अनि हारे लालकिशोर!

अनि हारे लालकिशोर!

धेरैको पूर्वानुमान थियो- जनकपुरमा फेरि ‘बागी’ले इतिहास दोहोर्‌याउँछन्। आम नजकपुरवासीमात्रै होइन ठूला राजनीतिक दलका नेतृत्वलाई पनि त्यो डर थियो।

नभन्दै त्यस्तै भयो।

मधेस प्रदेसको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा ‘स्वतन्त्र’ उम्मेदवार मनोज साह निर्वाचित भएका छन्।

गठबन्धन गरेको नेपाली कांग्रेसले जनकपुरधामको मेयर जनता समाजवादी पार्टी (जसपा) लाई छाड्ने निर्णय गरेपछि मनोजले विद्रोह गरे। पार्टीको उपमहानगर कार्यसमितिको सभापति पदबाट राजीनामा गर्दै उनले बागी भएर उम्मेदवारी दिएका थिए।

मेयरमा जितेर जनकपुरधामलाई बागी फाफ्ने इतिहास दोहोराइ दिएका छन्, उनले।

निकटतम प्रतिद्वन्द्वी एमालेका शिवशंकर साहलाई पराजित गरेर मनोज मेयरमा निर्वाचित भएका हुन्। मेयरका लागि उपमहानगरको पुनर्जनादेश लिने ‘रेस’ मा रहेका निवर्तमान मेयर लालकिशोर साह तेस्रो स्थानमा सीमित भए।

लालकिशोर तिनै हुन् जसले २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका मनोजलाई झन्डै दोब्बर मतले पराजित गरेका थिए।

साढे चार वर्षअघि दोब्बर मतले पराजित गरेका लालकिशोरलाई दोस्रो कार्यकालका लागि जनकपुरका मतदाताले मतादेश दिएनन्।

लोकतान्त्रिक आन्दोलन र मधेस विद्रोहबाट खारिएका नेता लालकिशोर नवनिर्वाचित मेयर मनोजको तुलनामा बढी अनुभव राख्ने व्यक्ति हुन्। विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेका उनी कांग्रेसहुँदै पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) मा आवद्ध छन्।

तत्कालीन राजपाबाट अघिल्लो चुनाव लड्दै गर्दा अधिकांश जनकपुरवासीको मुखमा एउटै नाम सुनिन्थ्यो, लालकिशोर। ‘विद्यार्थी जीवनदेखि मधेस आन्दोलनसम्म निरन्तर संघर्ष गरिरहेका लालकिशोरलाई मेयरमा जिताउनुपर्छ’ बहुमत जनकपुरवासीले भन्ने गरेका थिए त्यतिबेला।

परिणाम पनि त्यही अनुसार आयो। कांग्रेसका प्रत्याशी मनोजलाई उनले दोब्बर मतको अन्तरले पराजित गरिदिए। लालकिशोरको जितसँगै जनकपुरले अब मुहार फेर्ने सबैलाई लागेको थियो। तर, उनी जनकपुरवासीको अपेक्षाअनुसार खरो उत्रिन सकेनन्।

बरू दोब्बर मतान्तरणले जनकपुरधामका मेयर बनेका लालकिशोरले यसपटक आफ्नो ‘जिराहा’ स्वाभावको मूल्य पराजयसँग साटिदिएका छन्। मेयर बनेपछि उनको जीवनशैलीमा आएको अटेरीपन र ‘दम्भ’ लाई जनकपुरको मतदाताले अस्वीकार गरिदिएका छन्।

साढे चार वर्षको अवधिमा आफ्नो पुरानो सरल स्वभाव गुमाएर अहंले भरिए उनी।

उनको कार्यकालभर उपमहानगरपालिकाको कार्यालयसम्म आमनागरिकको पहुँच हुनसकेन केवल दैलामा लाम लाग्ने ढुकुवाबाहेक। सार्वजनिक पदमा पुगेका व्यक्तिको आलोचना र प्रशंसा सामान्य हुन्छ। तर, उनले केवल आफ्नो प्रशंसा सुन्न रूचाए। आलोचना फिटिक्कै मन परेन। आलोचकलाई थकाउने, गलाउने अनि सिध्याउने खेलमा पछिल्ला साढे चार वर्ष बिताए, लालकिशोरले।

समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई बाउन्सर भिराएर कार्यकक्षभित्रै हन्डर बर्साउन लगाए।  पत्रकारलाई कुटपिट गरेको मुद्दा अहिले पनि उनी झेलिरहेका छन्।

मेयरमा निर्वाचित भएको केही दिन नबित्दै लालकिशोरले उपमहानगरको कोषबाट आफू चढ्न करिब डेढ करोड मूल्य बराबरको गाडी खरिद गर्न लगाए।

जनकपुरवासीले देखेको जानेको सरल र सालीन लालकिशोरको त्यो ‘राजसी ठाठ’ मन पराएनन्। दुर्घटनामा परेर डेढ करोडको त्यो गाडी काम नलाग्ने भइसकेको छ। जनताले तिरेको करबाट खरिद गरिएको गाडी तीन वर्षदेखि जनकपुरको एउटा ग्यारेजमा थन्किएको छ।

त्यतिमात्रै होइन जनताको मत पाएर कार्यकारी पदमा पुगेका उनी ‘सेवक’ भन्दा ‘शासक’ को रूपमा प्रस्तुत भए। यहाँसम्म कि कनिष्ठले उनलाई ‘दाजु’ भनेर गर्ने गरेको सम्बोधनसमेत सुन्न चाहेनन्। ‘मेयर साहेब’, ‘नगरपिता’ जस्ता सम्बोधन उनलाई प्रिय बन्दै गयो।

मेयरमा जिताउन खट्ने कार्यकर्ताले सार्वजनिक मञ्चबाटै ‘नगरपिता’ भनेर सम्बोधन गर्दा लालकिशोरले प्रतिवाद गरेनन्। बरू मख्ख भइरहे।

मेयरमा निर्वाचित भइसकेपछि लालकिशोरले जनकपुरका लागि गर्नुपर्ने धेरै कामहरू थिएन। सडक विस्तारका लागि एकीकृत सहरी विकास परियोजनाअन्तर्गत एसियाली विकास बैंकले अनुदान रकम सहयोग गरिसकेको थियो।

परियोजना कार्यान्वयन गराउने जिम्मेवारी नगरपालिकामाथि थियो। र, त्यसमा लालकिशोर सफल पनि भए। सडक विस्तारका लागि जग्गा उपलब्ध गराउन मुख्य बजार क्षेत्रकै घरहरू भत्काउनु चानचुने कुरा थिएन। लालकिशोरले हिम्मत देखाए। चर्को विरोध र अवरोधका बाबजुद ठूलठूला भवन भत्काउन लगाएर परियोजना कार्यान्वयनका लागि उनले जग्गा उपलब्ध गराइदिए।

एडिबीको सहयोगमा बनेको ती सडकहरूलाई आफ्नो कार्यकालमा भएको ठूलो उपलब्धिको रूपमा जनकपुरवासीसामू प्रचार प्रसार गर्न लगाए। तर, एडिबीको सहयोगमा सडक निर्माण भएको थाहा पाइसकेका जनकपुवासीको आँखामा छारो हाल्न असफल भए, लालकिशोर।

आफ्नो साढे चार वर्षको कार्यकालमा फाहोर व्यवस्थापन र लामखुट्टे नियन्त्रणमात्रै गरिदिएको भए पनि पुग्ने थियो, उनलाई। तर, यी दुई काम गर्न पनि उनी पूर्ण रूपमा सफल हुनसकेनन्।

उत्तरी सीमाबाट जनकपुर प्रवेश मार्गमा ४ करोडको लागतमा लालकिशोरले सहिदद्वार निर्माण गराउन लगाएका छन्। आफ्नो कार्यकालमा देखिनेगरी लालकिशोरले गरेको काम सम्भवतः यही हो।

सहिदद्वार त निर्माण भयो जनकपुवासीले भोगिरहेको फोहोर, लामखुट्टे नियन्त्रण, छाडा चौपाया नियन्त्रणजस्ता आधारभूत समस्या ज्यूँकात्यूँ रहे।

फोहोर व्यवस्थापनलाई लिएर लालकिशोरले जनकपुवासीका साथै वडाध्यक्षकहरू नै विरोधमा उत्रिए। विरोधस्वरूप फोहोरका डंगुर उपमहानगरपालिकाको कार्यालय र लालकिशोरको निवासअगाडि नै थुपारिए।

तर, लालकिशोरले समस्या सम्बोधन नगरेर ती विरोधहरूलाई विरोधीको षडयन्त्रमात्रै भनिरहे। विरोधी र आलोचकहरूलाई निषेध गर्न सँधै अग्रसर बनिरहे।

त्यसैले होला उनको प्रतिशोधात्मक र निषेधात्मक व्यवाहरको जवाफ जनकपुरवासीले चुइँक्क नबोली ‘ब्यालेट’ बाट दिएका छन्।

खासमा जनकपुरधाममा जसपाको संगठन नै दह्रो छैन। अघिल्लो निर्वाचन र यसपटकको निर्वाचनमा जसपाका उम्मेदवारले पाएको मतले पनि पुष्टि गरिदिएको छ। कमजोर संगठन भएकै कारण जसपाले जनकपुरको २५ मध्ये केवल एक वडामा जित निकाल्न सकेको छ।

जसपा अध्यक्ष उपेन्द्र यादव कांग्रेसको बलियो संगठनको सहारामा गठबन्धनबाट निर्णय गराएर जनकपुरधामको मेयर आफ्नो कब्जामा लिन चाहेका थिए।

धनुषाबाटै प्रतिनिधित्व गर्ने प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवानिकट भनिएका सहमहामन्त्री महेन्द्र यादव र केन्द्रीय सदस्य आनन्द ढुंगानाले पनि जनकपुर नछाड्न दबाब दिन सकेनन्।

मेयर छाड्नुपछाडि आफ्नै निर्वाचन क्षेत्रमा कांग्रेस नेता विमलेन्द्र निधिलाई कमजोर बनाउने यादव र ढुंगानाको रणनीतिक चाल पनि थियो भन्ने चर्चा अहिले जनकपुरमा व्याप्त छ।

तर, निर्वाचन क्षेत्रसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको मेयर नपाउँदा वा पराजित हुँदा निधि कमजोर हुने ती दुई नेताको रणनीतिलाई मनोजले असफल तुल्याइदिएका छन नै। साथै कांग्रेसकै भरमा जनकपुरधाम उपमहानगरपालिकामाथि कब्जा जमाउने उपेन्द्रको योजनालाई पनि उनले ‘ब्रेक’ लगाइदिएका छन्।

नव निर्वाचित मेयर मनोजको कामको मूल्याङ्कन पनि होला नै। तर, अघिल्लो मेयरजस्तै दम्भ र अहंकारी मनोज नभइदिउन् जनकपुरवासीको प्रारम्भिक चाहना देखिन्छ।


Leave a Reply

Your email address will not be published.