लोसपाले गुमायो जलेश्वरको नेतृत्व, मेयर र उपमेयरमा जसपा निर्वाचित

लोसपाले गुमायो जलेश्वरको नेतृत्व, मेयर र उपमेयरमा जसपा निर्वाचित

काठमाडौं- लोकातन्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरको निर्वाचन क्षेत्रसमेत रहेको महोत्तरी सदरमुकाम जलेश्वरको मेयर र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार निर्वाचित भएका छन्।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन राजपा(हाल लोसपा) ले जितेको जलेश्वर नगरपालिकाको मेयरमा जसपाले जित हात पारेको हो।

नगरपालिकाको मेयरमा जसपाका सुरेश साह निर्वाचित भएका छन्। यसअघि मेयरमा निर्वाचित लोसपाका उम्मेदवार रामशंकर मिश्र निकटतम प्रतिद्वन्द्वी बनेर चित्त बुझाउनु परेको छ।

जसपाका सुरेश साह सोनारले १ हजार ८७६ मतको अन्तरले मिश्रलाई पराजित गरेका छन्।

सुरेशले ७ हजार ३०६ मत ल्याउँदा मिश्रले ५ हजार ४३० मत प्राप्त गरेका छन्।

नेकपा एमालेका रामअधार कापर ४ हजार ७८२ मत पाउँदा नेपाली कांग्रेसका शम्भु पाठकले २ हजार ५१० ल्याएका छन्।

जसपाले मेयरका साथै उपमेयरमा पनि जित निकालेको छ।

नगरपालिकाको उपमेयरमा जसपाकी रौशन खातुन ५ हजार ८२३ मत ल्याएर निर्वाचित भएकी छन्।

त्यस्तै नेकपा एमालेकी मन्चुन देवीले ४ हजार ९०१, लोसपाकी फरहत खातुन ४ हजार ८६२ र कांग्रेसकी अनितादेवी शर्माले ३ हजार ४९२ मत प्राप्त गरेकी छन्।

अध्यक्ष ठाकुरको गृहपालिका पिपरा गाउँपालिकामा पनि लोसपाले हार बेहोर्नु परेको छ।

अघिल्लो स्थानीय तह निर्वाचनमा तत्कालीन राजपाले जित निकालेको पिपरा गाउँपालिकामा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाका विक्रम चौधरी निर्वाचित भएका थिए।

दल विभाजनपछि एमाले रोजेका चौधरी यसपटक तेस्रो स्थाना खुम्चिएका छन् भने लोसपाका उम्मेदवार दोस्रो स्थानमा सीमित भएका छन्।

पिपरा गाउँपालिकाको अध्यक्षमा जसपाका रामजानकी यादव ५ हजार ५८२ मत प्राप्त गरेर निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका अमितकुमार पाण्डेय २ हजार ९७७ मत ल्याउँदा निवर्तमान मेयर चौधरीले २ हजार ५४७ मत प्राप्त गरेका छन्।

त्यस्तै उपमेयरमा जसपाकी वन्दना पाण्डेय ५ हजार ४० मत ल्याएर निर्वाचित भएकी छन्।

उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी रविता कुमारीले ३ हजार ६२३ र एमालेकी ननुकुमारी दास २ हजार ३४३ मत प्राप्त गरेकी छन्।

 


Leave a Reply

Your email address will not be published.