घर-आँगनका नेता फेर्न चाहेका मतदाता, फेरिन नखोज्ने दलहरू

घर-आँगनका नेता फेर्न चाहेका मतदाता, फेरिन नखोज्ने दलहरू

जनकपुरधाम।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलिया पश्चिम टोलमा सुरेश धनकार आफ्नो घरअगाडि नाङ्गलो बुनिरहेका थिए।

डोम समुदायका सुरेशसँगै उनका छेउछाउका अरू छिमेकीहरू पनि कोही नाङ्गलो कोही ढाकी बुन्ने काममा व्यस्त देखिन्थे।

वैशाख महिनाको चर्को गर्मीमा उनीहरूलाई बाँसका ती सामानहरू अहिले चटारो छ। वैशाख लागेदेखि विहेबारीको सिजन सुरू भइसकेको छ।

विहेबारीमा नाङ्गलो, ढाकीलगायतका बाँसले बनेका नयाँ सामग्री प्रयोग गर्नुपर्ने पौराणिक परम्परा रहेको छ, तराई–मधेसमा। माग बढेको छ। सुरेशजस्तै उनका समुदायका मानिसहरूलाई अहिले भ्याइ नभ्याइ छ।

विहेवारीको चटारो अनि प्रचण्ड गर्मीकै बीच मधेसमा स्थानीय तह चुनावको पारो पनि ह्वात्तै बढेको छ। जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडामा मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यका प्रत्याशीहरू प्रचार–प्रसारलाई तिब्रता दिइरहेका छन्।

जनकपुरधाम उपमहानगरको मेयरमा यसपटक निर्वाचित हुने उम्मेदवारबारे कौतुहलता त छँदैछ साथै मतदाताहरू आ–आफ्नो हिसाबले अनुमान र आकलनहरू पनि गरिरहेका छन्।

नाङ्गलो बुन्ने कामलाई नरोकेर सुरेशले भने यसपटक मनोज साह र बलराम महतोबीच प्रतिस्पर्धा हुने ज्यादै सम्भावना देखिन्छ। मनोज र बलराममध्ये एकजना मेयरमा निर्वाचित हुने उनको आकलन छ।

मनोज र बलराम दुवैजना मेयर पदका लागि स्वतन्त्र प्रत्याशी हुन्।

गठबन्धनको भागबन्डामा मेयर जनता समाजवादी पार्टी(जसपा) को भागमा परेपछि कांग्रेस उपमहानगर समितिका सभापति रहेका मनोजले पार्टीबाट राजीनामा गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन्।

२०७४ को चुनावमा कांग्रेसबाट मेयरमा प्रतिस्पर्धा गरेका मनोज तत्कालीन राजपाका उम्मेदवार लालकिशोर साहसँग पराजित भएका थिए।

त्यस्तै बलराम कन्स्ट्रक्सनका सञ्चालक निर्माण व्यवसायी पहिलोपटक राजनीतिमा पाइला टेकेर मेयरमा उम्मेदवारी दिएका हुन्। उनी आफ्नो निर्माण कम्पनी छोराको नाउँमा गरिदिएको बताउने गरेका छन्।

सुरेश राजनीतिक रूपले कांग्रेसप्रति आस्था राख्छन्। तर, अघिल्लो चुनावमा उनले राजपाका उम्मेदवार लालकिशोरलाई मत दिएका थिए।
‘त्यतिबेला छुट्टै लहर चलेको थियो, मधेस आन्दोलन भर्खरै सकिएको थियो,’ सुरेशले भने,‘अघिल्लो चुनावमा राजपाका उम्मेदवारलाई मत दिएका थियौं। अब त्यसो हुँदैन।’

कांग्रेसले जनकपुरको मेयर छाडेकोमा आक्रोश व्यक्त गरेका उनले यसपटक मनोजलाई मत दिने बताए।

‘मनोज साहले नै कांग्रेसबाट टिकट पाउने भनेर निकै चर्चा चलेको थियो,’ सुरेशले भने,‘टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारलाई मत दिन्छौं।’
सुरेशकै छेउमा उभिएका संजय धनकार कसलाई मत दिने विषयमा खुल्न चाहेनन्। ‘अहिले समय बाँकी छ, मतदानको समय आइसकेपछि निर्णय गरौंला,’ संजयले भने।

उनले पनि मेयर पदका लागि मनोज र बलरामबीच प्रतिस्पर्धा देखिएको बताए।

मुजेलियाको छेउमै रहेको वडा नम्बर १३ स्थित मणिमण्डपअगाडी ६-७ जना स्थानीय घाम छल्न पिपलको ठूलो बोटको ओतमा बसेर चुनावकै कुराकानीमा रमेका थिए। मेयरमा निर्वाचित हुनसक्ने उम्मेदवारबारे सबैले आ–आफ्नो आकलन एकअर्कासँग साटासाट गर्न व्यस्त थिए, उनीहरू।

उनीहरूमध्येका एक रामवरण राउतले मेयरमा बलराम महतोको बढी चर्चा सुनिरहेको बताए।

‘सरकारबाट टेन्डर पाएर बलरामले पक्की सडक बनाइदिएकोले चर्चा राम्रै छ,’ सडक देखाउँदै रामवरणले भने।

मेयरका स्वतन्त्र उम्मेदवार मनोजलाई पनि मत दिने मान्छे आफ्नो वडामा रहे पनि उनले कम मत पाउने रामवरणले सुनाए।

उनकै छेउमा बसिरहेका रवीन्द्र राउतले यसपटक बलरामलाई मत दिने बताए। ‘राजनैतिक व्यक्ति नभए पनि उहाँ सामाजिक काम गरिरहनुभएको छ,’ रवीन्द्रले भने।

अघिल्लो निर्वाचनमा लालकिशोरलाई मत दिएका रामवरण र रवीन्द्रसँगै त्यहाँ बसिरहेका अरू स्थानीयले पनि यसपटक मतदाताले परिवर्तनको ‘मुड’ बनाइसकेको सुनाए।

मनोज र बलरामबीच प्रतिस्पर्धा हुनेमा वडा नम्बर २१ कुर्थाका मतदाताहरूको मत पनि बलियो छ। अघिल्लोपटक निर्वाचित भएका मेयर लालकिशोरले विकास निर्माणका काम नगरेको आरोप उनीहरूको छ।

जनकपुरको मेयरका लागि आफूहरू नयाँ अनुहारको खोजीमा रहेको कुर्था चोकबाट दुई सय मिटर पर आँपको रूखमूनी छाहरीमा बसिरहेको ८÷९ जनाको समूहमा बसिरहेका स्थानीयले सुनाए।

आफूलाई माओवादी केन्द्रका समर्थक बताएका सीताराम दासले गठबन्धन भए पनि राम्रो उम्मेदवारलाई मत दिने बताए।

अघिल्लोपटक लालकिशोरलाई मत दिएको बताउँदै उनले यसपटक आफूहरूको समर्थन बलरामलाई रहने सुनाए।

लालकिशोरप्रति जितेर गइसकेपछि कहिल्यै चासो व्यक्त गर्न नआएको गुनासो स्थानीयहरूको छ।

त्यहीँ बसिरहेको एमालेका एकजना समर्थकले पनि जनकपुरको मेयरमा बलरामको ज्यादै चर्चा सुनिरहेको बताए। अघिल्लोपटक ३२ सयमध्ये १८ हजार मत आफ्नो वडाबाट पाए पनि विकासको नाममा शून्य काम भएको उनको गुनासो थियो।

मधेस आन्दोलनको लहर भएकोले अघिल्लो चुनावमा मत दिए पनि यसपटक भने नयाँ अनुहारलाई जिताउने पक्षमा आफूहरू रहेको उनीहरूको भनाइ थियो।

कुर्था बजारको पान पसलमा भेटिएका एकजनाले मनोज र बलरामबीच प्रतिस्पर्धा रहेको बताए। जसपासँग आवद्ध उनले आफ्नो नाम खुलाउन चाहेनन्।

गठबन्धनका तर्फबाट मेयरका उम्मेदवारलाई सांगठनीक हिसाबले केही मत परे पनि बढी मत मनोज र बलरामको पक्षमा जाने उनले बताए।
सांगठनीक रूपमा बलियो पकड बनाएको एमालेका उम्मेदवार शिवशंकर साहले पनि राम्रै मत पाउनसक्ने उनको अनुमान छ।

आफ्नो राय बताउन नचाहेका पान पसलका सञ्चालक शैलेन्द्र झाले अहिले नै आकलन गर्न सकिने अवस्था नरहेको बताए।

‘अघिल्लोपटक जस्तो कुनै पनि उम्मेदवारले एकमुष्ट मत पाउने अवस्था देखिएको छैन। कसले जित्ला भनेर अनुमान गर्न अहिले हतार हुन्छ,’ उनले भने।

वडा नम्बर २२ उपमहानगरमा गाभिएयता दोस्रोपटक स्थानीय तह निर्वाचन हुँदैछ। तर, उपमहानगरको २२ नम्बर वडा बसविटी सहरी रूप लिनसकेको छैन।

चर्को जग्गा र घर कर तिरिइरहे पनि सेवा सुविधा भने पुरानो गाविसजस्तै रहेको गुनासो त्यहाँका स्थानीयहरूको छ।

‘पहिले सय रूपैयाँ लिएर जग्गा कर तिर्नजाँदा केही पैसा उब्रिन्थ्यो, अहिले ६ हजारले पनि पुग्दैन,’ बसविटीको बीच गाउँमा रहेको मन्दिरमा भेटिएका करिब ७० वर्षीय वृद्ध उदितनारायण मिश्रले भने, ‘यसपटक जितेर काम गर्नसक्ने उम्मेदवारलाई मत दिन्छौं।’

मनोज साह राम्रो उम्मेदवार रहे पनि टिकट नपाउँदा बागी बनेको बताएका उनले कसैको पक्षमा खुल्न चाहेनन्।

मिश्रले लोसपाबाट उम्मेदवार बनेका मनोज चौधरीको पनि राम्रो चर्चा सुनिरहेको बताए।

त्यहाँका अर्का स्थानीय बालेश्वर ठाकुरले अघिल्लोपटक रूख चिह्नमा मत दिए पनि यसपटक साइकल छाप (लोसपा) उम्मेदवारलाई मत दिने बताए।

वडा नम्बर २३ बिन्धी चोकमा चिया पसल थापेर बसिरहेका रामअशिष मण्डलले लोसपाका मनोज चौधरी र स्वतन्त्र उम्मेदवार बलरामबीच प्रतिस्पर्धा रहेको सुनाए।

आफूले लोसपालाई मत दिने बताएका उनले स्वतन्त्र उम्मेदवार मनोज साहको चर्चा नसुनेको उल्लेख गरे।

जनकपुरधामको वडा नम्बर ७ हटिया नजिक एक पसलमा बसिरहेका महेशकुमार महतोले स्वतन्त्र दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको बताए।

अघिल्लोपटक मधेसको प्रतिष्ठा जोगाउन तत्कालीन राजपालाई मत दिए पनि यसपटक भने स्वतन्त्र उम्मेदवार मनोजलाई मत दिने नामै लिएर उनले भने।

त्यही वडाका निवर्तमान वडाध्यक्ष जानकीराम साहले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले आफ्नो वडाभित्र बलियो पकड राखेको बताइन्छ।

वडाकै मानिसले मेयरमा उम्मेदवारी दिए पनि आफूहरू स्वतन्त्र उम्मेदवार मनोजलाई जिताउने पक्षमा रहेको महतोले सुनाए।

नजिकै अर्को पसलमा बसिरहेकी महिलाले समाजमा योगदान दिएका व्यक्तिलाई मत दिने बताइन्।

अरू बेलाजस्तो यसपटक जातपातबाट प्रभावित भएर मतदान नहुने उनको भनाइ थियो। स्वतन्त्र उम्मेदवार मनोजलाई मत दिने बताएकी उनले आफ्नो नाम बताउन चाहिनन्।

मनोज र बलरामबीच कडा प्रतिस्पर्धा देखिए पनि गठबन्धनका उम्मेदवार भएकाले फेरि लालकिशोर जित्नसक्ने सम्भावना देखेका छन्, जनकपुरधाम–३ का विजयकान्त झाले।

तर, अघिल्लोपटक लालकिशोरलाई मत दिएका उनी यसपटक मन फेर्ने मनस्थितिमा देखिन्छन्। झा यसपटक स्वतन्त्र उम्मेदवार मनोजलाई मत दिने सोचमा रहेको सुनाए।

‘स्वतन्त्र उम्मेदवार भए पनि संगठनसँग जुडेकाले राम्रो काम गर्नसक्ने हामीलाई लागेको छ, यसपटक मनोजलाई मत दिने सोच बनाएका छौं,’ उनले भने।

उपमहानगरको अधिकांश वडाका मतदाताहरूको प्रतिक्रिया लगभग यस्तै देखिन्छ। २५, १२, १५, १६ लगायतका वडाका स्थानीयहरू पनि स्वतन्त्र उम्मेदवारहरूबीच नै प्रतिस्पर्धा रहेको बताउँछन्।

जनकपुरधामको विभिन्न वडाका स्थानीयहरूको भनाइलाई आधार मान्दा दुई स्वतन्त्र उम्मेदवार मनोज र बलरामबीच कडा प्रतिस्पर्धा देखिन्छ भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका निर्वतमान मेयर लालकिशोर, लोसपाका मनोज चौधरी र स्वतन्त्र उम्मेदवार पछि देखिएका छन्।

कडा प्रतिस्पर्धा देखिएको मनोज र बलराममध्ये कसले जित्छ भन्नेमा जसपालाई मेयर छाडेको कांग्रेसको मत निर्णायक देखिन्छ। किनभने जनकपुरधाम उपमहानगरमा कांग्रेसको बलियो प्रभाव छ। गत निर्वाचनमा पनि मेयर पदमा कांग्रेस दोस्रो धेरै मत ल्याएको थियो।

कांग्रेसका मतदाताहरूसँग कुरा गर्दा उनीहरूको सबै मत गठबन्धनकै पक्षमा नजाने देखिन्छ। भागबन्डामा मेयर नपाउँदा स्वतन्त्र उम्मेदवारी दिएका मनोजतर्फ कांग्रेस मतदाताहरूको सहानुभूति देखिन्छ।

अघिल्लोपटक चुनाव हारेकाले पनि अरू विचारधारा बोकेका मतदाताहरूको मत पनि मनोजले तान्नसक्ने सम्भावना देखिएको छ। तर, अरू उम्मेदवारहरूमा पनि ती मत केही मात्रामा बाँडिनेछ।

अघिल्लो निर्वाचनमा तत्कालीन राजपाका तर्फबाट उम्मेदवारी दिएका लालकिशोर साहले २१ हजार ९०३ मत ल्याउँदा कांग्रेसका मनोजले ११ हजार १६४ मत प्राप्त गरेको थिए।

त्यस्तै एमालेका उम्मेदवार लक्ष्मीनारायण भगतले ४ हजार ८६५ मत ल्याएका थिए भने तत्कालीन संघीय समाजवादी पार्टी (हाल जसपा) का उम्मेदवार विष्णुदेव साहले ३ हजार ६१२ मत प्राप्त गरेका थिए।

माओवादी केन्द्रका चन्द्रशेखर साहले २ हजार १२४ र नयाँ शक्तिका उमेश साहले ५८८ मत प्राप्त गरेका थिए।

अघिल्लो निर्वाचनको मत परिणाम हेर्ने हो भने जनकपुरधाममा तत्कालीन राजपा र कांग्रेस ठूला दल देखिन्छन्। तर, राजपा र समाजवादी फोरम बनेर बनेको जसपा विभाजित भइसकेको छ।

जसपाबाट विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मनोज चौधरीलाई उम्मेदवार बनाएको छ। त्यस्तै सत्ता गठबन्धनका तर्फबाट जसपाका लालकिशोर मेयरका उम्मेदवार छन्।

गठबन्धनका घटक दलहरूले अघिल्लोपटक पाएको मत जोड्दा लालकिशोरले सहज जित निकाल्नसक्ने देखिन्छ। तर, झन्डै चार वर्ष उपमहानगरको सत्ता सम्हालेका साहसँग अहिले तत्कालीन राजपाको शक्ति छैन। त्यस्तै उनीप्रति मतदाताहरूको पनि ठूलो असन्तुष्टि देखिएको छ।

निवर्तमान मेयरप्रति स्थानीयवासीको बढेको असन्तुष्टिका कारण दुई स्वतन्त्र उम्मेदवारहरू मनोज र बलराम बलिया देखिएका छन्।

कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका मनोजलाई गठबन्धनका कारण असन्तुष्ट मतदाताहरूको मत तान्ने चुनौती छ।

पहिलोपटक मेयर बन्ने ‘रेस’ मा उत्रिएका बलराम कांग्रेसका असन्तुष्टका साथै निवर्तमान मेयरबाट रूष्ट बनेका मतदाता आफूतिर तान्ने प्रयासमा छन्।

उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको साथ पाएपछि उनले मारवाडी समुदायका साथै व्यापारीहरूको मत तान्नसक्ने विश्लेषण पनि भइरहेको छ।

 

 


Leave a Reply

Your email address will not be published.