ओलीजीकाे गुनगान नगाउने काे छ र : करिश्मा

ओलीजीकाे गुनगान नगाउने काे छ र : करिश्मा

काठमाडौं- चलचित्र ‘सन्तान’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् अभिनेत्री करिश्मा मानन्धर। २०४२ सालमा फिल्म क्षेत्रमा पाइला प्रवेश गरेकी करिश्माले ३ दशक चलचित्र क्षेत्रमा निरन्तर काम गरिन्। करिश्मा याे लामाे चलचित्र यात्रा चर्चा र सफलताको केन्द्रमा रहिन्।

‘मायालु’, ‘कस्तुरी’, ट्रक ड्राइभर’, पन्छी’, साथी’, वसन्ती आदि उनीले अभिनय गरेका चर्चित फिल्म हुन्।

फिल्मी दुनियाँबाट टाढा हुँदै २०७३ सालमा बाबुराम भट्टराईले दर्ता गरेको पार्टी नयाँ शक्तिबाट राजनितिक यात्रा सुरु गरेकी हुन् करश्मिाले।

‘वैकल्पिक राजनीतिक’ धारको रुपमा आएको नयाँ शक्तिमा करिश्माले ‘रिल’ जीवनमा जस्तो ‘करिश्मा’ देखाउन भने सकिनन्। कलाकारितामै ‘नेम’ र ‘फेम’ कमाएकी मानन्धरले यतिबेला नेकपा एमालेसँग राजनीतिक साइनाे गाँसेकी छन्।

मंगलबार बबरमलको कार्की पाटीप्यालेसमा अन्य पार्टीका कार्यकर्तासँगै पार्टी अध्यक्ष केपी ओलीको न्यानो आथित्यमा मानन्धरले पनि एमालेमा सपथ लिइन्।

फिल्मको रिलिज हुदाँ होस् वा स्टेज कार्यक्रममा उनको ‘इन्ट्री’ सँगै तात्ने मञ्च आज उस्ताे तातेन। न क्यामेरा उनीतिर तेर्सिए। रातो सारीमा सजिएकी मानन्धर कलाकार भन्दा पनि सामान्य पार्टीको कार्यकर्ताका रुपमा त्यहाँ पुगेकी थिइन्। त्यसैले होला सायद उनको आगमनले कार्यक्रममा उपसस्थितमाझ खासै फरक पारेन। बरु उनै करिश्मा कार्यक्रम हलभित्र प्रवेश गर्दा एकछिन अलमल्ल परिन्।

हलमा नेताहरुको लागि बस्ने ठाँउ अगाडि थियो। अर्कोतिर  पत्रकारका क्यामेराको लाइन् थियो। क्यामेराको पछाडिको साइटमा पत्रकारको लागि कुर्सीको व्यवस्था थियो। त्यहीँ साइटमा म यतैबस्छु भन्दै मानन्धर केही समय त्यही बसिन्। मानन्धर आएको केही समयपछि पार्टी अध्यक्ष केपी शर्मा ओली हलभित्र छिरे। ओलीले मानन्धरलाई टीका र खास्टोले पार्टीमा स्वागत गरे।

मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमालेमा समाहित भए। त्यसैगरी माओवादी केन्द्र पर्साका इञ्चार्ज बाबुराम कौसी, पर्साका वाइसिएल अध्यक्ष पिन्टु रौनियारलगायत पनि उनीसँगै एमाले प्रवेश गरे।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अध्यक्ष ओलीबाट प्रभावित भएर एमालेमा प्रवेश गरेको बताइन्। उनले कलाकारिताका साथै सामाजका लागि सेवा गर्ने उद्देश्यका साथ आफू एमाले प्रवेश गरेको बताइन्।

‘हजुरलाई लागिरहेको होला म कलाकार मान्छे यो मञ्चमा किन उभिएकी हुँला? कलाकारिता क्षेत्रमा मैले तीन दशक बिताइसकेको छु। अहिले पनि सुटिङबाटै यहाँ आएको छु। फर्केर हेर्दा त्यो मात्रै ‘सवकुछ’ हो त? मेरो मनमा प्रश्न आइरह्यो,’ उनले भनिन्।

एमालेले मुलुक परिवर्तन र समृद्धिको एजेन्डा बोकेकोले यसलाई रोजेको उनले बताइन्। ‘मलाई मन पर्नेहरूले करिश्मा तिमी केही गर्नुपर्छ। समाजका लागि राम्रो गर्नुपर्छ। आफ्नो पक्षबाट मुलुकका लागि योगदान नै गरिरहेको थिएँ,’ मानन्धरले भनिन्, ‘हजुरको मनमा प्रश्न होला एमाले नै किन? नेता भनेको जनताको पथप्रदर्शक हो त्यो मैले ओलीजीमा देखेँ। उहाँको गुणगान नगाउने मान्छै नै छैन।’

स्वार्थविना एमाले प्रवेश गरेको बताउँदै मानन्धरले पार्टीले दिने जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने जिकिर गरिन्। कार्यक्रममा बोल्दै गर्दा करिश्मा आफ्नो भिजनभन्दा पनि एमाले र ओलीको चर्चामा ब्यस्त रहिन्।


Leave a Reply

Your email address will not be published.