राजनीतिक ‘विद्रोह’को बालेन्द्र बिम्ब

राजनीतिक ‘विद्रोह’को बालेन्द्र बिम्ब

‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा…

एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा…

यो गीतलाई फेरि स्वर दिनका लागि अब नारायण गोपाल छैनन्। तर उनको त्यही एउटा स्वर ‘कालजयी’ बन्यो।

काठमाडौंको एउटा तन्नेरी, जसलाई धेरैले देखेकै छैनन्, चिनेकै छैनन्। भेटेकै छैनन्। उनीसँग कुनै सम्बन्ध नै छैन। तर ती सबको मुख-मुखमा एउटै नाम छ- बालेन।

अनि, उनलाई चाहनेहरू, एक होइन् हज्जारौं छन्। साथ दिने एक होइन, लाखौं छन्।

र, उनी घर-घरमा ‘बालेन’ छन्। चर्चा छ। चिन्ता छ। चिन्तन छ।

स्थानीय तहको निर्वाचनमा जोडिएर काठमाडौंमा सुनिएको एउटा नाम थियो- बालेन शाह।

तर पाँच महिनापछि त्यो नाम काठमाडौंवासीको मात्रै रहेन। देशभरमात्रै भएन। त्यो विश्वभरि पुगिसकेको छ- जहाँ नेपाली पुगेका छन्।

उनी काठमाडौं महानगरका मेयरका उम्मेदवार हुन्, जो देशकै राजधानी सहरको ‘महानगर’ हो।

तर काठमाडौंसँग ‘साइनो’ गाँसिएकाहरू होउन् वा टाढाका। यहाँका मतदाता होउन् चाहे अरू नै ठाउँका चिन्ता र चिन्तनको एउटै नाम बनेको छ- बालेन।

साउदी अबरमा ट्रक चलाएर परिवारको जोहो टार्दै आएका रुपन्देहीका विक्रम शर्माले बालेन्द्रले चुनाव जिते खाडीको बसाइबाट विश्राम दिने घोषणा गरेका छन्। विक्रम न बालेन्द्रका मतदाता हुन् न काठमाडौंसँग उनको केही साइनो छ। तर पनि बालेन्द्रको लौरोले विक्रमलाई स्वदेश फर्किएर केही गर्ने ढाडस दिएको छ।

यस्तै विगत १६ वर्षदेखि कतारमा कार्यरत पाल्पाका रेशम पौडेल बालेन्द्रले चुनाव जिते कतार छाड्ने बाजी थापेको आफ्नो फेसबुक पेजमा स्टाटस राखेका छन्।

रेशमले बाजी जित्नु र बालेन्द्रको लौरो काठमाडौंमा दह्रो गरी ठडिनु यी दुवै कुरा भविष्यको गर्भमा छन्।

रेशम वा विक्रमले जस्तै बालेन्द्रको ‘जितहार’लाई धनगढीका आशिष धामीले पनि जिन्दगीको ‘टर्निङ पोइन्ट’ बनाउने बताएका छन्। अस्ट्रेलियाको भिसा लगाउने प्रक्रियामा रहेका आशिषले बालेन्द्रले जिते नेपालमै केही गर्ने र हारे तुरुन्तै अस्ट्रेलिया जाने योजना रहेको सुनाए।

आशा र भरोसाका यी नवपालुवामा बालेन यसैगरी फुल्दैछन्।

यद्यपि काठमाडौंमा खसेको कूल मतको २० प्रतिशत मत पनि गनेर सकिएको छैन। तर मतगणनाको त्यो सुस्त गतिभन्दा कैयौं ‘तेज’ बनेर बालेन फैलिएरहेका छन्। मतदाताको मत र मनमा पनि।

वर्षौंदेखिको उही राजनीतिक ढर्रा अनि उही सनातनी राजनीतिक चिन्तन। राजनीतिक नेतृत्वबाट विरक्तिएका र बैरागिएका आम मतदाताले यसपालि गरेको एउटा गजवको विद्रोहको बिम्ब बनेका छन् – बालेन।

जित-हार आफ्नो ठाउँमा होला तर, मतपरिणामका सुरूवाती रूझान् बालेनमय भएका छन्।

नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने मुख्य सहरहरूमा उदाएका स्वतन्त्र तथा बागी उम्मेदवारहरू र तिनलाई जनताले दिएको साथ र आडले यसको पुष्टि गरेको छ।

यसमा पनि देशको संघीय राजधानीको मुख्य सहर काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ल्याएको मतपरिणामले दलहरू चकित र जनता आशावादी बनेको देखिन्छ।

बालेन्द्र यतिबेला सर्वत्र चर्चाको चुचुरोमा छन्। मतगणनाको सुरुवाती अग्रता लिएका बालेन्द्रप्रति सहानुभूति राख्ने जमात दिन दुई गुणा, रात चौगुणा बढेको छ।

काठमाडौंमा व्यवसाय चलाएर परिवार पाल्दै आएका झापा भद्रपुरका अशोक शिवाकोटीले चुनावपछि गृहजिल्ला फर्किने योजना बनाएका थिए। चुनावअघि सानो कमाइले परिवार पाल्न र बच्चा पढाउन नसकेपछि जिल्ला फर्किएर उतै केही गर्ने मनस्थितिमा थिए उनी। तर, बालेन्द्रले जित्ने पक्का भएको भन्दै आफु तत्काल जिल्ला नफर्किने निर्णय गरेको उनले सुनाए।

यस्ता हज्जारौं मनहरूमा अंकुराएका आशा तिनै दलहरूले निमोठेका सपना हुन् जो, बालेन्द्रको लौरोको सहारामा उठ्न खोज्दै छन्।

वैशाख ३० गते भएको चुनावपछि सुरु भएको मतगणना स्थलमा उनको मतान्तरमा हुटिङ गर्ने जमातले ‘दिनको भोक न, रातको निद्रा’ बनाएको अर्को दृश्य उत्तिकै चाखलाग्दो अनि आश लाग्दो नै छ।

दैनिक नयाँ–नयाँ नारा बनाएर बालेन्द्रलाई हौसला दिँदै उनका पक्षमा जमात खडा गर्नु उनीहरूको दैनिकीजस्तै बनेको छ। उनका नजरमा बालेन्द्रले जितिसकेका छन्। मानौ उनीहरूले बालेन्द्रलाई हार्ने अवस्था आउनै दिँदैनन्। बालेन्द्रलाई हार्ने छुट नै छैन।

निकै कम आकलन गरिएका र प्रतिस्पर्धी केशव स्थापितहरूको दैनिक कटाक्ष, कठोर प्रश्नहरूको सामना गर्दै चुनावी मैदानमा आएका बोलेन्द्रलाई अचम्मको अवसर, जिम्मेवारी र चुनौती थपिएको छ। चुनावमा हार र जित स्वभाविक हो। उनले जितुन वा हारुन उनी यी युवा जमातको आशा र भरोसाका केन्द्र बनिसकेका छन्।

पार्टी, संगठनविनै महानगरको महासागरमा होमिएका बोलेन्द्रको लौरो एकाएक भ्रष्टाचारीको ढाड बाँच्ने डण्डा र आमनेपालीको भाग्य बदल्ने ‘छडी’ बन्न पुगेको छ।

कछुवाको गतिमा भएको मतगणनाले बोलेन्द्रको जित र हारको टुंगो लाग्न अझै केही दिन कुर्नैपर्छ। तर, प्रश्न यतिबेला उनको जित वा हार मात्रै सीमित छैन। पश्चिम धनगढीका आशिषदेखि पूर्व भद्रपुरका अशोकसम्ममा जागेको भोक र तिर्खा शान्त पार्ने सामथ्र्य बालेन्द्रको लौरोले राख्छ कि राख्दैन भन्ने हो।

केही समयअघि उनी र्‌यापर थिए, युट्युबमा हालेका भिडियोले उनलाई बालेन्द्रबाट बालेन बनायो। पेशाले इन्जिनियर उनी। भूकम्पपछि भत्केका केही थान घर पुनः ठडाउन उनीसहितको टोलीले काम गर्‌यो। त्यो समाजसेवा नभएर पेशाको एउटा पाटो थियो। उनले त्यसमा काम र दाम दुवै बटुले। घर कसरी बनाउनु पर्छ भन्ने अनुभव उनीमा छ। तर, मतदाताले सपनामा सजायको ‘महानगरीय घर’ कसरी मजबूत गर्न सकिन्छ भन्ने अनुभव उनले संगाल्नु पर्ने छ।

काठमाडौंको नरदेवीमा जन्मिएका उनी अध्ययनशील छन्। स्थापितले जस्तो नेवारी शब्द–शब्दलाई अर्थाउन नसकेपनि यहाँको कला, संस्कति, पहिचान र भावनासँग परिचित छन् उनी। तर, यही सेन्टिमेन्टले मात्रै काठमाडौंले बालेन्द्रमाथि आशा र भरोसाको दियो बालेको होइन। यो उनले जति सक्यो छिटो मनन् गर्नुपर्छ।

आँखा चिम्लिएर उनको पक्षमा बोलिरिहेको समूहले बालेन्द्रको ‘लौरो’लाई ‘थिति’ बसाल्ने औजारका रुपमा लिएको छ। जनमतले उमेरले युवा, काम गर्ने ‘जोस र होस’ ले भरिपूर्ण भएको अभिभावक सम्झिएको छ उनलाई। बुढेसकालको सहारा बनोस् भन्ने चाहेको छ।

स्थायी कर्मचारीतन्त्र भएको शासन व्यवस्थामा कुनै एउटा व्यक्तिले एकैपटकमा कायापलट गर्छु भन्नु अर्को एउटा अभीष्ट भने पक्कै हो। र, लोकतन्त्रको बहुदलीय शासन प्रणालीमा दलको विकल्प निर्दलीयता पनि हुँदै होइन।

अहिलेका पार्टीहरूले जनअपेक्षा अनुरुप काम पस्कन नसकेर राजनीतिक फ्रस्टेसनले सीमा पार गरेको अवस्थामा ठडिएको बोलेन्द्रको लौरो आममानिसको सहारा बन्न सकेन र परिवर्तनको यो चाहनालाई आत्मसाथ गर्न सकेन भने त्यसले निम्त्याउने फ्रस्टेसनको लेभल उच्च र दूरगामी हुने निश्चित छ।

बालेन्द्रको मतान्तर बढ्दै जाँदा उनीप्रतिको जिम्मेवारी र भरोसा थपिँदै गएको छ। अब बालेन्द्रले ‘सेलिब्रेटी’ को मुखुण्डो उतारेर भत्किएको, चोइटिएको, छुटेको, फुटेको मैदान सम्याउन कम्मर कस्नै पर्छ।

धरहरालाई सेतो टावर, समाजमा वर्ग विभाजनको गहिरो रेखा कोरेको शैक्षिक व्यवसायलाई अभिभावकको कमजोर बुझाइ भनेर उनी पन्छिन मिल्दैन। फोहोरलाई मोहर र आममानिसमा निःशुल्क स्वास्थ्य सेवाको पहुँच पुर्‌याउने ‘कोरा’ र ‘सतही’ सपना बाँडेर मात्र अब पुग्दैन उनले।

सपनामा स्वीजरल्याण्ड र सिंगापुर देखिसकेका उपत्यकावासीले काठमाडौंको फोहोर लिएर जाने बञ्चरेडाँडासम्म पुग्ने सडक नबन्दा महिनौं दुर्गन्धमा बस्नु परेको यथार्थ मतदातासामु छ।

उज्वल भविष्यको सपना पालेर उपत्यका छिर्नेहरूमाथि सडकपेटीदेखि घरबेटीसम्मको दैनिक शासनले लिने हुमर्त शब्दमा बयान गर्न सकिने खालको छैन।

सरकारी अस्पतालका बेड सधैं सुकिला–मुकिलाका लागि ‘रिजर्व’ हुने र निजी अस्पतालमा पैसा तिर्न नसकेर आत्महत्या गर्नुपर्ने अवस्थामा रहेका मतदाता र समर्थकलाई बालेन्द्रले सपना बाडेर मात्र पुग्दैन।

सरकारी कर्मचारीको ‘कामचोर’ र शासक प्रवृत्तिबाट करदाताले खेप्नु परेको हैरानी समस्याको अर्को पहाड हो। यी यावत बेथितिलाई चिर्दै थिति बसाल्न बालेन्द्रको लौरा दर्बिलो कति छ?

बालेन्द्रका मतदाता र उनलाई माया गर्ने हजारौं आत्मीय मनले हेर्न र परख्न चाहेका विषय यिनै हुन्।

बालेन्द्रको लौरो चुनावी परीक्षामा पास होला नहोला, तर यी तमाम मनहरूको सहारा बनिसकेका बालेन्द्रले अग्निपरीक्षामा पास नभइ सुखै छैन।


Leave a Reply

Your email address will not be published.