गठबन्धनमाथि भारी हुँदै ‘स्वतन्त्र’ र ‘बागी’हरू

गठबन्धनमाथि भारी हुँदै ‘स्वतन्त्र’ र ‘बागी’हरू

मतदान रोकिएका केही स्थानहरूबाहेक चुनाव सकिएका सबैजसो ठाउँहरूमा मतगणना सुरू भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार धेरैजसो ठाउँमा शुक्रबार राति नै मत गन्न सुरू भइसकेको थियो भने काठमाडौंलगायत केही स्थानहरूमा शनिबार बिहानबाट मत गणना सुरू भएको छ।

मत गन्ने विषयमा उत्पन्न विभिन्न विवादका बीचमा ठाउँठाउँमा झडपहरू भएका छन् र कतिपय ठाउँमा सुरक्षाकर्मीले हवाइ फायरसमेत गरेका छन्।

उपत्यकाभित्रका सबैजसो स्थानीय तहमा भने शान्तिपूर्ण रूपमा मत गणना भइरहेको छ।

यसपालि करिब ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। काठमाडौंमा भने करिब ५२ प्रतिशतमात्रै मत खसेको थियो। यो परिणामबाट आयोगले भने ‘आफूहरू खुसी नभएको’ जनाएको थियो।

निर्वाचन आयोगका अनुसार कतिपय स्थानीय तहमा मतगणना सकिएर परिणामसमेत घोषणा भइसकेको छ। यद्यपि केही स्थानीय तहमा निर्विरोध पनि भइसकेका थिए।

सुरूवाती परिणाम- स्वतन्त्रहरूको अग्रस्थान

सबैजसो ठाउँहरूमा स्थानीयलाई आफ्ना प्रतिनिधिहरूको परिणामको उत्तिकै चासो भए पनि यसपालि सबैभन्दा बढी चर्चामा भने भरतपुर र काठमाडौं महानगर रहे।

सत्ता साझेदार दलहरूले ‘गठबन्धन’ गरेर चुनावमा गएपछि धेरैजसो ठाउँहरूमा नेकपा एमाले एक्लै चुनाव लडेको थियो। खासगरी यही कारण यसपालिको स्थानीय निर्वाचनमा अघिल्लोभन्दा तीव्र अनि रोचक राजनीतिक ध्रुव्रीकरण देखियो।

तर सबै स्थानीय तहमा भने केन्द्रमा भएको जस्तो गठबन्धन हुन सकेन। त्यहाँ पार्टीका उम्मेदवारहरू एक्ला एक्लै र केन्द्रको भन्दा फरक गठबन्धन गरेर पनि चुनाव लडेका छन्।

सबैको नजरमा रहेको काठमाडौं महानगरमा ‘स्वतन्त्र’ उम्मेदवार बालेन साहले गठबन्धन र एमालेलगायतका उम्मेदवारहरूलाई निकै चुनौती दिइरहेका छन्। राति अबेरसम्मको मतपरिणाममा पनि उनी सबैभन्दा अग्रस्थानमै छन्।

गठबन्धनबाट उम्मेदवार भएकी सिर्जना सिंह अनि एमालेका उम्मेदवार केशव स्थापितलाई उनले प्रारम्भिक नजितामा माथि उक्लिन दिएका छैनन्।

‘र्‌याप’ गायनमा चर्चा कमाएका उनी पेशाले इन्जिनियर पनि हुन्। चुनाव घोषणा भएसँगै आफ्नो उम्मेदवारी पनि घोषणा गरेका उनको पक्षमा काठमाडौंका नयाँ पुस्ताका मतदाता र युवाजमातको निकै समर्थन रह्यो। चुनाव प्रचार प्रसारका क्रममा पनि उनको ‘क्रेज’ उत्तिकै रह्यो।

सुरूमा उनीजस्तै ‘स्वतन्त्र’ उम्मेदवारी घोषणा गरेकी सुनीता डंगोल भने पछि एमालेबाट उपमेयरको उम्मेदवार बनिन्। तर चुनावी परिणाममा भने उनको पनि मत ‘लोकप्रिय’ नै देखिएको छ।

चर्चामा रहेको अर्को महानगर हो, भरतपुर।

त्यहाँ गठबन्धनका तर्फबाट रेणु दाहाल उम्मेदवार छिन्। एमालेबाट विजय सुवेदी र ‘स्वतन्त्र’ उम्मेदवार जगन्नाथ पौडेल छन्।

रेणु आफैमा चर्चित पात्र थिइन्। अघिल्लोपटक पनि भरतपुरको मेयर भएकी उनी यसपालि उनकै बुवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विभिन्न ‘आवेगात्मक’ भाषणका कारण थप चर्चित भइन्।

गठबन्धन हुने कि नहुने वा कस्तो र कसरी हुने? भन्ने बहस चलिरहँदा नै चर्चामा आएको भरतपुर त्यसपछि अर्को पनि कारणले थप चर्चामा आयोग ती थिए जगन्नाथ पौडेल।

नेपाली कांग्रेसका पुराना नेता पौडेलले केन्द्रले सर्कुलर गरेको ‘गठबन्धन आदेश’लाई मानेनन्। र, उनले उम्मेदवारी दिए। उनलाई फकाउनका लागि नेपाली कांग्रेसले भरपुर प्रयास त गरेको थियो तर पनि केही जोर चलेन। अनि अन्तिम समयमा नेपाली कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहनेगरी ‘कारबाही’को घोषणा गर्‌यो।

यसरी ‘बागी’ हुनेहरूलाई स्वत: त्यसप्रकारको कारबाही हुने भनेर कांग्रेस केन्द्रीय समितिले नै निर्णय गरेको थियो।

र, पनि पौडेल चुनावी मैदानमा होमिए- ‘भुइँकटहर’ लिएर।

त्यहाँको सुरूवाती मतपरिणाममा गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई एमालेका विजय सुवेदीले निकै चुनौती दिइरहेका छन्। बिहानदेखि सुरू भएको मतगणनामा केही बेर त सुवेदीले रेणुलाई पछि नै पारेका थिए। अलि अवेरतिर रेणु अलि माथि त उक्लिइन् तर सुवेदीले मतान्तर भने धेरै फराकिलो हुन दिएका छैनन्।

खासगरी गठबन्धनमा रहेका दलहरूले देशभरका महानगरहरू र उपमहानगरहरूमा केन्द्रबाटै भागबण्डा गरेका थिए।

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले गठबन्धन र एमालेका उम्मेदवारहरूलाई निकै फराकिलो मतान्तरले पछि पारिरहेका छन्।

यहाँ गठबन्धनबाट नेपाली कांग्रेसका नृपबहादुर वड र नेकपा एमालेबाट रणबहादुर चन्द चुनाव लडेका थिए।

देउवा पत्नी आरजुनिकट मानिने वड यसअघि पनि त्यहाँको मेयर भइसकेका थिए। अघिल्लोपटक विवेकशील पार्टीबाट उम्मेदवार बनेका हमाल वडसँगै पराजित भएका थिए।

तर अहिले भने उनले ‘स्वतन्त्र’ उम्मेदवारी दिए। सामाजिक कामहरूमा निकै सक्रिय हुने हमाल त्यहाँका आम नागरिकमाझ निकै चर्चित छन्। उनी सञ्चार उद्यमी र अरू व्यवसायी पनि हुन्।

बागको ‘दबदबा’ पनि

चुनावी आमसभालाई सम्बोधन गर्नका लागि केही दिनअघि जनकपुर पुगेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले त्यहाँ भनेका थिए-  ‘जनकपुरबाट बागीले जित्ने रेकर्ड पनि छ। अब त्यसलाई तोड्नुपर्छ। कांग्रेसले अब अन्तर्घात चल्दैन। कांग्रेस पराजित हुने कारण पनि त्यही नै हो।’

मतगणनाको सुरूवाती परिणामले पौडेलको आशंकालाई सत्य नै सावित गरिदिएको छ। जनकपुरधाम उपमहानगरमा ‘बागी’उम्मेदवार मनोज साहले गठबन्धनका लालकिशोर साह र एमालेका उम्मेदवार एमालेका शिवशंकर साहलाई निकै पछि छोडेका छन्।

गठबन्धनका तर्फबाट जनकपुरमा लालकिशोर साह नै दोहोरिएका थिए। गठबन्धनको भागबण्डामा जनकपुरधाम जसपाको भागमा परेपछि फेरि पनि साह उम्मेदवार भएका थिए।

त्यसैबाट असन्तुष्ट मनोजले पनि ‘स्वतन्त्र’ बनेर उम्मेदवारी दिए। उनी कांग्रेसका उमहानगर समितिका सभापति पनि हुन्। उम्मेदवारी फिर्ता नलिएपछि उनलाई कांग्रेसले कारबाही पनि गर्‌यो।

कांग्रेसका नेता विमलेन्द्र निधिको ‘प्रभावक्षेत्र’ मानिने जनकपुरमा यसअघि ‘बागी’हरूले नै जितेको इतिहास पनि छ। जनकपुर निधिको गृहजिल्ला पनि हो।

गत मंसिरमा भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनमा देउवासँग दूरी बढाएका निधि आफू पनि कांग्रेस सभापतिका लागि भिडेका थिए। तर पछि दोस्रो चरणमा भने उनले देउवालाई समर्थन दिए। त्यसयता चिसिएको उनीहरुको सम्बन्ध अझै पूर्ववत हुन सकेको छैन।

गठबन्धनले जनकपुरमै गरेको चुनावीसभालाई सम्बोधन गर्नका लागि पनि निधिलाई निम्तो दिइएको थिएन। अरू नै मार्फत देउवाले बोलाउन पठाए पनि निधि त्यो चुनावीसभामा गएनन्।

चुनावी परिणाम त यहाँसम्म रोचक देखिएको छ कि, कांग्रेस सभापति शेरबहादुर देउवाको आफ्नै वडासमेत गठबन्धनका उम्मेदवार पराजित भएका छन्।

देउवाको गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस पराजित भएको हो। यो सभापति तथा प्रधानमन्त्री देउवाको मतदाता नामावली भएको वडा हो।

देउवाको वडासमेत रहेको वडा नम्बर १ रुवाखोलाको अध्यक्षमा कांग्रेस बीपीका नरेश भण्डारी विजयी भएका छन्।

उनले ६७३ मत प्राप्त गर्दै कांग्रेस उम्मेदवारलाई पराजित गरेका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत पाएका छन्। उक्त वडामा कांग्रेस बीपीको प्यानल नै विजयी भएको हो।

देउवापछि सुदूरपश्चिममा प्रभावशाली मानिने नेता हुन्- कर्ण मल्ल। कुनै बेला देउवाले नेतृत्व गरेर कांग्रेस प्रजातान्त्रिक बनाउने बेला उनकै सारथी थिए मल्ल। तर विस्तारै उनीहरूबीच मनमुटाव बढ्दै गयो र मल्ल खुलेरै देउवाको विपक्षमा उभिए।

अधिवेशनका बेला अझै बढेको यो दुरी चुनावसम्म आइपुग्दा नराम्रोसँग फाट्यो। ‘बागी’ र ‘कांग्रेसबाहेक’का उम्मेदवारहरूलाई समर्थन गरेको भन्दै कांग्रेसले मल्ललाई कारबाही गर्‌यो। पार्टीले कारबाही गरेपछि मल्लले सुदूरपश्चिमको सांसद पदबाट राजीनामा पनि दिए।

चुनावअघि डडेल्धुरा पुगेकी देउवा पत्नी आरजुले मल्ल र उनका समर्थकहरूलाई बेस्सरी हपारेकी थिइन् र ‘कांग्रेसले नजितेको ठाउँमा बजेट नदिने’ भन्दै धम्क्याएकी समेत थिइन्।

उनको यो अभिव्यक्तिको धेरै आलोचना पनि भयो र निर्वाचन आयोगले स्पष्टीकरणसमेत सोध्यो।

देउवासँग अलग भएपछि मल्लले कांग्रेस छोडेर ‘स्वतन्त्र’ उम्मेदवारी दिएका र वीपी कांग्रेस पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरूलाई समर्थन गरेका थिए।

कांग्रेस डडेल्धुराका पूर्व सभापति समेत रहेका मल्लले विद्रोह गरी कांग्रेस बीपीबाट जिल्लाभर उम्मदेवार उठाएका थिए। एमालेसँग तालमेल गरेका मल्लले भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो।

बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छन्। उनी पुतली चुनाव चिह्न लिएर  चुनावी मैदानमा उत्रिएका थिए। सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन्।


Leave a Reply

Your email address will not be published.