नेपाल रेल्वेका पूर्वमहाप्रबन्धक कापरीको निधन

नेपाल रेल्वेका पूर्वमहाप्रबन्धक कापरीको निधन

जनकपुरधाम- नेपाल रेल्वेका पूर्वमहाप्रबन्धक युगेश्वर कापरीको निधन भएको छ। ६१ वर्षीय कापरीको उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो।

नेपाली कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधिसमेत रहेका कापरीको पार्थिव शरीरमा कांग्रेसको झन्डा ओढाएर कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ स्थित उनको निवास पुगेर निधिले श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

कापरीको निधनले कांग्रेसले इमानदार र कर्मठ नेता गुमाएको निधिले बताए। उनको निधनले कांग्रेसलाई अपूर्णीय क्षति भएको निधिको भनाइ थियो।

प्रजातान्त्रिक आन्दोलनदेखि कांग्रेसमा आवद्ध कापरी तत्कालीन जिल्ला विकास समितिको इलाका सदस्यमासमेत निर्वाचित भएका थिए।

कापरीलाई श्रद्धाञ्जली व्यक्त गर्न निधिका साथै धनुषा कांग्रेसका उपसभापति गणेश झा, सचिव कन्हैया कर्ण, जिल्ला सदस्य गणेश तिवारी, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयरका प्रत्याशी किशोरी साह, उपमहानगर समितिका उपसभापति राकेशविक्रम साह, कांग्रेस नेता प्रफुलराज घिमिरे, युवा नेता अखिल मधिकर्मीलगायतका नेताहरू पुगेका थिए।


Leave a Reply

Your email address will not be published.