निधिको गृहपालिकामा कांग्रेस विजयी
काठमाडौं –नेपाली कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधिको गृहपालिका नगराईन नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार विजयी भएका छन्।
शुक्रबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार नगरपालिकाको मेयर कांग्रेसका विनयकुमार यादव निर्वाचिन भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबाबु पजियारलाई ४२ मतको झिनो मतान्तरले पराजित गर्दै यादव मेयरमा निर्वाचित भएका छन्।
यादवले ५ हजार ५५६ मत पाएका छन् भने पजियारले ५ हजार ५१४ मत ल्याएका छन्।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राजेश चौधरी २ हजार ७५८ मत ल्याएर तेस्रो स्थानमा सीमित भएका छन्।
नगरपालिकाको उपमेयरमा नेकपा एमालेकी राधादेवी यादव निर्वाचित भएकी छन्। आफ्नो निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रञ्जुकुमारी साहलाई पराजित गर्दै उनी उपमेयरमा निर्वाचित भएकी हुन्।
राधादेवीले ५ हजार ७३० मत पाउँदा रञ्जुले ५ हजार ५२३ मत प्राप्त गरेकी छन्।