‘काठमाडौंमा जहाँ भ्रष्टाचारी उठ्छन्, म त्यहीँबाट चुनाव लड्छु’

‘काठमाडौंमा जहाँ भ्रष्टाचारी उठ्छन्, म त्यहीँबाट चुनाव लड्छु’
सबै तस्विरहरू अनि भिडियाे- माेनिका मल्ल/आयाेमेल

घामका किरण छिप्पिदैं थिए। भर्खरै ‘मर्निङ वाक’ सक्काएर आएका रमेश खरेलका निधारभरि पसिनाका धर्सा आलै थिए। ‘आनन्न कुटी’को फराकिलो आँगनमा उनी कार्यकर्तासँग गफिँदै थिए।

‘मनकामना माईले तपाईंका मनका सबै चाहनाहरू पूरा गरून्’ मनकामना दर्शन गर्न पुगेका उनका एकजना सहकर्मीले फोन गरेर ‘माई’को चरणबाट उनका लागि प्रार्थना सुनाए- ‘मैले यहाँ तपाईंका लागि भाकल गरेको छु…।’

त्यो ‘भर्चुअल’ दर्शन सकेर खरेलले हाँस्दै भने- साथी भाईहरूको शुभेच्छा छ…।’

ती साराको शुभेच्छा-सार हो, रमेश खरेल चुनाव लडोस्।

‘जीवनमा अब एक पटक संसदभित्र छिरेर ती सबैलाई राजनीति किन र कसका लागि गर्ने भनेर सिकाउन मन छ’ खरेलको आत्मविश्वास मुस्कानसँगै झल्किन्छन्- ‘जीवनको यो मोडमा आएर मैले राजनीतिको बाटो त्यसै समाएको होइन।’

खरेलसँग विश्वास छ- ‘राजनीतिको मुहानलाई हामी स्वच्छ बनाउँछौं।’

के यो सम्भव छ?

‘असम्भव त संसारमा के छ र!’

आधा जीवन पुलिस बनेर उनले देशको सेवा गरे। जनतालाई पहरा दिए। राजनीतिले गिजोलेको प्रहरी संगठनमा निष्ठाको एक ‘नाम’ बने।

प्रहरी जीवनबाट अवकाश लिएर उनले केही समय सामाजिक अभियान चलाए। प्रहरी जीवनमा उनले भ्रष्टाचारका धेरै कर्महरू देखे। त्यो कर्म गर्नेहरूलाई धेरै भोगे। धेरै कुराहरू सहेर बसे। एक्लै त के जोर चल्थ्यो र, अन्तमा राजनीतिको त्यही ‘गन्दगी’मा उनले आफ्नो २९ वर्षे जीवनको जागिरे यात्रा बिसाइदिए।

‘जवान’बाट प्रहरी संगठनमा छिरेका रमेश अन्तिम खुट्किलोबाट ‘सपना’को दु:खान्त लिएर जागिरबाट विदा भए।

त्यसपछि उनी एउटा सामाजिक अभियानमा लागे। जताततै भ्रष्टाचारको तुँवालोमा रूमलिएको उनको २९ वर्षे यात्रापछि उनले ठाने- अब त्यो तुँवालोलाई हटाएउनैपर्छ र त्यसका लागि एउटा अभियान छेड्नैपर्छ।

र, अन्तत: उनको त्यो ‘सुशासन अभियान’ राजनीतिक यात्रामा मोडियो। अनि, उनले ‘नेपाल सुशासन पार्टी’ बनाए।

प्रहरी जीवनका सुरूवाती पदचाप पछ्याउँदै डिआइजीको सम्मको यात्रा तय गरेका उनलाई यही ‘भ्रष्ट’ राजनीतिक संरचनाले प्रहरी संगठनको नेतृत्वसम्म पुग्ने बाटो छेकिदियो।

एउटा निष्ठाको जिन्दगी बाँचेका उनीजस्ता कैयौं जीवनमा तिनै छेकिएका बाटो उघार्ने अठोट हो खरेलको- नेपाल सुशासन पार्टी।

अब राजनीतिको बाटो

‘जिन्दगीमा मैले त्यो बेला जे गरें अब पनि गर्ने त त्यही नै हो’ खरेलको यात्रा प्रष्ट छ- ‘बाटोमात्रै फरक रोजेको हुँ।’ यात्रा उस्तै हो। गन्तव्य उही हो। सहयोद्धा फेरिएका छन्, टार्गेट त उही हो। हतियार फेरिएको छ, निशाना त उही हो।

हो, अब खरेलको राजनीतिक यात्रा सुरू भइसकेको छ।

‘जीवनको ३० वर्ष त मैले देश र जनताकै सेवामा बिताएँ’ राजनीतिमा सफल हुन्छु भन्ने एउटा विश्वास छ खरेलसँग ‘सेवाको बाटोमात्रै त फेरिएको हो। मूल कुरा त त्यही हो।’

अनि खरेललाई लाग्छ- ‘राजनीतिलाई गरिखाने पेशा बनाए। हामी राजनीतिलाई सेवाका रूपमा चिनाउनेछौं।’ खरेलको मनभित्र मौलाएको जुनून् पनि ‘सेवा’को त्यही एउटा अंश हो। जो नेपाल सुशासन पार्टी बनेर अंकुराएको छ।

खरेललाई लाग्छ कि जिन्दगीको एउटा भागमा उनी देश र जनताबाट ‘परिक्षित’ भइसकेका छन्।

‘हामी टेस्टेड मान्छे हौं’ खरेललाई विश्वास छ- ‘र, हामीलाई विश्वास छ कि जनताले हामी के र कस्तो छौं भन्ने कुरा बुझिसकेका छन्। हामी फेरि परिक्षित हुन चाहन्छौं र जनताको त्यो परीक्षाबाट उत्तीर्ण हुन पनि।’

पार्टी त थुप्रै छन् यो देशमा। कैयौं इतिहास बोकेका पार्टीहरू छन्। परिवर्तनका धेरै लडाईं लडेका पार्टीहरू छन्। वर्षौंसम्म सत्तामा बसेका पार्टीहरू छन्। घरिघरि चुनाव जितेका नेताहरू छन्, पटकपटक प्रधानमन्त्रीहरू भएकाहरू छन्। राजनीतिक इतिहासका धेरै पानाहरू लेखिसकेका पार्टीहरू छन्।

उनलाई धेरै पार्टीले ‘अफर’ नदिएका पनि होइनन्। देशकै ठूला पार्टीहरू उनलाई स्वागत गर्न तयार थिए र अहिले पनि छन्। उनीसँगैका ‘प्रहरी’हरू अहिले पनि सांसद छन्। नेता भइसकेका छन्। रमेशका लागि ठूला पार्टीको अफर राम्रो ‘प्लेटफर्म’ पनि हुनसक्थ्यो।

तर, त्यस्तै ‘अफर’हरूसँग आफ्नो इमान कहिल्यै साट्न नमानेका रमेशलाई प्रहरी जीवनको अन्तिम खुट्किलो उक्लिन दिइएन। त्यसको एउटै कारण थियो- भ्रष्ट राजनीति।

अनि! राजनीतिक पार्टीहरूको यो अथाह भीडका बीचमा फेरि रमेश खरेलहरू के चाहन्छन्, कस्तो पार्टी चाहन्छन्?

‘हामी विल्कुलै नयाँ हुन चाहन्छौं। जनताले जे चाहेका छन्, त्यस्तै पार्टी बन्न चाहन्छौं’ कांग्रेस, एमाले, माओवादी अनि राप्रपाहरू र समाजवादीहरूको यो भद्रगोल भित्र रमेश खरेलहरू चाहन्छन् ‘सिर्फ नेपाल-वाद’।

‘यही विश्वासमा हामीले राजनीतिक यात्रा थालेका हौं। यिनै पार्टीहरूको शासनमा हामी पनि जन्मियौं। अहिलेसम्मै भोग्यौं र भोगिरहेका छौं’ खरेल भन्छन् ‘भ्रष्टाचार नै भ्रष्टाचारले यी पार्टीहरू अब निकै खोक्रो भइसके। थोत्रो भइसके। त्यसैले हामी सुशासनको यात्रा चाहन्छौं।’

र, रमेश खरेलहरूको अब एउटै सपना हो- भ्रष्टाचारमुक्त शासन अर्थात् सुशासन।

अनि उनका पाइलाहरू नेपाल सुशासन पार्टीबाट अब अघि सरेका छन्।

समय पनि ठ्याक्कै मिलेको छ। स्थानीय चुनाव घोषणा भइसकेको छ। त्यसपछि संघीय चुनाव पनि आइसक्छ।

खरेलका अनुसार उनको पार्टीले सकेसम्म धेरै भन्दा धेरै ठाउँमा स्थानीय चुनावमा उम्मेदवारहरू खडा गर्नेछ। कस्ता उम्मेदवार बनाउने? कसलाई कहाँबाट लडाउने? यी सबको ‘होमवर्क’बाट उनलाई अहिले फुर्सत नै छैन।

‘७७ जिल्ला वा सबै स्थानीय तहमा त भन्न सक्दैनौं तर जतिसक्यो धेरै ठाउँमा नेपाल सुशासन पार्टीका उम्मेदवारहरूले जनतासँग साक्षात्कार गर्नेछन्’ खरेलको योजना छ- ‘सकेसम्म हामी हाम्रो पार्टीबाटै राम्रो उम्मेदवार दिनेछौं। नसके राम्राहरूलाई जिताउन प्रयास गर्नेछौं।’

यसको अर्थ त्यो पुरातन चुनावी ‘गठबन्धन’ होइन।

‘राम्राहरूलाई ल्याउनुपर्छ, जिताउनुपर्छ भन्ने हो’ खरेल भन्छन् ‘त्यो जुनसुकै पार्टीको पनि हुनसक्छ। सबैमा नराम्रामात्रै छन् भन्ने त होइन नि। राम्राले मौका नपाएका पनि हुनसक्छन्।’

अनि रमेश खरेल के गर्लान्?

सकभर त उनी प्रतिनिधिसभाकै चुनावमा लड्नेछन्। अनि सकेसम्म त काठमाडौंबाटै लड्नेछन्।

हुन त यो बीचमा उनलाई काठमाडौंकै मेयर लड्न पनि सुझाव आएको छ। उनलाई चाहने धेरैले हेर्न चाहेका छन्, काठमाडौं महानगरका मेयर- रमेश खरेल।

तर रमेशको टार्गेट हो- संसद भवन।

एकपटक उनी संसद भवन छिर्न चाहन्छन्। अनेक ‘तिकडम’ गरेर सांसद बनेकाहरूलाई उनले राम्रोसँग सिकाउन चाहन्छन्- राजनीति किन र कसका लागि गर्ने?

त्यसैले राजनीतिका यात्राका कलिला पाइलाहरू नै उनी संसद भवनतिर अघि बढाउन खोज्दैछन्।

‘सकेसम्म म काठमाडौंबाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु’ तर काठमाडौंमा कुन क्षेत्रबाट लड्ने भन्ने कुरा भने अझै यकीन छैन- ‘त्यो क्षेत्र नं. १ बाट पनि हुनसक्छ २,३ वा काठमाडौंका कुनै पनि क्षेत्रबाट पनि लड्नसक्छु।’

खरेलसँग त अथाह ‘कन्फिडेन्ट’ पनि छ- ‘म त देशका कुनै पनि क्षेत्रबाट लड्नसक्छु। र, म यत्ति च्यालेन्ज दिनसक्छु त कि म जस्तोसुकै उम्मेदवारसँग पनि भिड्नसक्छु।’

‘सुशासन-सपना’को एउटा भयंकर यात्रा तय गरेका खरेल भन्छन्- ‘यो चाहिँ निश्चित हो कि, म यो देशका सबैभन्दा ठूला भ्रष्टाचारी अझ त्यसमा पनि काठमाडौंको जुन क्षेत्रमा अरू पार्टीका भ्रष्टहरू उम्मेदवार हुन्छन् म त्यही ठाउँबाट चुनाव लड्छु र भ्रष्टाचारीलाई च्यालेन्ज दिन्छु।’

२९ वर्ष प्रहरी जीवनको कर्मयात्रामा उनले धेरै भ्रष्टाचारीहरू देखेका छन्, भ्रष्टहरूलाई झेलेका छन् अनि भ्रष्टाचार पनि देखेका छन्। त्यसैले अब जीवनको उत्तरार्द्धमा उनले यो यात्रा तय गरे। र, अब ‘भ्रष्टाचार’कै लडाईंमा उनले आफ्नो जिन्दगी सुम्पिनेछन्।

हिँज अपराधीलाई ‘शूट’ गर्ने उनीसँग कुनै हतियार छैन आज। र त उनले भ्रष्टाचारविरूद्धको लडाईं लड्न अझ मजवुत हतियार रोजे- राजनीति।

अनि ‘भ्रष्ट’हरूले दुर्गन्धित बनाइसकेको यो लडाईं जित्न उनलाई त्यत्ति सजिलो त कहाँ छ र! तै पनि हिम्मत हारेका छैनन् र, हार्दैनन् पनि।

रमेशलाई राम्रोसँग थाहा छ- कुनै कुनै लडाईंको सुरूवात पनि एउटा जित हो।


Leave a Reply

Your email address will not be published.