मधेस प्रदेशका मुख्यमन्त्री राउतकी श्रीमती पराजित, स्वकीय सचिवको जमानत जफत

मधेस प्रदेशका मुख्यमन्त्री राउतकी श्रीमती पराजित, स्वकीय सचिवको जमानत जफत

काठमाडौं- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी श्रीमती र स्वकीय सचिव स्थानीय तह निर्वाचनमा पराजित भएका छन्।

राउतकी श्रीमती गाउँपालिका उपाध्यक्ष र स्वकीय सचिव दीपक यादव गाउँपालिकाको अध्यक्षमा पराजित भएका हुन्।

मुख्यमन्त्री राउतकी श्रीमती जलेखा खातुनले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी थिइन्।

गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी बबिता  सिंह निर्वाचित हुँदा मुख्यमन्त्री राउतकी श्रीमती खातुन तेस्रो स्थानमा सीमिति भएकी छन्।

सिंहले ५ हजार ५३१ मत ल्याउँदा खातुनले ३ हजार १२३ मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेकी एमालेकी मीरादेवी कुर्मीले ३ हजार ३४५ मत प्राप्त गरेकी छन्।

त्यस्तै गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका श्रीकान्तप्रसाद यादव निर्वाचित भएका छन्। आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका महमन सलिम मन्सुरलाई पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्षमा निर्वाचित यादवले ५ हजार ७४९ मत ल्याउँदा एमालेका मन्सुरले ३ हजार ९२६ मत प्राप्त गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा) का कृष्णमोहन यादव ३ हजार ४४७ मत प्राप्त गरेर तेस्रो स्थानमा सीमित भएका छन्।

त्यस्तै मुख्यमन्त्री राउतका स्वकीय सचिव दीपकप्रसाद यादव पनि पराजित भएका छन्।

पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षका लागि जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिएका यादव पराजित भएका हुन्।
उनलाई नेपाली कांग्रेसका दिनेशकुमार चौधरीले पराजित गरेका छन्।

चौधरीले ५ हजार १४४ मत प्राप्त गर्दा यादवले जम्मा ४६९ मत ल्याएका छन्। खसेको मतको १० प्रतिशत मत ल्याउन नसकेपछि उनले जमानतसमेत जोगाउन नसकेको बताइएको छ।

राउतका स्वकीय सचिवभन्दा बढी ७२३ मत ल्याएर नेपाल सुशासन पार्टीका उम्मेदवार लालबाबु महर तेस्रो स्थानमा छन्।

त्यस्तै मेयरमा निर्वाचित चौधरीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिनारायण चौधरी ३ हजार ९४४ मत ल्याएर दोस्रो भएका छन्।


Leave a Reply

Your email address will not be published.