जनकपुरको मेयरमा स्वतन्त्र र उपमेयरमा कांग्रेस निर्वाचित

जनकपुरको मेयरमा स्वतन्त्र र उपमेयरमा कांग्रेस निर्वाचित

काठमाडौं-जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह र उपमेयरमा नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका छन्।

निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारलाई पराजित गर्दै मनोज मेयर र किशोरी उपमेयरमा निर्वाचित भएका हुन्।

मनोजले आफ्नो निकटतम प्रतिद्वन्द्वी एमालेका शिवशंकर साहलाई ३ हजार ९३३ मतले मेयरमा पराजित गरेका छन्।

मनोजले १३ हजार ४६५ मत ल्याउँदा शिवशंकरले ९ हजार ५३२ मत प्राप्त गरेका छन्।

गठबन्धनको भागबन्डामा जनकपुरधामको मेयर जनता समाजवादी पार्टी (जसपा) लाई छाड्ने शीर्ष नेताहरूको निर्णयविरूद्ध मनोजले विद्रोह गरेका थिए।

गठबन्धनका शीर्ष नेताहरूबीच मेयर जसपा र उपमेयर कांग्रेसलाई दिनेगरी सहमति भएको थियो।

कांग्रेस जनकपुरधाम उपमहानगर समितिका सभापतिसमेत रहेका उनले पार्टीबाट राजीनामा गरी मेयरमा बागी भएर उम्मेदवारी दिएका थिए।

पाँच दलीय गठबन्धनका मेयर प्रत्याशी लालकिशोर साह चौथौं स्थानमा सीमित भएका छन्। जनकपुरधामको निवर्तमान मेयरसमेत रहेका लालकिशोर ले ५ हजार १९४ मत ल्याएर चौथौें भएका हुन्।

पाँच दलीय गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएको जसपाले जनकपुरको २५ मध्ये कुनै वडा जित्न सकेको छैन।

२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राजपाबाट चुनाव लडेका उनले कांग्रेसका प्रत्याशी मनोजलाई झन्डै दोब्बर मतले पराजित गरेका थिए।

कांग्रेसबाट बागी भएर जनकपुरधामको मेयरमा निर्वाचित हुने मनोज तेस्रो उम्मेदवार हुन्। यसअघि कांग्रेसबाट बागी भएर वृषेशचन्द्र लाल र बजरंगप्रसाद साह जनकपुरधामको मेयरमा निर्वाचित भएका थिए।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मनोज चौधरीले ५ हजार १९४ , स्वतन्त्र उम्मेदवारी दिएका निर्माण व्यवसायी बलराम महतो ४ हजार २९० र अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहले २ हजार ७२ मत प्राप्त गरेका छन्।

मेयरमा गठबन्धनका उम्मेदवार पराजित हुँदा उपमेयरमा भने कांग्रेसका किशोरी साह निर्वाचित भएका छन्। १५ हजार ५२५ मतसहित किशोरी उपमेयरमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रूना झाले १० हजार ८५५ मत प्राप्त गरेकी छन्।

नेपाली कांग्रेस मधेस प्रदेस प्रतिनिधिसमेत रहेकी रूनाले टिकट नपाएपछि मनोनयन दर्ताकै दिन वैशाख १२ गते एमाले प्रवेश गरेर उपमेयरमा उम्मेदवारी दिएकी थिइन्।

त्यस्तै निवर्तमान उपमेयरसमेत रहेकी लोसपाकी रिताकुमारी मिश्रले ५ हजार ८१७ र उपमेयरका स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ३ हजार ७७२ मत प्राप्त गरेका छन्।


Leave a Reply

Your email address will not be published.