नेपालीले विदेशबाटै ‘क्रिप्टोकरेन्सी’ मा लगानी गर्दा रेमिट्यान्स घटेको हो?

नेपालीले विदेशबाटै ‘क्रिप्टोकरेन्सी’ मा लगानी गर्दा रेमिट्यान्स घटेको हो?
इन्टरनेटबाट लिइएको सांकेतिक तस्विर।

चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघ मसान्तसम्म) नेपालमा करिब ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ। यो विदेशमा काम गरेर नेपालीले यहाँ पठाएको पैसा हो।

यही पैसा अघिल्लो वर्ष ६.८ प्रतिशत धेरै थियो। र, अहिले यो ७ महिनामा ४.९ प्रतिशतले कमी आएको छ।

मुलुककाे केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) ले चालू आर्थिक वर्षको सात महिनाको तथ्यांक समेटेर बिहीबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गत ७ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष सोही अवधिमा भने ६.८ प्रतिशतले बढेको थियो।

यो अवधिसम्म वैदेशिक रोजगारीका लागि अन्तिम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य वृद्धि भई १ लाख ६७ हजार ५ सय १३२ लाख १ सय २ पुगेको छ। गत वर्ष सोही अवधिमा ८५.४ प्रतिशतले घटेको थियो।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या गत ७ महिनामा २६५.९ प्रतिशतले वृद्धि भई १ लाख ५२ हजार ३ सय २५ पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या ७३.१ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।

रेमिट्यान्स घट्नुका कारण के हुनसक्छ?

विश्वमा भइरहेका अनेकथरि घटनाहरूले पनि प्रभाव पार्नसक्छन्। महामारी, वैश्विक राजनीतिक उतार-चढाव अनि अन्तरदेशीय द्वन्द्व।

तर, नेपालीसँग जोडिएका यीबाहेक रेमिट्यान्स घट्नुका पछाडि दुई कारण प्रमुख हुनसक्छन्- पहिलो ‘हुन्डी’। अनि, अर्को कारण हुनसक्छ, ‘क्रिप्टोकरेन्सीमा लगानी।’

हुन्डी गैरकानुनी मानिए पनि पैसाको कारोबारमा याे एउटा परम्परागत चलन हो। तर, कतिपय कानुनी झन्झटहरूले गर्दा हुन्डी अझै पनि उसैगरी पैसाको कारोबारमा मौलाइरहेको छ। हुन्डी कारोबार भनेको बैंक वा सरकारी निकायमा रेकर्ड रहने अरू कुनै माध्यमबाट पैसा पठाउनु होइन, यो भनेको व्यक्ति-व्यक्तिबीच हुने एकप्रकारको समझदारीपूर्ण कारोबार हो।

अहिले पनि हुन्डी काराेबार धेरै नै छ। विदेशमा बस्नेहरूका आफन्तहरूलाई यहाँका हुन्डी काराेबारीहरूले यतै पैसा मिलाइदिन्छन् भने विदेशका नेपालीले त्याे वापत रकम सुन अनि क्रिप्टोकरेन्सीजस्ता व्यापारमा लगानी गरिदिन्छन्।

यसरी हुने काराेबारहरू सरकारकाे रेकर्डमा रहँदैन र रेमिट्यान्स घटेकाे देखिन्छ।

क्रिप्टोकरेन्सी भनेको के हो?

यो न त कागजको नोट हो न त कुनै सिक्का हो। ‘क्रिप्टोकरेन्सी’ अनलाइन लगानी हो। अर्थात्, यसलाई अहिले ‘भर्चुअल पैसा’ भनेर पनि चिनिन्छ।

यो देखिँदैन। हाम्रो खल्तीमा पनि हुँदैन। कुनै बैंकमा पनि हुँदैन र राष्ट्रको पैसासँग यो जोडिँदैन। यसको उपस्थिति अनलाइनमा मात्रै हुन्छ त्यहीँ मूल्याङ्कन हुन्छ र अनलाइन कारोबारमै सीमित हुन्छ। तर, त्यसको निश्चित मूल्य भने कतै-कतै सम्पत्तिमा पनि गणना हुन्छ।

यसलाई नियन्त्रण गर्ने संसारका कुनै पनि देशमा कुनै निकाय छैन। जस्तो कि कुनै देशको मुद्रालाई उसको केन्द्रीय बैंक वा अरू त्यस्तै आधिकारिक निकायले नियन्त्रण र नियमन गर्छ।

तर, क्रिप्टोकरेन्सीलाई त्यसमा जोडिएका संसारभरका कम्युटरहरूले नियन्त्रण गर्छन्। र, त्यसको सञ्जाललाई ‘ब्ल्याकचेन’ भनिन्छ।

कम्प्युटर वा मोबाइलमा एउटा एपबाट आफ्नो डिजिटल वालेटमार्फत कारोबार गर्न सकिने क्रिप्टोकरेन्सीको कारोबारलाई यही ब्ल्याकचेनले प्रमाणीकरण गर्छ। त्यसका सबै रेकर्डहरू यसैमा हुन्छ।

क्रिप्टोकरेन्सी यस्ता अनलाइन पैसाहरूकाे एउटा परिचय हाे तर, मुद्राहरूको भने फरक-फरक नाम हुन्छ। संसारमा अहिलेसम्म हजारौं क्रिप्टोकरेन्सीहरू छन्। हामीले चिन्ने नोट, सिक्का वा डलर नामका पैसाजस्तै।

सबैभन्दा पहिलो क्रिप्टोकरेन्सी भनेको ‘बिटक्वाइन’ हो। सन् २०२१ मा एउटा बिटक्वाइनको मूल्य ६७ हजार ५ सय ८२ डलरसम्म पुगेको थियो। अहिले यसको मूल्य करिब ४४ हजार डलरमा तलमाथि भइरहेको छ। यो भनेको करिब ५० करोड नेपाली रूपैयाँको वरिपरी एउटा बिटक्वाइनको मूल्य पर्न आउँछ।

२००९ मा पहिलोपटक बिटक्वाइनलाई सातोसी नाकामोतो नामका व्यक्तिले प्रयोगमा ल्याएका थिए। तर, अहिलेसम्म उनी को हुन्? कहाँका हुन् र किन बिटक्वाइन बनाए भन्नेबारे कहिँकतै अभिलेख छैन। न उनको परिचय छ न कुनै जानकारी।

बिटक्वाइनपछि त्यस्ता हजाराैं अनलाइन मुद्रा प्रचलनमा आएका छन्। तर, सबै क्रिप्टोकरेन्सीको भाउ यति महँगो छैन। देशअनुसार फरक-फरक त्यस्ता मुद्राहरूले स्वीकृति पाएका छन्।  तर, नेपालमा भने कुनै पनि त्यस्ता अनलाइन मुद्राहरूकाे काराेबारलाई अनुमति छैन।

तर, कतिपय देशहरूमा त्यस्ता मुद्राबाट काराेबार पनि हुने गरेकाे छ। विश्वभरि नै याे अनलाइन मुद्राकाे पक्ष र विपक्षमा निकै कडा बहसहरू छेडिएका छन्।

क्रिप्टोकरेन्सीमा नेपाली

केही समयअघि कुनै पनि क्रिप्टोकरेन्सीको कारोबारलाई नेपाल सरकारले अवैधानिक घोषणा गरेको थियाे। यसको मतलब यो कारोबारमा संलग्न नेपाली नागरिक सजायका भागिदार हुनेछन्। धेरै क्रिप्टोकरेन्सीमा जोडिएका धेरै नेपाली पक्राउ पनि परिसकेका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा यसको कारोबार अवैध हो। नेपालबाट कुनै पनि नेपालीले यसको कारोबार गर्न पाउँदैनन् र विदेशमा बस्ने नेपालीले पनि यो कारोबार गर्न पाउँदैनन्। नेपालमै रहेका विदेशीले पनि त्यसको कारोबार गर्न पाउँदैनन्।

‘नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीले कानुनी मन्यता नपाएको सन्दर्भमा उपयुक्त बमोजिमका गैरकानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने र अवैधानिक तरिकाले रकम बाहिरिई स्वेदेशी पुँजी पलायन हुन्छ,’ हालै राष्ट्र बैंकले भनेको थियो, ‘त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकसमेत त्यस्तो कार्य गरे/गराइको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जानकारी गराइन्छ।’

नेपालमै त कारोबारी समातिएका छन्। तर, यहाँ कारोबार गर्न र गराउन नपाएपछि रोजगारीका लागि विदेश गएका नेपालीहरूले उतैबाट क्रिप्टोकरेन्सीहरूमा लगानी गर्न थालेका छन्।

त्यसले गर्दा नेपालमा आउनुपर्ने पैसा आउन सकेको छैन। बरु त्यो रकम त्यस्तै ‘अनलाइन पैसा’ माथि लगानी भइरहेको छ। कतिपय नेपालीले नेपालमै बस्नेहरूका लागि विदेशबाट क्रिप्टाेकरेन्सीमा लगानी गरिदिन्छन्। अनि, त्यसवापत उनीहरूका आफन्तले नेपालमै पैसा पाउँछन्। याे पनि सरकारकाे कुनै आधिकारिक निकायमा रेकर्ड रहँदैन।

राष्ट्र बैंकले पनि अहिले रेमिट्यान्स घट्नुको एउटा कारणबारे रोजगारीका लागि विदेशमा रहेका नेपालीहरूले क्रिप्टोकरेन्सीमा लगानी गरेको हुनसक्ने बताएको छ। विदेशबाटै नेपालीकाे कति पैसा यस्ता क्रिप्टोकरेन्सीमा लगानी भएकाे छ भनेर यकिन तथ्याङ्कहरू छैनन्। तर, सरकारले यसमाथिकाे लगानीलाई अवैध घाेषणा गरेपछि प्रहरीले पनि शुक्ष्म अध्ययन अनुसन्धान गरिरहेकाे छ।

खाडी देशहरूमा काम गर्न गएका नेपालीहरूले बताएअनुसार धेरैले क्रिप्टोकरेन्सी र अरु भर्चुअल नेटवर्किङहरूमा लगानी गरेका छन् र धेरै त्यस्ता लगानीहरू डुबेका पनि छन्। अहिले विभिन्न खाडी देशमा त्यस्ताे लगानीमा फँसेका र ठगिएका नेपालीहरूले समूह बनाएर काराेबारीहरूलाई खाेजिरहेका छन्। कतिपय ठाउँमा त नेपालीले आफ्नै समूह खडा गरेर त्यस्ताे काराेबार पनि गर्दै आएका छन्।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष ९ खर्ब ६१ अर्ब रुपैयाँबराबरकाे रेमिट्यान्स भित्रिएको थियो। यो नेपालको कूल बजेटको लगभग आधाजति हो। रेमिट्यान्सले थेगेको नेपालको अर्थतन्त्रमा बितेको सात महिनाको आँकडा हेर्ने हो भने यो वर्ष त्यो रेमिन्ट्यान्समा निकै कमी हुने देखिन्छ। खासगरी नेपालमा धेरै रेमिट्यान्स भित्रिने भनेको खाडी मुलुकहरूबाट हो। तर, खाडी मुलुकमै रहेका नेपाली कामदारहरूले क्रिप्टोकरेन्सीलगायत विभिन्न अनलाइन पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङमा लगानी गरिरहेका छन्।

विश्वभरमा हुने क्रिप्टोकरेन्सीबारे रेकर्ड राख्ने वेबसाइट ‘ट्रिपल ए’ को एउटा विवरणअनुसार नेपालका करिब ४ लाख २३ हजार ८ सय ४० नागरिकसँग क्रिप्टोकरेन्सी छ। यो वेबसाइटले नेपालको बारेमा अरु विस्तृत विवरणहरू भने दिएको छैन।

विश्वमा सबैभन्दा धेरै भारतीय नागरिक १० करोड ७ लाख ४० हजार ३ सय २० जनासँग क्रिप्टोकरेन्सी छ। यो विश्वमा सबैभन्दा धेरै हो। नेपालले क्रिप्टोकरेन्सीलाई ‘अवैध’ घोषणा गरे पनि भारतले भने अनलाइन मुद्राको बारेमा नयाँ कानुनहरू बनाउने घोषणा गरेको छ।


Leave a Reply

Your email address will not be published.