सोभियत संघ ब्युँताउन चाहन्छन् पुटिन?

सोभियत संघ ब्युँताउन चाहन्छन् पुटिन?

काठमाडौं
सन् २०१८ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक पत्रकारले सोधे–तपाईं देशको कुन घटनाक्रम उल्ट्याउन चाहनुहुन्छ?

पुटिनले तत्काल जवाफ दिए–सोभियत संघको विघटन।

उनले यस्तो खालको जवाफ पटक–पटक दिने गरेका छन्। उनी भन्ने गर्छन्–सक्ने भए म सोभियत संघको विघटन उल्ट्याउन चाहन्छु।

हाल युक्रेनमा विकसित घटनाक्रम उनको यही मानसिकताको उपज हो, या अरु कुनै?

सोभियत संघको वर्चस्व
सन् १९२२ मा अस्तित्वमा आएको सोभियत संघ २० औं शताब्दिको शक्तिशाली साम्राज्यवादी शक्तिको रुपमा रह्यो। विज्ञान, इतिहास, अर्थव्यवस्थालगायतमा अब्बल साबित भयो। सन् १९५७ मा विश्वमै पहिलोपटक मानवनिर्मित भूउपग्रह (स्पूतनिक प्रथम) अन्तरिक्षमा पठायो। रुसकै यूरी गागरिन अन्तरिक्षमा पुग्ने पहिलो मानव बने। सोभियत संघ र अमेरिकाबीच शीतयुद्ध भएपछि नै विश्व दुई ध्रुवमा विभाजित भयो।

अर्थात् १९२२ देखि १९९१ बीचको ७० वर्षसम्म विश्वभर सोभियत संघको दबदबा रह्यो।

तर २५ डिसेम्बर १९९१ मा यो महाशक्तिको पतन भयो र १५ मुलुकमा टुक्रा–टुक्रा भयो।

अक्टुबर १९५२ मा जन्मिएका पुटिन सोभियत संघ टुक्रँदा ३९ वर्षका थिए। गुप्तचर संस्था केजीबीमा कार्यरत रहेकै अवस्थामा सोभियत संघ १५ देशमा विभाजित भएको देखे। २५ डिसेम्बर १९९१ मा गरेको सम्बोधनमा सोभियत संघका अन्तिम नेता मिखाइल गोर्भाचोभले भनेका थिए, ‘सोभियत संघको राष्ट्रपतिको रुपमा गर्दै आएको कार्य बन्द गर्दैछु।’

२५ डिसेम्बर १९९१ को साँझ ७.३२ मा क्रेमलिनमा फहराइएको हँसिया हथौडा अंकित रातो झण्डा झारियो र त्यसको ठाउँ रुसी महासंघको झण्डाले लियो।

लगत्तै विश्व मानचित्रमा १५ वटा नयाँ मुलुकको जन्म भयो। जसमा आर्मेनिया, अजरबैजान, बेलारुस, इस्टोनिया, जर्जिया, कजाकिस्तान, किर्गिस्तान, लाट्भिया, लिथुवानिया, माल्दोभा, रुस, ताजिकिस्तान, तुर्कमेनिस्तान, युक्रेन र उज्वेकिस्तान थिए।

यही ऐतिहासिक घटनाक्रमका साक्षी थिए पुटिन। मिखाइल गोर्भाचोभविरुद्ध भएको ‘कू’ प्रति असहमति व्यक्त गर्दै केजीबीको जागिरबाट राजीनामा दिए।

सोभियत संघ विघटनका बेला रुस अस्थिरता र अव्यवस्थाकोे कुचक्रमा फँसेको थियो। मिखाइल गोर्भाचोभले ल्याएको पेरेस्त्रोइका र ग्लासनोस्तको प्रभावबाट रुसमा महंगी अनियन्त्रित भएको थियो। रुसी युवाका सामु एक महाशक्ति टुक्रा–टुक्रामा विभाजित भएको थियो, सँगै उनीहरुका सपना पनि छरपस्ट भइरहेका थिए। अघिल्लो दिनसम्म विश्वका महाशक्ति मुलुकका नागरिकहरु डाँवाडोल भविष्यको भूँमरीबीच थिए।

एक समयका ट्याक्सी चालक पुटिन
२० औं शताब्दिको अन्यतिरको त्यो समय। समस्त विश्व नयाँ भविष्यको पखाईमा थियो। तर त्यही समय भने जासुसको जागिरबाट राजीनामा दिएका पुटिन आफ्नो घरखर्च चलाउन ट्याक्सी ड्राइभरको काम गरिरहेका थिए। त्यो सन् १९९१ को समय थियो।

पुटिनले एक अन्तर्वार्तामा आफ्नो त्यतिबेलाको बेरोजगारीको दिन स्मरण गरेका थिए। उनले भनेका छन्, ‘खर्च चलाउन मैले धेरै कमाउनुपथ्र्यो। त्यसका लागि ट्याक्सी पनि चलाउनुपर्थ्याे । यस्तो कुरा गर्नु सुखद त होइन,तर मेरो दुर्भाग्य त्यस्तै थियो।’

त्यो बेला रुसमा ट्याक्सी मालिक बन्नु पनि दुर्लभजस्तै थियो र मानिसहरु दैनिक गुजारा चलाउन आफ्नो कार भाडामा दिने गर्थे।

तर २०१८ मा सार्वजनिक भएको एक वृत्तचित्रमा उनले फरक तथ्य औंल्याएका छन्। उनले आफ्ना रोजगारदाताका रुपमा रहेका एनाटेली सोबचाकले सेन्ट पिटर्सबर्गको मेयर चुनाव हारेपछि आफू ट्याक्सी ड्राइभर बन्नुपर्ला भनेर डराएको उल्लेख गरेका छन्।

उक्त वृत्तचित्रमा पुटिनले सोभियत संघ विघटनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘सोभियत संघको नाममा ऐतिहासिक रुसको विघटनबाट हामीहरु पूर्णं रुपमा अलग देशमा परिवर्तन भयौं। १ हजार वर्षदेखि बनाएको मुलुक सबै समाप्त भएको थियो।’

१९९१ मा सोभियत संघको क्षेत्रफल २ करोड २० लाख वर्गकिलोमिटर थियो भने विभाजनपछि रुस ५० लाख वर्गकिलोमिटरमा सीमित भयो। रुसको हिस्सामा १ करोड ७१ वर्गकिलोमिटर जमिन आयो।

२००५ मा दिएको अर्को अन्तर्वार्तामा पुटिनले सोभियत संघको विघटन २० औं शताब्दिको सबैभन्दा ठूलो ‘भूराजनीतिक त्रासदी’ भएको बताएका थिए। यसले पनि उनमा पूरानै सोभियत संघप्रतिको लगाव झल्कन्छ।

पुटिनको ‘विस्तारवादी नजर’ पूर्वसोभियत मुलुकप्रति
सन् २००० देखि हालसम्म पुटिन कुनै न कुनै रुपमा सत्ताको केन्द्रमा रहँदै आएका छन्। सधैं विश्वको नजर मस्कोमा केन्द्रित गराउन सफल भएका छन्। यसका साथै उनको नजर ती मुलुकमा गएको छ, जो १९९१ अघि सोभियत संघको हिस्सा थिए।

चेचेन्या रुसमा विलिन
रुसको विस्तारवादी नीतिको पहिलो निशाना चेचेन्या थियो। यो मुलुक पूर्वी युरोपको ककस क्षेत्रको उत्तरी भागमा अवस्थित छ। यसलाई रुसले नियन्त्रणमा लिएको छ। तर १९९१ मा सोभियत संघ विघटनअघि नै चेचेन्याले आफू स्वतन्त्र भएको घोषणा गरेको थियो। त्यतिबेला विघटनपछि सत्तामा आएका बोरिस येल्तसिनले यसलाई अस्वीकार गरेका थिए।

१९९१ मा रुस र चेचेन्याबीच पहिलोपटक युद्ध भयो र १९९६ मा चेचेन्याको विजयपछि यो युद्ध समाप्त भयो। रुसले चेचेन्यालाई स्वतन्त्र मुलुकको मान्यता दियो। त्यतिबेला पनि दृश्यमा थिए पुटिन।

पुटिनको इन्ट्री
पुटिनलाई शक्तिमा ल्याउने श्रेय पूर्वराष्ट्रपति बोरिस येल्तसिनलाई जान्छ। पूर्वराष्ट्रपति गोर्भाचोभका उत्तराधिकारी बोरिस येल्तसिन आफ्नो योग्य उत्तराधिकारीको खोजीमा थिए। यहीक्रममा उनले १९९८ मा रुसी राजनीतिमा पुटिनको ‘इन्ट्री’ गराए। सुरुमा उनले पुटिनलाई राष्ट्रपति कार्यालयको डेपुटी चिफको रुपमा नियुक्त गरे। त्यसको केही महिनामै उनी संघीय सुरक्षा निकाय (एफएसबी) को निर्देशक बने।

१९९९ को अगष्ट ९ मा बोरिसले उनलाई तीन उपप्रधानमन्त्रीमध्ये एक नियुक्त गरे र पछि कार्यवाहक प्रधानमन्त्री बनाइए। त्यतिखेर बोरिसले भनेका थिए–म पुटिनलाई आफ्नो उत्तराधिकारीको रुपमा हेर्न चाहन्छु। सोही दिन पुटिनले आगामी राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरे।

प्रधानमन्त्री बनिसकेपछि उनको निशाना चेचेन्यामै भयो, जसले ३ वर्षअघि रुसलाई हराएको थियो। १९९९ मा रुसले चेचेन्यामा निर्णायक आक्रमण गर्‍यो। पुटिन नै यो आक्रमणका प्रमुख रणनीतिकार थिए। उनको नेतृत्वमा रुसले चेचेन्यामा आक्रमण गर्‍यो। र, १७ हजार ३ सय वर्गकिलोमिटरको यो मुस्लिम बहुल मुलुकलाई रुसमा विलिन गरायो।

३१ डिसेम्बर १९९९ मा येल्तसिनले अचानक राजीनामाको घोषणा गरे। विश्व २१ औं शताब्दिमा प्रवेश गरेसँगै रुस पनि राजनीतिको नयाँ युगमा प्रवेश गर्‍यो।

चेचेन्यामा जितपछि पुटिन रुसमा लोकप्रिय नेता बने। वर्षौंपछि रुसले राष्ट्रवादी भावनाले ओतप्रोत नेता पाएको त्यतिखेर बताइएको थियो। मार्च २००० मा भएको निर्वाचनमा पुटिन ५३ प्रतिशत मतका साथ राष्ट्रपतिमा विजयी भए।

पुटिनको महत्वाकांक्षा बढ्दै थियो। उनी आक्रामक र विस्तारवादी विदेश नीतिका साथ अघि बढिरहेका थिए।

जर्जियामा आँखा लगाए
३ वर्षपछि पुटिनको नजर पूर्वसोभियत संघ जर्जियातर्फ सोझियो। यो मुलुक रुसको दक्षिण–पश्चिम सीमामा पर्छ। २००३ मा जर्जियामा विरोध प्रदर्शन भयो, जसलाई ‘रेड रेभुलुसन’ नाम दिइयो। २००४ मा यहाँ अमेरिकासमर्थित मिखाइल साकाशिभिली राष्ट्रपति बने।

आफ्नै आँगनमा रहेको जर्जियामा अमेरिकासमर्थित राष्ट्रपति रुसलाई सह्य भएन। यसपछि रुसले जर्जियामा असन्तुष्टहरुलाई बढावा दिन थाल्यो। २००८ मा जर्जियामा केन्द्रीय सरकार र दुई प्रान्त अब्खाजिया र दक्षिणी ओसेटियाबीच झगडाको सुरुवात भयो। केही दिनपछि नै रुसले यही मौकाको फाइदा उठाएर हस्तक्षेप गर्‍यो र यी दुई प्रान्तलाई स्वतन्त्र मुलुकको मान्यता दियो, जसरी अहिले युक्रेनमा गरिरहेको छ।

यहाँ रुसले आफ्नो रणनीति सफलताका साथ सम्पन्न गर्‍यो। यी दुवै राज्यसँग सैन्य सम्झौता गरेर आफ्नो सैन्य अड्डा स्थापना गर्‍यो। यी स्थानमा रुसले ४ हजार सैनिक राखेको छ, जहाँबाट पूरै क्षेत्रमा निगरानी गर्दै आएको छ।

युक्रेनप्रति आशक्ति
१९९१ मा सोभियत संघ विघटन हुँदा रुस यस क्षेत्रकै शक्तिशाली मुलुक थियो। दोस्रो नम्बरमा युक्रेन थियो, जसको क्षेत्रफल ६.०३ लाख वर्गकिलोमिटर छ। करिब साढे ४ करोड जनसंख्या भएको यो मुलुकको कूल गार्हस्थ उत्पादन १५५.६ अर्ब डलर छ।

सोभियत संघ टुक्रिँदा युक्रेनको भागमा ठूलो संख्यामा आणविक हतियार, इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल परेको थियो। तर पश्चिमा कूटनीतिज्ञले सम्झौता गराई ती हतियार पुनः रुसलाई फिर्ता दिए। त्यसको साटो किभको सम्प्रभुताको सम्मान गर्ने र सुरक्षा गर्ने प्रतिबद्धता रुसले गरेको थियो।

युक्रेन अहिले पूर्व र पश्चिम गरी २ भागमा विभाजन भएको देखिएको छ। पूर्वी क्षेत्रका मानिसहरु आफूलाई रुसको नजिक मान्छन् भने पश्चिमकाहरु युरोपसँग। यो मुलुकमा यसैको लडाईँ छ। रुससँग जोगिएको पूर्वी भागका मानिसहरु रुसी भाषा बोल्छन् भने पश्चिममा ठीक यसविपरीत भावना छ। पश्चिमकाहरु रुसी नेतृत्वलाई खलनायक मान्छन्।

हालै पुटिनले युक्रेनका दुई राज्य लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र मुलुकको मान्यता दिए। यी दुवै पूर्वी क्षेत्रमा अवस्थित छन्। यहाँको सत्ता पृथतकतावादी शक्तिको छ। रुसले यो शक्तिलाई प्रोत्साहन गर्छ। पुटिनले इतिहास र भूगोललाई हवाला दिँदै यी क्षेत्र रुसको ऐतिहासिक गणराज्यको हिस्सा भन्दै आएका छन्।

उनी वास्तवमै युक्रेनलाई पश्चिमी देशसँग मोलमोलाईको केन्द्र बनाउन चाहन्छन्। उनी युक्रेन कुनै पनि मूल्यमा नेटोको सदस्य भएको हेर्न चाहँदैनन्। उनको विश्लेषण छ–युक्रेनमा नेटोजस्ता सैन्य संगठनको कदमको अर्थ हो रुसको आँगनमै अमेरिकाको कदम।

युक्रेनलाई सबक सिकाउन क्रिमिया कब्जा
युक्रेनलाई नै सबक सिकाउन पुटिनले २०१४ मा क्रिमियालाई निशाना बनाएका थिए। ‘ब्ल्याक सी’ मा अवस्थित क्रिमिया युक्रेन र रुस दुवैको नजिकमा पर्छ। १९५४ मा सोभियत संघका तत्कालीन नेता निकिता ख्रुश्चेभले युक्रेनलाई उपहारको रुपमा दिएका थिए क्रिमिया। त्यतिबेला दुवै सोभियत संघको अंग थिए।

१९९१ मा सोभियत संघ विघटनपछि युक्रेन र रुस अलग मुलुकको रुपमा अस्तित्वमा आएपछि क्रिमिया कसको नियन्त्रणमा रहने भनेर विवाद सिर्जना भयो। सुरुमा क्रिमिया युक्रेनकै भागका रुपमा रह्यो। तर त्यसबाट रुस खुसी थिएन।

२०१० मा युक्रेनमा आमचुनाव भयो। उक्त चुनावमा रुस समर्थक भिक्टर यानुकोभिच युक्रेनका राष्ट्रपति बने। नोभेम्बर २०१३ मा यानुकोभिच युरोपियन युनियनका साथ तय भएको सम्झौताबाट पछि हटे। यो सम्झौताअन्तर्गत युक्रेनलाई १५ अर्ब डलर प्राप्त हुँदै थियो। तर रुस यो सहयोग लिएर युक्रेन पश्चिमा मुलुकको पहुँचमा पुगोस् भन्ने चाहँदैनथ्यो। यानुकोभिचले रुसी सहयोग लिए। पर्दापछाडि थिए पुटिन।

यसको व्यापक विरोध भयो। युक्रेनमा भएको प्रदर्शनमा पनि दुई शक्तिले खेले। रुस राष्ट्रपतिको समर्थनमा थियो भने पश्चिमा मुलुकहरु प्रदर्शनकारीको समर्थनमा। फेब्रुअरी २०१४ मा यानुकोभिचको सरकार ढल्यो। उनी देश छाडेर रुसमा शरण लिन गए। यसपछि ओलेक्सान्द्रा टुर्चिनोभ राष्ट्रपति बने।

रुस क्रिमियाका विषयमा के चाहन्छ भन्ने विषयमा पहिल्यै स्पष्ट भइसकेको थियो। त्यसपछि रुससमर्थित सांसदहरुले सरकारर्लाइ समर्थन गरेनन् र सर्गेई अक्सियोनोभलाई प्रधानमन्त्री नियुक्त गरे।

रुसमा क्रिमियाको विलय
६ मार्च २०१४ मा क्रिमियाको संसदले युक्रेनबाट अलग भएर रुसी संघमा विलय हुन मतदान ग¥यो। यही विषयमा १६ मार्च २०१४ मा एक जनमत संग्रह पनि हुँदैथ्यो। यो कदमको रुसले प्रशंसा गर्‍यो भने पश्चिमा मुलुकहरुले निन्दा गरे।

नियमित कार्यतालिकाअनुसार नै १६ मार्चमा जनमत संग्रह भयो, जसमा ९७ प्रतिशत नागरिकले रुसमा विलय हुने पक्षमा मत दिए।

१८ मार्च २०१४ मा पुटिनले युक्रेनी राष्ट्रपनि अक्सियोनोभसँग एक सन्धीमा हस्ताक्षर गरे, जसअनुसार क्रिमिया रुसको हिस्सा बन्यो। पुटिनले यो प्रक्रियालाई स्वतन्त्रता भने भने तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाले यसलाई रुसमा क्रिमियाको विलय भनेका थिए।

कजाकिस्तानमा प्रभाव
१९९१ अघि कजाकिस्तान सोभियत संघको एक अंग थियो। यो मुलुक हाल पनि रुसको प्रभाव क्षेत्रमा पर्छ। यहाँ रुसको संस्कृति, भाषाको व्यापक प्रभाव छ। यसैवर्ष जनवरीमा कजाकिस्तानमा ग्यासको भाउ बढेको विषयलाई लिएर हिंसात्मक प्रदर्शन भयो। यो पश्चिमी मांगिस्ताउबाट सुरु भई राजधानीसम्म पुग्यो। अल्माटीमा आगजानी भयो। सरकारी भवनहरुमा आगजनी भयो। स्थिति अनियन्त्रित भएपछि राष्ट्रपति कासिम जोमार्त नोकायेभले संकटकाल घोषणा गरे र सिधै रुससँग सहयोग मागे।

रुस यही मौकाको पखाईमा थियो। पुटिनले सामूहिक सुरक्षा सन्धीको प्रावधानअुनसार कजाकिस्तानमा सेना पठाए। पुटिनले कजाकिस्तानमा भएको अशान्तिमा विदशीको हात रहेको बताए।

तर यथार्थ के हो भने कजाकिस्तानमा पनि रुस आफ्नो नियन्त्रण कायम राखिरहन चाहन्छ। राष्ट्रपति तोकोेयेयभ रुसी समर्थक मानिन्छन्।

इस्टोनिया, लाट्भिया र लिथुवानिया
रुसको प्रभुत्व बाल्टिक क्षेत्रमा रहेका पूर्वसोभियत संघका साना तीन मुलुकुहरु इस्टोनिया, लाट्भिया र लिथुवानियामा पनि रहेको छ। डिसेम्बर २०२१ मा तीनै मुलुकका रक्षामन्त्रीले संयुक्त विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा रुस र बेलारुसको दादागिरीको सामना गर्न संयुक्त प्रयास जरुरी रहेको बताएका थिए। यी तीनै मुलुक रुसका लागि रणनीतिक महत्वका मानिन्छन्। रुसका कुलीन वर्गहरु यी क्षेत्रमा रुसी कब्जालाई जायज ठान्छन्।

बेलारुससँगको सम्बन्ध
रुसको पश्चिमी क्षेत्रमा अवस्थित बेलारुससँग रुसको मैत्रीपूर्ण सम्बन्ध छ। बेलारुसका अलेक्जेण्डर लुकाशेन्को रुसी समर्थक मानिन्छन्। गत वर्ष बेलारुसका सरकारविरोधी प्रदर्शनमा रुसले बेलारुस सरकारको समर्थन गरेको थियो। त्यो बेला रुसले बेलारुसलाई ५० करोड डलर ऋण पनि दियो। लुकाशेन्कोलाई युरोपका अन्तिम तानाशाह पनि भनिन्छ। उनी २७ वर्षदेखि सत्तामा छन्। लुकोशेन्कोको आडमा पुटिनले बेलारुसमा पनि दबदबा कायम राखेका छन्।

 

 


Leave a Reply

Your email address will not be published.