चस्मा होइन, काठमाडौंको ऐना बन्नुपर्छ बालेन

एक स्ट्रकचरल इन्जिनियरिङको काँधमा सामाजिक इन्जिनियरिङ

चस्मा होइन, काठमाडौंको ऐना बन्नुपर्छ बालेन

बालेन अब काठमाडौंको मेयर भए।

कालो चस्माबाट उनले देखेको काठमाडौं अनि सार देशले देखेको कालो चस्मा।

त्यो चस्माभित्रको नजरले काठमाडौंको वास्तविक साइज देख्ला वा त्यसको आकारमात्रै? पाँच वर्ष उनकै पोल्टामा छ अबको ५ वर्ष।

काठमाडौं महानगर उनको चस्माबाट ‘रियल’ साईजमा देखिनुपर्छ भन्ने मान्यता छ मेरो। उनको चस्मातिर महानगर बाहिरको पूरै उपत्यकासहित देशकै नजर छ।

योसँगै यतिबेला एउटा प्रसंग सम्झना हुन्छ, इमाइल दुर्खिमले घटनाको कार्यकारण सम्बन्ध (cause effect relationship) मा जोड दिएकाछन्।

यसका निम्ति सामाजिक गठनको नियम बुझ्नु अनिवार्य हुन्छ। बालेनले सामाजिक गठनको नियम कति बुझेका छन् उनको स्ट्रकचरल इन्जिनियरिङले सामाजिक इन्जिनियरिङलाई छिचोल्ने साध्य र साधन भेट्छ कि भेट्दैन? समय पूरै छ उनीसँग अनि, अवसर पनि।

काठमाडौं केवल भूगोल होईन, यो समाज पनि हो। समाज मूर्त हुँदैन। यो कुनै अखण्डित व्यवस्था पनि होइन। यहाँ अनेकन समूह हुन्छन् र छन्। समूहभित्र पनि उप-समुह बनेका हुन्छन्। यही समाजमा ब्यक्तिको स्वतन्त्रता पनि हुन्छ। त्यही स्वतन्त्रताको भरपुर प्रयोग हो बालेनको बर्चश्व। यही समाजले बनाएको रीतले नै उनी चुनिए। तसर्थ ब्यक्ति ब्यक्तिको सम्बन्ध नै समाजको परिधि हो।

मोरिस गिन्सवर्ग भन्छन्-‘सोसाईटि ईज कलेक्सन अफ इण्डिभिजुअल्स्।’ अर्थात समाज व्यक्तिहरुको संग्रह हो। र बालेन पनि यही संग्रहमा संग्रहित एक सदस्य हुन्। तर काठमाडौं उनलाई ऐना बनेको देख्न चाहन्छ। समाजको ऐना र उनी त्यो ऐना बन्न सक्नुपर्छ अनि अहिलेको आवश्यकता पनि। अध्येयता सि.एच. कुले भन्छन्- ‘ब्यक्ति विनाको समाज र समाज विनाको ब्यक्ति कल्पना गर्न सकिँदैन।’

बालेनका हकमा पनि यो लागु हुन्छ नै। उनी जन्मेको, हुर्केको समाज यही हो। स्कुलिङ्ग पनि यही समाज हो। भलै उनका पूर्ख्यौली समाज बेग्लै थियो होला। थप कुरा उनका शैक्षिक योग्यताका प्रमाणपत्रमा सभ्य समाजको ‘स्ट्याम्प’ पनि छ।

समाज कालक्रममा चल्छ।

समाजले घट्ना भन्दा पनि त्यस्को प्रक्रियालाई आत्मसाथ गरेको हुन्छ। रोवर्ट मरिसन म्याकिभर भन्छन्, समाज समय क्रममा मात्रै अवस्थित हुन्छ। उनी अमेरिकन सोसियोलोजिकल सोसाईटिका नेतृत्वकर्ता मध्येका एक हुन्। सन्दर्भ बालेन र यहाँको समाजको हो।

 

विकास त निरन्तर अघि बढ्ने प्रक्रिया हो, यो कसैले रोकेर रोकिने होइन, छेकेर छेकिने विषय पनि होइन। यो अवश्यंभावी हुन्छ। सरल समाज, आधुनिक र जटिल समाजको संगम हो काठमाडौं। बालेनलाई यही समाजलाई चित्रण गर्न सक्नुपर्ने चुनौति छ अब उनका सामु।

समाजमा सहयोग र संघर्ष दुवै हुन्छन्। समाज यति मात्रै पक्कै होईन यहाँ अन्य जीवहरूको पनि अस्तित्व छ। जस्तो कि जनावर, पशुपंक्षी आदि।

यतिबेलाको काठमाडौंको समाजको चासो भनेको सडकसँगै ढल, विहान उठ्ने बित्तिकै सूर्योदय नदेखिन बिजुलीका तारको जालो, इन्टरनेट र टेलिफोनको तारको गन्जागोल, साथमा अपेक्षित स्वच्छ पानी, ट्राफिक सहजतासँगै फोहोर ब्यवस्थापन, सामाजिक न्याय सहितको सुरक्षासँगै भरपर्दो स्वास्थ्य सेवा आवश्यकताका मुख्य सूची हुन्।

इमाइल दुर्खिमले वर्गीकरण गरेको समाज सरल समाज, सरल तर बहुखण्डीय समाज त्यस्तै मिश्रित बहुखण्डीय समाज त्यतिमात्रै होइन दोहोरो मिश्रित बहुखण्डीय समाज यहाँका पनि विषेशता नै हुन्।

बालेन समाजको यो इन्जिनियरिङलाई सम्बोधन गर्दा कति तैरिन्छन्, पौडन्छन वा किनार लाग्छन् समयचक्रले देखाउला नै। जनजातिय समाज, ओद्योगिक समाज, अलिकति कृषक समाज यहाँका पर्दा भित्रका विषेश समाज हुन्।

धार्मिक अवस्थामा समेत रहेको समाजको स्ट्रकचरल इन्जिनियरिङलाई बालेनको सिभिल इन्जिनियरिङले कसरी स्थापित गराउँछन् समाज उनलाई त्यही ऐनामा देख्नेछन्।

अन्तमा: काठमाडौंको सिभिलाईजेसनलाई बालेनको सिभिल र स्ट्रकचरल इन्जिनियरिङका स्केचहरूले रियल साईजमा दर्शाउँछ वा डाईमेन्सल साईज? अबका ५ बर्षमा देख्न पाईएला नै, त्यो समाजको ऐनाका रुपमा आओस्।

शुभेच्छा…


Leave a Reply

Your email address will not be published.