‘रामकुमारी’ले बोल्न थालेको ‘राजकुमारी’ भाषा

‘रामकुमारी’ले बोल्न थालेको ‘राजकुमारी’ भाषा

हरेक राजनीतिक आन्दोलनमा प्राण फुक्ने एउटा गतिशील पात्र हो, रामकुमारी। ०६२-०६३ को जनआन्दोलन वा पछिल्लो ‘प्रतिगमनविरुद्ध’को आन्दोलन। हरेक मोर्चामा प्रहरीका लाठी बुटसँग जुध्ने साहसी युवा। आन्दोलनकारीका लागि एउटा ‘बिम्ब’ नै बनिन् ‘झाक्री दिदी’ थिइन् उनी।

तर सिंहदरबार यात्रासँग उनी फेरिएकी छिन्। उनका बोली फेरिएका छन्। शैली फेरिएका छन्। स्वभावहरू बदलिएका छन्।

प्रतिगमनविरुद्धको आन्दोलनमा रामकुमारी घाइते भएर बेहोस भएकै ठाउँमा एमसिसीविरुद्ध प्रदर्शन गरिरहेकाहरूको टाउको फेरि फुट्यो। उनकै कार्यकर्ताहरूको टाउकोमाथि पुलिसले लाठी ठोकिरहँदा ‘हेबी मेकअप’मा सुरक्षाकर्मीको घेरासहित संसद भवनबाट उनी बाहिरिंदै थिइन्। क्यामेराको ‘अटेन्सन’ मा आएपछि प्रतिक्रिया दिइरहेकी थिइन्– हाम्रो पार्टीको स्थायी समिति बैठकले टेबल गर्न अनुमति दिएको हो, अब सांसदले जे गर्छन्, त्यही हुन्छ।

उनी बोलेको सुन्दा लाग्थ्यो, यी उनै ‘रामकुमारी’ हुन्? जसको ‘बोल्ड’ आवाजले सडकका आन्दोलनकारी जुरूक्क उठ्थे अनि बन्दुक बोकेका प्रहरीहरू केही कदम पछि सर्थे।

छोटै राजनीतिक यात्रामै सत्ताको ‘गुलियो’ चाख्ने मौका पाएकी रामकुमारीले आजमात्रै यसरी मुख लुकाएकी होइनन्। एमसिसीविरुद्ध सडकमा आन्दोलन चर्किरहेका बेला मन्त्री भएको नाताले सरकारले नै एमसिसी टेबल गर्ने भनेपछि प्रधानमन्त्रीको लाइनविरुद्ध आफू जान नसक्ने भन्दै ‘काइते’ स्वरमा सरकारको रक्षा गरेकी थिइन्।

आज बिहान गठबन्धनको बैठकमा एमसिसी टेबल गर्ने सहमति जुटेपछि नै आपत्ति जनाएका उनकै पार्टीका वरिष्ठ नेता झलनाथ खनाल संसद सुरु भएपछि रोष्ट्रममै पुगेर त्यसको विरोध गरे।

तत्कालीन नेकपाका बेला एमसिसी अध्ययन कार्यदलको नेतृत्व गरेका नेता खनालले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताउँदै आएका छन्। यस्तै उनकै पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि एमसिसी संसदमा टेबल भएपछि पनि सरकार जेसुकै होस् यसको पक्षमा उभिन नसक्ने प्रतिक्रिया दिएका छन्।

आन्दोलनमा उनलाई आदर्श देख्ने, मान्ने प्रदर्शकारीलाई लागेको थियो सबैभन्दा पहिला सरकार छोड्ने आँट रामकुमारीले गर्लिन् र उनको दललाई समेत एमसिसीविरुद्ध गठबन्धनमा झनै कडा प्रतिवाद गर्नेतर्फ उत्प्रेरित गर्लिन। तर, सत्ताको चास्नीमा डुबुल्किन पुगेकी रामकुमारीले अब ‘राजकुमारी’को भाषा बोल्न थालेकी छिन्।

आज नयाँवानेश्वरको सडकमा लत्पतिएको रगतले रामुकुमारीलाई खोजिरहेको छ। जनताले मन नपराएको एमसिसीविरुद्ध लड्न तपाईको खाँचो छ। रामकुमारी कमरेड, तपाईंको वास्तविक स्थान यही सडक हो, तपाईंको अस्तित्व यही सडक हो। सत्ताको गुलियो धेरै दिन टिक्दैन। आउनुस्, जनताले देश बेच्ने राष्ट्रघाती सम्झौता भन्दै सडकमा आगाे बालेका बेला त्यो कुर्सीको मोह त्याग्नुस्। ओर्लिनुस् सडकमा।

 


Leave a Reply

Your email address will not be published.