प्रचण्डकै ‘लाइन’ मा माधव : एक्लिएका हुन् देउवा?

प्रचण्डकै ‘लाइन’ मा माधव : एक्लिएका हुन् देउवा?

काठमाडौं –

प्रतिनिधिसभाको बैठकबाट बाहिरिँदै गर्दा शुक्रबार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सञ्चारकर्मीमाझ भनेका थिए, ‘एमसिसीमा छलछाम भयो। एमसिसीको भारी कांग्रेसलाई बोकाउने काम नगरौं।’

थापाको आशय थियो- कम्तिमा सत्ता साझेदार पाँच दल एकमतका साथ एमसिसीको पक्षमा उभियोस्।

सत्ता गठबन्धनमा सामेल दलहरूको राजनीतिक कर्तव्य पनि हो- सरकारको प्रस्तावमा समाधान धारणाका साथ प्रस्तुत हुने। त्यसो हुन नसक्दा गठबन्धनको आयु सकिएको अनुमान लगाउन सकिन्छ।

महामन्त्री थापाले पनि भनेका थिए, ‘सरकारको प्रस्तावमा पनि समान धारणा बनाउन नसक्दा गठबन्धनको के अर्थ? एमसिसी अनुमोदनका लागि एकमत हुन नसक्दा गठबन्धन धेरै चल्दैन।’

पछिल्लो एक महिनादेखि नेपाली राजनीति एमसिसीको सेरोफेरोमा घुमिरहेको छ। एमसिसी टेबुल गर्ने-नगर्ने द्वन्द्वमा दलहरू अल्झिँदा गिजोलिँदै गइरहेको राजनीतिका कारण आमनागरिकका महत्वपूर्ण मुद्दा ओझेलमा परिरहेको छ।

एमसिसी अनुमोदन पछिको चरण हो। त्यसअघि छलफलका लागि सदनमा टेबुल गर्नुपर्ने हुन्छ। र, सदनमा टेबुल गर्ने विषयमै सत्ता साझेदार दलहरूको एकमत हुन सकिरहेको छैन। हुँदाहुँदा एमसिसी टेबुल गर्ने विषयमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एक्लिएको छ।

सत्ता साझेदार नेकपा(एकीकृत समाजवादी) पनि माओवादी केन्द्रकै ‘लाइनमा’ उभिने निष्कर्षमा पुगेपछि एमसिसीको ‘लडाइँ’ मा कांग्रेस एक्लो भएको हो।

एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले संसदमा एमसिसी टेबुल हुन नदिने निर्णय गरेको छ।

सम्झौताका कतिपय प्रावधानहरू असमान रहेको र त्यसलाई परिमार्जन नगरेसम्म संसदमा टेबुल हुन नदिने एकीकृत समाजवादीको निर्णय छ। साथै एमसिसी टेबुल गर्न उसको शर्त छ– एमालेले सदनको गतिरोध अन्त्य गर्नुपर्ने।

‘सदनमा एमालेले अवरोध गरिरहेको छ। सदन चल्न नसकिरहेको बेला एमसिसी टेबुल हुन नदिने हाम्र्रो भनाइ हो,’ एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा भन्छन्,‘भोलिको बैठकमा सम्भवतः टेबुल हुँदैन।’

एमसिसी टेबुल गर्न सदन गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले शर्त राखेर सभामुखको बर्हिगमन र आफ्ना १४ सांसदलाई एमालेले गरिरहेको कारबाहीको मागलाई ‘डाइल्युट’ गर्ने रणनीति अपनाएको देखिन्छ।

यसअघि बुधबार बसेको माओवादीको संसदीय दलले पनि यस्तै निर्णय गरेको थियो। बरू एकीकृत समाजवादीभन्दा एक कदम अगाडि एमसिसी टेबुल भए सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय छ।

संसदीय दलको त्यो निर्णय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देउवालाई सुनाइसकेका छन्।

चार–पाँच महिनापछि एमसिसी अनुमोदन गर्न गत सेप्टेम्बरमा अमेरिकालाई आफूसँगै लिखित वचन दिएर त्यसमा अडिन नसकेपछि माओवादी अध्यक्ष प्रचण्डप्रति देउवाको मन ‘खिन्न’ भएको छ।

देउवा प्रतिनिधिसभामा एमसिसी टेबुल गर्न दृढ छन्। सदनमा टेबुल गरेर त्यहीँबाट छिनोफानो गर्न चाहिरहेका छन्, उनी।

एमसिसी टेबुल गर्ने अनि कम्तिमा तीनै तहको चुनावसम्म गठबन्धन पनि जोगाउने रणनीति देउवाको छ। साथै गठबन्धन भत्किने अवस्था आए एमसिसी अनुमोदनका लागि उनले एमालेको पनि साथ खोजिरहेका छन्।

गठबन्धन बैठकलगत्तै बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग देउवाले गरेको भेटवार्ताले पनि कम्तिमा त्यही सन्देश दिएको छ।

एमसिसी अनुमोदनका लागि साथ नदिए एमालेसँग सहकार्य हुनसक्ने बालकोट पुगेर सत्ता साझेदार दलमाथि ‘दबाब’ सिर्जना गर्ने रणनीति पनि देउवाले लिएका छन्।

गठबन्धन तोडेर आउँदा एमसिसी अनुमोदनका लागि ओलीले साथ दिनेमा देउवा लगभग ढुक्क छन्। तर, चुनावसम्म प्रधानमन्त्री मान्लान् कि नमान्लान् ‘डर’ देउवालाई छ।

त्यसैले उनी सकभर गठबन्धनभित्रै सहमति बनाएर अगाडि खोजिरहेको देखिन्छ। एमसिसीमा सहमति जुटाउन प्रचण्ड र नेपालसँग निरन्तर संवाद गरिरहेका छन्। दिनहुँजसो गठबन्धनको बैठक बोलाइ रहेका छन्।

माओवादीकै शैलीमा एकीकृत समाजवादीले पनि निर्णय गरेपछि आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा पनि एमसिसी टेबुल हुने नहुने अन्योल देखिएको छ।

देउवानिकट कांग्रेसका एक नेताले आइतबार जसरी पनि एमसिसी टेबुल हुने दाबी गर्छन्। ‘अब धेरै भैसक्यो, एमसिसीमै सँधै अल्झिइरहनु ठीक होइन,’ ती नेताले भने,‘भोलि टेबुल हुन्छ। पास फेल जे भए पनि अब सदनबाटै निक्र्यौल निकालिन्छ।’

एमसिसीका विषयमा माओवादी केन्द्र र एकीकृत समाजवादीले सहयोग नगर्ने निर्णय गरे पनि टेबुल हुन दिन अवरोध नगर्ने सत्ता साझेदार दलबीच आन्तरिक सहमति भएको बताइएको छ।

शुक्रबार र शनिबार लगातार दुई दिन बसेको बैठकमा गठबन्धन जोगाउने अनि एमसिसी टेबुल पनि हुनदिने सहमति सत्ता साझेदार दलबीच भएको स्रोतको दाबी छ।

टेबुल भएर मतदानमा जाँदा सबै मन्त्रीले पक्षमा मतदान गर्ने, सांसदलाई ह्विप नलगाउने, सांसदहरूले पक्ष, विपक्ष वा बहिष्कारै गरे पनि कारबाही नगर्ने सहमति गठबन्धनमा भएको कांग्रेसका एक नेताले बताए।

ती नेताले भनेअनुसार सत्ता साझेदार दलबीच सहमति भएको हो भने आइतबार प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल हुने पक्का छ।

नयाँ दल भएकोले अहिले गठबन्धनको खाँचो सबैभन्दा बढी एकीकृत समाजवादीलाई छ। संगठनसमेत विस्तार गर्न नसकेकोले उसले चुनावसम्म गठबन्धनलाई निरन्तरता दिएर अगाडि बढ्न चाहिरहेको छ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख खतिवडा पनि एमसिसीकै कारण गठबन्धन नटुट्नेमा आशावादी देखिन्छन्। दुवै फरक विषय रहेकोले एमसिसीकै कारण गठबन्धन नटुट्ने उनले बताए।

‘निरन्तरता दिनकै लागि गठबन्धन भएको हो। गठबन्धनको आवश्यक्ता सबै दललाई छ,’ उनले भने,‘फेरि एमसिसी र गठबन्धन फरक विषय पनि हो। एमसिसीकै कारण गठबन्धन टुट्दैन होला।’


Leave a Reply

Your email address will not be published.