युक्रेन पुगेका नेपाली उद्धारको प्रतीक्षामा

युक्रेन पुगेका नेपाली उद्धारको प्रतीक्षामा

काठमाडाैं

कामको खोजीका युक्रेन पुगेका नेपाली युवा त्यहाँ सम्भावित युद्धको जोखिमका कारण सरकारले उद्धार गरेर स्वदेश फर्काउने प्रतीक्षामा छन्। जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका अनुसार करिब डेढ सय नेपाली युवा कामको खोजीमा युक्रेन पुगेको आकलन छ।

युक्रेनको मध्यक्षेत्रमा पर्ने चेर्कासी सहरनजिक कुखुराको मासु प्रशोधन केन्द्रमा काम गरिरहेका केही युवा आयोमेलसँग सम्पर्कमा आएका छन्। उनीहरूका अनुसार उक्त फ्याक्ट्रीमा करिब ४५ नेपाली युवा कार्यरत छन्। उनीहरू सबै अवैध बाटोबाट त्यहाँ पुगेका हुन्।

अहिले नै उनीहरू कार्यरत क्षेत्रमा कुनै तनाव छैन। तर, युद्धको त्रासका कारण भविष्य के हुने हो भन्ने चिन्ता रहेको उनीहरूले बताए। उनीहरूमध्ये दैलेख नौमुले सल्लेरीका मनबहादुर रावतका अनुसार रुसको सीमाबाट टाढा रहेकाले सम्भावित युद्धमा पनि कुनै असर पर्ने सम्भावना कम छ। ‘तर, के हुने हो भनेर चिन्तित छौं,’ उनले आयोमेलसँग भने, ‘यहाँका स्थानीय न्युजपोर्टल, अन्तर्राष्ट्रिय एजेन्सी र नेपालमा प्रकाशित समाचारहरू हेरिरहेका छौं। लडाईं हुन्छ कि भन्ने चिन्तामा छौं। हामी बसेको ठाउँतिर अहिलेसम्म खासै केही गतिविधि छैन।’

उनका अनुसार उनीहरूले काम गरिरहेको फ्याक्ट्री सहरभन्दा टाढा लेकाली भेगमा पर्छ। मनबहादुर त्यहाँ पुगेको चार महिना भयो। अरू पनि त्यही सेरोफेरोमा त्यहाँ पुगेका हुन्। मनबहादुरले काम गर्न थालेको दुई महिना मात्र भयो। उनलाई युक्रेन पु¥याउने एजेन्टले क्रोएसियाका लागि काम खोजिदिएको बताएका थिए। उनले क्रोएसियाकै लागि ‘एप्लाइ’ गरेका थिए। उनले रोमानियाका लागि पनि एप्लाइ गरेका थिए। एजेन्टले भने सेन्जेन मुलुकमा जान नपाइने बताएर क्रोएसिया लैजाने भनेका थिए। ‘पहिले कुनै सानो युरोपियन देशमा जाऊ, त्यहाँबाट सेन्जेन मुलुकमा जान पाइने बताएका थिए,’ उनले भने, ‘क्रोएसियाका लागि वर्क पर्मिट पनि पाएँ तर भिसा पाइनँ। त्यही भएर युक्रेन आउन तयार भएको हुँ।’

युक्रेनको बारेमा आफूहरूले केही जानकारी नपाएको उनले बताए। ‘यहाँ त वर्क पर्मिटका लागि मात्र एउटा कम्पनी हुँदो रहेछ। यहाँ आएर आफैं काम खोज्नुपर्दो रहेछ,’ मनबहादुरले भने। उनका अनुसार युक्रेनमा सबैभन्दा ठूलो समस्या नै भाषाको छ। ‘युक्रेनीहरू अंग्रेजी बुझ्दैनन्, नेपाली भाषा त बुझ्ने कुरै भएन। हामी पनि उनीहरूको भाषा बुझ्दैनौं।’ उनले भने, ‘गुगलबाट अनुवाद गरेर मोबाइलमा देखाउँछौं, त्यसैबाट काम चलिरहेको छ।’

कुराकानी गर्न सकेका युक्रेनीहरू लडाईं भए पनि त्यो ठाउँमा कुनै असर नपर्ने बताउने गरेका छन्। रुससँगको सीमा क्षेत्रमा मात्र तनाव भएकाले नआत्तिन आग्रह गर्ने गरेका छन्। ‘अरू २–४ साता काम गरेर जाँदा हुन्छ। तर, यहाँ खासै केही असर पर्दैन भनेका छन्, यहाँका युक्रेनी नागरिकले,’ रावतले भने, ‘तर, हामी नेपाल कसरी फर्किने भन्ने समस्या छ। किनकि, मुस्किलले काम पाएका छौँ। त्यो पनि धेरै समय भएको छैन। खल्तीमा पैसा पनि छैन। हामी सबै अन्योलमा छौं।’

जर्मनीस्थित नेपाली दूतावासको कार्यक्षेत्रमा पर्छ, युक्रेन। त्यहाँको दूतावाससँग उनीहरूको सम्पर्क छैन। ‘लडाईं भइहाल्यो भने के गर्ने, कसो गर्ने भन्ने कुनै आइडिया पाउन सकेका छैनौं,’ रावतले भने, ‘कुनै देशको सीमासँग नजोडिएको ठाउँ भएकाले केही हुँदैन कि भन्ने आशा पनि छ।’

युक्रेनले मासु प्रशोधन केन्द्रहरू सहरी इलाकामा खोल्न दिँदैन। सोही कारण बस्ती नभएका र बाह्रैमास चिसो हुने ठाउँतिर मासु प्रशोधन केन्द्र खोल्ने गरेका छन्, उद्योगीले। रावतका अनुसार राजधानी किभमा बसिरहेका नेपाली युवासँग पनि सम्पर्क हुन थालेको छ। उनीहरूले किभमा पनि खासै जटिल अवस्था नरहेको बताएका छन्। ‘स्टुडेन्ट’ भिसामा खार्किभमा बसिरहेकी एक नेपाली युवतीसँग पनि भरखरै टेलिफोन सम्पर्क भएको रावतले बताए। उनी होस्टेलमा बसिरहेकी छन्। खार्किभ क्षेत्रमा भने पड्किएको आवाज बेलाबेलामा सुनिन्छ। तर, सहरभित्रै ठूलो तनाव सुरु नभएको ती युवतीले बताएकी छन्।

उनीहरू बसिरहेको चेर्कासी सहरबाट राजधानी किभ करिब १८७ किलोमिटर टाढा पर्छ। चिकेन फ्याक्ट्री भएको ठाउँबाट गाडीमा करिब पाँच घण्टामा पुगिन्छ, किभ। उनीहरू बसेको स्थान चेर्कासीबाट पनि केही दूरीमा पर्छ।

रुसविरुद्ध करिब ३० वटा मुलुकले सहयोग गरिरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बुझाइ युक्रेनभित्र रहेको रावत बताउँछन्। रुसलाई सहयोग गर्ने मुलुक २–३ वटा मात्र रहेको बुझाइका कारण लडाईं जितिने टिप्पणी युक्रेनी नागरिकले गर्ने गरेका छन्। ‘यहाँका लोकल न्युजपोर्टलका समाचार गुगलमा अंग्रेजी ट्रान्सलेट गरेर पढ्छौं,’ रावतले भने, ‘लोकल न्युजपोर्टलले युद्ध हुने सम्भावना भएको लेख्दै आएका छन्।’

उनका अनुसार युक्रेनमै स्थायी बसोबास गरिरहेका कसैसँग पनि सम्पर्क भएको छैन। ‘स्थायी बसोबास गरिरहेका नेपाली पनि खासै धेरै छैनन् रे यहाँ। हामी करिब ४५ जना भरखरै आएको भएर पनि उनीहरूसँग सम्पर्क नभएको होला,’ उनले भने।

उनका अनुसार चिकेन फ्याक्ट्रीमा काम गर्ने केही युवा ‘स्टुडेन्ट’ भिसामा आएकाहरू पनि छन्। रावतलाई किभमा रिसिभ गर्न एक पाकिस्तानी नागरिक आएका थिए। उनले होस्टेलमा राखेर आफैं काम खोज्न भनेका थिए। उनैले अस्थायी बसोबास प्रमाणपत्र (टीआरसी) दिलाइदिएका थिए। १८ दिनपछि टीआरसी पाएका उनले त्यसपछि मात्र काम खोज्न थालेका थिए।

‘युक्रेन आउँदा आउँदै एकजना नेपाली दाइसँग चिनजान भएको थियो, उहाँले चिकेन फ्याक्ट्रीमा काम गर्नुहुँदो रहेछ। र, आफैंले काम गर्ने फ्याक्ट्रीमा काम लगाइदिनुभयो,’ रावतले भने।

उनलाई काठमाडौंबाट दुबई हुँदै किभ पुगेका थिए। उनीसँग काम गर्ने अन्य केही युवा भारत हुँदै युक्रेन पुगेका हुन्। तीमध्ये कतिपयले नेपालबाट श्रम स्वीकृति लिएका छैनन्। उनी भने श्रम स्वीकृति गराएरै युक्रेन गएका हुन्। काम खोज्ने क्रममा उनले किभमा २२ दिन बिताएका थिए। किभबाट चेर्कासी सहर पुगेपछि काम दिलाइदिने एजेन्टले अढाइ सय डलर मागे। उनको माग पूरा भएपछि चेर्कासीबाट करिब २० मिनट टाढा रहेको चिकेन फ्याक्ट्रीमा काम पाए।

उनका अनुसार चिकेन फ्याक्ट्रीमा मासिक ५० देखि ६० हजार रुपैयाँ कमाइ हुन्छ। फ्याक्ट्रीले बस्ने ठाउँ दिएको छ। काम भएको दिन एक छाक खाना फ्याक्ट्रीले नै खुवाउँछ। काम नभएको दिन दुई छाक खाना आफैं खानुपर्छ। ‘कहिले नुडल्स खाएर सुत्छौं, कहिले भात पकाएरै खान्छौं,’ रावतले भने। उनका अनुसार त्यहाँ पुगेका सबै अवैध बाटोबाटै गएका हुन्। युक्रेनमा नेपाली दूतावास पनि छैन। तर, वैदेशिक रोजगार विभागले आफूहरूलाई श्रम स्वीकृति दिएको उनले बताए।


Leave a Reply

Your email address will not be published.