पाँच अर्बको कर्जा फसेपछि एनआइबिएल ‘संकट’ मा

प्रोभिजनिङ गर्न राष्ट्र बैंकको निर्देशन

पाँच अर्बको कर्जा फसेपछि एनआइबिएल ‘संकट’ मा

काठमाडौं-

प्रमुख वाणिज्य बैंकहरूमध्ये एक नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) ले अर्बौं रुपैयाँबराबरको कर्जा उठाउन नसकेपछि नेपाल राष्ट्र बैंकले आगामी असारभित्र समस्या सल्टाउन उसलाई चेतावनी दिएको छ।

एनआइबिएलले तीनजना व्यापारीलाई भिन्नाभिन्नै शीर्षकमा ५ अर्ब २० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको थियो। उक्त परिमाणबराबरको कर्जाको साँवा र ब्याज उठाउन एनआइबिएललाई हम्मेहम्मे परिरहेको छ। यही कारण बैंक ‘ठूलो संकट’ मा फसेको छ।

ठूलो परिमाणको कर्जाले बैंकको वित्तीय स्वास्थ्य नै खराब देखिएपछि केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले एनआइबिएलका अध्यक्ष पृथ्वीबहादुर पाँडे, प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेलगायत उच्च अधिकारीहरूलाई पटक–पटक चेतावनी दिएका छन्।

‘गभर्नर साबले एनआइबिएलका अध्यक्ष, सिइओलगायत उच्च अधिकारीहरूलाई बोलाएर आगामी असार मसान्तभित्र उक्त अर्बौं रुपैयाँ कर्जाको साँवा–ब्याज उठाउनैपर्ने वा नसके ‘प्रोभिजनिङ’ गर्न चेतावनी दिनुभएको छ,’ राष्ट्र बैंक विश्वस्त स्रोतले आयोमेलसँग भन्यो, ‘यो घटनाले एनआइबिएलको वित्तीय अवस्था जोखिमपूर्ण रहेको पुष्टि भएको छ।’

एनआइबिएलकै एक सञ्चालकले पनि यो घटनालाई पुष्टि गरेका छन्। तर, उनले आफ्नो नाम उल्लेख गर्न चाहेनन्।

‘हो गभर्नर अधिकारीले बैंकका अध्यक्ष र सिइओ दुवैलाई ठूलो परिमाणबराबरको उक्त कर्जाबारे सचेत गराउनुभएको छ,’ ती सञ्चालकले भने, ‘बाहिर हेर्दा एनआइबिएल राम्रो बैंक देखिन्छ तर यसको वित्तीय स्वास्थ्य जोखिमपूर्ण हुँदै गएको अब धेरै समय लुकाउन सकिँदैन।’

राष्ट्र बैंक स्रोतअनुसार एनआइबिएलले तीन व्यापारीहरू आरके अग्रवाल, श्याम मल र सुशील थापालाई ५ अर्ब २० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ। तर, लामो समयदेखि उक्त कर्जाको साँवा र ब्याज भने एनआइबिएलले उठाउन सकेको छैन।

स्रोतअनुसार एनआइबिएलले नेपाल विद्युत प्राधिकरणमा विभिन्न सामान आपूर्ति गर्ने ठेकेदार आरके अग्रवाललाई २ अर्ब २० करोड रुपैयाँ कर्जा दिएको छ। त्यसैगरी वीरगन्ज बसेर कोइला व्यापार गर्ने भारतीय व्यापारी श्याम मललाई २ अर्ब कर्जा दिएको छ।

त्यस्तै अर्का व्यापारी सुशील थापालाई १ अर्ब रुपैयाँ कर्जा दिएको छ। लामो समय ताकेता गर्दा पनि तीनैजनाको नाममा प्रवाह भएको उक्त परिमाणबराबरको कर्जाको साँवा र ब्याज उठाउन एनआइबिएल ‘असफल’ हुँदै आएको छ।

‘साँच्चै भन्नुपर्दा एनआइबिएल संकटमा छ,’ ती सञ्चालकले भने, ‘कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रभावले समस्या थपेकै थियो, त्यसमाथि व्यवस्थापनको गलत निर्णयले बैंकको वित्तीय अवस्था झन् जोखिममा पुगेको छ।’

यदि एन्आइबिएलले ५ अर्ब रुपैयाँभन्दा बढी कर्जाको साँवा–ब्याज उठाउन सकेन भने प्रोभिजनिङ गनुपर्ने हुन्छ। यसो ग¥यो भने बैंकका सेयरधनीहरूले पाउने लाभांश घट्ने छ।

एनआइबिएलको २०७८ चैत ३० सम्मको वित्तीय हिसाबअनुसार विभिन्न ग्राहकका नाममा १ खर्ब ६५ अर्ब २१ करोड ७ लाख २६ हजार रुपैयाँबराबरको कर्जा प्रवाह भएको छ।

त्यस्तै १ खर्ब ८० अर्ब २ करोड १३ लाख ४४ हजार रुपैयाँबराबरको निक्षेप संकल गरेको एनआइबिएलको कूल दायित्व २ खर्ब ४ अर्ब ५९ करोड १८ लाख ६५ हजार रुपैयाँबराबर छ। त्यसैगरी कूल सम्पत्ति ३३ अर्ब १३ करोड ११ लाख ४३ हजार रुपैयाँबराबर छ।

यस हिसाबले एनआइबिएलको कूल दायित्व तथा सम्पत्ति २ खर्ब ३७ अर्ब ७२ करोड ३० लाख ८ हजार रुपैयाँबराबर छ।


Leave a Reply

Your email address will not be published.