पाँच वर्षदेखि ‘भक्तपुर’ पछ्याउँदै-पछ्याउँदै काठमाडौंमा उदाइरहेका बालेन

पाँच वर्षदेखि ‘भक्तपुर’ पछ्याउँदै-पछ्याउँदै काठमाडौंमा उदाइरहेका बालेन

काठमाडौं-

पाँच वर्षअघि भएको स्थानीय चुनावमा बालेन शाहले भोट हालेनन्। किनकि, उनी उम्मेदवार थिएनन्। उनी इन्जिनियरिङमा डिग्री पढ्दै थिए। युवाहरू झुमिरहने ‘र्‍याप’ हरूमा उनी चम्किसकेका थिए।

र, त्यो बेला उनले भनेका थिए, ‘मैले अर्कोपटक भोट हाल्नेछु तर आफैंलाई हाल्नेछु। मलाई थाहा छ मैले कसरी देश बनाउनुपर्छ।’

पाँच वर्षपछि, उनी आफूले आफैंलाई भोटमात्रै हालेनन्, काठमाडौंका मतदाताहरूको धेरै भोट सोहोरेर उनी चुनावी ‘रेस’ मा कुदिरहेका छन्।

बाकसहरूमा खसेकामध्ये लगभग आधाजति भोट गनिसक्दा नाम चलेका अरू उम्मेदवारहरूलाई पछि पार्दै बालेन आधाभन्दा धेरै मत लिएर कुदिरहेका छन्। रोकिएका छैनन्, बरु त्यो गतिलाई अझ बढाइरहेका छन्।

पाँच वर्षअघिको तयारी

ज्योतिषिलाई साइत हेराइवरि वैशाख ३० गते ११ बजेर ३ मिनेटमा गैरीगाउँको अन्नपूर्ण स्कुलमा मतदान गरिसकेपछि पत्रकारहरूसँग उनले भनेका थिए- ‘यो काम एकैपटक रातारात भएको होइन। पाँच महिना अघिदेखि मात्रै पनि होइन, पाँच वर्ष अघिदेखि सुरुवात भएको हो।’

उनी निर्माणसम्बन्धी इन्जिनियर हुन्। पढेलेखेका छन्। तर, उनी ‘ज्योतिषि’ मा पनि भर गर्छन्। आस्था र विश्वास छ। अझ भनौं उनले ‘ज्योतिष’ लाई विज्ञानका रूपमा बुझेका छन्।

भन्छन्- ‘ज्योतिष शास्त्र पनि पढेको हो। विश्वास होइन। त्यो भएकै कुरा हो। त्यो फिजिक्स हो। साइन्स हो। मान्नैपर्छ, मैले मान्छु र विश्वास पनि गर्छु।’

त्यही भरले उनको आत्मविश्वास पनि यति धेरै ‘कन्फिडेन्ट’ हुँदै आयाे कि उनको अनुहारमा हार्छु कि भन्ने भाव र संकेतहरू कहिल्यै देखिएनन्।

‘त्यो (ज्योतिष) विज्ञान पनि हो। साइत हेराएरै आएको हुँ। जित्छु’ र, चुनावअघिसम्म उनले ठ्याक्कै हिसाब पनि दिन्थे ‘९० हजार ८ सय ३५ भोटले जित्छु।’

उनले भनेजस्तो यो यात्रा अनि गन्तव्यमा पुग्ने सपना आजको होइन। रातारात आएको पनि होइन। एकाएक भएको पनि होइन।

पाँच वर्षअघि नै उनले यो यात्राको कल्पना गरिसकेका थिए। कागजमा कोर्ने ‘नक्सा’ हरूमा सायद उनको आफ्नै यात्राका रेखाहरूमा गाँसिएका थिए। उनले कल्पिएका भव्य ‘डिजाइन’ हरूमा सायद उनका सपनाहरू पनि कुँदिएका थिए।

उनी आफूले आफैंलाई पोख्ने ‘र्‍याप’ का ब्याटलहरू सायद यी यात्राका संकेत र उद्घोष पनि थिए।

पाँच वर्ष अघिदेखि नै भित्रभित्र काठमाडौं हाँक्ने तयारी गरिरहेका बालेनको यात्रामा एक-एक गर्दै तेज दिमागहरू पनि गाँसिदै गए। उनले कसैलाई बोलाएनन् तर उनका योजनाहरूले युवाहरूलाई तानिरहेको थियो। उनका सपनाहरूमा युवाहरू पनि गाँसिदै थिए।

सबैले आ-आफ्नो ठाउँबाट तयारी थालिसकेका थिए। कामको बाँडफाँट त थिएन। औपचारिक जिम्मेवारी पनि कसैको थिएन। कसैले कसैलाई यो काम गर्ने भनेर पनि अह्राएन।

उनीसँग गाँसिन आएका सबै आ-आफ्नै पेसा, व्यवसाय र जागिरमै थिए। कसैकसैले एकअर्कालाई राम्रोसँग चिनेका पनि थिएनन्।

२०७४ सालमा विद्यासुन्दर शाक्य काठमाडौंको मेयर भए। पाँच वर्षभित्रै काठमाडौंमा ‘मोनो रेल’ र घरघरमा खाना पकाउने ग्याँसको पाइप लाइन पुर्‍याउनेजस्ता महत्वाकांक्षी योजनाहरू बाँडेर उनी मेयर भए।

तर, बालेनहरूको ‘इन्जिनियर दिमाग’ ले त्यसलाई त्यहीबेला ‘उडन्ते’ सपना भनिसकेको थियो। आफैं पनि इन्जिनियरिङ पढिरहेका बालेनहरूलाई थाहा थियो पाँच वर्षमा त्यो सम्भव नै हुँदैन।

पाँच वर्ष बित्यो। विद्यासुन्दरले केही गरेनन्। जति गरे ती पनि राम्रो गरेनन्। जे गरे सबैमा ‘बबाल’ मात्रै भयो।

वास्तवमै भन्ने हो भने यो पाँच वर्ष काठमाडौंवासीका लागि खेर गएको थियो।

र, त यतिबेला काठमाडौंमा बालेनहरूकै ‘बिगबिगी’ छ। अरुहरू छैनन् मात्रै जताततै बालेनै बालेन छन्।

‘त्यो चुनावपछि नै काठमाडौंमा केही हुँदैन भन्ने लागिसकेको थियो। हुने काम त गर्छाैं भनेकै थिएनन् नि!,’ बालेनको चुनावी कमाण्डमा खटिएका एक सदस्य भन्छन्, ‘त्यही बेलादेखि बालेन दाइको ड्रिम हामी सबैको डेस्टिनेसन भइसकेको थियो।’

पाँच वर्ष अघिदेखिको तयारी। त्यो पनि काठमाडौंमा चुनाव लड्न। काठमाडौंका मतदातालाई आफ्नो पक्षमा ल्याउन। अझ उनीहरूको भोट पाउन। यो कम्ति चुनौतीपूर्ण काम होइन र बालेनहरूका लागि थिएन पनि।

काठमाडौं धेरै रहस्यहरूले भरिएको एउटा सहर हो। अझ यहाँका ‘रैथाने’ हरूलाई झन् बुझ्नै गाह्रो। बुझे पनि बुझाउनै गाह्रो। किनकि काठमाडौं, काठमाडौंमात्रै होइन। यो धेरैको सपनाहरू जेलिएको एउटा बिछट्ट सहर हो।

‘हामीसँग प्रशस्त समय थियो। आइडियाहरूलाई नोट गर्थ्यौं। कति कोरिन्थे कति मेटिन्थे,’ राष्ट्रिय सभागृहमा खट्दै आएका बालेनका एक सहयोगी छेउको एउटा खाजा पसलमा भन्दै थिए, ‘तयारी त्यही बेलादेखिको थियो। अन्तिम आवरमा आएर पछि हट्ने त कुरै थिएन।’

पैसा कसरी जुट्यो?

सबै कुराका लागि पैसा नै सबै चिज हुन्छ भन्ने छैन। उनैले सुनाए उम्मेदवारी दिइसकेपछि पनि उनीहरू झसङ्ग भएका थिए- ‘अहो चुनावमै खर्च गर्नुपर्ने पैसा त छैन नि!’

पैसा, पैसा नै हो त्यसमा खर्चको नाम हुँदैन।

भेट भएका दुईचारजनाले नै सल्लाह गरे- ‘पहिला जसरी गर्‍याैं त्यसैगरी गरौं।’

बालेनको ‘कोर’ टिमका जति पनि सदस्यहरू छन् उनीहरू कोही पनि बेरोजगार छैनन्। कसैले जागिर गर्छन्। राम्रै तलब छ। काठमाडौंमा पुर्ख्यौली सम्पतिले खान लाउन पुगेकै छ। कसैको व्यापार छ राम्रै आम्दानी छ। बालेन आफैं पनि कमाउँछन्। घरका सबैजना पेसा, व्यवसायमै छन्।

‘पहिला पनि हामीले त्यसै गरेका हौं। जोसँग हुन्छ उसैले खर्च गरेका हौं,’ उनी भन्छन्, ‘अहिले पनि त्यसै गर्‍याैं। कसैले टिसर्ट बनायौं। कसैले स्टिकर छाप्यौं। कसैले सोसल मिडिया हेर्‍याैं।’

बालेनले आफैं पनि भन्ने गरेका छन्, ‘हामीले चन्दा उठाएका छैनौं। कसैसँग मागेका पनि छैनौं। साथीभाइ, आफन्तहरूले सहयोग गरेका छन्। देश-विदेशमा रहेका आफन्त र शुभेच्छुकहरूले पनि सकेको सहयोग गरेका छन्।’

उनीहरूले चुनावपछि सबै खर्च सार्वजनिक गर्ने पनि बताइसकेका छन्।

यसपालि बालेनहरूले सबैभन्दा धेरै र प्रभाविलो हतियारका रूपमा सामाजिक सञ्जाललाई प्रयोग गरे। राजनीतिबाट विरक्त भएका युवाहरूलाई एकैछिनमा उनीहरूले आफ्नो सपनाको यात्रामा सामेल गराए।

राष्ट्रिय सभागृहमा काठमाडौंका मतदाताले भोट खसालेका सबै बाकसहरू अझै खुलिसकेका छैनन्। काठमाडौंमा मतदाता नामावलीमा नाम लेखिएका ३ लाख २ सय ४२ मतदातामध्ये करिब १ लाख ९१ हजार १ सय ८६ लेमात्र मतदान गरे। लगभग १ लाखभन्दा धेरैले मतदान नै गरेनन्।

निकै सुस्त गतिमा भइरहेको मतगणनाको छैठौं दिन पनि राष्ट्रिय सभागृह अगाडि मूलगेटमा बसेर ‘बालेन दाइ’ कुरिरहेका थिए- पश्चिम नेपालका नविन सेन्चुरी। उनी यहाँका मतदाता होइनन्। त्रिचन्द्र क्याम्पसमा साँझको कक्षा पढ्ने उनी दिनभरि कुनै कम्पनीमा ‘मार्केटिङ’ गर्छन्।

र, पनि उनी निरन्तर सभागृहको अगाडि बालेन पर्खिरहेका छन्।

आफ्ना साथीहरूसँग उनले भन्दै थिए- ‘हेर केटा हो! बालेन दाइले जित्यो भने तिमीहरू सबैले राम्रो रोजगारी पाउँछौ।’

उनीसँगै हुटिङ गरिरहेका अर्का एकजनाले थपे- ‘बालेन दाइले जित्यो भने सबैभन्दा पहिला त यो सभागृहमा रङ लगाएर दामी बनाउँछ। यी सडकका रूखका हाँगाहरू छाँटेर राम्रो बनाउँछ।’

त्यहीबेला एउटा वडाको मतपरिणाम घोषणा भयो। सबै शान्त भए र मूलगेटमा राखिएको ठूलो पर्दामा सबका आँखा अडिए। त्यो वडामा एमालेले प्यानलै जितेको थियो। सबै चुपचाप भए।

एकछिनपछि ३५औं नम्बरमा ‘लौरो’ देखियो मतपरिणामसहित, अनि फेरि उनीहरू एउटा हुलमा छिरेर नारा लगाउँदै उफ्रिए ‘बालेन दाइ आउँछ, काठमाडौं बनाउँछ…।’

नविन आफूले त बालेनलाई भोट दिन पाएनन्। तर, उनले बालेनका लागि काठमाडौंका आफ्ना साथीहरूसँग भोट मागे। आफू डेरा गरेर बसिरहेका घरबेटीलाई ‘कन्भिन्स’ गरे बालेनलाई नै ‘भोट हाल्नुहोला…’

यो बालेनहरूको ‘आइडिया’ थियो। सामाजिक सञ्जालहरूमा बालेनहरू यसरी छाए कि त्यसको छाप धेरै मतदाताको दिमागमा निकै गढेर बस्यो। बालेन अनि लौरो भन्दा अर्थोक केही आएन।

यही उनीहरूको ‘क्याम्पेनिङ’ थियो।

काठमाडौंमै मतदाता नामावली भएका युवाहरूले आफ्ना आमाबाबुलाई कन्भिन्स गरे। विदेशमा गएकाहरूले यहाँ रहेकाहरूलाई मनाए। डेरामा बस्नेहरूलाई घरबेटीलाई मनाए। यसरी काठमाडौंका साँघुरा गल्ली-गल्लीमा बालेनहरू बाक्लिए।

करिब ३१ लाखले पछ्याइरहेको ‘रुटिन अफ नेपाल बन्द’ जस्ता फेसबुक पेजहरूले बालेनहरूलाई हरेकले छिनछिनमा हेरिरहने फेसबुकको भित्तामा पुर्‍याइदिए।

अरु थुप्रै यस्ता पेजहरूले बालेनलाई साथ दिए।

यसपालि निर्वाचन आयोगले नै पोस्टर र पम्प्लेटहरू निषेध गरेको थियो र प्रचार-प्रसार यस्तै सामाजिक सञ्जालहरूबाट व्यापक भयो। त्यसका लागि नयाँ-नयाँ प्रविधिसँग बानी परेका धेरै युवाहरू बालेनकै टिममा गाँसिएका छन्।

बसाइँ-सराइ गरेर काठमाडौंको मतदाता भएकामात्रै होइन ‘कोर’ एरिया अनि काठमाडौंका निर्णायक मतदाताहरू भनिने यहाँका रैथाने मतदाताहरूमाझ बालेनहरू पहिला नै पुगिसकेका थिए त्यही सामाजिक सञ्जालमार्फत जबकि अरु दलहरूले उम्मेदवार नै घोषणा गरिसकेका थिएनन्।

भक्तपुर पछ्याइरहेका बालेन

कयौं वर्षअघि एउटा भनाइ यहाँ थियो, ‘कान्तिपुरमा राजा बलिया हुन्छन्, भक्तपुरमा जनता बलिया…।’

र, यो आजपर्यन्त उस्तै छ। फरक यत्ति हो, आज देशमा राजा छैनन् तर उस्तै झल्को दिइरहने नेताहरू छन्।

हरेक अन्तर्वार्तामा ‘भक्तपुर’ भनिरहने बालेनको तर्क छ- ‘हामीले काठमाडौंलाई स्विजरल्यान्ड बनाउने भन्छौं तर हामी त्यत्ति टाढा किन जानुपर्‍याे? नजिकैको भक्तपुरबाट पनि धेरै कुरा सिक्न सक्छौं। हामीले काठमाडौंलाई भक्तपुरजत्तिकै बनाए पनि पुग्छ। अरु केही गर्नैपर्दैन।’

काठमाडौंमा मतगणना भइरहँदा उनी एकाएक भक्तपुर पुगे। भक्तपुर नगरपालिकामा फेरि पनि सुनिल प्रजापति दोहोरिने लगभग निश्चितजस्तै थियो।

नभन्दै अर्को दिन मतपरिणाम घोषणा भयो र सबैजसो सुनिल प्रजापति नै भक्तपुर नगरपालिकाको मेयर बने। उनी नेपाल मजदुर किसान पार्टीका हुन्। यो नगरमा मात्रै होइन नगरका सबैजसो वडाहरूमा नेमकिपाले नै जित्यो। अरु पार्टीका उम्मेदवारहरूले जमानतधरि जोगाउन सकेनन्।

वर्षौंदेखि भक्तपुरमा ‘मादल’ बजाइरहेको नेमकिपाका अघि अरू पार्टीका उम्मेदवारले जित्ने आसा कहिल्यै राखेनन्। हरेक चुनावमा उनीहरू पार्टीको ‘अस्तित्व’ का लागि मात्रै चुनाव लड्छन् र सधैं हार्छन्।

मंगलबार भक्तपुरका साँघुरा तथा सफा गल्लीहरूमा एउटा नारा घन्किरहेको थियो- आज पनि मादल, भोलि पनि मादल, सधैं सधैं मादल।’

फेरि पनि जितेपछि मतदातालाई धन्यवाद दिन टोलटोल हिँडिरहेका सुनिल प्रजापतिका पछि हुलका हुल भक्तपुरवासीले उत्सव मनाइरहेका थिए।

घरघरबाट कसैले उनलाई ‘सगुन’ ल्याएर खुवाउँथे अनि ढोकामा कलश राखेर उनलाई फूलको वर्षाले स्वागत गरिरहेका थिए।

साँघुरा गल्लीहरूबाट छिरेको चर्को घामबाट छेकिन एउटा पुरानो घरको ओत लागेका एकजना भक्तपुरे भन्दै थिए- अरुले त यहाँ हिम्मतै नगरे पनि हुन्छ।

किन जित्छ त सधैं नेमकिपाले?

‘हाम्रो काम गरिदिन्छन् नि त्यै भएर। यहाँ हेर त कस्तो सफा छ। तिम्रो काठमाडौं त कस्तो गन्हाउँछ,’ जुलुसको पछिपछि सहभागीलाई पिलाउन खर्पनमा दुइटा गाग्रीभरि पानी भरेर हिँडिरहेका अर्का एकजनाले सबैलाई चिसो पानी दिए।

उनी भन्दै थिए- ‘खानुस् खानुस् यो सफा छ…।’

खासगरी भक्तपुरले आफ्नो सामाजिक, सांस्कृतिक र मौलिक धरातललाई जोगाइराखेको छ। सांस्कृतिक सम्पदाहरूलाई शताब्दियौंदेखिको आफ्नै मौलिकतामा जोगाइराखेको छ।

शिक्षा, स्वास्थ्यदेखि आमनागरिकका मौलिक हकहरूलाई स्थानीय सरकारले नै यसरी सम्बोधन गरिदिएको छ कि गुनासोका कुनै छिटाहरू आउनै दिन्नन्।

शिक्षाको क्षेत्रमा भक्तपुरको पर्याय बनेको छ ‘ख्वप कलेज’। इन्जिनियरिङ, नर्सिङलगायत विभिन्न प्राविधिक विषयहरूमा हाँगाबिगा फैलाएको यो कलेज भक्तपुरको अर्को मानक बनेको छ।

ख्वपका विभिन्न विषयगत कलेजहरूसहित नगरपालिकाले ७ वटा सामुदायिक कलेजहरू आफ्नै लगानीमा चलाउँदै आएको छ।

मेयरमा फेरि पनि जितेपछि प्रजापतिले अब एमबिबिएस पढाउनका लागि मेडिकल कलेजको तयारी गरिरहेको बताएका थिए।

पढ्ने इच्छा गरेका तर पैसा नभएर डिग्री पढ्न नसकेका विद्यार्थीहरूका विना धितो ऋणदेखि पिएचडी गर्नेहरूलाई नगरपालिका आफैले खर्च बेहोरिदिन्छ।

र, यहाँका स्थानीय नेतृत्व यसरी जनतासँग गाँसिन्छन् कि उनीहरूको निजी जीवनको एक हिस्साजस्तै बनिदिन्छन्।

‘यो केही वर्षको मात्रै होइन। शताब्दियौंदेखि हामी गाँसिएको ठाउँ हो। यहाँको नेताहरू जो हुनुहुन्छ उहाँहरू आमनागरिकको एकदमै दैनिक जीवनसँगै हुनुहुन्छ,’ नेमकिपा भक्तपुरका एकजना नेता निरज लवजु भन्छन्, ‘काठमाडौं वा अरू कुनै ठाउँ भक्तपुरजस्तै हुनुपर्छ भन्ने छैन। त्यहाँको आफ्नै प्रकृतिको विकास मोडल बनाउन पनि सक्नुहुन्छ।’

काठमाडौंले आफ्ना मौलिक सम्पदाहरू भद्रगोल बनाइरहँदा भक्तपुरले भने आफ्नो संस्कृति र मौलिकता मासिन दिएको छैन। सांस्कृतिक वा सामाजिक सबै सम्पदाहरू अहिले पनि दुरुस्तै छन्।

‘तर, त्यसको कुनै त्यस्तो गणितीय फर्मुला छैन, त्यो सामाजिक संरचनासँगै गाँसिएको कुरा हो,’ उनी भन्छन्, ‘त्यसका लागि सबै कुरा पैसमात्रै होइन। सामाजिक चेतनाको कुरा पनि हो।’

ऐतिहासिक अनि सांस्कृतिक सम्पदाको मौलिक संरक्षण, स्वास्थ्य र शिक्षा अनि सफा र सुन्दरताको सूत्र सिक्न बालेनले पनि पाँच वर्ष अघिदेखि नै भक्तपुरलाई पछ्याइरहेका थिए।

गत मंसिरमै बालेनले काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणा गरिसकेका थिए। र उनले पटक-पटक सुनिल प्रजापतिसित ‘भक्तपुर मोडल’ का बारेमा पनि धेरै कुराहरू जानकारी लिए।

‘हामीले नसक्ने र नहुने कुराहरू कहिल्यै गरेका छैनौं र गर्दैनौं,’ जितपछि मेयर प्रजापतिले भनेका थिए, ‘अझै धेरै गर्न बाँकी छ र गर्नेछौं पनि। त्यसैले त यहाँका जनताले हामीलाई विश्वास गरिरहनुभएको छ।’

भक्तपुरमा ‘भक्तपुर’ जिउँदो राखिरहने एउटा निकै शक्तिशाली फ्याक्टर हो ‘गुठी’। गुठी प्रणाली काठमाडौं र ललितपुरमा क्षयीकरण हुँदैछ तर भक्तपुरमा अझ शक्तिशाली छ। त्यहाँको सामाजिक संरचनाको एउटा अभिन्न पाटो हो गुठी।

देशमा स्थानीय सरकार नहुँदै पनि समाज र संस्कृति गुठीकै वरिपरि थियो।

अघिल्लो चुनावभन्दा पनि यसपालि प्रजापतिले धेरै भोट ल्याएका छन्। यो थपिएको भोट युवाहरूको हो, नयाँ पुस्ताको हो।

‘नेमकिपा त पुरानो पुस्ताको हो, नयाँ पुस्ता हुँदैनन् भन्नेहरू पनि थिए। तर अहिले त्यस्तो देखिएन,’ लवजु भन्छन्, ‘काठमाडौंमा बालेनहरू उदाउँदै गर्दा उनीहरूको सन्देशले पनि यहाँका युवाहरू भक्तपुरप्रति गौरव गर्ने भएका छन्।’

प्रजापति विजयोत्सवको भीडमा ठेलमठेल गरिरहेका एकजना भन्दै थिए, ‘काठमाडौंमा पनि एकजना केटोले जित्छ अब। भक्तपुरमा पनि अस्ति आको थियो। हामी हेर्न गएका।’

त्यही केटो हो बालेन, जसले काठमाडौंका ‘स्थापित’ नामहरूलाई मधुरो पार्दै आफू चम्किरहेको छ निरन्तर।

बालेन भक्तपुरमात्रै पुगेका छैनन्, उनले काठमाडौंसँगै जोडिएको ललितपुरलाई पनि आफ्नो सिकाइको थलो बनाएका छन्। यही बीचमा पनि उनी ललितपुरमा पुगेर त्यहाँ फेरि पनि जित्दै गरेका चिरिबाबु महर्जनसँग भेटेका छन्।

सँगै जोडिएको ललितपुर पुग्दा भद्रगोल काठमाडौं फिक्का लाग्छ। यो पाँच वर्षमा चिरिबाबुले के गरे भनेर हेर्न कतै गइरहनुपर्दैन ललितपुरका सडकहरूमा एक फन्को मारे पुग्छ।

साना सपनाहरूको उँचो उडान

काठमाडौंको नरदेविमा जन्मेर हुर्किएका बालेन अहिले गैरीगाउँमा बस्छन्। आयुर्वेदका पुराना र चर्चित डाक्टर रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् बालेन। उनकी श्रीमती पनि स्वास्थ्य सेवामै छिन्।

मधेसी मूलका भए पनि उनको तीन पुस्ता काठमाडौंमै बितेको छ। काठमाडौंबाटै सिभिल इन्जिनिरिङ गरेका बालेनले भारतबाट स्ट्रक्चरल इन्जिनिरियङमा डिग्री हासिल गरेका छन्।

कुनै बेला र्‍याप गाउँदा गाउँदै उनले आफ्नो नाम फेरे र ‘बालेन्द्र शाह’ बाट ‘बालेन’ भए। आफैं लेख्ने, आफैं संगीत भर्ने र आफैं निर्देशनसमेत गर्ने बालेनले र्‍यापका धेरै ब्याटलहरू पनि जितिसकेका छन्।

‘राजनीति भनेको र्‍याप हानेको जस्तो हो र…?’ भनेर सामाजिक सञ्जालहरूमा उडाउनेहरूको कमी थिएन जब उनले काठमाडौंको मेयर बन्ने घोषणा गरेका थिए।

तथापि, उनी रोकिएनन् र, आज उनको भोट देखेर धेरैको ‘होस’ उडिरहेको छ।

भोट माग्दै गर्दा उनले काठमाडौंवासीलाई एकदमै ठुल्ठूला सपना देखाएनन् बरु भने-

‘हाम्रो नगरमा पहिले हामी गरौं। अरुले पछि गर्लान् अहिले हामी गरौं। आजसम्म दलले गरे अब बदल्नेले गरौं…’

यसैगरी बदलिएछन् काठमाडौंवासी पनि। अनि यसैगरी बदलियो उनीहरूको मत पनि।

पहिलो नम्बरमा उनले यहाँको शिक्षामा सुधारका कुरा गरे। सामुदायिक विद्यालयमा सुधार गर्नेदेखि निजी विद्यालयहरूमा शुल्कअनुसार गुणस्तर र सेवासुविधा छ कि छैन भनेर ‘अडिट’ गर्ने वाचा गरे। अन्तर्राष्ट्रिय शिक्षा प्रणालीलाई पछ्याउनेदेखि सुरुवाती कक्षादेखि नै विद्यार्थीलाई यहाँको संस्कृति र सभ्यताका पाठहरू पढाउने निधो सुनाए।

काठमाडौंलाई गिज्याइरहेको फोहोरलाई सजिलैसँग व्यवस्थापन गर्न सकिने आइडियाहरू बाँडे। प्रदुषण नियन्त्रणका मौलिक उपायहरू भने।

एकदमै साधारण तथा आमनागरिकले भोगिरहेको काठमाडौंको समस्यालाई समाधान गर्ने आफ्नै तरिकाका सामान्य उपायहरूका बारेमा प्रचार गरे।

बाल्यकालदेखि नै काठमाडौंलाई चिनिसकेका छन् बालेनले। यहाँको संस्कृति र सभ्यता अनि मौलिकताको मूल्य उनले पनि राम्रोसँग बुझेका छन्। त्यसलाई कसरी जोगाउने? त्यसको आइडिया छ उनीसँग।

काठमाडौंमा कस्ता पूर्वाधार चाहिन्छ र सम्भावनाहरू के छन् भनेर उनले गहिरो अध्ययन गरेका छन्।

त्यसैले त उनी मेयर पदलाई एकदमै सजिलोसँग लिन्छन्, ‘मेयर भनेको त कुनै राजनीतिक दलको नेता होइन। यो त एउटा नगरपालिकाको सिइओजस्तै पद हो। विकास निर्माण कसरी गर्ने भन्ने कुरा मलाई राम्रोसँग थाहा छ किनकि म स्ट्रक्चरल इन्जिनियर पनि हुँ।’

उनको भाषामा महानगर कुनै एउटा भयंकर सहर होइन त्यसमा पनि काठमाडौं त झन ‘संग्राहलय’ जस्तै सहर हो।

बैंगलोरबाट स्ट्रक्चरल इञ्जिनियरिङमा विशेषज्ञता हासिल गरे। नेपाल फर्किएपछि बालेनले इञ्जिनियरिङको पेसागत काममा तीव्रता दिए। भूकम्पपछि पुनर्निर्माणको काममा उनी एउटा संस्थामार्फत जोडिए।

पुनर्निर्माणको काममा संलग्न भएकै समयमा बालेनले एक फ्रान्सेली इञ्जिनियरसँग काम गर्ने मौका पाए। बालेनकी श्रीमती सबिनाका अनुसार ती इन्जिनियरले बालेनमा राम्रै छाप पारे।

उनी आफू ९० हजार ८ सय ३५ मत ल्याएर निर्वाचन जित्ने बताउँछन्।


Leave a Reply

Your email address will not be published.