‘अब डेमोक्रेटिक फोर्स बनाएर चुनावमा जाऔं’

उपेन्द्रजीहरू तयार हुनुहुन्छ भने एकताका लागि हामी खुला छौं

‘अब डेमोक्रेटिक फोर्स बनाएर चुनावमा जाऔं’

स्थानीय तह चुनावमा मधेस केन्द्रित दलहरूको शक्ति मधेसमै क्षिण भएको छ। मधेसलाई आधार बनाएर राजनीति गरिरहेका जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी (लोसपा) मधेसमा पहिलो शक्ति बन्न सकेन।

अघिल्लो चुनावको तुलनामा जसपाले केही सिट थपे पनि लोसपाले करिब १० सिटमा क्षति बेहोर्नु परेको छ। स्थानीय तहको चुनावी नतिजा र मधेसको आगामी राजनीतिको सेरोफेरामा रहेर लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीसँग आयोमेलकर्मी धैर्यकान्त दत्तले गरेको कुराकानी:

स्थानीय तह निर्वाचनमा तपाईंहरूको दलको परिणामलाई कसरी लिनुभएको छ?

मैले निर्वाचनको परिणामलाई उत्साहजनक हिसाबले हेरेको छु। कारण के हो भने एक हिसाबले हाम्रो पार्टी ६–७ महिना अगाडिमात्रै बनेको हो। हामीले राजपा बनायौं। राजपा बनेर मधेस आन्दोलनको रापतापका बेला हामीले २५–२६ सिट जितेका थियौं। त्यतिबेलाको फोरमले पनि लगभग उत्तिकै सिट ल्याएको थियो।

राजपाबाट फेरि हामी जसपा बन्यौं। त्यहाँबाट पनि छुट्टियौं। त्यति बेला करिब ७ वटा पालिकाका हाम्रा प्रमुखहरू जसपामा जानुभयो। जो राजपाबाट जितेका मेयरहरू थिए सातजना जसपातिर लाग्नुभयो। हामीलाई छाडेर जसपामा जानुभयो।

त्यसपछि हामी करिब करिब पार्टी विहीन अवस्थामा पुग्यौं। बल्लतल्ल लोसपा बनायौं। ठूलो टुटफुट पनि भयो। महिन्द्र रायजी र राजकिशोरजी जो राजपाबाट हुनुहुन्थयो उहाँहरू पनि जसपातिर लाग्नुभयो। अरू साथीहरू पनि गए। त्यतिबेला कम्तिमा पनि १५ जना प्रदेस सांसदहरू छाडेर जानुभयो। हामी त कमजोर भएर छुट्टिएका हौं नि।

एक हिसाबले हामी बेबारिसेजस्तो भयौं। कोही पार्टी पनि रहेन। सरकारमा पनि रहेनौं। प्रदेस सरकारबाट हामीलाई निकालियो। संघीय सरकारबाट बञ्चित रह्यौं।

पाँच दलीय गठबन्धन र एमालेले चुनाव लडिरहँदा हामी एक्लैले १६ पालिका जितेका छौं। सबै दल एक्ला–एक्लै लडेको भए अझ हाम्रो स्थिति के हुन्थ्यो हामीले देखाउँथ्यौं। महत्वपूर्ण विषय के हो भने पश्चिमतिर जहाँ हाम्रो खातै खुलेको थिएन कपिलवस्तु र रूपन्देहीमा दुई पालिका जितेका छौं।

यति प्रतिकूल अवस्थाका बाबजुद जसरी हामी अगाडि बढेका छौं त्यसले उत्साहित बनाएको छ। निगेटिभबाट सुरू गर्दा पनि निर्वाचनको परिणामलाई सकारात्मक हिसाबले लिएका छौं।

यद्यपि चुनावी हिसाबले हामी हिजोभन्दा कमजोर देखिएका छौं। जुन हिसाबले लोसपा बन्यो, न हामी प्रदेस सरकारमा थियौं। न केन्द्रीय सरकारमा थियौं। तैपनि हामीले १६ सिट पाएका छौं।

प्रदेस सरकारको नेतृत्व जसपाको हातमा थियो। केन्द्रमा पनि उसको सहभागिता छ। हाम्रा सबै नेता कार्यकर्ता जसपामा गएका थिए। त्यसको बाबजुद पनि जुन हिसाबले जसपा २३ र हामीले १६ सिट लिएर आएका छौं यसलाई हामीले उत्साहजनक रूपमै लिएका छौं। कतिपय ठाउँमा हामी निकतटम प्रतिद्वन्द्वी भएका छौं। ज्यादै कम मतले हारेका छौं।

हाम्रै क्याडरहरू जसपामा गएर जितेका छन्। जस्तै राजेशमान सिंह हाम्रै क्याडर थियो, अहिले जसपाबाट जितेका छन्। चारैतिरबाट घेराबन्दीमा पर्दा पनि १६ पालिकाको जितले हामीलाई उत्साह दिएको छ। आगामी दिनमा थप सकारात्मक परिणाम आउँछ।

अहिले त एक्लै लड्नुभयो। अब संघीय र प्रदेससभा निर्वाचन पनि आउँदैछ। त्यतिबेला पनि यसैगरी लड्नु हुन्छ कि गठबन्धन हुन्छ?

उहाँहरू पाँच दलीय गठबन्धन बनाएर चुनाव लड्नुभयो। त्यो उहाँहरूकै बीचको कुरा होला। गठबन्धनमा कसलाई फाइदा पुग्यो कसले क्षति बेहोर्नुपर्‌यो यो उहाँहरूले विश्लेषण गर्नु हुन्छ होला। गठबन्धन कायम रहन्छ कि टुट्छ त्यो उहाँहरूको विषयको कुरा हो।

हाम्रो भनाइ के हो भने नेपालको राजनीति जसरी ध्रुविकृत भइरहेको छ यस्तो अवस्थामा डेमोक्रेटिक फोर्स बनाऔं। डेमोक्रेटिक फोर्सेसहरूले पनि एउटा अलायन्स बनाएर जानुपर्छ भन्ने हाम्रो भनाइ हो।

वाम राजनीति जब ध्रवीकरण हुन्छ भने लोकतान्त्रिक शक्तिहरूको पनि ध्रवीकरण भएर जानुपर्छ। पाँच दलबीच अहिले अपवित्र गठबन्धन बनेको छ। आखिर राजनीति किन गर्ने त? सैद्धान्तिक अडानलाई आधार नबनाउने हो भने राजनीति किन गर्ने? पार्टी किन खडा गर्ने? निर्दलीय व्यवस्था बनाए भइहाल्यो नि।

विचारको आधारमा साम्यवाद र पूँजीवादगरी दुईवटा सिद्धान्तमा संसार विभाजित भएको छ नि। यसैलाई आधार मानेर कांग्रेस र कम्युनिस्ट पार्टीहरू बनेका हुन नि। दुईटै विचारधारा मिलेर चुनाव लड्ने र सरकार चलाउने हो भने बहुदलीय व्यवस्था किन चाहियो? लोकतान्त्रिक व्यवस्था किन चाहियो?

निर्वाचन भनेको विचारको आधारमा जनतामाझ जाने हो। जसको विचार जनताले मन पराउँछ उसले म्यान्डेट लिने हो र सरकार चलाउने हो। कांग्रेसले त आफ्नो कुरा लिएर जाने हो नि। कांग्रेस, माओवादी सबै मिलेर जाँदा कसको कुरा लिएर जाने होला? जनताले कसलाई भोट हाल्ने?

सैद्धान्तिक हिसाबले कांग्रेसविरूद्ध कम्युनिस्ट पार्टी जन्मिएको हो। अनि कांग्रेस र कम्युनिस्ट जनतामाझ के भन्न जाने? हिजो पञ्चायतविरूद्ध कांग्रेस र कम्युनिस्टहरू एक भएर लडेको थियो। पञ्चायतविरूद्ध लडे, राजाविरूद्ध लडे। अहिले कसको विरूद्ध लडिरहेका छन्। अहिले सिधा कुरा के हो भने ‘कालेकाले मिलेर खाउँ भाले’ मात्रै हो। अनि शक्ति बाँडचुँड गर्दा सैद्धान्तिक कुरा नगर्ने त?

मलाई के लाग्छ भने यो गठबन्धन भनेकै अपवित्र हो। नेकपा एमालेलाई कमजोर पार्न भनेर अरू सबै कम्युनिस्ट मिलाएर जाने हो भने विचारको लडाइँ कहाँ भयो त? अहिले जे जति भइरहेको छ त्यो सबै सैद्धान्तिक विचलन हो।

हाम्रो आग्रह के छ भने डेमोक्रेटिक फोर्सेसहरू एउटा धारमा आउनुपर्छ। उनीहरूको एउटा गठबन्धन बन्नुपर्छ। वामपन्थी विचारधारा बोक्नेहरूको एउटा गठबन्धन बन्नुपर्छ। र, चुनावमा जानुपर्छ।

वाम गठबन्धन त यसअघि पनि भएकै हो। तर टिक्न सकेन। फेरि सम्भव हेर्नु भएको छ?

हिजो नेपाली जनताले स्थायित्वको नाममा सारा कम्युनिस्टहरू एक ठाउँमा भएका बेला भोट हालेका थिए। करिब करिब दुई तिहाइ बहुमतको अवस्थामा पुर्‌याएका थिए वाम गठबन्धनलाई। तर कम्युनिस्टहरू त्यसलाई व्यवस्थापन गर्न नसकेर आपसी कलह र आपसी महत्वकांक्षाले त्यत्रो स्थायित्वको नाउँमा पाएको म्याडेटलाई बेइज्जत गरे। पार्टी तोडातोड फोडाफोड गरे।

यो विषय लिएर कांग्रेस जानु पर्‌यो नि जनताको बीचमा। कम्युनिस्ट पार्टीलाई दिएको मतको सम्मान उनीहरूले गर्न सकेन कांग्रेसले जनतालाई भन्न सक्नु प¥यो। कम्युनिस्टहरू देशमा शासन गर्ने लायक छैन भनेर भन्न सक्नु प¥यो। यो कुरा लिएर कांग्रेस जनताबीच जानु प¥यो। अनि कम्युनिस्टलाई बोकेर जाँदा जनतालाई कांग्रेसले के भन्ने? के आधारमा जनताले भोट हाल्ने?

हाम्रो भनाइ के हो भने स्वभाविक गठबन्धन बनाऔं। हामी अहिले राष्ट्रिय पार्टीको स्वरूपमा पनि छैनौं। हामी राज्य सञ्चालन गर्न सक्ने शक्तिशाली अवस्थामा पनि छैनौं। तर, डेमोक्रेटिक अलायन्स भन्ने हाम्रो आग्रह हो। लोकतान्त्रिक गठबन्धन बनाऔं। विचारको आधारमा र लोकतन्त्रमाथि विश्वास गर्नेहरूको गठबन्धन बनाऔं भन्ने हाम्रो भनाइ हो।

साम्यवादीहरूलाई पनि गठबन्धन बनाउन दिउँ। साम्यवादीलाई त जनताले दुई तिहाइ दिएको थियो। त्यो कुरा त साम्यवादीले कायम राख्न सकेनन्। यही विषय लिएर जानु पर्‌यो नि जनताकाबीच। यिनीहरू मुलुक चलाउने लायक छैन भनेर जनतालाई विश्वास दिलाउनु पर्‌यो। हामी लोकतान्त्रिक गठबन्धनको पक्षमा छौं।

केही महिनाभित्रै हुनलागेको संघीय र प्रदेससभा निर्वाचनमा तपाईंहरूको पार्टी र जसपाबीच फेरि एकताको सम्भावना देख्नुभएको छ?

मेरो के भनाइ छ भने। यो तितो सत्य हो। त्यो के भने अहिलेको परिणामबाट प्रष्ट भएको छ–सायद हामी जसपा नटुटेको भए, एक ढिक्का भएर चुनावमा गइदिएको भए मधेसको पहिलो शक्तिमात्रै नभएर नेपालको वैकल्पिक शक्तिको रूपमा हामी देखा पथ्र्यौं। अहिलेको रिजल्टले पनि देखाइसकेको छ।

टसल कहाँ छ भने जतिबेला संघीय समाजवादी फोरमलाई जुन आक्रमण भएको थियो पार्टी तोडफोडका लागि हामीले गएर काँध थापिदिएका हौं। हामीले काँध थापेको कुरा गल्ती हो भने हामीले गल्ती महसुस गर्नुप¥यो। होइन भने हामीले चाहिँ उहाँलाई काँध थापेर बचाइ दिने। बचाउनु नै गल्ती हो भने हामीले महसुस गर्नुप¥यो। बेकार बचायौं भनेर।

अहिले आएर उहाँ हिजोको कमीकमजोरी महसुस गर्ने कुरा गर्नु हुन्छ भने पहिले उहाँले आफ्नो कमीकमजोरी महसुस गर्नुपर्‌यो। मेरो अस्तित्व कसले जोगाइ दियो भनेर उपेन्द्रजीले बुझ्नु पनि पर्‌यो नि।

सत्य कुरा के हो भने राजनीतिमा एकता हुनै सक्दैन भन्ने कुरा हुँदैन। सहकार्य हुन सक्दैन भन्ने कुरा हुँदैन। यदि कसैले त्यस्तो कुरा गर्छ भने त्यो राजनीतिक कुरा होइन। विल्कुलै आग्रह पूर्वाग्रह हो।

एकताका लागि हामी खुला छौं। समान विचार बोकेका साथीहरूसँग सहकार्यका लागि सँधै तयार छौं। सहकार्य हुनु अत्यन्तै स्वभाविक हो। हामी वृहत्तर लोकतान्त्रिक गठबन्धनका लागि अगाडि बढेका छौं। लोकतन्त्रमा विश्वास गर्ने पार्टीभित्र एकता हुनुपर्छ भनिरहेका छौं भने मधेसकै निम्ति लडेका शक्तिहरूबीच एकता किन नहुने?

कमीकमजोरी दुवै पक्षको होला। तर एउटै कुरा म के भन्न चाहन्छु भने, हिजोको इतिहास पनि हामीले फर्केर हेर्नुपर्छ। इतिहासबाट हामीले पाठ पनि सिक्नुपर्छ।

हामीले जे मुद्दा बोकेर हिँडेका छौं त्यही मुद्दा बोकेर उपेन्द्रजीहरू पनि हिँड्नु भएको छ। हामी सबै पहिचान र अधिकारका लागि लडिरहेका छौं। त्यो शक्तिहरू एकै ठाउँमा बस्नुपर्ने आवश्यक्ता छ। आजको स्थितिले पनि त्यही देखाएको छ र समयको आवश्यक्ता पनि यही हो।

समयको आवश्यक्ता छ भनेर उहाँले महसुस गर्नुभयो भने हामी पनि महसुस गर्नेछौं। हामीले बाटो बन्द गरेको छैन। अब को पहिले भन्नु हुन्छ भने राजनीतिमा डायलगबाटै समस्याको समाधान निस्कने हो। मोनोलगबाट होइन।

यसका लागि जसपाको नेतृत्व दिल खोलेर आउँछ अगाडि कि समयको माग हो भने हामी तयार छौं। अगाडि जाने भन्ने के हो भने आपसी विश्वास, आपसी सम्मान, आपसी सदभाव र मुद्दाप्रतिको समर्थन यी सबै विषयलाई लिएर अगाडि जाने हो भने एकता सम्भव छ।

हिजो कसले कहाँ के ग¥यो भनेर कोट्याउन थाल्यो भने त्यो उचित हुँदैन। तर, हिजो कमीकमजोरी भएकै कारण एकताकाको कुरा महसुस गर्नु परेको हो। हामी एक ठाउँमा बसेको भए आज स्थानीय तह निर्वाचनमा हामी एब्स्योलुट हामी कब्जा गर्ने स्थितिमा हुने थियौं, यो त रियालिटी हो नि।

आगामी चुनावका लागि सच्चिएर जानु नै बुद्धिमानी हुन्छ। त्यसका लागि उहाँ पनि सच्चिनुप¥यो, हामी पनि सच्चिनुप¥यो। अब हामी मिलेर जानुप¥यो त्यसका लागि हामी तयार छौं।

एकीकरण भएको एक वर्ष नबित्दै तपाईंहरू जसपाबाट अलग हुनुभयो। फेरि एकीकरण गर्न विश्वासको वातावरण बन्नसक्छ?

किन सक्दैन? राजनीतिमा चाहिँ विश्वासको वातावरण भनेको परिस्थितिजन्य कुरा हो। यो अस्तित्वको कुरा पनि हो। जस्तै अहिले जसपाको प्वाइन्ट अफ भ्यूले हेर्ने हो भने– हामी छुट्टिने बेलामा हाम्रो १५ जना प्रदेस सांसद जसपामै रहे, ७ जना निर्वाचित पालिका प्रमुख उतै बसे। त्यसपछि उहाँहरू सरकारमै बस्नु भयो। हामी त सडकमा थियौं। सडकमा बेनामी हिसाबले घुमिरहेका थियौं।

देशको जुन राजनीतिक परिस्थिति बन्यो त्यसले गर्दा पार्टीको नाम पायौं र पार्टीको नाम पनि पायौं। त्यसपछि उहाँहरू संघीय सरकारमा हुनुहुन्थ्यो, हामीलाई त प्रदेस सरकारबाट पनि निकाल्नु भयो।

यो सबैको बाबजुद पनि अहिले स्थानीय तहको निर्वाचनमा जुन परिस्थिति देखियो ३० सिट उहाँहरूले ल्याउनु भयो। त्यसलाई विश्लेषण गरेर हामीले हे¥यौं भने जुनजुन उहाँहरूको स्ट्रङ एरिया थियो। जहाँ जसपाको अखाडा थियो। जस्तै सप्तरी लिउँ। सप्तरीमै उहाँहरूसँग हाम्रो पाँचजना निर्वाचित पालिका प्रमुखहरू जानुभएको थियो।

आज सप्तरीको अवस्था के छ भने उपेन्द्रजीकै निर्वाचन क्षेत्रमा तीनवटा पालिका उहाँले जित्नु भयो तीनवटा पालिका हामीले जित्यौं।

सिरहामा हामी पहिलेदेखि कमजोर थियौं। धनुषाको राजनीतिमा हामीले लुज गर्‌यौं, उहाँले अलिकति गेन गर्नुभयो।

महोत्तरीमा पाँच उहाँले जित्नु भयो, पाँच हामीले पनि जित्यौं। सर्लाहीमा एक उहाँले जित्नु भयो, एक हामीले जित्यौं। जबकि सर्लाहीमा महिन्द्ररायदेखि रामनरेशसम्म सब त्यहीँको हुनुहुन्छ। रौतहट र बाराको त्यही अवस्था रह्यो।

पर्सामा राजेशमान जित्नु भएको छ त्यो हाम्रो उम्मेदवार हो। उसको फेसले राजेशमान जितेको हो।

उहाँहरूले पनि एकदमै ठूलो एचिभमेन्ट गरेको भए छुट्टै कुरा हुन्थ्यो। तर, यो परिणामले कहाँ छु भनेर उहाँहरूले पनि गम्भीरतापूर्वक सोच्नुपर्छ। यो सबै कुरालाई मध्यनजर गरेर सहअस्तित्वका लागि, मुद्दा जोगाउन पनि र मधेसको आइडेन्टिटीका लागि पनि मधेसका शक्तिहरू एक ठाउँमा उभिनुपर्छ भनेर मैले महसुस गरेको छु। यसका लागि हामी ओपन छौं।

केही पहल सुरू भएको छ?

अहिले कुनै औपचारिक कुरा भएको छैन। भर्खर अहिले चुनाव सिध्याएर आएका छौं। आ–आफ्नो पार्टीमा समीक्षा गर्ने काम भइरहेको छ। एकताको विषयमा हामी पनि पार्टीभित्र छलफल गर्ने छौं।

अब आउने चुनावमा लोसपा र जसपा सँगै हुन्छ भनेर बुझ्न सकिन्छ?

अहिले केही बुझ्न सकिँदैन। हामी पनि पार्टीभित्र छलफल गर्छौं। पार्टीले पनि आफ्नो धारणा बनाउँछ। उहाँहरूले पनि धारणा बनाउनु हुन्छ। पार्टीबाट निर्णय हुनुपर्छ।


Leave a Reply

Your email address will not be published.