचित काठमाडौं नगरपालिकाका निर्वाचित र मनोनित ३१ जना वडासदस्यहरुको पदावधि अहिलेको राष्ट्रिय सभा सदस्यको जस्तै थियो। वडा सदस्यमध्ये तीन खण्ड सदस्यहरुले गाला प्रथाद्वारा प्रत्येक वर्ष पदत्याग गर्नुपर्ने नियम थियो। जसअनुसार बहालवाला कर्मचारीहरुको सदस्यता खारेज गर्ने नीति कायम भएको थियो। त्यतिखेर निर्वाचित प्रतिनिधिहरु २००७ सालसम्म कार्यरत थिए।

निर्वाचित र मनोनित सदस्यबीच कार्यशैलीमा मतभेद हुँदा २१ निर्वाचितमध्ये १६ जनाले पदबाट राजीनामा दिएका थिए। रिक्त स्थानमा उपचुनाव गर्ने योजना भए पनि वडामा उम्मेदवार नहुँदा यो योजना कार्यान्वयन हुन सकेन। तर पनि केही वडामा निर्वाचित र मनोनित गरी १५ पदाधिकारीहरु २००७ सालको क्रान्तिसम्म कार्यरत थिए।

काठमाडौं नगरपालिकाको दोस्रो निर्वाचन २०१०

२००७ सालको परिवर्तनपछि स्थानीय शासनलाई बढी जनमुखी बनाउन नगरपालिका कानुन निर्माण गरिएको थियो। सोही कानुनका आधारमा २०१० साल भदौ १७ गते काठमाडौं नगरपालिकाको निर्वाचन सम्पन्न भएको थियो।

त्यतिखेर २१ वडाबाट घटाएर १८ वडा कायम गरियो भने काठमाडौं नगरपालिका नाम सोही समयमा बनाइएको थियो।

यही निर्वाचनमा महिलाले पहिलाे पटक मताधिकार प्राप्त गरे। २१ वर्ष पुगेका बालिगहरुबाट प्रत्यक्ष गोप्य मतदानद्वारा निर्वाचन गर्ने व्यवस्था मिलाइएको थियो भने महिलाहरुले उम्मेदवार बन्ने अवसरसमेत पाएका थिए।

मतदान गर्ने ठाउँमा उम्मेदवारहरुको नाम टाँसिएको विभिन्न रङका बाकसहरु गोप्य तरिकाले राखिएको थियो। मतदाताहरुलाई एक–एक जनाका हिसाबले वडा नम्बरसमेत भएको पेपर दिनेलगायतका व्यवस्था गरिएको थियो भने घर ब्लक नम्बरका जनताले सम्बन्धित ढ्वाङमा मत खसाल्नुपर्ने गरिएको थियो। जसको भोट बढी हुन्छ, त्यही चुनिने बहुमतीय चुनाव पद्दति अपनाइएको थियो।

निर्वाचनमा उम्मेदवार हुने प्रत्येक उम्मेदवारले आफूलाई मन परेको चुनाव चिन्ह रोजी सम्बन्धित निकायमा चुनावअघि नै दिनुपथ्र्यो। चुनाव चिन्ह एकै पर्न गएमा आपसी समझदारीबाट अलग–अलग गराइन्थ्यो। उम्मेदवारले आफ्नो परिचयको साथै बाकस पनि राख्न पाउने भएकाले मतदाताले कुन उम्मेदवारको कुन बाकस हो भनी थाहा पाउँथे।

कूल मतदाता

उक्त निर्वाचनमा कूल ५६ हजार मतदाता थिए भने ५ वटा पार्टीबाट खडा गरिएका र स्वतन्त्र गरी १८ पदका लागि ७३ जना उम्मेदवारले आ–आफ्नो उम्मेदवारी दिएका थिए। चुनावअघि हरेक वडामा मतदाता नामावली टाँसिएको थियो।

चुनावमा मानसिक असन्तुलन भएको, कुनै सरकारी कामद्वारा अपराधी ठहर गरिएको बाहेक २१ वर्ष पुगेका नागरिकहरु मतदाता हुने व्यवस्था थियो भने सरकारी जागिरदार नभएको २५ वर्ष उमेर पुगेको व्यक्ति आफ्नो वडा क्षेत्रमा उम्मेदवार हुन पाउथ्यो।

उम्मेदवार निवेदनपत्रमा कमसेकम १५ जवान निर्वाचकको दस्तखत भएको हुनुपथ्र्यो। सो निर्वाचनमा १३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए भने ७ नम्बर वडामा ९ जनासम्मको उम्मेदवारी परेको थियो।

यस्तै,प्रत्येक उम्मेदवारले ५० रुपैयाँ धरौटी राख्ने व्यवस्था थियो। निर्वाचनमा जम्मा मतको ८ भागको एक भाग पनि पाउन नसक्नेको धरौटी जफत गर्ने व्यवस्था नगरपलिका निर्वाचनको नियममा गरिएको थियो। जसअनुसार विभिन्न २६ उम्मेदवारको धरौटी जफत भएको थियो।

निर्वाचन

निर्वाचनमा १७ वडाका विभिन्न स्थानमा ५६ मतदान केन्द्र कायम गरिएको थियो। १५ वडामा एक जनाको मात्र उम्मेदवारी परेकाले निर्विरोध भएका थिए।

प्रत्येक मतदान केन्द्रमा रहने अफिसरहरु र आवश्यक सहयोगी खटाइएको थियो। बुथ क्षेत्रभित्र र वरपरी ५० गजसम्म प्रचार गर्न नदिने आचारसंहिता थियो। निर्वाचन हुने दिन भदौ १७ गते सार्वजनिक बिदा दिइएको थियो।

निर्वाचन परिणाम

भदौ १७ गते भएको निर्वाचनको १८ गते मतगणना सुरु भई १९ गते सकिएको थियो। उक्त निर्वाचनमा वडा नम्ब्र ८ मा खसेको ४११३ मध्ये २४५५ मत प्राप्त गरी साधनादेवी प्रधान नेपालकै पहिलो महिला जनप्रतिनिधिको रुपमा चुनिइन्। वडा नम्बर १५ बाट घनानाथ उपाध्याय निर्विरोध निर्वाचित भए। पहिलो पटक मताधिकार पाएकाले महिलाहरु पनि उल्लेख्य रुपमा मतदानमा सहभागी भएका थिए। निर्वाचनमा कूल ५३ प्रतिशत मतदाता सहभागी भए।

सभापति (मेयर)समेत जनताबाटै छनोट गर्न पाउने व्यवस्थासहितको स्थानीय निर्वाचन यो पहिलो भएकाले स्थानीय स्वायत्तताका दृष्टिले यो निर्वाचनलाई पहिलो मान्न सकिन्छ। निर्वाचनको वैधतामाथि कसैले पनि खोट लगाएनन्।

निर्वाचित १८ र सरकारबाट ४ मनोनित गरी २२ जनाको नगरपालिका बोर्ड रहने र निर्वाचित सदस्यमध्येबाट प्रमुख र उपप्रमुख चयन गर्ने व्यवस्था अनुसार प्रमुखमा जनकमान श्रेष्ठ र उपप्रमुखमा प्रयागराजसिंह सुवाल चुनिएका थिए।

अन्यत्र निर्वाचन

२००९ भदौ २९ मा ललितपुर नगरपालिकामा निर्वाचन भएको थियो। त्यहाँ जम्मा १० वडा रहेकोमा कूल १९ उम्मेदवार खडा भएका थिए। २, ५, ७ र ८ वडामा एक–एक जना मात्र उम्मेदवार भएकाले निर्विरोध भएका थिए। १० मा १९ जना उम्मेदवार उठेका थिए।

उक्त निर्वाचनमा प्रमुखमा नरेन्द्रमान जोशी विजयी भएका थिए भने उपप्रमुखमा सुरेन्द्रशमशेर निर्विरोध छानिएका थिए।

यस्तै, भक्तपुर नगरपालिकाको चुनाव २००९ असोज २६ गते गर्नेर उम्मेदवारहरुको नाम दर्ता असोज १० सम्ममा हुने कार्यक्रम प्रकाशित भएको थियो। जम्मा वडासंख्या ७ कायम गरी भएको निर्वाचनमा ७ नम्बरबाट १४ जना, २ र ६ बाट ३–३ जना उम्मेदवार थिए।

यसैगरी, विराटनगर र वीरगन्ज नगरपालिकाको चुनाव पनि २०१० सालमै सम्पन्न भएको थियो।

स्रोतः निर्वाचन आयोग

पहिलो स्थानीय निर्वाचन, जहाँ पुरुषले मात्र भोट खसाल्न पाउँथे


Leave a Reply

Your email address will not be published.