गिरिराजको गृहनगर बर्दिवासमा कांग्रेसका बागीको अग्रता
जनकपुरधाम- माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेलको गृहनगर महोत्तरीको बर्दिवासमा नेपाली कांग्रेसका बागीले अग्रता बनाएका छन्।
पछिल्लो मतपरिणामअनुसार कांग्रेसका बागी उम्मेदवार प्रह्लाद क्षेत्रीले अग्रता बनाएका हुन्।
क्षेत्रीले १ हजार ११९ मत प्राप्त गर्दा माओवादी केन्द्रका राजु खड्काले ८३३ मत ल्याएका छन्। यसअघि दोस्रो रहेका टेकबहादुर बलम्पाकी ७८४ मत ल्याएर तेस्रो स्थानमा छन्।
त्यस्तै उपमेयरमा माओवादी केन्द्रकी कृष्णमाया गौतम ८६३, तारा देवी(स्वतन्त्र) ७४३ र एमालेकी दुर्गा दाहाल ७०२ मत प्राप्त गरेकी छिन्।
जिल्ला कार्यसमितिको सिफारिसमा प्रदेस कार्यसमितिले क्षेत्रीलाई मेयर पदका लागि टिकट दिएको थियो। तर, मनोनयन दर्ताका लागि पुगेका बेला प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो अधिकार प्रयोग गरेर चिरञ्जीवी हमाललाई टिकट दिने निर्णय गरेका थिए।
हमाल गृहमन्त्री बालकृष्ण खाँण निकट मानिन्छन्।
प्रदेस समितिले दिएको टिकट खोसिएपछि क्षेत्रीले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। २०७४ को स्थानीय तह निर्वाचनमा पनि टिकट नपाएपछि उनी स्वतन्त्र भएर चुनाव लडेका थिए।
माओवादीको बलियो पकड मानिएको बर्दिवासमा अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका बिदुर कार्की मेयरमा निर्वाचित भएका थिए।