रेशम चौधरीले जेलबाटै बुनेका चुनावी ‘ढकिया’

रेशम चौधरीले जेलबाटै बुनेका चुनावी ‘ढकिया’

काठमाडाैं-

थुप्रै पुराना चुनाव चिह्नहरूसँगै यसपालि कैलाली जिल्लामा एउटा नयाँ चिह्नको चर्चा थियो- ढकिया।

‘ढकिया’ थारूहरूको परम्परा झल्काउने एकप्रकारको भाँडो हो। थारूहरूकै बाहुल्य रहेको कैलालीमा यसपालि मतदाताको मतले ढकिया पूरै भरियो र देशभरि फेरि एकपटक चर्चाको विषय बन्यो। जन्मेदेखि मृत्यु संस्कारसम्मै थारू समुदायमा ढकिया प्रयाेग हुन्छ।

‘नागरिक उन्मुक्ति पार्टी’ लाई चिनाउने धेरै ‘ढकिया’ हरू कैलालीका थुप्रै स्थानीय तहमा भरिएका छन् र वर्षौंदेखि स्थापित राजनीतिक पार्टीहरू नराम्रोसँग पछारिएका छन्। एकातिर ‘गठबन्धन’ अनि अर्कोतिर एमालेसँग भिडेर धेरै ठाउँमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरूले जितेका छन्।

अनि, फेरि एकपटक जेलमा जन्मकैद भुक्तान गरिरहेका रेशम चौधरी चर्चामा छन्। उनकै पहलमा गठन भएको ‘नागरिक उन्मुक्ति पार्टी’ चर्चामा छ, अनि ‘टिकापुर घटना’ फेरि धेरैको मनमा ताजा भएर आएको छ।

टिकापुर, रेशम चौधरी र नागरिक उन्मुक्ति पार्टी

दोस्रोपटक गठन भएको संविधानसभाबाट देशमा नयाँ संविधान जारी हुने भयंकर तयारी चलिरहेको थियो- २०७२ सालमा।

देशैभरि आफ्ना अधिकारहरू संविधानमा लेखाउनका लागि थरिथरिका आन्दोलन भइरहेको छ। त्यसैमध्येको एउटा आन्दोलन थियो- थरुहट राज्य।

पश्चिम नेपालको एउटा ऐतिहासिक सहर कैलालीको टिकापुर त्यो आन्दोलनको ‘इपिसेन्टर’ थियो। राजा महेन्द्रको सपनाको सहर भनिने यो सहरसँगै ‘टिकापुर’ पार्क यसको अर्को परिचय हो। जहाँ वीरेन्द्र विश्राम गृह र महेन्द्र आरोग्य केन्द्रहरू छन्।

आन्दोलन बिस्तारै चर्किरहेको थियो। स्थानीय प्रशासनले भदौ ६ गते टिकापुरमा कर्फ्यु आदेश जारी गरेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको पूरै फोर्स टिकापुरमै ‘फोकस’ थियो।

त्यो दिन पूरै टिकापुरमा एकप्रकारको सन्नाटा थियो। अर्को दिन भदौ ७ गते त्यो सन्नाटा एकाएक हिंसाको आँधी बन्यो।

दिउँसो एकाएक आन्दोलन हिंस्रक बनेर उर्लियो। एकजना बालक र आठ प्रहरीको ज्यान लिनेगरी।

२०७२ साल भदौ ७ गते थारुहरुको आन्दोलनमा हिंसा भड्किएपछि नेपाल प्रहरीका एसएसपी र एकजना डेढ वर्षीय बालकसहित नाैजनाको मृत्यु भएको थियो। माओवादी जनयुद्धपछि कुनै आन्दोलनका क्रममा सायद सबैभन्दा उच्च तहका प्रहरी अधिकृत त्यही आन्दोलनमा मारिएका थिए।

अर्को दिन कर्फ्युकै समयमा टिकापुरका थारुहरूका घर जलाइएका थिए। घटनाका मुख्य ‘योजनाकार’ मानिएका रेशम चौधरीकै नेतृत्वमा टिकापुरमा चलिरहेको एउटा रेडियोमा पनि आक्रमण भयो।

उक्त घटनामा आरोपित सांसद रेशम चौधरी र अरु ११ जनालाई जन्मकैदको सजाय सुनाइएको छ। उनीहरू जेलमै छन्।

जन्मकैद भुक्तान गरिरहेका रेशम चौधरी राष्ट्रिय जनता पार्टीका उम्मेदवार भएर निर्वाचन लडेका थिए। उनी चुनावका बेला भूमिगत नै थिए।

तर, पनि निर्वाचनमा उनी ३४ हजार ३ सय ४१ मत ल्याएर विजयी भए।

सांसद भइसकेपछि उनले अदालतमा आत्मसमर्पण गरे। उनी जेलमै रहेका बेला एउटा आकस्मिक कार्यक्रममा उनलाई सांसदको सपथ पनि खुवाइयो। र, त्यसको केही दिनपछि अदालतले उनलाई जन्मकैदको सजाय सुनायो। उनी जेलबाट निस्किनै पाएनन्।

जेलबाटै नयाँ पार्टीको योजना

डिल्लीबजार सदरखोर जेलमा ‘जन्म कैद’ सजाय काटिरहेका रेशम चौधरी हरेक दिन भेटघाटमै व्यस्त हुन्छन्। आफन्तहरूदेखि शुभेच्छुकसम्म भेट्नेहरूको लाइन सदरखोरमा सधैंजसो हुन्छ।

त्यहाँ उनले राजनीतिका कुरा गर्छन्। साहित्यका कुरा गर्छन् अनि आफ्नो मुद्दाका बारेमा पनि कुरा गर्छन्। जेलमै बसेर उनले धेरै किताबहरू लेखिसकेका छन्। धेरै गीतहरू लेखेका छन्। कविताहरू रचेका छन्। उसै पनि उनी कुनै समय चर्चित संगीतकार पनि थिए।

हरेकजसो पार्टी र सरकारले ‘रेशम चौधरी’ एउटा राजनीतिक मुद्दा बनाएरै राखेका छन्। टिकापुरमा पुग्दा होस् वा थारु समुदायका कुरा गर्दा हरेक पार्टीका नेताहरूले रेशम चौधरी ‘निर्दोष’ नै मान्छन् र भन्छन् पनि।

चुनावी अभियानकै क्रममा पालैपालो टिकापुर पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भनेका थिए- रेशम चौधरी निर्दोष हुन्।

उनीहरूले तत्कालै सरकारसँग यसबारे कुरा गर्ने पनि वाचा गरेका थिए। यद्यपि, यी नयाँ वाचा थिएनन् र उनीहरूको यो कुनै नयाँ अभिव्यक्ति पनि थिएन।

टिकापुर घटना छानबिन गर्न बनेको ‘लाल आयोग’ ले पनि उनलाई दोषी करार गरेको छैन। तर, सरकारले अहिलेसम्म आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक भने गरेको छैन।

तर, टिकापुरवासीले उनलाई कहिल्यै पनि ‘दोषी’ मानेनन्। र, रेशम पनि भन्छन्, ‘म त राजनैतिक बन्दी हुँ।’

२०७४ सालमा रेशम चौधरी चुनाव लडेको राष्ट्रिय जनता पार्टी अहिले छैन। त्यो बेला उपेन्द्र यादवको संघीय समाजवादी पार्टीमा समाहित भएको त्यो पार्टी जनता समाजवादी पार्टी बनेर फेरि फुट्यो। त्यहाँबाट निस्किएर महन्थ ठाकुरले फेरि पुरानै पार्टी लोकतान्त्रिक समाजवादी पार्टी बनाए।

त्यो बेला जेलबाटै ‘सनाखत’ का लागि निर्वाचन आयोगमा आएका रेशमले कुनै पनि पक्षमा खुलेनन्। त्यही ‘तटस्थता’ को संकेत थियो उनले परिकल्पना गरेको ‘नागरिक उन्मुक्ति पार्टी’।

माघ ८ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र बुझेको ‘नागरिक उन्मुक्ति पार्टी’ को नेतृत्व उनकै श्रीमती रञ्जिता श्रेष्ठ चौधरीले गरेकी छिन्।

कानुनीरूपमा मात्रै रञ्जिता पार्टीको नेतृत्वमा छिन्, त्यसको सारा डिजाइजन रेशम जेलबाटै गर्छन्।

सुरुमा अरु नै पार्टीबाट चुनावमा जाने कि स्वतन्त्र? भन्ने बहस थियो। जेलमै पुगेर रञ्जिता अनि धेरै उनका शुभेच्छुकहरूले पटक-पटक छलफल गरेका थिए।

तर, रेशमले भने नयाँ पार्टी बनाएर जाने निधो गरे। अरु पनि त्यसमा सहमत भए।

र, लगत्तै भएको यसपालिको स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले नसोचेकै सफलता पायो।

‘यो सबै रेशमजीकै पहलमा भएको हो। यो पार्टी पनि उहाँको नै हो,’ रञ्जिता भन्छिन्, ‘हामीले उहाँका सपना अब पूरा गर्नुपर्छ। हाम्रोतर्फबाट चुनिनुभएका जनप्रतिनिधिहरूले पनि त्यसैअनुरूप काम गर्नुहुन्छ।’

थारु आन्दोलनको इपिसेन्टर र रेशमलाई ‘दोषी’ करार गरेको टिकापुर अनि सिङ्गो कैलालीले रेशमको पक्षमा गरेको यो खुला नागरिक फैसला पनि हो।

‘रेशम चौधरी के हो र के होइन भन्ने कुरा यो मतले राम्रोसँग जवाफ दिएको छ,’ यही पार्टीबाट कैलालीको जानकी गाउँपालिका अध्यक्ष जितेका गणेश चौधरी भन्छन्, ‘रेशम चौधरी त पहिचानको मुद्दा हो र यही मुद्दा स्थापित गर्नका लागि फेरि एकपटक यहाँका नागरिकले आफ्नो मत दिएका हुन्।’

गणेश चौधरी टिकापुर बसेर लामो समय कान्तिपुर दैनिकमा समाचार लेख्थे। त्यहाँका अरु समाचारहरूसँगै उनले थारुका मुद्दाहरूमा पनि खुब लेखे।

टिकापुर घटना के थियो भनेर उनले त्यसकै बारेमा पुस्तक पनि लेखे।

‘तर, पत्रकारिता गर्दै जाँदा र हामीले लेख्दै जाँदा त्यो कति कार्यान्वन हुन्छ र सम्बोधन हुन्छ भन्ने कुरा मैले बुझें,’ उनी भन्छन्, ‘हामीले जतिसुकै लेखे पनि त्यो कार्यान्वन गर्ने त राजनीतिक नेतृत्वले नै हो। राज्यले नै हो। त्यसैले मैले पनि यो बाटो रोजेको हुँ।’

उनीसँगै नागरिक उन्मुक्ति पार्टीले कैलालीका चारवटा पालिकामा जितेको छ। टिकापुर नगरपालिकामा उपमेयरबाहेक अरु तीनवटा पालिकामा प्रमुख र उपप्रमुख दुवैमा नागरिक उन्मुक्ति पार्टीले जितेको छ। टिकापुरमा भने मेयरमात्रै जित्यो। कैलालीमा १३ वटा पालिकाहरू छन्। जानकी गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित पाँच वडाहरूमा पनि यही पार्टीले नै जितेको छ।

कैलालीकै चर्चित सहर टिकापुर नगरपालिकामा यही पार्टीका रामलाल डगौरा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नवराज रावललाई हराउँदै ९ हजार ६ सय ४२ मतका साथ मेयरमा निर्वाचित भएका छन्।

त्यस्तै जानकी गाउँपालिकामा उन्मुक्ति पार्टीबाट उम्मेदवार भएका पत्रकार गणेश चौधरी अध्यक्षमा निर्वाचित भएका छन्। लामो समय कान्तिपुर दैनिकमा काम गरेका उनले ७ हजार १ सय ५१ मत ल्याएर गठबन्धनका उम्मेदवार कांग्रेसका परशुराम महतोलाई पराजित गरेका छन्।

कैलालीकै भजनी नगरपालिकामा पनि माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीलाई ३ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै नागरिक उन्मुक्तिका उम्मेदवार केवल चौधरी विजयी भए।

‘यो राज्यले गरिरहेको विभेदको विरूद्धमा पनि जनमत हो,’ गणेश भन्छन्, ‘अरु पार्टीले पनि विगतमा जितेकै हुन्। मुद्दाहरू उठाए तर उनीहरूले त्यसलाई कार्यान्वयन गर्न सकेनन्। मतदाताहरू विकल्प पनि चाहन्छन् भन्ने सन्देश पनि हो।’

पालिकामा नागरिकका आमसमस्या सम्बोधन र विकास निर्माणका काम त आफ्नो ठाउँमा छँदैछ। यी त प्रक्रियागत कुराहरू नै हुन्, नियमित काम नै हुन्।

तर, चौधरी भन्छन्, ‘योसँगै यहाँका नागरिकको भावनालाई पनि मैले सम्बोधन गर्नुपर्नेहुन्छ। राज्यको विभेदबाट उन्मुक्ति चाहेको नागरिकको मतलाई मैले त्यसैअनुसार सम्बोधन र सम्मान पनि गर्नुपर्छ।’

हेपाहा राज्य, जनताको प्यार

पार्टीका संयोजक रञ्जिता श्रेष्ठ चौधरी रेशम चौधरीकी श्रीमती हुन्। चुनावी अभियानका लागि कैलाली पुगेकी उनी आइतबारमात्रै काठमाडौं फर्केकी छिन्, केही ‘सिट’ हरू लिएर। र, केही दिनपछि फेरि उनी जिल्ला-जिल्ला पुग्नेछिन्।

‘हामी खुसी छौं अनि उत्साहित पनि,’ काठमाडौं विमानस्थलमा ओर्लिनासाथ उनले भनिन्, ‘राज्यले विभेद र अन्याय गरे पनि कैलाली अनि टिकापुरका जनताले हामीलाई यसपटक पनि न्याय गर्नुभएको छ। प्रेम देखाउनुभएको छ।’

उनलाई लाग्छ राज्य हेपाहा छ। विभेद गर्छ। तर, नागरिकले भने न्याय दिएका छन्। प्यार दिएका छन्।

‘यसलाई हामीले सम्मान गर्नुपर्छ। र, उहाँहरूको अभिमतको कदर पनि गर्नुपर्छ,’ रञ्जिता भन्छिन्, ‘जुन विश्वासले आमनागरिकले हामीलाई मत दिनुभएको छ त्यो विश्वास हामीले टुट्न दिनेछैनौं।’

उनलाई पनि लाग्दैन रेशम चौधरी दोषी छन् र त्यसको सजाय भोगिरहेका छन्। बरु रञ्जितालाई लाग्छ राज्यले देखाएको यो विभेदकारी चरित्र हो।

‘त्यो त पहिला पनि थियो। अहिले पनि छ। तर, आमनागरिकमा त्यो छैन,’ रञ्जिता भन्छिन्, ‘जसले जेसुकै भने पनि त्यो ठाउँ हाम्रो हो, रेशम चौधरीको माटो हो। उहाँको भूमि हो त्यसले हामीलाई अन्याय गर्दैन, टिकापुर र कैलालीका जनताले नै फेरि हामीलाई न्याय दिनुभएको छ।’

स्थानीय निर्वाचनमा पाएको यो सफलतासँगै नागरिक उन्मुक्ति पार्टीले संसदीय निर्वाचन लड्ने पनि तयारी गरिरहेको छ।

‘यो उत्साहले हामीलाई संसदीय र प्रदेशको निर्वाचनमा पनि थप आसा जगाएको छ,’ रञ्जिता भन्छिन्, ‘हामीले त्यसका लागि पनि तयारी गरिरहेका छौं। हामी चुनाव लडेर यो राज्यलाई जवाफ दिन्छौं।’


Leave a Reply

Your email address will not be published.