यसकारण माैलाउनुपर्छ नेपालवाद

यसकारण माैलाउनुपर्छ नेपालवाद

लामो समयदेखि देशको राजनीतिक तह गैरजिम्मेवार बन्दा शासन सन्चालनका विभिन्न तहमा नीतिगत, कानुनी, प्रशासनिक, प्रकृयागत र प्रणालीगत अनियमितता, भ्रष्टाचार माैलाएकाे छ। यसले देशको विकासको गति र अवस्था नाजुक बनेकाे छ। सदीयौँदेखि गरिबी, पछौटेपन, बेरोजगारी, व्यापार घाटा, परनिर्भरता आदि नेपालका विशेषता र नियति बन्दै आएका छन्। आफ्नो र परिवारजनको रोजीरोटी र न्यूनतम आधारभूत आवश्यकताको परिपूर्तिका लागि अत्यन्त न्यून पारिश्रमिकमा लाखौँ युवा विदेशका जङ्गल, मरुभूमि र असाध्य गर्मीमा रगत पसिना बगाइरहेका छन्। यस प्रवृत्तिमा सुधार आउनुको सट्टा स्थिति झन् विकराल बनेकाे छ। यसले नेतृत्व वर्गको इमानदारी र क्षमतामा जनताको विश्वास पूर्णरुपमा हटिसकेको पुष्टि हुन्छ।

त्यसैले, हाम्रो पुस्ताका सामु एउटा यक्ष प्रश्न टड्कारो रुपमा अगाडि आएको छ-शासन सन्चालनको यही कुरुप दृष्यको निसहाय भई टुलुटुलु साक्षी बनिरहने कि जनतालाई एकजुट गर्दै संगठित र सशक्त आवाज मुखरित गर्ने।

हामीले यो दोश्रो विकल्प रोजेका छौं।

हालसम्म विकासको वास्तविक अवस्था अत्यन्त निराशाजनक छ। जनताका नाममा उठाइएको साधन र स्रोतको व्यापकरुपमा दुरुपयोग गरिएको छ।  जनताको टाउकोमा थामिनसक्नु ऋणको भार छ। राज्यको वित्तीय श्रोत र साधनको परिचालन र प्रयोगमा धाँधली, अनियमितता, बेथिति र विसँगति व्याप्त छ। अर्थतन्त्रको क्षमता र सम्भावनाको कुनै ख्याल नराखी अन्धाधुन्द तरीकाले सार्वजनिक ऋण लिँदा अर्थतन्त्र धराशायी हुने र त्यसको नकारात्मक असर सरकारी बजेट प्रणाली र समग्र अर्थव्यवस्थामा पर्न जान्छ। यस्तै आर्थिक अनुशासनहीनताको कारण विगतमा धेरै राष्ट्रहरु आर्थिक संकटमा परेको तथा तिनले यसको नकारात्मक असर र प्रभाव धेरै वर्षसम्म व्यहोर्नु परेको हाम्रो मानसपटलमा ताजै छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा महालेखा परीक्षकका वार्षिक प्रतिवेदनहरुले समेत आर्थिक अनियमितताका वस्तुस्थितिको फेहरिस्त सार्वजनिक गर्ने गरेका छन्। यद्यपि नियन्त्रण र सुधारका कार्य गतिहीन बनेका छन्।  विगत चार वर्षको अवधिमा सार्वजनिक ऋण दायित्व अचाक्ली बढाइएको छ।

नेपालकाे विकास परिसूचक निकै कमजोर देखिएकाे छ। सार्वजनिक ऋण दायित्व २०७८ असार मसान्तमा १,७२९ अर्ब पुगी जीडीपीको अनुपातमा ४०.५ प्रतिशत पुगेको छ भने प्रतिव्यक्ति सार्वजनिक ऋण दायित्व रू ५७ हजार पुगेकाे छ। विश्व बैंकको तथ्यांक अनुसार सन् २०२० मा सबैभन्दा कम प्रति व्यक्ति आय भएका चार एसियाली मुलुक (अफगानिस्तान, यमन, ताजिकिस्तान र नेपाल) मा नेपाल (अमेरिकन डलर १,१५५ ) समावेश हुन पुगेको छ।

केही दशक अघिसम्म धान चामल निर्यात कम्पनीहरु खोलेर धान निर्यात गर्ने विश्वको एक प्रमुख राष्ट्रको रुपमा  परिचित नेपाल अहिले भने आफ्नो उर्बर जमिन बाँझो राखी विदेशबाट खाद्यान्न, तरकारी, फलफूल ल्याई खानु पर्ने स्थितिमा पुगेको छ।

जीडीपीको अनुपातमा वस्तु र सेवाको निर्यात सबैभन्दा कम रहेका ६ मुलुकमा पनि नेपाल ( ६.८ प्रतिशत) परेकाे छ। ६०.४ प्रतिशत जनसंख्या आवद्ध भएको कृषि क्षेत्र न्यून उत्पादकत्व र कमजोर प्रतिस्पर्धी क्षमताले ग्रसित छ। केही दशक अघिसम्म धान चामल निर्यात कम्पनीहरु खोलेर धान निर्यात गर्ने विश्वको एक प्रमुख राष्ट्रको रुपमा  परिचित नेपाल अहिले भने आफ्नो उर्बर जमिन बाँझो राखी विदेशबाट खाद्यान्न, तरकारी, फलफूल ल्याई खानु पर्ने स्थितिमा पुगेको छ।

उदाहरणका लागि, आर्थिक वर्षको पाँच महिनामा विदेशबाट रु. २०.५ अर्बको चामल, रु. ८.९ अर्बको तरकारी, रु. ४.५ अर्बको फलफूल, रु. २.१ अर्बको स्याउ र रु. ३७.२ करोडको लसुन आयात गरेका छौं जसबाट खाद्य सामग्रीमा हाम्रो परनिर्भरता कति घनीभूत रहेछ र संविधानको धारा ३६ मा लेखिएको खाद्य सम्प्रभुताको हकको विषय कति हचुवा रहेछ बुझ्न सकिन्छ।

नेपालवाद के हो ?
यी यावत कारणले हाम्रो अर्थतन्त्र अस्थिर र अनिश्चित भूमरीमा फस्याे। हामीले जनताका न्यूनतम मानवीय आवश्यकता पूरा गराउन असफल रह्यौं। गरिबी र बेरोजगारीका समस्या झन्झन् बल्झिँदै गए। यसबाट हामीले अवलम्बन गर्दै आएको विकास नीति र अर्थतन्त्रको अवस्थाबीच सामन्जस्यता वा तालमेल नरहेको स्पष्ट हुन्छ। यो समस्याको हामीले गम्भीर समीक्षा गर्नै पर्छ र उपयुक्त निकास छोटै अवधिमा दिनै पर्छ।

अर्थतन्त्रको आवश्यकता, चाहना, विशेषता, परिवेश र परिवर्तनसँग सामन्जस्य र अनुकूल हुनेगरी नीतिहरुको तर्जुमा र कार्यान्वयन गर्न नसक्दा हाम्रो विकासको उपलब्धि न्यून र अल्प भयाे। त्यसैले, नेपाल सुहाउँदो नेपालीपनको प्रणाली अथवा परनिर्भरताबाट जोगिने राष्ट्रिय दर्शन नेपालवाद हो र यसवादको अनुसरण, अवलम्बन र अभ्यास आजको अपरिहार्य आवश्यकता हो।

“जननी जन्मभूमिष्च स्वर्गादपि गरीयसी” भन्ने नेपालको आदर्श वाक्यबाट नेपालवाद जन्मेको छ। हामी जन्मे, हुर्केको यस पवित्र मातृभूमिप्रति नतमस्तक र कृतज्ञ रहन नेपालवादले अभिप्रेरित गर्दछ। यस मातृभूमिको निरन्तर र दिगो समृद्धिको जग भनेको नेपालवाद हो।  नेपालवादसँग राष्ट्र, राष्ट्रियता, समृद्धि र समन्यायिकताको अन्योन्याश्रीत सम्वन्ध रहेको हुन्छ तथा नेपालवादले नै राष्ट्र, राष्ट्रियता, समृद्धि र समन्यायिकताको प्रवर्द्धन, विकास र समुन्नतिमा जोड दिन्छ । नेपाल र नेपालीको निरन्तर हित नै नेपालवादको आदर्श हुनेछ।

नेपाल र नेपालीत्वप्रति गौरवको अनुभूति गर्दै सदा उच्च सदभाव राख्ने एवम् स्वाभीमान, स्वतन्त्रता, समानता तथा सक्रियतापूर्वक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिमा सकारात्मकरुपले सहभागी रहने राष्ट्रिय धारणा, नीति र प्रणाली नै नेपालवाद हो।

विधिको शासनयुक्त, भ्रष्टाचारमुक्त, समावेशी, समतामूलक, समन्यायिक, स्वस्थ, सबल, समृद्ध र समुन्नत नेपालको निर्माण नै नेपालवादको लक्ष्य हो। समकालीन नेपाली समाजको आवश्यकता तथा नयाँ पुस्ताको आवाज प्रतिविम्वित हुने र देशले व्यहोर्नु परेको परनिर्भरतालाई कम गर्न सहायक हुने मार्गदर्शक सिद्धान्त “नेपालवाद” हो । आत्मनिर्भरतासहितको समन्यायिक समृद्धिको फराकिलो बाटोमा अगाडि बढ्ने, नेपाल र नेपालीत्वप्रति गौरवको अनुभूति गर्दै सदा उच्च सदभाव राख्ने एवम् स्वाभीमान, स्वतन्त्रता, समानता तथा सक्रियतापूर्वक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिमा सकारात्मकरुपले सहभागी रहने राष्ट्रिय धारणा, नीति र प्रणाली नै नेपालवाद हो।

परनिर्भरताबाट जोगिएर गरिबी निवारण गर्नु, रोजगारीमूलक अर्थनीति अवलम्वन गर्नु, सबै नेपालीलाई स्वाभिमानी बनाउनु र नेपालको मौलिकताबाटै आफ्नो खुट्टामा उभिने पहल गर्नु नै नेपालवाद हो। अर्थतन्त्रलाई सहज, सरल र दिगोरुपमा धान्न सक्ने प्रकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विनिमय प्रणाली तथा कारोबारहरुमा सकारामक र सार्थक रुपमा गतिशील सहभागिता सुनिश्चित गर्दै राष्ट्रियता, सुशासन र समन्यायिक समृद्धि प्रवर्द्धन गर्नु नेपालवादको उद्देश्य हो।

नेपालवाद त्यस्तो दर्शन हो जसले विदेशी वस्तुको विरोध गर्दैन। बरु दीगोरुपमा अन्तर्राष्ट्रिय व्यापारको विकासमा जोड दिन्छ। स्वदेशी अर्थतन्त्र सबल, सक्षम, सुदृढ र स्वस्थ्य भएमा मात्र हामी विश्व अर्थतन्त्रमा सहज र स्वाभाविक रुपले भाग लिन सक्छौं। रोगी व्यक्तिले निरोगिता बाँड्न सक्दैन। संक्रामक रोगीले अरुलाई रोगमात्र सार्न सक्छ । त्यस्तै, अर्थतन्त्र स्वस्थ्य र सुदृढ भयो भने मात्र देशका जनतालाई र विश्व अर्थतन्त्रलाई सानो भए पनि समृद्धिको प्रतिफल दिन सक्थ्यौँ । हामीले विश्व अर्थतन्त्रमा गरिबी, बेरोजगारी, अभाव र निर्धनता बाँड्न चाहँदैनौँ । हामी विश्वलाई सकेसम्म सकारात्मकता, सदभाव र समृद्धि दिन इच्छा राख्छौं ।

अन्तर्राष्ट्रिय व्यापार र विनिमय प्रणालीमा अरु सक्षम र सबल मुलुकजस्तै प्रतिस्पर्धात्मक रुपले सहभागी हुन सक्ने गरी अर्थतन्त्रको विकास गर्न चाहन्छौं। जसका लागि हाम्रा सम्भावना र प्रतिस्पर्धाका क्षेत्रहरुको पहिचान, परिचालन, उत्पादन र उपयोग गर्दै आन्तरिक उपभोग बढाउँदै तथा अरु देशमा स्वाभाविक रुपले निर्यात प्रवर्द्धन गरेर विश्व अर्थतन्त्रलाई समेत व्यापारको प्रतिस्पर्धी लाभ दिलाउन चाहन्छौं। त्यसैले, आवश्यक परेको समयमा दातृ निकायको समेत हाम्रो आफ्नै शर्त र व्यवस्था अनुरुप सहयोग लिई हामी हाम्रा बहुमूल्य श्रोत र साधनको अधिकतम उपयोग गरी हाम्रो राष्ट्रलाई हाम्रो आफ्नै जीवनकालमा अति निर्धन मुलुकको सूचीबाट रुपान्तरण गरी सम्पन्न मुलुकको सूचीमा पुर्‍याउन चाहन्छौं । नेपालवादको दर्शन यसै अभीष्ट पूरा गर्न केन्द्रित छ।

लगानीको दीर्घकालीन उपयोगिता प्रवर्द्धन गर्ने गरी रोजगारीका दिगो अवसरहरुको विकास र अर्थतन्त्रको सुद्दृढीकरणमा टेवा पुग्ने गरी नीतिगत व्यवस्था र कार्यान्वयन परिपाटी सुव्यवस्थित गराउनुपर्ने आजको आवश्यकता हो।

बढीभन्दा बढी नेपाली उत्पादनमा आत्मनिर्भर बन्न सहजकारी हुने नेपालवादको राष्ट्रिय नीति अवलम्वन गर्नु अझ समयसापेक्ष बनेको छ। मूलत बेरोजगारीले अर्थतन्त्रको दीर्घकालीन असन्तुलनलाई इंगित गर्दछ भने वाह्य व्यापार असन्तुलनका साथै हाल आएर भुक्तानी सन्तुलन र विदेशी विनिमय स्थितिमा समेत प्रतिकूलता देखिनु हाम्रोजस्तो आयातमूखी, अविकसित अर्थतन्त्रका लागि थप अस्थिरता र अनिश्चितताजन्य कारक हो। अत्यधिक परनिर्भरताले हाम्रो अकर्मण्यता, अक्षमता र अस्वस्थता प्रतिबिम्बित गर्दछ। अर्थतन्त्रले धान्न नसक्ने परनिर्भरताबाट मुक्ति नै नेपालवादको साध्य हो। त्यसैले, लगानीको दीर्घकालीन उपयोगिता प्रवर्द्धन गर्ने गरी रोजगारीका दिगो अवसरहरुको विकास र अर्थतन्त्रको सुद्दृढीकरणमा टेवा पुग्ने गरी नीतिगत व्यवस्था र कार्यान्वयन परिपाटी सुव्यवस्थित गराउनुपर्ने आजको आवश्यकता हो।

मार्गनिर्देशक सिद्धान्त, उद्देश्य र रणनीति
अत्यधिक परनिर्भरताबाट नेपाल र नेपालीलाई बचाई रोजगारी प्रवर्द्धन, आर्थिक वृद्धि, गरिबी निवारण, समावेशी र समन्यायिक दिगो विकास तथा अर्थतन्त्रको स्वस्थ, सुदृढ, सन्तुलित र गतिशील रुपान्तरण सुनिश्चित हुने वातावरण कायम गर्नु नै नेपालवादको मार्गनिर्देशक सिद्धान्त हो ।

सारांशमा नेपालवादका उद्देश्यहरुलाई निम्न अनुसार संक्षेपीकरण गर्न सकिन्छ:

• जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” भन्ने आदर्श वाक्य सदा आत्मसात गर्दै राष्ट्रको गौरवपूर्ण छवि, स्वाभिमान, पौरख, सभ्यता, संस्कृतिको पहिचान, संवर्द्धन र उपयोग बढाउने,

• दीगाे रुपमा उत्पादनशील, प्रतिस्पर्धात्मक, सबल, सक्षम, सुदृढ र समृद्ध अर्थतन्त्र निर्माण गर्ने,

• रोजगारीका अवसरहरुको व्यापक विस्तार गर्दै बेरोजगारी अन्त्य गर्ने,

• शासनसत्तामा बस्नेहरुको परनिर्भर मानसिकताबाट अर्थतन्त्रलाई मुक्त गर्ने,

• न्यूनतम मानवीय आवश्यकता परिपूर्तिका सुनिश्चिततासहितको समन्यायिक, समावेशी अर्थतन्त्र निर्माण गर्ने,

• अनुशासित र उत्तरदायी सार्वजनिक वित्त क्षेत्रको माध्यमद्वारा अर्थतन्त्रमा असन्तुलन, अस्थिरता र अनिश्चितता हटाई रोजगारी र आर्थिक वृद्धि उच्च पार्ने, निरपेक्ष गरिबी हटाउने, उत्पादनशील लगानी वृद्धि गर्ने, अर्थतन्त्रप्रति आकर्षण बढाउने र दिगो आर्थिक समृद्धि हासिल गर्न सहजकारी हुने समष्टिगत अर्थतन्त्रको प्रवर्द्धन, विकास र सुसंचालन गर्ने,

• राष्ट्रिय उद्योगधन्दा र साधन श्रोतको संरक्षण र प्रवर्द्धनगरी नेपाली श्रम सीप र कच्चा पदार्थमा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिने,

• कृषि, जलश्रोत, पर्यटन र मानव श्रोतको विकासमा उच्च प्राथमिकता दिने,

• औद्योगिकीकरणलाई तीव्रता दिई राष्ट्रको समृद्धि र आधुनिकीकरण तर्फ फड्को मार्ने,

• सरकारले नियमन मार्फत औद्योगिकीकरण, कृषिको आधुनिकीकरण र व्यवसायको प्रवर्द्धनमा सहजकर्ताको भूमिका निभाउने ।

प्रकृतिले हामीलाई दिएको अनुपम उपहार तथा अपार श्रोतलाई कुनै आँच नपुग्ने गरी उपयोग गर्न सक्नुपर्दछ। नेपालवादको दर्शनलाई अङ्गीकार गर्दै जनताका न्यूनतम गाँस, बास र कपासलगायत अन्य आधारभूत आवश्यकता आफ्नै मातृभूमिले प्रदान गरेको श्रोत साधनबाट पूरा गर्दै समृद्धिको पथमा अगाडि बढ्नुको विकल्प छैन।

नेपालवादका उद्देश्यहरु परिपूर्ति गर्न निम्नानुसारका रणनीतिहरु कार्यान्वयन गरिने छ:

• स्वदेशी श्रमको पहिलो हितकारी पक्ष मातृभूमि भएकाले हाम्रो श्रम मातृभूमिकै लागि उपयोग गर्न आवश्यक व्यवस्थासहित उपयुक्त पहल गर्ने,

• उत्पादनका अन्य साधनहरु जस्तै पूँजी, प्रविधि, उद्यमशीलताको पनि पहिलो हकदार मातृभूमि नै हुने भएकाले यी साधनको परिचालन र उपयोग स्वदेशी अर्थतन्त्रको विकास र प्रवर्द्धनको लागि निर्देशित हुने परिवेश निर्माण गर्ने,

• सुन फुल्ने हाम्रो जमीनको वैज्ञानिक भूउपयोग नीति, योजना र नक्सा बनाई तथा शहरीकरण योजना तर्जुमा गरी लागू गर्ने जसबाट वहुमूल्य कृषि क्षेत्रका लागि जमिनको आपूर्ति र उपलव्धता सुलभ होओस् र सोही अनुसार भूमिको प्रयोग र उत्पादनशीलता वढाउन योगदान मिलोस्,

• आय आर्जनका अवसर गाउँ-गाउँसम्म फैलाउने,

• हाम्रो उद्यमशीलता, रोजगारी, आय आर्जन, स्वावलंबन र आत्मनिर्भरतामा अनुकूल प्रभाव पर्ने गरी तथा उद्योगधन्दा, आन्तरिक उत्पादन र निर्यात क्षेत्रको संवर्द्धन गर्न सघाउ पुग्ने गरी आर्थिक र वित्तीय नीति संस्थापित गर्ने,

• बढीभन्दा बढी जनताको आर्थिक सामर्थ्य वृद्धि गर्ने,

• अन्तर-पुस्तागत समानता र समन्यायिकता सुनिश्चित गर्ने,

• उपलव्ध राष्ट्रिय श्रोत साधन र वस्तुको पहिचान, विकास र उपयोग बढाउने,

• सम्पूर्ण नागरिकहरुलाई नेपालको प्राकृतिक श्रोत र साधनको उपयोग र नेपालमा विद्यमान विकासका प्रचुर सम्भावनाबारे सुसूचित गराई देशको विकासप्रति जागरुकता र आत्मविश्वास अभिवृद्धि गराउने,

• हिमाल, पहाड, तराई-मधेशको सन्तुलित, सदभावयुक्त र विभेदरहित समाज निर्माण तथा सहज, सरल र समानरुपले सेवा प्रवाहको निरन्तरता र स्तरीयतामा प्रतिवद्ध रहने,

• नागरिकप्रति सरकारको सरोकारभाव र उत्तरदायित्व संस्थागत गर्ने ।

कार्यनीति
प्रकृतिले हामीलाई दिएको अनुपम उपहार तथा अपार श्रोतलाई कुनै आँच नपुग्ने गरी उपयोग गर्न सक्नुपर्दछ। नेपालवादको दर्शनलाई अङ्गीकार गर्दै जनताका न्यूनतम गाँस, बास र कपासलगायत अन्य आधारभूत आवश्यकता आफ्नै मातृभूमिले प्रदान गरेको श्रोत साधनबाट पूरा गर्दै समृद्धिको पथमा अगाडि बढ्नुको विकल्प छैन। तसर्थ, त्यसका लागि निम्न अनुसार काम गर्न आवश्यक छ:

• पुर्खाको सम्मान, हाम्रो गौरव र भावी पुस्ताको हितका लागि मनैदेखि प्रतिवद्ध भएर स्वदेशी उत्पादनहरुको गुणस्तर राम्रो बन्ने बनाउने वातावरण सिर्जना गर्ने,

• स्वदेशी वस्तुको उपयोग र उपभोगलाई अभिवृद्धि गर्ने, गराउने,

• केही महंगो भए पनि विदेशी वस्तुको सट्टा स्वदेशी वस्तुको उपयोग लाई प्राथमिकता दिने,

• नेपाललाई न्यूनतमरुपमा चाहिने केही सीमित वस्तुहरु जस्तै मासु, फुल, दूध, चिया, चिनी, सिमेन्ट, फलामे रड, केही औषधि, ईंटा, फर्निचर, साबुन, केही हरियो तरकारी आदिमा नेपाल आत्मनिर्भर हुँदै गए पनि अन्य सबै उपभोग्य, औद्योगिक र लगानीयोग्य वस्तुहरुमा नेपाल पूर्ण वा अधिक हिस्साले परनिर्भर रहेकोले यी वस्तुहरुमा परनिर्भरता क्रमिक रुपमा घटाउन अध्ययन, अनुसन्धान र संभाव्यताका आधारमा योजना तर्जुमा र कार्यान्वयनको मास्टर प्लान तयार गर्ने,

• नेपालमै पाइने कच्चा पदार्थ प्रयोगका लागि प्राथमिकता दिन सम्वन्धित उद्योगलाई विशेष प्रोत्साहन दिने,

• जति बढी देशभित्र मूल्य अभिवृद्धि भयो त्यति बढी उत्पादनका साधनहरुको परिचालन, सकृयता र गुणक योगदान वा प्रभाव बढ्दै जाने र यसको फलस्वरुप अर्थतन्त्रमा समृद्धि चक्र सुदृढ र समृद्ध हुँदै जाने परिप्रेक्ष्यमा वस्तुहरुको मूल्य अभिवृद्धिको अनुमानित स्तर अनुसार उत्पादन वृद्धिकालागि प्रोत्साहनको थप व्यवस्था गरिने,

• नेपालका विभिन्न भेगमा उपार्जन गर्न सकिने मौलिक उत्पादनका लागि युवाहरुलाई सिपमूलक शिक्षा दिने,

• स्वदेशमै बसेर काम गरौं, विदेशीकालागि रगत पसिना नबगाऊँ र आफ्नै नेपाली मौलिक उत्पादनहरुलाई सगुन बनाएर बेचौं भन्ने नारालाई चरितार्थ पार्ने,

• नेपाली कागज, अल्लोको कपडा, नेपाली ढाका, जुटको झोला, गलैँचा, पश्मीना, छालाका सामान, हस्तकलाका सामान, पशुजन्य उत्पादन, जडीबुटी, अलैँची, चिया,  कफी, मह, छुर्पी, दाल, फलफूल, खुकुरी, मूर्ति, गरगहना, नेपाली चुनढुंगाबाट निर्मित सिमेन्ट आदिको मापदण्डअनुसार गुणस्तरीय उत्पादन गरी अन्तर-राष्ट्रिय बजारमा निर्यात बढाउने,

• नेपाली मौलिक उत्पादन र निर्यातको लागि अध्ययन, अनुसन्धान र कार्यान्वयन गर्ने निकाय गठन गरी यस संवन्धमा विज्ञहरुको सार्थक संलग्नता प्रवर्द्धन गर्ने,

• नेपाल र नेपालीलाई प्रकृतिले दिएको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमशृंखला, रारालगायतका ताल-तलैया, कालीगण्डकी लगायतका नदीनाला, खप्तडलगायतका मनमोहक भूमि आदिको संरक्षण र प्रवर्द्धन गर्ने,

• नेपालको मौलिक प्रथम उत्पादनलाई न्यूनतम कर लिने,

• नेपालमै बिउबिजन उत्पादनमा जोड दिने,

• बाहिरबाट बिउबिजन ल्याई गरिएको उत्पादन तथा बाहिरबाट कच्चा पदार्थ ल्याई गरिएको उत्पादनमा पनि केही कर छुटको व्यवस्था गर्ने,

• उत्पादक किसान र उपभोक्ताको आपसी हित अभिबृद्धि गरी कृषि क्षेत्रको उत्तरोत्तर प्रगतिमा सघाउ पुर्याउन तथा खाद्य सुरक्षाको दिगोरुपमा प्रत्याभूति गर्न कृषिजन्य वस्तुको बजार प्रणाली र व्यवस्थापनको सुदृढीकरणका लागि नीतिगत, संस्थागत, कानुनी र प्रकृयागत परिमार्जनहरु निरन्तर जारी राख्ने,

• खाद्यान्नमा आत्मनिर्भर हुनेगरी कृषि क्षेत्रको प्रवर्द्धन गर्ने,

• नेपालमा सोही प्रकृतिकोका उत्पादन भए पनि बाहिरबाट सोही प्रकृतिका वस्तुहरु आयात गरिन्छ भने यस्तो आयातमा थप करको व्यवस्था गर्ने,

• सम्पूर्ण सरकारी निकायहरुमा कार्यरत कर्मचारी-नेपाली सेना, प्रहरी, शिक्षक र निजामती कर्मचारी आदिलाई दिइने पोशाक अनिवार्य “मेड इन नेपाल” को हुनु पर्ने,

• सम्पूर्ण सरकारी कार्यालयहरुमा प्रयोग हुने कार्पेट, पर्दादेखि खानेकुराहरु समेत अनिवार्य “मेड इन नेपाल” को हुनु पर्ने,

• आयुर्वेदको जननीको रुपमा नेपाल भूमिलाई चिनिन्छ; त्यसैले, आयुर्वेदको विकास र प्रवर्द्धनको लागि सशक्त ढङ्गले काम गर्ने,

• यथेष्ट मात्रामा विद्युत उत्पादन गरी विद्युतीय उपयोगलाई बढाउँदै ग्यास तथा पेट्रोलियम पदार्थको विस्थापन र विद्युतीय सवारी साधन व्यापकरुपमा विस्तार गर्ने,

• काठमाडौ-तराई मधेश जोड्ने पाँचदेखि छ लेनका द्रुत मार्ग, रेल्वे लाइनहरुको सन्चालन, तराई तथा मध्य-पहाडी क्षेत्रहरुमा रेल यातायातको व्यवस्था र कालोपत्रे गरिएको सडक संजालले सबै स्थानीय पालिकाहरुलाई जोड्ने,

• सीमामा ठूला पिलरहरुसँगै आवश्यकता अनुसार हरितबार लगाई व्यवस्थित ढंगले सीमा क्षेत्रको सुरक्षा गर्ने, मजबूत बनाउने,

• सीमा नाकामा हुने अनौपचारिक व्यापार पूर्णरुपमा नियन्त्रण गर्ने,

• धार्मिक सहिष्णुता कायम राख्दै जनअभिमतको कदर गर्ने,

• योगभूमि, तपोभूमि, ज्ञानभूमि नेपाललाई योग र तपको केन्द्र-विन्दुको रुपमा विकास गर्दै एक साधन सम्पन्न योग विश्वविद्यालयको समेत स्थापना गर्ने,

• विज्ञान र प्रविधिको विकास, संरक्षण तथा प्रवर्द्धन र राष्ट्रिय आविस्कार केन्द्रहरुको स्थापना गर्ने,

• एनजीओ, आइएनजीओका अनावश्यक गतिविधिनियन्त्रण गर्दै उनीहरुका कामकारबाही पारदर्शी बनाउने,

• नेपालीहरुद्वारा आर्जन गरिएका बौद्धिक सम्पतिको संरक्षण संवर्द्धन गरी यस सम्वन्धी अन्तर्राष्ट्रिय बजारको व्यवस्थापनमा जोड दिने,

• राज्यबाट पछाडि पारिएका सीमान्तकृत आदिवासी, कमजोर र पिछडिएका वर्गको जीवनस्तर उकास्न ती समूहलाई राज्यको मूलप्रवाहीकरणमा सामेल गराउन सशक्त कदमहरु कार्यान्वयनमा ल्याउने,

• अनियमितता र भ्रष्टाचार गर्ने प्रवृत्ति नियन्त्रण गर्न भ्रष्ट नेता र पदाधिकारीको आर्जन र सम्पत्तिको छानबिन र कारबाहीकोलागि जनताको स्वतन्त्र आयोग गठन गर्ने,

• समावेशीता र सामाजिक सुरक्षा प्रणालीको सुनिश्चितता गर्ने,

• जनतालाई खाद्य संप्रभुता सहित अन्य आवश्यक वस्तुहरुको निरन्तर आपूर्तिको प्रत्याभूति दिलाउने,

• वैकल्पिक ऊर्जा, प्रविधि, सीप, दक्षताको आवश्यक जगेर्ना, अत्त्युक्तम परिचालन तथा उपयोग गर्ने ।

उपसंहार

हाम्रा सबै प्राकृतिक, भौतिक, मानवीय, सामाजिक, सांस्कृतिक र मानव-निर्मित साधन, श्रोत, क्षमता, जाँगर, अठोट, उद्यमशीलता, प्रतिवद्धता एवं सम्भावना समेतको पूर्ण परिचालन गर्दै राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक रुपले बनाउने पहल र अभ्यास गर्नु नेपालवादको लक्ष हाे। नेपालवादको दर्शनले हाम्रो आवश्यकता, आकांक्षा र संभावनाबीच संयोजन गराई दीगाेरुपमा अनुकूल एवं उत्कृष्ट परिणाम दिलाउने प्रचुर संभावना राख्दछ। परनिर्भरतामूखी र परमुखापेक्षी चिन्तन र दृष्टिकोणबाट पर गई प्राविधिक, आर्थिक, सामाजिक र वातावरणीय पक्षबाट संभाब्य क्षेत्र र कार्य पहिल्याई र परिमार्जन गर्दै जनता र अर्थतन्त्रको दीर्घकालीन हित नेपालवादमा निहित छ ।

आजको पारस्परिकता र प्रतिस्पर्धात्मक विश्व व्यवस्थामा त्यो राष्ट्रमात्रै माथि जान सक्छ जो आफ्नो संभाव्यता, पौरख, प्रयास र उद्यमशीलताको जगमा उभिएर विश्व मानचित्रमा आफ्नो स्थान खोज्दछ। त्यसैले नेपाल सुशासन पार्टीले आफ्नो राष्ट्रिय दर्शनको रुपमा नेपालवादलाई अंगीकार गरेको छ। देशमा स्वस्थ, समृद्ध, समावेशी र समन्यायिक समाज र अर्थव्यवस्था निर्माण र सुसन्चालनका लागि परनिर्भरता घटाउने र अन्तर-निर्भरता बढाउने गरी नीति र कानुन तर्जुमा र कार्यान्वयन हुनु आवश्यक छ। नेपालवादले समेटेको मार्गनिर्देशक सिद्धान्त, उद्देश्य र रणनीतिअनुरुप लक्षित गन्तव्यको लामो यात्रा पूरा गर्न सहज, सरल र सामन्जस्य हुने गरी नेपालवादको प्रकृति, स्वरुप, संरचना र संचालन प्रकृया तर्जुमा र निर्धारण गरिँदैछ। नेपाल सुशासन पार्टीको मूलमन्त्र राष्ट्रियता, सुशासन र समृद्धि रहेकाले नेपालवादका मूल्य, मान्यता, सिद्धान्त र नीतिहरुको अन्तिम गन्तव्य समेत यही मूलमन्त्र प्राप्ति र संबर्द्धनतर्फ नै निर्देशित हुने हाम्रो अठोट छ र त्यसै अभीष्ट पूरा गर्न हामी दृढ संकल्पित र समर्पित छौं ।

(लेखक नेपाल सुशासन पार्टीका केन्द्रीय उपाध्यक्ष हुन्)


Leave a Reply

Your email address will not be published.