विकासका लागि राजनीतिभन्दा माथि उठेर काम गरौं : निधि

विकासका लागि राजनीतिभन्दा माथि उठेर काम गरौं : निधि

जनकपुरधाम – नेपाली कांग्रेसका पूर्वउपसभापति एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिले दलीय भावनामाथि उठेर विकासको यात्रालाई अगाडि बढाउनु पर्ने बताएका छन्।

जनकपुरधाम उपमहानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरूको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनकपुरको समग्र विकासका लागि दलीय राजनीतिभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका हुन्।

निधिले ऐतिहासिक धरोहर जनकपुरलाई सम्मानपूर्व अगाडि बढाउन आग्रह गरेका छन्।

निधिले जनकपुर फैलिइरहेकोले आउटर रिङ्ग रोड निर्माणको योजना अघि सार्न नवनिर्वाचित पदाधिकारीहरूलाई ध्यानाकर्षण गराए।

जनकपुरमा फोहोर व्यवस्थापन चुनौतिको रूपमा देखिएको भन्दै उनले यसका प्राथमिकतामा राखेर योजना बनाउन आग्रह गरे।

उनले जनकपुरमा एडिबीबाहेकका सडकहरू आफू भौतिकमन्त्री छँदा निर्णय गरेर निर्माण गर्न लगाएको बताए।

उनले धार्मिक पर्यटन, सांस्कृति पर्यटन, व्यापार प्रवर्द्धनका लागि जनकपुरलाई भारतको कोलकत्ता र अयोध्या जोड्न जरूरी रहेकोले यसका लागि काम गर्न नवनिर्वाचित प्रतिनिधिहरूलाई सुझाव दिएका छन्।

अहिलेको स्थानीय तह विगतको जस्तो निरीह नरहेको भन्दै उत्साह र निष्ठाका साथ पालिकाको कार्यसम्पादन गर्न आग्रह गरे। नवनिर्वाचित जनप्रतिनिधिहरूले जनकपुर र यहाँको नगरवासीको पक्षमा काम गर्नुपर्नेमा उनले जोड दिएका छन्।

जसपाले जनकपुरमा कांग्रेसले धोका दिएको आरोप लगाइरहँदा निधिले मेयरमा निर्वाचित मनोज साह बागी भएर नभइ स्वतन्त्र चुनाव लडेको जिकिर गरे।

‘मानिसले धेरैखाले टिकाटिप्पणी गरिरहेका छन्, मलाई त्यससँग मतलब भएन,’ उनले भने, ‘मनोजजी बागी भएर होइन स्वतन्त्र भएर चुनाव लड्नु भएको हो। उहाँ पूर्ववत कांग्रेसी हुनुहुन्छ।’

मेयरमा चुनाव लडेका उम्मेदवारहरू पनि पूर्वकांग्रेसी नै रहेको भन्दै उनले पुरानो घरमा फर्कन आग्रह गरे।

‘लालकिशोर साह, शिवशंकर साह, जानकीराम साह पनि पूर्वकांग्रेसी नै हुनुहुन्छ। जमानामा महन्थ ठाकुर र वृषेशचन्द्र लाल पनि कांग्रेस नै हुनुहुन्थ्यो,’ उनले भने, ‘सबैजनालाई कांग्रेसमा आउन मेरो आग्रह छ। पूर्ववत पार्टीमा फर्कन कांग्रेसको ढोका सँधै खुलेको छ। यस मामिलामा हाम्रो सभापति शेरबहादुर देउवाजी झनै उदार हुनुहुन्छ।’

नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष र वडा सदस्यहरूले सपथग्रहण समारोहलाई बहिष्कार गरेका छन्।


Leave a Reply

Your email address will not be published.