सन्देश स्पष्ट छ-दैलोमा संकट आएको छ

सन्देश स्पष्ट छ-दैलोमा संकट आएको छ

स्थानीय निर्वाचनमा महानगरपालिका तथा उप महानगरपालिकामा मूलतः चार जना स्वतन्त्र उम्मेदवारको चर्चा छ। काठमाण्डौं, जनकपुर, धनगढी र धरानको। जनकपुर र धनगढीका स्वतन्त्र उम्मेदवार रहेकाहरू त्यसस्थानका चर्चित व्यक्ति हुन्। उनीहरुले आ–आफू संलग्न दलहरूबाट टिकटको अपेक्षा गरेका थिए। नदिईएपछि ठूलो संगठनात्मक संरचनाको एक हदको सहयोग पाए। यसर्थ, उनीहरू कानूनी रूपबाट मात्र स्वतन्त्र देखिएका हुन्। दलहरूबाट विद्रोही उम्मेदवार भए।

वास्तविक स्वतन्त्र र दलहरूको विरोधको सामना गरेर उम्मेदवार भएका त बालेन शाह र धरानका हर्क साम्पाङमात्र हुन्। बालेनलाई मैले तस्बिरमा बाहेक देखेको छैन। हर्कलाई भने धरानको एक चोकमा तीनपांग्रे टेम्पूमा माईक लगाई बोल्दै गरेको देखे सुनेको हुँ।

राजधानी महानगरपालिकामा अन्य सबै उम्मेदवारलाई पछाडी पारेका बालेनको सर्वाधिक चर्चा हुनु स्वाभाविक नै हो। यता मधेसतिर पनि उनको ठूलो चर्चा छ। केहीले सामाजिक सञ्जालमा मधेसी मूलका भनि लेखिरहेका छन्। यसो लेख्नु ठीक होईन। यो मपाईंको कुरो हो। बालेनले आफू मधेसी भएको कही भनेका छैनन्। मधेसी भनिएर न्यारेशन अन्यत्र मोडिन्छ भनी पुरै सचेतता अपनाएको देखियो। पुरै प्रचार अभियानका दौरान उनले राष्ट्रिय ध्वजलाई समाईरहे। एमालेका केशव स्थापितले मधेसी नभनिन्जेलसम्म सायदै कसैलाई उनि मधेसी परिवारसँग जोडिएको थाहा पनि थिएन होला। यसर्थ, यस्तो मधेसी पहाडी भनी बालेनको चर्चा गर्नु हुन्न।

अहिले केहीले बालेनले पाएको मतलाई विरोधको भोट वा “नो भोट” भनेका छन्। यो त झनै गलत कुरो हो। नेपालको कूल जनसंख्यामा १५–२५ उमेर समूहको जनसंख्या भाग लगभग ४० प्रतिशत रहेको छ। यसमध्ये मतदाता हुन योग्य उमेर समूहको संख्यालाई आँकलन गर्दा लगभग यति नै भोट बालेनले पाएको देखिन्छ। बालेनलाई मत दिने युवा समूह पढेलेखेका उच्च शिक्षित देखिन्छन्। यस्ता युवाहरू हामी सबैको परिवारमा छन् र हामीले आफ्ना यस्ता शिक्षित सन्तानहरूमा गर्व गरिरहेका हुन्छौं। उनीहरूका नयाँ विचारलाई, विद्रोही चेतलाई बडो ध्यानले सुनिरहेका हुन्छौं।

यिनीहरूले उपयोग गरेको ‘मत’ किमार्थ पनि नकारात्मक भोट होईन। ‘नो भोट’ होईन। जहाँ नो भोटको चलन छ, त्यहाँ नो भोटले परिणाम दिँदैन। उदेक वा अरूहरूको अयोग्यताको सन्देशमात्र दिई रहेको हुन्छ। बालेनले पाएको मत त्यस्तो प्रकृतिको होईन। बालेनका मतदाताहरूले सार्थक रूपमा मतको शक्तिलाई उपयोग गरेका हुन्। बालेन स्वयं तथा उनका प्रचारकहरूले कही पनि धार्मिक कुरो, संघीयताको विरोध, पूर्व राजाको पक्षपोषण, वैदेशिक विवादजस्ता कुराहरू उठाएका छैनन्। यसर्थ, वरिष्ठ पत्रकार किशोर नेपालले लगाएको आक्षेप ठीक ठहर्दैन।

बालेनका बारेमा मैले तीन वटा कुरालाई बढी ध्यानमा राखेको छु। पहिलो, उनी लोकप्रिय रयाप गायक हुन्। युवाहरूका बीच अत्यन्त लोकप्रिय छन्। र, उनले गाएका लगभग सबै गीतहरू शासकीय बेथितीको बिरूद्धमा गाइएको छ। यो हिजोका प्रगतिवादी गीत वा क्रान्तिकारी गीतको विकल्पको नयाँ पुस्ताले रूचाएको समानान्तर धार यही हो। यसले उनलाई चर्चित बनाएको थियो।

दोस्रो कुरा, आजका धेरै युवाहरूले राजनीतिलाई फोहोरी खेल भन्ने गरेको जस्तो उनले कहिल्यै भनेनन्। मत प्रणालीको विरोध गरेर उनले नेपालका मण्डले सोचलाई हौस्याएनन्। बरू मतलाई उपयोग गरी बेथितीको शासनमा रूपान्तरण गर्न सकिन्छ भने दृढता उनमा देखियो। राजनीतिमा सुधार ल्याउनु छ भने राजनीतिलाई नै माध्यम बनाउन सकिन्छ-यो सोच मैले पाएँ।

तेस्रो कुरा, उनको प्रवेशलाई संयोग भन्न मिल्दैन। उनले योजनावद्ध रूपमा काम गरेका हुन्। यस निम्ति दुईवटा उद्धरण दिन चाहन्छु। भर्खरै २०७४ को निर्वाचन ताका उनले लेखेका एक ट्वीट पुनः चर्चामा आयो, देखियो। यसमा उनले अर्को निर्वाचनमा स्वयंलाई नै भोट हाल्ने भनेका छन्। यसबाट उनको तयारी तथा सोच बुझिन्छ। अर्को, यौटा अर्को तस्वीर सामाजिक संजालमा देखियो। यस तस्वीरमा बालेन शाह आफ्ना टिमका साथ राष्ट्रपति भवन शितल निवासमा देखिन्छन् जहाँ उनले राष्ट्रपतिलाई राजधानीको खानेपानी समस्याको समाधानका उपायहरू ब्रिफिंग गरिरहेको देखिन्छ। यस्तै लेखिएको छ तस्वीरको क्याप्सनमा। यी दुई कुराले जनाउँछ कि काठमाडौं महानगरपालिका पहिल्यैदेखि उनको नजरमा रहेको हो। यो उम्मेदवारी फगत संयोग होईन। योजना नै हो।

यस्तै धरान उप महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार (यो लेखुन्जेल निर्वाचित भैसकेको) हर्क साम्पाङको उम्मेदवारी संयोग हैन। धरानमा विद्यमान अनेकन बेथितिका विरुद्ध उनको सचेतनाको वा खबरदारी अभियानका कारण हर्क साम्पाङ चर्चित रहेका हुन।

व्यक्तिगत रूपमा उनि एक सुपरिचित क्रान्तिकारी गायक एवं गीतकार पनि हुन्। काठमाडौंका ठूलो प्रेक्षागारहरूमा नाम चलेका अवार्डहरू नपाए पनि उनी हिजोका दिनमा अदृश्य रहेका मानिस होईनन्। उनका गीतहरू धेरैले सुनेका थिएनन्। तर, आज उनको विजयी व्यक्तित्वको खोज पडताल गर्ने क्रममा उनका गीतको भावार्थ थाहा हुन्छ। उनी परिवर्तनका पक्षधर लोकपाल देखिन्छन्।

मरेको मान्छे सडेको बस्ती
भ्रष्ट र दुष्टको शासन छ मस्ती
सिनोको टुक्रामा झिँगा रमाउछन्
गिद्ध र हुडाँरको छ लुछाचुँडी
देशको माया के लाग्दो रैछ र
पार्टी कै भक्ति र भाव ठूलो
हिमाल झरोस् कि सीमा सरोस्
बस्ती जलाउदै बगाउँछन् धुलो
लोकतन्त्र भन्दै दासत्व भित्र
झण्डाले आखाँ छोरेर हेर्छन्
सही र गलत थाहा हुन्न केही
जे देख्न लगायो तेही देख्छन्

चुनाव अभियान कै दौरान हर्कले यो गीत लेखेर धराने जनतालाई सुनाए। यस गीतका शब्दहरूले नै वर्तमानको विरूद्ध उनको चेत तथा प्रतिवद्धतालाई जनाउँछ। धरान सुरूदेखि नै प्रगतिवादी गीतहरू गाईने र मन पराईने सहर हो। विसंगतिहरूका विरूद्ध एक्लो संघर्ष, संघर्षका लागि एक्लै जनताका बीच पुग्नु र रोषलाई लयमा अभिव्यक्ति दिनु(हर्क साम्पाङले यसरी सत्तालाई पछारेका छन्।

यस पटकको स्थानीय निर्वाचनका बालेन र हर्क प्रतिनिधि पात्रहरू हुन्। हर्क चुनाव जिते, बालेनको अग्रता छ। तर, परिणाम आउन बाँकी छ। तर सन्देश स्पष्ट छ–दैलोमा संकट आएको छ।

जयप्रकाश आनन्दकाे फेसबुकबाट


Leave a Reply

Your email address will not be published.