एक अर्कालाई गाली नगरौं, अर्थतन्त्र सुधार्ने हामी सबैको दायित्व हो

केही समस्या छन्, हामीसँग बलियो आधार पनि छ

एक अर्कालाई गाली नगरौं, अर्थतन्त्र सुधार्ने हामी सबैको दायित्व हो

हाम्रै जीवनकालमा हामी निकै ठूला-ठूला घटनाका प्रत्यक्ष साक्षी भयौं। ठूला-ठूला राजनीतिक परिवर्तनदेखि भूकम्प तथा कोरोना महामारीको सामना गर्‌र्यौं। कोभिडको कहाली लाग्दो परिस्थितिको सामना गर्‌यौं। जनतालाई साथ दिने कुरामा एफएनसीसीआईले सरकारसँग साथै रहेर सहयोग गर्‌यो। हामीले आम सर्वसाधारण जनताको साथ छोडेनौं, सकेको सहयोग गर्‌यौं।

मेरै नेतृत्वमा महासंघमा स्थापना भएको कोभिड रिलिफ कार्यक्रमबाट हामीले दोस्रो लहरका समयमा हामीले सकेको सहयोग गर्न सक्यौं। हामीले आइसोलेसन केन्द्र देखि औषधिमूलो, स्वास्थ्य परामर्शको व्यवस्थापनमा सहयोग गर्‌र्यौं।

चालु आर्थिक वर्षको सुरुदेखि अर्थतन्त्रमा अभूतपूर्व सुधार देखिएको थियो। अत्यधिक मागलाई नेपालको वित्तीय क्षेत्रले धेरै समय थेग्न सकेन। स्वभाविक रुपमा कर्जा प्रवाह बढ्यो। माग हुँदा आयात बढनु पनि स्वभाविक थियो। रेमिट्यान्स आप्रवाहमा केही कमी आयो। यसले भुक्तानी सन्तुलनमा चाप परेको छ। विदेशी मुद्राको सञ्चिति साढे ६ महिनाको आयात धान्न पर्याप्त छ। अबका दिनमा रकम सकिने मात्रै होइन, रकम आप्रवाह पनि त हुन्छ नि।

त्यसैले श्रीलंका हुन्छ भनेर आत्तिनु पर्दैन। सुधार हुन्छ, हामी सबै मिलेर सुधार गर्ने हो। एक अर्कालाई गाली नगरौं। महासंघको पदाधिकारी, कार्यकारिणी समिति सदस्य लगायत सम्पूर्ण सदस्यहरू हामी जिम्मेवार नागरिक हौं। हाम्रो भनाइको अर्थ रहन्छ। सबै मिलेर संकट समाधानका लागि पहल गर्नुपर्छ।

सम्माननीय सभामुखज्यू,

हाम्रा केही समस्या पनि छन्। हामीसँग बलियो आधार पनि छ।

सस्तो श्रम, संसार बुझेको युवा जनशक्ति र भारत चीनका साथै आफ्नै देशको विशाल बजार लगानीका महत्वपूर्ण आधार हुन्। अलिकति सरकारका तर्फबाट गर्नुपर्ने सहयोग हुनसक्यो भने मुलुक छिटो आर्थिक मार्गमा अगाडी बढ्ने मेरो विश्वास छ।

लगभग ५७ प्रतिशत काम गर्न सक्ने उमेर समूहका जनता रहेको नेपालसँग जनसाङ्खिक लाभको अधिक सुविधा छ। युवा जनसंख्याको बाहुल्यता यसको सशक्त पक्ष हुन्। तर, हामीले अवका केही वर्षहरूभित्र यसको भरपूर उपयोग गर्न सकेनौं भने हाम्रा लागि अझ बढी कठिनाइका दिन आउनेवाला छन्, सम्माननीय सभामुखज्यूमा यो अवसरलाई सदुपयोग गर्ने वातावरण बनाई दिन हामी निजी क्षेत्र आग्रह गर्दछौं।

त्यसका लागि, खासगरी हाम्रा युवा जनशक्ति सूचना प्रविधिसँग अभ्यस्त छ। पछिल्लो आकंडाले पनि त्यसलाई पुष्टि गर्छ। सरकारको गत सालको आर्थिक सर्भेक्षण अनुसार आर्थिक वर्ष २०७७-७८ सम्म ८२.८ प्रतिशत जनसंख्यामा इन्टरनेट सेवा पुगेको छ। लगभग ४ करोड मोवाइल फोन प्रयोगमा छन्।

एफएनसीसीआईले मुलुकको अर्थतन्त्रको विस्तार, रोजगारी सृजना, निर्यात प्रवद्र्धन, व्यापार घाटा न्युनिकरणको उपाय सहितको भिजन पेपर अघिल्लो साल नै सार्वजनिक गरिसकेको छ। भिजन पेपरले राखेका लक्ष्यलाई पुरा गर्ने कार्यमा हामीले सरकारको वलियो र साथ सहयोग खोजेका छौं। भिजन पेपर कार्यान्वयनमा सरकारकातर्फबाट सहयोग हुने विश्वास पनि दिलाइएको छ, हामी उत्साहित भएका छौं।

पटक पटकका लगानी सम्मेलन, नीतिगत सुधारमा जोड, सवै राजनीतिक दलहरुको आर्थिक एजेण्डामा एकमत, अन्तराष्ट्रिय आर्थिक मन्चहरुमा प्रतिवद्धता, विकासमा निजी क्षेत्रको सहभागिता, निर्यातमुखी वृद्धिमा जोड, विश्वव्यापीकरण र भूमण्डलीकरणमा प्रतिवद्धता रहंदा रहदै पनि लगानी आकर्षणमा भने नेपाल निकै नै पछाडी परेको छ।

नेपालमा पछिल्ला वर्षहरूमा आएका वाह्य लगानीको आँकडालाई मात्र हेर्ने हो भने पनि त्यो लगभग प्रतिमहिना करिव दुई साढे २ अर्वको हाराहारीमा मात्र आइरहेको छ जुन अत्यन्त नगन्य हो।

हामी साधारण सभाको समुद्घाटन पश्चातका विशेष सत्रहरूमा यही विषयहरुमा छलफल चलाउँदै छौं। वाह्य लगानीका विषयमा विशेष सत्र नै आयोजना गरेका छौं। यसपछिका सत्रहरूबाट आउने सुझावहरूले मुलुकभित्र लगानी आकर्षण, उद्योग व्यवसायको विस्तार र हालको तरलताको समस्या समाधानमा एउटा स्पष्ट मार्ग निर्देश गर्ने हाम्रो अपेक्षा छ।

हाम्रा केही समस्या पनि छन्। जस्तो कि बिजुली नियमित छैन। लामो समयदेखि पिपिए रोकिएको छ। यसले उत्पादनमा समस्या आइरहेको छ। यस वर्षको बजेटमा जलविद्युतमा दिइएको छुट स्वदेशी लगानीकर्तालाई पनि उपलब्ध हुनुपर्छ। पर्यटन पूर्वाधारमा सरकारी सहुलियत आवश्यक छ। पहुँचमार्गदेखि राजश्व छुट यसमा आवश्यक छ।

चलचित्रलगायत मनोरन्जन क्षेत्रको पुनरुत्थानका लागि राजस्व छुट लगायत सुविधा आवश्यक छन्। कर छुट, चलचित्र परियोजना कर्जा, विद्युत सहुलियत एवं चलचित्र र पर्यटन उद्योगको सहकार्यमा सरकारले जोड दिनुपर्छ।

[उद्योग वाणिज्य महासंघको ५६औं वार्षिक साधारणसभामा महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले व्यक्त गरेको मन्त्व्यको सम्पादित अंश]


Leave a Reply

Your email address will not be published.