रामचन्द्र पौडेलको गाउँमा मेरो हत्या प्रयास भयो
दीपकराज जोशीले गृहमन्त्रीलाई लेखेको चिठ्ठी :
दीपकराज जोशीले गृहमन्त्रीलाई लेखेको चिठ्ठी :
आदरणीय बालकृष्ण दाइ, तपाईं सन्चै हुनुहुन्छ होला!
तर म यतिबेला फ्रन्टलाइन अस्पतालको आइसियु बेड नम्बर १ मा छु। तपाईँलाई गृहमन्त्री भनेर सम्बोधन गर्न मन लागेन। किनकी मैले तपाईँलाई दाईको नाताले चिनेको हुँ र गृहमन्त्री भनेर सम्बोधन गर्द दाइको नाता फितलो हुन्छ जस्तो लाग्यो।
र अर्को कुरा शायद तपाईँ दाई नै भएको भए मेरो हत्या हुन लाग्दा बचाउने कोशिस गर्नुहुन्थ्यो होला, तर गृहमन्त्रीको हैसियतलाई दाइको नाताले जित्न नसक्ने रहेछ।
म सायद भाग्यमानी थिएँ, त्यसैले आज तपाईँलाई यो पत्र लेख्न सकेको छु।
मैले राजनितीमा प्रवेश गर्नुमा तपाईँको ठूलै हात छ। किनकी एउटा स्वच्छ छवि भएको राजनीतिज्ञ भनेर मैले सम्झने नामहरूमा तपाईँको नाम सदैव आउँथ्यो। तर आज दाइको राजनीति अलि फरक भएको महसुस गरेको छु।
यो तपाईँले शान्ति सुरक्षा धानिरहेको व्यवस्था हो र यही व्यवस्थामा तपाईँको भाइ मात्र नभएर एउटा स्वतन्त्र रुपमा राजनीतिमा प्रवेश गर्न लागेको युवाको हत्या प्रयास भएको छ। यो कत्तिको जायज हो? कत्तिको न्यायोचित हो र कत्तिको बर्बरतापूर्ण समयको प्रतिनिधि घटना हो? तपाईं आफैँ बुझ्नुहुन्छ।
रामचन्द्र पौडेलको गाँउमा मेरो हत्या प्रयास हुँदासम्म न त त्यो रोकियो, न त मलाई त्यहाँबाट छिटो निकाल्ने प्रयास नै भयो। उल्टै सिडिओ, पुलिस लगायतका विपक्षका थुप्रै मिलेर दीपकराज जोशीले मत पत्र च्यात्यो भन्ने जस्तो गम्भीर आरोप मलाई लाग्यो।
म एउटा स्वतन्त्र उम्मेदवार न हुँ। के नै फरक पर्थ्यो र! मैले चुनाव जित्दैमा या हार्दैमा? मैले सम्पूर्ण बुथमा आफ्नो उपस्थिति जनाउने मनसायले अन्य बुथमा गए सरह उक्त बुथमा अर्थात् (व्यास नगरपालिकाको रिस्तीमा) पनि सामान्य तवरले नै उपस्थिति जनाउन मात्र गएको थिएँ।
झगडा कै मनसायले गएको भए आइलाग्ने माथि जाइलाग्ने भन्ने कुराको हेक्का राखेरै जान्थें होला। हुन त म बदलामा विस्वास नगर्ने मान्छे हुँ तर पनि आफ्नो सुरक्षा व्यवस्था गरेर जानसम्म सोच्थेँ होला।
त्यहाँ पुगेर पनि मैले भनेको यत्ति मात्र हो कि बुथमा सबै पार्टीको एजेन्ट हुनु पर्छ। यो कुन शासनकाल हो र यहाँ कसले कसले मात्रै बोल्न मिल्छ? स्पष्ट पारिदिनु भयो भने त्यही अनुसारको अनुशरण गर्दै जान्छन् जनताले। होइन भने जायज कुरा बोल्ने बित्तिकै कुटपिट गर्ने र ज्यान मार्ने योजना सहितको आक्रमणले जनमानसमा कुन युगको आभास दिँदैछ?
दाई एउटा कुरामा ढुक्क हुनुस्। म यस कारण राजनीतिमा उदाउँदो तारा बनेर होमिएको हुँ कि मलाई थुप्रै बेथितिले पोलेको छ।
हुन त म राजनीति गरेर कुनै पदमा पुग्छु या पुग्दिनँ त्यो बेग्लै बिषय हो।
तर यदि म त्यहाँ पुगेँ भने, त्यो समयसम्म तपाईँ पूर्व गृहमन्त्री बनिसक्नु हुनेछ। त्यो बेला आज जस्तो घटना हुने छैनन्। तपाईँको सवारीसाधन तोडफोड हुने बातावरण बन्ने छैन। तपाईँका छोरी चेली बलात्कारको शिकार हुने छैनन्। तपाईँका छोरा नातिको हत्या प्रयास हुनेछैन। यो ग्यारेन्टी मेरो भयो।
जसरी मेरो उपस्थिति नै मेटाउने दुष्प्रयास हुँदासम्म पनि यो देशको शान्ति सुरक्षामाथि प्रश्न गरिएको छैन यो स्थिति हामीले अभ्यास गरिरहेको व्यवस्थामा भद्दा मजाक बाहेक केही होइन।
हो हदै सम्मको हिप्पोक्र्यासी हो। तपाईं सक्षम गृहमन्त्री बन्न सक्नु भयो या भएन, इतिहासले बताउनेछ। तर दाइ तपाईं एउटा असल दाइ बन्न सक्नुभएन। भाइको सुरक्षा गर्न सक्नुभएन। हुन त हामी हिन्दू धर्मको अभ्यास गरेर हुर्केका मान्छे हौँ। कतै न कतै त यसको लेखाजोखा पक्कै हुन्छ होला।
यतिबेला मेरो स्वास्थ्य अवस्था ठिक छैन, मेरो देशका धरै दाजुभाइको अवस्था ठीक छैन। तर पनि भाइको नाताले यहाँको सुस्वास्थ्यको कामना गर्दछु।
दाइ तपाईंलाई तपाईंका बा-आमाले बालकृष्ण भनेर नाम दिनुभयो। कृष्णले त केबल मखन चोरेका थिए। बाँकी त उनले जे गरे लोक कल्याणकारी काम नै गरे। तर तपाईं गृहमन्त्री हुँदै गर्दा तपाईँकै पार्टीका मान्छेले एउटा वृद्ध बा आमाको कोख रित्याउने प्रयास गर्दा समेत तपाईं कुन मुटु लिएर आन्नदले निदाएर बस्नु भएको थियो? जवाफ दिन सक्नुहुन्छ?
मलाई तपाईंप्रति कुनै आग्रह-पूर्वाग्रह छैन र रहँदैन पनि, तर यतिबेला म भित्र यति धेरै प्रश्नहरू सवाल गरिरहेका छन् कि जसको उत्तर खोज्ने प्रयास गर्दैछु। कुनै पनि राज्य व्यवस्थामा पदिय जिम्मेवारी बहन गरिसके पश्चात मान्छे पदको हुन्छ, मान्छे जनताको हुन्छ। न कि पार्टीको। तर तपाईं किन पार्टीको मान्छे बनिरहनु भयो? तपाईंले बहन गर्ने दायित्व भित्र के तपाईंले टेकेर माथि पुगेको जमिन मात्रै हो? तपाईंमाथि भएको शान्ति सुरक्षाको जिम्मा कस कसको हकमा लागु हुने हो प्रष्ट पारिदिनु भयो भने म लगायत सम्पूर्ण जनताको कौतुहलता मेटिनेछ।
उही तपाईंलाई दाई सम्बोधन गर्ने
दीपकराज जोशी, व्यास नगरपालिका तनहुँ