बलात्कारसम्बन्धी घटनाको आरोपमा पाण्डे पक्राउ

बलात्कारसम्बन्धी घटनाको आरोपमा पाण्डे पक्राउ

काठमाडौं- सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आयोजक मनोज पाण्डेलाई पक्राउ गरेको छ।

आठ वर्षअघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।

सन् २०१४ मा भएका ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितमा सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोप पाण्डेमाथि छ।

पाण्डेले बलात्कारपछि फोटो र भिडियो खिचेर ब्ल्याकमेल गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको पीडितले सार्वजनिक गरेपछि घटनाको छानबिन गर्न दबाब बढेको थियो।

शुक्रबार संसदको बैठकमा कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले घटनाको छानबिन गर्न सभामुखमार्फत सरकारसँग माग गरेका थिए।

थापाले छानबिनको माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले घटनाको छानबिन गर्न सरकारलाई रुलिङ गरेका थिए।

प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको संयोजकत्वमा घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको थियो।

पीडितले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको आयोजकबाट बलात्कार भएको घटनाबारे खुलासा गरेकी थिइन्।


Leave a Reply

Your email address will not be published.