देउवालाई माधवकै पीर तर कति दिन बोक्ने?

देउवालाई माधवकै पीर तर कति दिन बोक्ने?

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पेचिलो बनिरहेको अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल गर्न मन बनाएका थिए।

निरन्तर गिजोलिँदै गइरहेको एमसिसीलाई टेबुल गरेर टुंगोमा पुर्‍याउन चाहिरहेका छन्, देउवा। चार वर्षअघि आफू प्रधानमन्त्री छँदा हस्ताक्षर भएको सम्झौता जसरी पनि संसदबाट अनुमोदन गराउन ध्याउन्नमा छन्, उनी।

बिहीबार साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठककोे प्रस्तुतिले पनि एमसिसी अनुमोदनका लागि देउवा कति आतुर छन् भने प्रष्ट हुन्छ।

बैठकमा देउवाको सोझो प्रस्ताव थियो – शुक्रबार संसदमा टेबुल गरौं। पास फेल जे हुन्छ त्यहीँबाट निर्णय गरौं। अब अरू ढिला गर्नु हुँदैन।

देउवाको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ थियो – एमसिसी टेबुल भए हामी सरकारबाट बाहिरिनेछौं।

हुन त प्रचण्डले एमसिसी टेबुलभए सरकारबाट बाहिरिने संसदीय दलको निर्णय बुधबार नै देउवालाई सुनाइसकेका थिए।

संसदमा एमसिसी टेबुल हुन नदिन प्रचण्ड हरेकखाले ‘जोडबल’ गरिरहेका छन्। तर, देउवा ‘टसमस’ भएका छैनन्।

‘एमसिसीको विपक्षमा मत हाल्नुस् वा अनुपस्थित हुनुस् तर टेबुल हुनुपर्छ,’ प्रचण्डसँगको हरेक भेटवार्ता र गठबन्धनको बैठकमा पनि देउवाले भन्ने गरेका छन्।

गएको सेप्टेम्बरमा चार–पाँच महिनाभित्र एमसिसी पास गर्ने अमेरिकालाई दिएको लिखित ‘वचन’ माथि अडिन नसकेपछि देउवा आक्रोशित छन्। र, उनको त्यो आक्रोश गठबन्धनको बैठकहरूमा पोखिन थालेको छ।

एमसिसी अनुमोदनमा सहयोग गर्ने ‘वचन’ बाट उल्टिएपछि प्रचण्डले ‘धोका’ दिएको निष्कर्ष कांग्रेस नेताहरूको छ।

‘दलबाट निर्णय नगरेको भए र उग्र नबोलेको भए विश्वास गर्ने सम्भावना हुन्थ्यो,’ देउवानिकट कांग्रेसका एक नेताले भने,‘अब उहाँहरूको नकचरोपनको पनि पराकाष्ठा भयो। त्यसले गर्दा उहाँहरूलाई विश्वास गर्न गाह्रो भयो। विश्वास गर्न सक्ने अवस्था रहेन। प्रधानमन्त्रीको मन ‘खिन्न’ भैसक्नु भएको छ।’

सरकारमा सहभागी भएर पनि एमसिसी टेबुल गर्न माओवादीले ‘आलटाल’ गर्न थालेपछि बिहीबारकोे गठबन्धनको बैठकलाई ‘निर्णायक’ भनिएको थियो। कांग्रेसकै कतिपय नेताहरूले पनि ‘आजको बैठक अन्तिम हुनसक्ने’ बताएका थिए।

तीन घण्टासम्म चलेको बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि शुक्रबार बिहान फेरि गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटे। तर, शुक्रबार बिहानको बैठकले पनि कुनै निष्कर्ष निकाल्न नसकेपछि आइतबार अर्को बैठक बोलाइएको छ।

सदनमा एमसिसी टेबुल गर्ने अडानकाबीच सत्ता साझेदार नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको आग्रहमा देउवा गठबन्धनको बैठक आइतबार राख्न सहमत भएका हुन्।

प्रधानमन्त्री देउवाले शुक्रबारकै बैठकमा एमसिसी प्रस्ताव टेबुल गर्नुपर्ने अडान प्रस्तुत गरेका थिए।

नेता नेपालले शनिबार आफूहरूको स्थायी कमिटी बैठक बस्न लागेको र बैठकले एमसिसीबारे आधिकारिक निर्णय गर्ने भएकाले एक दिन कुर्न आग्रह गरेका थिए।

‘प्रधानमन्त्रीले आजै एमसिसी टेबुल गर्नुपर्छ भन्नभयो। तर, हामीले ८ गतेसम्म कुर्न आग्रह ग¥यौं। त्यसमा उहाँ सहमत हुनुभयो,’ बैठकपछि नेपालले भने।

एमसिसी टेबुलभए सरकार छाड्ने माओवादी केन्द्रले संसदीय दलको बैठकबाटै निर्णय गरिसके पनि एकीकृत समाजवादीले आधिकारिक निर्णय गरेको छैन।

केही दिनअघि बसेको सचिवालय बैठकले एमसिसीबारे धारणा बनाउने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको थियो। र, एमसिसीबारे निर्णय लिन शनिबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ।

व्यक्तिगत रूपमा केही नेताले एमसिसीको विरोधमा धारणा राखिरहे पनि अध्यक्ष नेपाल आफैं भने हालसम्म मौन बसिरहेका छन्। सार्वजनिक रूपमा केही बोलेका छैनन्।

बरू एमसिसीकै कारण माओवादीले भनिरहेजस्तो सरकार छाड्न नहुने पक्षमा छन्, नेपाल। र, बिहीबारको गठबन्धनको बैठकमा उनले यो कुरा राखिसकेका छन्।

‘एमसिसीमा मतदान हुँदा हामी संसदमा उपस्थिति भए पनि वा नभए पनि सरकार छाड्नुपर्छ भन्ने पक्षमा म छैन,’ नेपालले भनेका थिए।

एमसिसी प्रकरणमा माओवादी केन्द्रभन्दा अलि ‘नरम’ देखिएका छ एकीकृत समाजवादी। यद्यपि शनिबार बस्ने स्थायी कमिटीको बैठकले गर्ने निर्णयपछि उसको ‘पोजिसन’ प्रष्ट हुनेछ।

अहिलेको राजनीतिक परिदृष्यमा लगभग ६ महिनाअघि जन्मिएको एकीकृत समाजवादीलाई गठबन्धनको सबैभन्दा जरूरी छ। एमाले फुटाएर स्थापना भएको एकीकृत समाजवादी सबै जिल्लाहरूमा संगठनसमेत विस्तार गर्न नसकेकोले चुनावसम्म जसरी पनि गठबन्धनलाई लम्ब्याउन चाहिरहेको छ।

गठबन्धन भत्किए त्यसको सबैभन्दा ठूलो असर आफूलाई भोग्नुपर्ने विषयमा नेपाल राम्ररी ‘वाकिफ’ छन्।

त्यसैले नेता नेपाल एमसिसीमा केही उदार भएर पनि गठबन्धन जोगाउन र सरकारमा बसिरहन चाहिरहेका छन्।

प्रतिनिधिसभाको दोस्रो दल नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन नेता नेपालको महत्वपूर्ण भूमिका छ।

प्रतिनिधिसभा विघटन गर्ने आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीको विरोधमा नउत्रिँदो हो र नेपालले पार्टी नै विभाजन नगरिदिएको भए आज देउवा पक्कै पनि प्रधानमन्त्री हुँदैन थिए होलान्।

ओलीसँग बोलचाल नै बन्द हुनेगरी ‘दुशमनी’ साधेर पनि उनले देउवालाई प्रधानमन्त्रीको कुर्चीमा बस्न लगाए।

देउवालाई लगाएको त्यो ‘गुण’ को प्रतिफलको अपेक्षा गर्नु नेपालका लागि स्वभाविकै हो। त्यसैले नेपालको एक आग्रहमा शुक्रबारकै प्रतिनिधिसभा बैठकमा एमसिसी टेबुल गर्ने ‘मुड’ मा रहेका देउवा एक दिनका लागि ‘होल्ड’ गर्ने निर्णयमा पुगेका छन्।

हुन त देउवासँग सम्बन्ध बिगारेर अगाडि बढ्ने विकल्प पनि एकीकृत समाजवादीसामु देखिँदैन। किनभने एमसिसीकै कारण सरकारबाट बाहिरिए वा गठबन्धन तोडे सांगठनिक हिसाबले कमजोर एकीकृत समाजवादीलाई शक्ति सञ्चय गर्न त्यति सहज छैन।

एमाले अध्यक्ष ओलीले पनि प्रचण्ड र नेपाललाई अब बोक्न नसकिने कैयौंपटक सार्वजनिक रूपमै भनिसकेका छन्।

एमसिसी टेबुल हुँदा माओवादीले भनेजस्तो सरकारबाट बाहिरिने वा सरकारमै रहने ‘दोधार’ मा फसेका छन्, नेता नेपाल।

एमसिसी अनुमोदन गराउन सत्ता साझेदार दलबाटै साथ नपाउने संकेत पाएपछि प्रधानमन्त्री देउवा एमालेसँग हिमचिम बढाउन उद्यत देखिन थालेका छन्।

यसअघि आफूनिकट नेताहरूमार्फत संवाद गराइरहेका देउवा बिहीबार राति गठबन्धनको बैठक सकेलगत्तै ओलीसँग भेट्न पत्नी आरजुलाई लिएर आफैं बालकोट पुगे।

ओलीसँग भेट्न गइरहेको विषयमा गठबन्धनको बैठकमै नेताहरूलाई सुनाइसकेका थिए। संसद सञ्चालन र एमसिसी अनुमोदनमा सहयोगका लागि आग्रह गर्न ओलीसँग भेट्न बालकोट जानलागेको देउवाले भनेका थिए।

तर, गठबन्धनभित्रै ‘खटपट’ भैरहेका बेला संसद सञ्चालन र एमसिसी अनुमोदनका विषयमा मात्र दुई नेताबीच छलफल भएको अनुमान गर्न कठिन छ।

त्यसो त एमाले अध्यक्ष ओली एमसिसी अनुमोदन र प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि तयार छन्।

त्यसका लागि ओलीको शर्त छ– सभामुखको बर्हिगमन र माधव नेपालसहित १४ सांसदलाई कारबाही।

ओलीले कांग्रेस नेताहरूसँग भएका कुराकानीमा ‘माधवको त म मुख पनि हेर्न चाहन्नँ। यिनीहरूलाई छाड्ने निर्णय गरेर आए मेरो साथ रहन्छ’ प्रष्ट गरिसकेका छन्।

कांग्रेसले एमसिसी अनुमोदनका लागि प्रमुख प्रतिपक्षी दल एमालेको साथ खोजिरहेको छ। यहाँ सम्म कि सत्ता साझेदार दलबाटै असहयोग हुन थालेपछि कांग्रेसकै कतिपय नेताले गठबन्धनको औचित्य सकिएको र एमालेसँग सहकार्य गर्नुपर्नेमा जोड दिन थालेका छन्।

यदि त्यसो भइदिए अनेपक्षित ढंगबाट सत्ताको नेतृत्वमा पु¥याउन भूमिका खेलेका नेता नेपाललाई देउवाको साथ रहला त?

‘सरकारको प्रस्तावमा सत्ता साझेदार दलबीच न्यूनतम समझदारी बन्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ कांग्रेसका एक पदाधिकारीले भने,‘प्रचण्डजीहरूले त निर्णय नै गरिसक्नुभएको छ। माधवजीहरूको बैठक भोलि बस्दैछ। उहाँहरूकै बैठकलाई हेरेर एक दिन सारिएको छ। भोलिको बैठकमा उहाँहरूले गर्ने निर्णयको आधारमा अगाडि बढ्ने छौं।’


Leave a Reply

Your email address will not be published.