जनकपुरमा पनि ‘वागी’हरूसँग डराएको गठबन्धन

जनकपुरमा पनि ‘वागी’हरूसँग डराएको गठबन्धन

जनकपुरधाम। गठबन्धनका शीर्ष नेताहरुलाई सुन्नका लागि दिउँसो १२ बजेदेखि नै जनकपुरको तिरहुतिया गाछीको चउरमा कार्यकर्ताहरू जम्मा भइसकेका थिए।

तर नेताहरूलाई कुर्दा-कुर्दा ४ बजिसकेको थियो। मधेसका अरू पनि जिल्लाहरूमा भाषण गर्दै हिँडेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव एकछिन अघि जनपुर पुगेर ‘रोड शो’ गरे।

अनि केहीबेरमा दमौलीबाट हेलिकोप्टर चढेर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पनि आइपुगे।

सबै नेताहरूले छोटकरीमै आफ्नो भाषण टुङ्ग्याए।

सबैजसोले ‘वागी’को डर देखे। गठबन्धनलाई जिताउनका लागि त्यसका विरूद्ध नजान चेतावनी पनि दिए।

देउवाले त गठबन्धनविरूद्ध बोल्नेलाई पनि कारबाही हुने धम्की दिए। पौडेलले पनि जनकपुरमा ‘वागी’ जितेको इतिहास सम्झाए र फेरि त्यस्तो हुन नदिन भन्दै सबैलाई चेतावनी दिए।

मधेस प्रदेसको राजधानी जनकपुरधाममा २०७४ को स्थानीय तह निर्वाचनलाई अपवाद मान्ने हो भने त्यसअघि भएको दुईवटा निर्वाचन बागी उम्मेदवारले जितेका छन्।

मधेस आन्दोलनलगत्तै अघिल्लोपटक भएको स्थानीय तह निर्वाचनमा तत्कालीन राजपाबाट मेयरका उम्मेदवार बनेका लालकिशोर साहले जित निकाले।

नेविसंघबाट राजनीति सुरू गरेका साह कांग्रेसको राजनीतिमा होमिएका थिए। पहिलो मधेस आन्दोलनताका सदभावना पार्टी प्रवेश गरेर मधेस केन्द्रित दलमा आवद्ध भए।

कांग्रेस पृष्ठभूमिका भएकै कारण अघिल्लो निर्वाचनमा राजपाका साथै उनले कांग्रेस समर्थकहरूको मत ल्याउन सफल भएका थिए। फलस्वरूप कांग्रेसकै आधिकारिक उम्मेदवार मनोज साह पराजित हुँदा लालकिशोर जित निकाल्न सफल भए।

पार्टी विभाजन हुँदा लालकिशोरले जसपा रोजे। पाँच दलीय भागबन्डामा जनकपुरधामको मेयर जसपाको भागमा परेको छ। र, जसपाले उनलाई मेयरको उम्मेदवार बनाएको छ।

अघिल्लोपटक लालकिशोरका निकटतम प्रतिद्वन्द्वी रहेका मनोज स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धामा होमिएका छन्।

मेयर छाड्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै कांग्रेस उपमहानगर समितिका सभापतिसमेत रहेका मनोजले पार्टीबाट राजीनामा दिएर मेयर पदमा उम्मेदवारी दिएका छन्।

बागी उम्मेदवारी दिँदा कारबाही भोग्नुभन्दा पार्टी नै छाड्न उपयुक्त ठाने मनोजले।

प्रजातन्त्र पूर्नवाहालीपछि २०४९ सालमा भएको स्थानीय तह निर्वाचनमा जनकपुरको मेयरमा कांग्रेसका बागी वृषेशचन्द्र लाल जितेका थिए। कांग्रेसबाट टिकट पाएका दिगम्बर रायलाई उनले पराजित गरेका थिए।  वृषेशसँगै लालकिशोर पनि बागी भएर उपमेयरमा चुनाव लडेर विजयी भए।

त्यतिबेला वृषेशले पाएको चुनाव चिह्न चश्मा र लालकिशोरको घण्टी प्रायः सबैजसो जनकपुवासीको मुखबाट सुनिन्थ्यो। दुईजना बागी उम्मेदवारहरूको चुनाव चिह्न चश्मा–घण्टीको लहर नै देखिन्थ्यो त्यतिबेला।

त्यसपछि २०५४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले पञ्चायतकालमा दुईपटक प्रधानपञ्च भइसकेका दामोदर उपाध्यायलाई मेयरको उम्मेदवार बनायो।

टिकट पाउने आकांक्षा राखेका कांग्रेस नेता बजरंग साह बागी भइदिए। जनकपुरका मतदाताले दुईपटक प्रधानपञ्च भइसकेका उपाध्यायलाई पत्याएनन्। र, बजरंगलाई जनकपुरको मेयरमा निर्वाचित गराए।

स्थानीय तह निर्वाचनमा जनकपुरमा सुरूदेखि देखिएको एउटा ‘ट्रेन्ड’ छ– बागी उम्मेदवार निर्वाचित हुने।

यसपटकको निर्वाचनमा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका दुईजना उम्मेदवारको नाम मतदाताबीच चर्चामा छ–कांग्रेसबाट बागी बनेका मनोज र बलराम कन्स्ट्रक्सनका सञ्चालक बलराम महतो।

अघिल्लोपटक चुनावमा पराजित भएकोले मतदाताहरूको सहानुभूति मनोजको पक्षमा देखिन्छ। जनकपुरका धेरैजसो मतदाताको झुकाव उनीप्रति देखिएको छ।

अर्को गठबन्धन गरेर मेयर छाडेको कांग्रेस कार्यकर्ता र कांग्रेस समर्थकहरूको आक्रोशले पनि उनलाई फाइदा पुग्ने सम्भावना बढेर गएको छ।

मेयर पदका स्वतन्त्र उम्मेदवार निर्माण व्यवसायी ‘धनाढ्य’ भएकाले निर्वाचित भएर आइसकेपछि भ्रष्टाचार नगर्ने मत राख्नेहरूको संख्या पनि उल्लेख्य छ।

जनकपुरका मतदाताहरूकाअनुसार अहिलेसम्म यी दुई स्वतन्त्र उम्मेदवारहरू एकअर्काका प्रतिस्पर्धी देखिएका छन्। जतिसुकै गठबन्धन भए पनि स्थानीय चुनावमा दलीय हिसाबभन्दा व्यक्ति हेरेर मत दिनुपर्ने तर्क दिनेहरू देखिन्छन्, यहाँ।

आम मतदाताहरूको चुनावी ‘मुड’ को रिपोर्टिङ केन्द्रमा नपुग्ने कुरा नै हुँदैन। त्यसैले स्वतन्त्र उम्मेदवारले इतिहास दोहो¥याउने डर र चिन्ता कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई देखिएको छ।

पाँच दलीय गठबन्धनका उम्मेदवार नजित्ने हो कि दुवै नेताको डर शनिबार जनकपुरमा आयोजित चुनावी सभामा पनि पोखियो।

गठबन्धनका सबैभन्दा ठूलो हिमायती प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले त अब गठबन्धनको विरोध नै नगर्न कार्यकर्ताहरूलाई चेतावनी दिए।

दुई दिनअघि चितवनको सभामा गठबन्धन भत्किए कांग्रेस नै सकिने चेतावनी दिएका उनले जनकपुरको सभामा गठबन्धनको विरोधमा केही नबोल्न नेता–कार्यकर्तालाई निर्देशन दिएका हुन्।

‘गठबन्धनको विरोध सह्य हुँदैन, पार्टीले कारबाही गर्छ। धेरैलाई गरिरहेको पनि छ,’ देउवाको चेतावनी थियो।

गठबन्धनको विरोधमा रहेका पार्टीकै नेता–कार्यकर्ता बागी उम्मेदवारलाई निर्वाचित गराउने डर देउवालाई देखिएको छ। त्यसैले गठबन्धनप्रति असन्तुष्टि भए पनि मौन बस्ने संकेत उनले नेता–कार्यकर्तालाई दिएका छन्।

‘गठबन्धनको पक्षमा यस्तो माहोल बनेको छ कि त्यो भनेर साध्य छैन। कतैकतै असन्तुष्टि होलान् तर हामी सबै अनुशासनमा बस्नुपर्छ,’ उनले भने,‘पार्टीको १४ औं महाधिवेशन र केन्द्रीय समितिले अनुमोदन गरेको गठबन्धनको निर्णय सबैले मान्नुपर्छ।’

पराजित हुने छुट अब गठबन्धनलाई नरहेको देउवाको भनाइ थियो।

देउवामात्रै होइन जनकपुरमा स्वतन्त्र उम्मेदवार जित्ने गरेको इतिहासबारे वरिष्ठ नेता पौडेल पनि जानकार रहेका छन्। पौडेलले पनि स्वतन्त्र उम्मेदवारलाई जिताएर इतिहास नदोहो¥याउन निर्देशन दिए।

बागी उम्मेदवारबारे जानिफकार पौडेलले रकेर्ड तोड्नुपर्ने बताए। ‘जनकपुरमा कांग्रेसको रूख र जसपाको छाता साझा चुनाव चिह्न हो,’ पौडेलले भने,‘जनकपुरबाट बागीले जित्ने रेकर्ड पनि छ। अब त्यसलाई तोड्नुपर्छ।’

पौडेलको अर्को चिन्ता हो– अन्तर्घात।

पटक–पटक हुने अन्तर्घातका कारण कांग्रेसका उम्मेदवार हार बेहोर्नुपरेको बताएका उनलाई यसपटक पनि त्यही डरले तर्साइरहेको छ।

‘पार्टी कार्यकर्ताबाटै हुने अन्तर्घातका कारण हामी पराजित हुने गरेका छौं। कांग्रेसभित्र अब अन्तर्घात चल्दैन। अन्तर्घात गर्नेलाई कारबाही हुन्छ,’ पौडेलले भने।

पाँच दलीय गठबन्धनको चुनावीसभाको तयारी गर्ने जिम्मा जिल्ला संयन्त्रले जनकपुरधाम–४ स्थित तिरहुतिया गाछीमा सभास्थल तय गरेको थियो।

सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी हुने नहुने निश्चित भइसकेको थिएन।

शुक्रबार रातिसम्म यी दुई नेतबारे जिल्ला संयन्त्रका सदस्यहरू अलमलमै देखिन्थे। सभामा सहभागी हुन घटक दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार बिहानै जनकपुर पुगे।

तर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चुनावी सभामा आएनन्। यहाँसम्म कि धनुषाबाट प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीका केन्द्रीय नेता र जिल्लास्तरीय नेताहरू पनि चुनावी सभामा देखिएनन्।

प्रदेस सरकारका मन्त्रीसमेत रहेका माओवादी नेता भरत साहले उद्घोषण गरेको चुनावी सभामा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं प्रदेस सरकारका पर्यटमन्त्री शत्रुध्न महतोसमेत देखिएनन्।

कांग्रेस र जसपाको झन्डा तथा चुनाव चिह्न अंकित झन्डा उल्लेख्य संख्यामा देखिए पनि एकीकृत समाजवादीको कलम चिह्नवाला झन्डा राखिएको थिएन।

नेपाली सेनाका हेलिकप्टर चढेर कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल सभास्थल पुगे। देउवा पुग्नअघि माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव मेयरका प्रत्याशी लालकिशोरसँग जनकपुरमा ‘रोड सो’ गरेका थिए।

पाँच दलको संयुक्त सभा भनिए पनि अपेक्षा गरिएअनुसार सहभागीको उपस्थिति पनि न्यून देखिएको थियो। अधिकांश कांग्रेस र जसपाका नेता–कार्यकर्ताहरू सहभागी भएको चुनावी सभामा धनुषा कांग्रेसकै कतिपय चर्चित अनुहार देखिएनन्।


Leave a Reply

Your email address will not be published.