राजनीतिको ‘अक्कर’मा उभिएकी रेणु

राजनीतिको ‘अक्कर’मा उभिएकी रेणु

देशभरि चुनावी सरगर्मी बढ्दै गर्दा एकदिन चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए- ‘पहिला प्रचण्डकी छोरी भन्थे अहिले मलाई रेणुको बुवा भनेर जनताले चिन्छन्।’

लामो राजनीतिको उतारचढावमा अविछिन्न गाँसिएकी प्रचण्ड जीवनको एउटा अणु, आज रेणु दाहाल बनिसकेकी छिन्।

र, फेरि पनि राजनीतिको एउटा अक्करमा उभिएर अर्को त्यस्तै परीक्षामा होमिएकी छिन्।

वैशाख ३० गते हुने स्थानीय चुनावको अभियान अब बाक्लिइसकेको छ। खासगरी महानगरहरू अनि त्यसमा पनि हरेक दिन समाचारका बग्रेल्ती हेडलाइन बन्ने भरतपुर र रेणु दाहालको चर्चा अझै उस्तै छ।

२०७४ देखि अहिलेसम्म एकअर्कामा गाँसिएर आउने भरतपुर अनि रेणुका अनेक किस्साहरू चुनाव सकिएको कैयौं दिनसम्म पनि उसैगरि चल्नेछ।

प्रचण्ड जीवनमा चितवन, भरतपुरमा थिग्रिएकी रेणु

चितवनसँग प्रचण्ड जीवनको अर्कै साइनो छ। चितवनमा हुर्किएको एउटा कलिलो ठिटो आफ्नो सारा वैंश लिएर काठमाडौं छिर्दै गर्दा ‘प्रचण्ड’ भइसकेको हुन्छ।

अनि जनयुद्धमा आफूलाई हुर्काएका रेणुहरू अनि माओवादी राजनीतिमा हाँगाबिगा भएका छन्।

रेणु प्रचण्ड जीवनको एक अणुमात्रै हुन्। परिवारका यी साइनोहरूलाई एकछिन बिर्सिने हो भने रेणुले अब आफ्नै एउटा सग्लो राजनीतिक कद बनाइसकेकी छिन्।

जसरी प्रचण्ड जीवनसँग चितवन गाँसिएको छ, त्यसैगरी रेणुको राजनीतिक जीवनलाई हुर्काउने अर्को काख हो भरतपुर।

पाँच वर्षअघि उनी प्रचण्डपुत्री मात्र थिइन्। अहिले उनी प्रचण्डकी छोरी रेणु दाहालसम्म भएकी छन्। र, प्रचण्डले भनेजस्तो रेणु दाहाल मात्रै बन्न उनले अझै कयौं परीक्षाहरूमा उत्तीर्ण हुनुपर्नेछ।

सार्वजनिक रुपमा बोल्दा भरतपुरको नेतृत्वमा फेरि आउने आफ्नो व्यक्तिगत चाहाना नभएको उनले बारम्बार दोहोर्‌याउँदै आएकी छन्।

पाँच वर्षमा गर्न नसकिएका, आफूले सुरु गरेर पनि टुंगोमा पुग्न नसकेका र दीर्घकालीन परियोजनाहरू सम्पन्न गर्न फेरि मोर्चामा होमिएको बताउँदै नगरवासीलाई मत जाहेर गर्न अपिल गरेकी छन्।

करिब २० वर्षपछि ब्यूँझिएका स्थानीय तहमा अर्को एउटा नयाँ आयाम थपिएको थियो- संघीयता।

जनप्रतिनिधिले राज्यव्यवस्थाको नयाँ सिराबाट कामहरू सिक्दै र गर्दै थिए। पाँच वर्ष यसैमा बित्यो र फेरि चुनाव अब संघारमै आइसकेको छ।

पाँच वर्षको कार्यकालमा रेणुले भरतपुरमा सुरू गरेका धेरै कामहरू अझैं बाँकी छन्।

‘समृद्ध भरतपुरका लागि मैले सुरू गरेका कैयौं योजनाहरूलाई टुङ्गोमा पुर्‌याउनका लागि फेरि एकपटक मलाई मौका दिनुहोस् भनेकी छु’ रेणु भन्छिन् ‘यो पाँच वर्षमा मैले के गरें र के गर्न सकिनँ भन्ने कुरा त यहाँहरूकै सामु छ। सबै प्रष्ट छ।’

गणतन्त्र आयो। देश संघीय संरचनामा गयो। संविधानले समानुपातिक, समावेशी प्रतिनिधित्वलाई राज्य सञ्चालनको मूल मर्म बनायो। महिला, दलित, जनजाति तथा पछाडि पारिएका वर्ग जाति, समुदायले संख्यामै सही राज्यको मूलप्रवाहमा अटाउन सक्ने अवस्था बन्यो। नचाहेरै सही महिला नेतृत्वमा आए, ल्याउनु पर्‌यो।

यिनै परिवेशमा भरतपुरमा आफ्ना राजनीतिक पाइला राखेकी रेणुले धेरै आलोचना पनि खेप्नुपर्‌यो। नेपाली समाजले उनलाई लगाउँदै आएको र सम्भवत: लगाइरहने एउटा आरोप हो- प्रचण्डकी छोरी।

आफ्ना बाबुआमाको राजनीतिक पदचाप पछ्याउनेहरूको जीवनभरि टाँसिने ‘ट्याग’ हुन्- आफन्तवाद। नातावाद अनि कृपावाद।

त्यसमा पनि महिलाहरूलाई अझ धेरै झेल्नुपर्छ- सुरूमा फलानाकी छोरी, फलानाकी बुहारी अनि फलानाकी श्रीमती। रेणुले पनि यो पाँच वर्षमा सबैभन्दा धेरै खेपेको आरोप यही हो- प्रचण्डकी छोरी। महानगरकी मेयर बनेकी उनलाई त ‘गणतन्त्रकी राजकुमारी’सम्मका ट्यागहरू भिराइयो।

कसैकी ‘राजकुमारी’ होउन् चाहे प्रचण्डकी छोरी यो चुनावमा यस्ता धेरै ‘रेणु’हरू फेरि पनि एकपटक ‘स्थानीय सरकार’ सम्हाल्न कस्सिएका छन्।

अहिले पनि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी छोरी र श्रीमती बोक्ने पार्टी नभएको भनेर प्रचण्ड र माओवादीलाई गाली गरिरहेका छन्।

यी उनै राधिका शाक्यका श्रीमान् हुन्, जो कुनै बेला नेपालको महिला-मुक्ति आन्दोलनमा सशक्त र नेतृत्वदायी भूमिका खेलेकी थिइन्। ओली सोचको त्यही कठोर सत्य हो – राधिका शाक्य आज केपी ओलीकी ‘धर्मपत्नी’कै घेराभित्र खुम्चिएकी छिन्।

आफूलाई सबैभन्दा ठूलो पार्टी र सशक्त संगठन भएको दाबी गर्ने एमालेको सुप्रिम कमाण्डरको यो अभिव्यक्तिबाटै अनुमान लगाउन सकिन्छ त्यहाँ नेतृत्वले महिला, जनजाति, दलित तथा यस्तै पिछडिएका वर्ग, जाति तथा समुदायको मूलप्रवाहीकरणका लागि कस्तो नीति अवलम्बन गर्ला भनेर? उनले कल्पना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सोचमा कति पूर्वाग्रही छ भनेर।

अक्करकाे यात्रा

आज म यहाँ रेणुलाई माओवादी केन्द्रसँग र उनका बाबू प्रचण्डसँग जोडेन हेर्न चाहान्न। र उनी अघिल्लो निर्वाचनमा कसरी जितिन्, जितिन् कि जिताइयो भन्ने कुरा पनि कोट्याउन चाहान्न। अर्को स्थानीय निर्वाचन मुखमै आएको छ। उनी फेरि अर्को कार्यकालका लागि भरतपुरको नेतृत्व गर्न पाउने सम्भावनानजिक पुगेकी छन्। नगरवासीले त्यसको मूल्यांकन गर्लान्। नगरे अर्को व्यक्तिले अवसर पाउला। जिते छोरीबाट रेणु बन्ने छिन् र हारेपनि उनको नेतृत्व यादगार रहने छ।

एकातिर गठबन्धनकै ‘बागी’ त्यो पनि सिंगो जीवन एउटै राजनीतिक आदर्शमा गुजारिसकेका व्यक्तिको सामना रेणुले गर्दैछिन्। अर्कोतिर सत्ताबाट उछिट्टिएर ‘घाइते’ भएको एमालेको चोटिलो प्रहार पनि उनले छेक्नुपर्नेछ।

र, पनि यो राजनीतिको ‘अक्करे’ भीरमा एकपटक आफूलाई हुत्याएकी छिन् रेणुले। परिवारको विरासतबाट आफू सग्लो रेणु दाहाल बन्नका लागि। जीवनका हरेक सम्भावनाहरू अक्सर यस्तै ‘अक्कर’हरूमै भेटिन्छन् सायद।

हरेक सरकारका लागि स्थायित्व र नीतिगत निरन्तरता सुशासनका आधार मानिन्छ।

र, यसैलाई चुनावी संकल्प बनाएकी छन् रेणुले। अधिकांश स्थानीय तहको कार्यसम्पादन जनमुखी र निराशाजनक रहेको अवस्थामा उमेरले आलै र अनुभवले काँचै मानिए पनि रेणुको सक्रियताले स्थानीय तहको नेतृत्व र विकास व्यवस्थापनमा कसरी तालमेल गर्न सकिन्छ भन्ने संकेत उनले देखाइकी छन्। आलोचना मात्रै गर्दा पनि अन्य महानगरको तुलनामा उनको कार्यसम्पादन अब्बल देखिएको छ।

भौतिक पूर्वाधारमा भएका आंशिक उपलब्धीलाई विकासको सम्पूर्ण परिभाषाभित्र अटाउन नसकिए पनि संघीय सरकारले सम्म गर्न नसकेका उपलब्धीलाई कम आकलन पनि गर्न मिल्दैन।

भरतपुर अस्पतालमा जेष्ठ नागरिकलाई ओपिडीमा निःशुल्क सेवा प्रदान गर्ने निर्णयबाट सुरु भएको उनको यात्रा अलपत्र अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको जिम्मासम्म पुगेको छ। पार्टीले देखाएका सपना, बजारमा मिडियाले बनाइदिएको ‘गणतन्त्रकी राजकुमारी’ को छविलाई जनताकी छोरीका रुपमा पुष्टि गर्न र  प्रतिपक्षको कठोर कटाक्षलाई गलत सावित गर्न रेणुहरुले मोर्चा कस्नै पर्छ।

महिला अधिकारका मिसाइलहरू ‘धर्मपत्नी’ मा कैद हुँदा आदर्श पात्र मान्ने समाजको ‘कम्पोजिसन’ भत्काउनै पर्छ। महिलाहरुले किचनमात्रै होइन नगरको पोहोर पनि सफा गर्न सक्छन् भन्ने प्रभाणित गर्न पनि रेणुहरुका पाइला रोकिनु हुन्न।

फेरिएको भरतपुर-फेरिएकी रेणु

महानगरले यी पाँच वर्ष सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेको देखिन्छ। यो अवधिमा ६१० किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर सडकमा ग्राभेल गरेको बार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ। यस्तै संघीय तथा प्रदेश सरकारसँगको सहकार्यमा भरतपुरले ८८.६ किलामिटरको लामो महानगरीय रिङरोड परियोजना अघि बढाइएको छ।

पुल्चोकदेखि गोन्द्राङ्गसम्मको ६ लेनको सडक, ४ लेन बाइपास सडक विस्तार एवं हुलाकी सडकको १९ किलोमिटर बिस्तारको काम निर्माणाधीन अवस्थामा छ।

महानगरको बार्षिक प्रतिवेदन अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, अन्तर्राष्ट्रिय स्तरको सिटी हल, सडक सञ्जाल विस्तार गर्ने रिङरोड र लिङ्करोड, मेट्रो प्लाजा र व्यवस्थित तथा वैज्ञानिक ल्याण्डफिल्ड साइट, नारायणदी नदी तटबन्धलगायतका परियोजना महानगरका पाइपलाइनमा छन्।

पूर्वाधार विकासमा सफलउन्मुख भएसँगै सामाजिक न्याय र तथा उपेक्षित एवं उत्पीडितहरुलाई सोझै लाभ पुग्ने योजनाहरु समेत यो बीचमा सञ्चाल भएका देखिन्छन्। हरेक वडामा एम्बुलेन्सको व्यवस्था, विपन्न दलित, जनजाति, महिला छात्रछात्रालाई छात्रवृत्ति, राहत तथा सेवा सुविधा दिने काम समेत उनको कार्यकालमा भएका छन्।

रेणुले समृद्धिको पूर्वाधारको जग बसालेकी छिन्। अब बाँकी भनेको सामाजिक न्यायसहितको समृद्ध भरतपुरको हो। भरतपुरको जनसांख्यकीय बनौट हेर्दा पूर्वाधार विकासको प्रतिफल पूर्णरुपमा अनुभूति गर्न त्यहाँका बहुसंख्यक जनताको आर्थिक तथा सामाजिक विकास जरुरी छ। खासगरी जनजाति, सुकुम्बासी, भूमिहीन, दलित बस्तीका उर्जाशील पाखुरीहरुलाई रोजगारी र उत्पादनसम्म जोडेर उनीहरुलाई पूर्वाधार विकास उपयोगको हैसियतमा पुर्याउन रेणुले भूमिका खेल्नुपर्ने छ।

६ वटा महानगरमा भरतपुरले विकासको नमूना नगरको परिचय पाएको छ। अबको आवश्यकता सामाजिक न्याय, समानता र सबैखाले विभेदको अन्त्य भएको नगरको रुपमा भरतपुरको परिचय स्थापित गर्नु हो। स्मार्ट सिटीको कोरा अवधारणाले विकासलाई यान्त्रिक र भौतिकरुपमा मात्रै बुझ्दछ। तर, आमआवश्यकता भनेको सामाजिक न्यायसहितको स्मार्ट सिटी हो।

पहिलो कार्यकालमा उनले पूर्वाधारको क्षेत्रमा नमुना काम गरेकी छन्। माओवादीको वर्ग आधारले पनि रेणुबाट अब मानवीय विकासको अपेक्षा गरेको छ।

समान शिक्षा, समान पाठ्यक्रम, सबै हैसियतका महिलालाई समान अवसर, सबैलाई रोजगारी, जातीय विभेदको अन्त्य भएको नगर। वातावरणमैत्री विकासको मोडेलसहितको सांस्कृतिक पहिचान भएको नगर। स्वास्थ्य र सरसफाईमा आमजनताको आनीबानी परिवर्तन भएको सहर। दुर्व्यसनमुक्त सहर। यी सामाजिक विकास र न्यायका विषयमा अब उनका चुनौती हुन्।


Leave a Reply

Your email address will not be published.