कुन महानगरमा कसको पल्ला भारी?

कुन महानगरमा कसको पल्ला भारी?

काठमाडौं

स्थानीय तह निर्वाचन आउन अब २८ दिन र मनोनयन दर्ताका लागि ९ दिन बाँकी छ। निर्वाचन आयोगले मनोनयन दर्ताका लागि तोकेको समयअनुसार अबको १० औं र ११ औं दिनमा चुनावमा भाग लिने उम्मेदवारहरूले मनोनयन दर्ता गराइरहेका हुनेछन्।

आयोगले उम्मेदवारी मनोनयन दर्ताका लागि वैशाख ११ र १२ दुई दिनको समय तोकेको छ।

मनोनयन दर्ताका साथै चुनावको मिति नजिकिँदै जाँदा निर्वाचनका मुख्य सरोकारवाला राजनीतिक दलहरू रणनीति बनाउन र नजिता आफ्नो पक्षमा पार्न जोडघटाउमा जुटेका छन्।

चुनावमा राजनीतिक दलहरू व्यस्त हुने नै भए, आमनागरिकको चासो पनि बढ्दै गएको छ। खास गरेर देशका ६ महानगरपालिकामा कुन दलबाट को उम्मेदवार हुने र कसले जित हातपार्ने सर्वाधिक चासोको विषय बनेको छ, अहिले।

महानगरभित्र प्रतिनिधिसभाका धेरै निर्वाचन क्षेत्र पनि पर्ने भएकाले आगामी चुनावको आधारसमेत तयार हुने हुँदा महानगरको प्रतिस्पर्धालाई बढी महत्वका साथ हेरिएको छ।

तालमेल गरेर अघि बढ्ने निर्णय गरिसकेको सत्तारुढ पाँच दलीय गठबन्धनभित्र पनि महानगरको सिट बाँडफाँडमा कुरा मिल्न सकिरहेको छैन। गठबन्धनमा आवद्ध दलहरूले महानगरको सिट आ–आफ्नो पोल्टामा पार्न खोजिरहेकोले पनि यसको महत्वलाई प्रष्ट्याउँछ।

महानगरका साथै उपमहानगरलाई पनि उत्तिक्कै महत्व दिइरहेका छन्, गठबन्धनमा आवद्ध दलहरूले। महानगर र उपमहानगर सिटको भागबण्डा केन्द्रबाटै टुंग्याउने सहमति गरे पनि गठबन्धन ठोस निर्णयमा पुग्न सकिरहेको छैन।

यता, केही दिनअघिसम्म एक्लै चुनाव लड्ने बताइरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि आफूलाई गठबन्धनकै बाटोमा डोर्‍याएको छ। एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकालको नेपाल परिवार दलसँग स्थानीय चुनावमा गठबन्धन गर्ने पाँच–पाँच बुँदे सहमति नै गरिसकेको छ।

बढीभन्दा बढी स्थानीय तल आफ्नो पल्लामा ल्याउने चाहना राजनीतिक दलको हुनु स्वभाविकै रहे पनि महानगरको प्रतिस्पर्धालाई महत्वका साथ हेरिएको छ।

२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा ६ महानगरमध्ये एमालेले काठमाडौं र पोखरा जितेको थियो। कांग्रेसले ललितपुर र विराटनगरमा जित हात पारेको थियो।

त्यस्तै माओवादी केन्द्रले भरतपुर र तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) ले वीरगञ्ज महानगरपालिका जितेको थियो।

प्रतिनिधिसभाको दोस्रो विघटनयता एक ठाउँमा उभिएर गठबन्धन बनाएका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चा जसरी पनि एमालेको विजयलाई रोक्न चाहिरहेको छ।

गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरू गत सोमबार संयुक्त विज्ञप्ति जारी गरेरै गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरे। कतिपय ठाउँमा तल्ला कमिटीले एकअर्काको अस्तित्व स्वीकार नगर्ने अवस्था सिर्जना भएपछि शीर्ष नेताहरू संयुक्त वक्तव्य जारी गर्न बाध्य भए। यद्यपि, तल्ला तहमा देखिनेगरी प्रगति भने भएको छैन।

पाँच दलीय गठबन्धन र एमाले–राप्रपा नेपाल–परिवार दलको गठबन्धन चुनावी मैदानमा उत्रिँदा आसन्न स्थानीय तह निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने निश्चित छ। कुन

महानगरमा कसको कति प्रभावः

काठमाडौं महानगरपालिका

अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका नेकपा एमालेका विद्यासुन्दर शाक्यले जितेका थिए। शाक्यले ६४ हजार ९१३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ प्राप्त गरेका थिए।

त्यतिबेला एमालेका उम्मेदवार शाक्यलाई राप्रपाको सहयोग थियो। अर्थात उनले प्राप्त गरेको ६४ हजार ९१३ मत राप्रपासहितको हो। उनी १९ हजार ६४४ मतअन्तरले विजयी भएका थिए।

एमालेले थापा नेतृत्वको राप्रपा नेपालसँग तालमेल गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन चिढिएका छन्। एमालेसँग तालमेल नहुँदा अघिल्लो चुनावमा एमालेले पाएको राप्रपाको मत यसपटक नपाउने सम्भावना बढेको छ।

अर्कोतर्फ पाँच दलीय गठबन्धनमध्येका माओवादी केन्द्र र जसपासँगै छ। अघिल्लो चुनावमा माओवादी केन्द्रले ७ हजार ९०६ र नयाँ शक्ति (हाल जसपा) ले ६ हजार ५० मत प्राप्त गरेको थियो।

अघिल्लो चुनावको मत विश्लेषण गरेर हेर्दा माओवादी केन्द्र र जसपाले उम्मेदवार नदिए कांग्रेसको मतमा १३ हजार ९५६ मत थपिने छ। तर, यति मत थपिँदैमा कांग्रेसका उम्मेदवार जित्ने सम्भव देखिँदैन। कांग्रेसले पाएको ४५ हजार २६९ मतमा माओवादी र जसपाको १३ हजार ९५६ मत थप्दा पनि एमालेले पाएको मतभन्दा ५ हजार ६८८ मत कम हुनजान्छ।

यस्तो अवस्थामा काठमाडौं महानगरमा कांग्रेसका उम्मेदवारलाई जिताउन एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण हुनेछ। जितका लागि अपुग कम्तिमा ५ हजार ६८८ मत एकीकृत समाजवादीले ल्याउनुपर्ने हुन्छ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले बढी मत ल्याउन नसकेको अवस्थामा फेरि काठमाडौंमा एमाले विजयी हुनेछ।

ललितपुर महानगरपालिका

अघिल्लो स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकामा कांग्रेसका चिरबाबु महर्जनले जित हात पारे। तर झिनो मतले। उनले एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई मात्रै ३२७ मतको अन्तरले पराजित गरे। चिरबाबुले २४ हजार ६४२ मत ल्याउँदा हरिकृष्णले २४ हजार ३१६ मत प्राप्त गरेका थिए।

स्वतन्त्र भएर चुनाव लडेका रमेश महर्जनले १३ हजार ४५८ मत ल्याएका थिए भने माओवादी केन्द्रले १० हजार ६६१ र नयाँ शक्ति पार्टी (हाल जसपा) ले ७७९ मत प्राप्त गरेको थियो।

सत्ता गठबन्धनमा आवद्ध माओवादी केन्द्र र जसपाले यसअघि पाएको मत जोड्दा एमालेले गठबन्धनलाई पराजित गर्न कठिन देखिन्छ। यद्यपि गठबन्धनलाई सहज जित निकाल्न स्वतन्त्र भएर चुनाव लडेका रमेश महर्जनको १३ हजार ४५८ मतले फरक पार्न सक्नेछ। महर्जनको मत कतातिर जाने त्यसले चुनावी परिणामा निर्भर हुने देखिन्छ।

पोखरा महानगरपालिका

६ वटा महानगरमध्ये नेकपा एमाले सबैभन्दा बढी पोखरामा ढुक्क देखिएको छ। दल विभाजन भएको बेला जनप्रतिनिधिहरू एक ढिक्का भएर बसेकोले पोखरामा एमाले ढुक्क देखिएको हो।

अघिल्लो चुनावको नतिजाअनुसार गठबन्धनको सबै दल मिले पनि पोखरामा एमालेलाई पराजित गराउन कठिन देखिन्छ।

पोखरा महानगरपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले फराकिलो अन्तरले कांग्रेसको उम्मेदवारलाई पराजित गरेको थियो। एमालेका मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याउँदा कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मतमात्रै प्राप्त गरेका थिए। जिसी र कुँवरबीच १३ हजार ७०२ मतको मतान्तर थियो।

संघीय समाजवादी फोरम (हाल जसपा) ३ हजार १७०, माओवादीबाट टेकनाथ भण्डारीले उम्मेदवारी दिएका थिए। तर, अन्तिम समयमा माओवादीले कांग्रेसलाई सघाउने निर्णय गरेको थियो। भण्डारीले २५८ मत प्राप्त गरेका थिए। राप्रपाले २ हजार २७२ मत ल्याएको थियो। उपमेयरमा माओवादीकी गोमा ढकाल ८ हजार ७९६ प्राप्त गरेकी थिइन्।

अघिल्लो निर्वाचनको मत परिणामको हिसाबले गठबन्धनका पाँचै दल मिले पनि एमालेलाई पराजित गर्न कठिन देखिन्छ। सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीले टिकट पाउने सम्भावना बढी छ।

एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्य गठबन्धन दलले सहयोग गरे पोखरामा आफूहरू चुनाव जित्ने दाबी गर्छन्।

अघिल्लो निर्वाचनमा एमालेलाई जिताउन कमाण्ड आचार्यले सम्हालेका थिए। अहिले उनी एकीकृत समाजवादी कास्कीका अध्यक्ष छन्। पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति हुँदै एमालेमा लामो समय बिताएका आचार्यले गठबन्धनबाट उम्मेदवार बने एमालेकै मत प्रभावित पार्नसक्ने अनुमान गठबन्धन र एमाले दुवैको छ।

पोखराका मेयरका लागि दाबी गरिरहेका आचार्य गठबन्धनबाट सग्लो उम्मेदवार भए पुरानो गढमा पराजय भोग्नसक्नुपर्ने भय एमालेलाई देखिएको छ। त्यसैले उनको प्रतिस्पर्धामा उत्रिनसक्ने उम्मेदवारको खोजी उसले गरिरहेको छ।

भरतपुर महानगरपालिका

गत स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका माओवादीले जितेको थियो। कांग्रेससँग तालमेल गरेको माओवादीबाट रेणु दाहाल विजयी भएकी थिइन्। तर, मतान्तर भने २०३ मात्र थियो।

दाहालले ४३ हजार १२७ मत ल्याउँदा नेकपा एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए। राप्रपाले ६ हजार ८४२ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ४१५ र नयाँ शक्ति पार्टीले ३५६ मत ल्याएको थियो।

भरतपुरमा एमाले र राप्रपाबीच तालमेल हुँदा आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनलाई अप्ठ्यारो पर्ने देखिएको छ। एमाले र राप्रपाको मत जोड्दा करिब ५० हजार मत पुग्ने देखिन्छ।

भरतपुरको मेयर पदका लागि गठबन्धनभित्र अहिले किचलो चलिरहेको छ। माओवादी केन्द्रलाई भरतपुर दिने शीर्ष नेताहरूबीच सहमति जुटे पनि कांग्रेसको स्थानीय नेतृत्व त्यसका लागि तयार देखिएका छैनन्।

चितवन कांग्रेसले भरतपुरमा अरू दलको मेयर स्वीकार गर्न नसकिने औपचारिक निर्णय नै गरिसकेको छ। मेयरका लागि स्थानीय तहमा गठबन्धनबीच चलिरहेको किचलोका कारण एमाले उत्साहित देखिएको छ।

अघिल्लो निर्वाचनमा कांग्रेसले दाहाललाई सहयोग गरेर उपमेयरमा पार्वती शाह ठकुरीलाई उठाएको थियो। मेयरमा दाहालले ४३ हजार २१७ मत पाउँदा ठकुरी ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन्।

मेयर र उपमेयरमा फरक–फरक दलका उम्मेदवारले पाएको मत भिन्नताले गठबन्धन हुँदा पनि भोट ‘क्रस’ हुने गरेको देखिन्छ। त्यतिमात्रै होइन मेयरमा उम्मेदवार नदिँदा पनि कांग्रेसको रूख चिह्नमा १० हजार मत परेको थियो।

स्थानीय नेतृत्वको विरोधकाबीच माओवादीले टिकट पाए कांग्रेसले नै भोट नदिने अवस्था देखिएको छ। त्यस्तै गठबन्धनभित्र विवादका बीच कांग्रेसले टिकट पाए उस्तै रणनीति माओवादीले पनि अपनाउन सक्छ। र, अन्ततः यसको फाइदा एमालेलाई पुग्ने लगभग पक्का छ।

वीरगञ्ज महानगरपालिका

२०७४ को स्थानीय तह निर्वाचनमा मधेस प्रदेसको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकाको मेयरमा विजय सरावगी निर्वाचित भए। त्यतिबेला उनी संघीय समाजवादी फोरम (हाल जसपा) बाट चुनाव लडेका थिए।

सरावगीले १९ हजार ३९३ मत पाउँदा उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका अजय द्विवेदीले १७ हजार १९७ मत प्राप्त गरेका थिए। मतअन्तर २ हजार १९६ थियो।

तर, यसपटक वीरगञ्जको अवस्था फेरिएको छ। संघीय समाजवादी फोरम जसपा बनिसकेको छ भने मेयर जितेका सरावगी एमाले प्रवेश गरिसकेका छन्।

मधेस आन्दोलनको केही दिनपछि भएको अघिल्लो स्थानीय तह निर्वाचनमा व्यापारिक पृष्ठभूमिबाट आएका सरावगीलाई फाइदा भएको थियो। अहिले उनी एमालेमा छन्।

तर, गत निर्वाचनमा वीरगञ्जमा एमालेको कमजोर उपस्थिति देखिएको थियो।

अघिल्लोपटक एमालेले ८ हजार ६८८ मत प्राप्त गरेको थियो। पछिल्लो समय अरू पार्टीबाट निर्वाचितकतिपय जनप्रतिनिधिहरू एमाले प्रवेश गरे पनि पाँच दलीय गठबन्धन एकै ठाउँमा उभिँदा एमालेलाई जित निकाल्न सहज देखिँदैन।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेर पार्टी प्रवेश गरेका राजेशमान सिंहलाई जसपाले वीरगञ्जको मेयरमा उठाउने तयारी गरेको छ।

अघिल्लोपटक तत्कालीन राजपाबाट चुनाव लडेका सिंहले १२ हजार १६५ मत प्राप्त गरेका थिए। गठबन्धनमा सहमति भएर एक्लो उम्मेदवार भए सिंह जित्ने सम्भावना देखिन्छ।

तर, पर्सा कांग्रेसले वीरगञ्जमा अरू दलको मेयर स्वीकार गर्न नसकिने निर्णय गरिसकेको छ। अघिल्लोपटक थोरै मतले पराजित भएको र अहिले परिस्थिति फेरिएकोले वीरगञ्जमा आफूहरूको जित सुनिश्चित रहेको दाबी पर्सा कांग्रेसले गरेको छ।

अघिल्लो निर्वाचनमा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले ८ हजार ७०१ मत प्राप्त गरेको थियो। नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भइसकेको छ। द्विवेदीले पाएको मतमा लोकतान्त्रिक फोरमको मत जोड्दा वीरगञ्जमा कांग्रेस जित्ने पनि बलियो सम्भावना देखिन्छ।

गत निर्वाचनमा द्विवेदीले चुनाव हारे पनि कांग्रेसबाट उपमेयरमा उम्मेदवारी दिएकी शान्ति कार्की १९ हजार ६०७ मत ल्याएर निर्वाचित भएकी थिइन्। मेयरमा सरावगीले पाएको मतभन्दा कार्कीले २१४ मत बढी पाएकी थिइन्।

विराटनगर नगरपालिका

विराटनगरमा गत स्थानीय निर्वाचनमा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३२१ मत ल्याएर ५ हजार ७१० मतले पराजित भएका थिए।

संघीय समाजवादी फोरम (हाल जसपा) का उमेशकुमार यादवले १४ हजार ९५८ मत ल्याएका थिए।

त्यतिबेला विराटनगरमा एमाले र नेपाल लोकतान्त्रिक फोरमबीच तालमेल भएको थियो। त्यस्तै माओवादी र संघीय समाजवादी फोरमले पनि सहकार्य गरेको थियो।

कांग्रेसले मेयर उपमेयर दुवै जित्दा संघीय समाजवादीसँग मिलेको माओवादीले उपमेयरमा ११ हजार ५२४ मत ल्याएर पराजित भएको थियो।

त्यतिबेला एमालेसँग मिलेको लोकतान्त्रिक फोरम अहिले कांग्रेसमा समाहित भइसकेको छ। जसपा र माओवादी केन्द्र पनि सत्ता गठबन्धनमा छ।

यसअघि एक्लै लडेर आफ्नो पक्षमा नतिजा हात पार्न सफल भएको कांग्रेसलाई गठबन्धनको साथ पाउँदा थप सजिलो हुने देखिन्छ भने विराटनगरमा एमालेलाई कठिन हुने सम्भावना बढि देखिएको छ।

 

 


Leave a Reply

Your email address will not be published.