माधव नेपालले भने : संसदलाई आरोप-प्रत्यारोपको थलो नबनाउँ
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद आरोप-प्रत्यारोप गर्ने थलो नभएको बताएका छन्। नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले उक्त कुरा बताएका हुन्।
एमाले अध्यक्ष र कांग्रेसबीच संसदमा चलेको आरोप-प्रत्यारोपलाई लक्षित गर्दै उनले भने, ‘हामीले के गर्यौं के गर्नुपर्छ भनेर आत्मसमिक्षा गर्नुपर्छ। यो आरोप र प्रत्यारोपले हामीलाई कहिँ पुर्याउँदैन। तसर्थ यो संसद बैठक आरोप-प्रत्यारोप गर्ने थलो होइन र त्यस्तो रुपमा हामीले लान पनि हुन्न। यसलाई विचार मन्थन गर्ने थलोको रुपमा, देशका बारेमा जनताका बारेमा समाजका समस्याका बारेमा गम्भीर विचार मन्थन गर्ने थलोका रुपमा यसलाई हामीले अगाडि बढाउनुपर्छ।’
‘आआफ्ना कमीकमजोरी केके भए त्यो आत्मसमिक्षा पनि गर्नुपर्छ। अरुलाई दोषारोपण गरेर आफू पानीमाथिको ओभानोको रुपमा प्रस्तुत भएर कसैले पत्याउनेवाला पनि छैन। जम्मै कुरा छर्लङ्ग छ’, उनले अगाडि भने।
देश रहे हामी रहन्छौं भन्दै नेपालले परराष्ट्र नीतिमा चनाखो हुनैपर्ने बताए। उनले असंलग्नताको नीतिमा देश चल्नुपर्ने बताए। ‘देशको भूमि अर्को देशको विरुद्धमा प्रयोग हुन दिनुहुँदैन’, नेपालले भने।
उनले अहिले देशका केही पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएको भन्दै राजनीतिक दल तथा नेताप्रति जनतामा वितृष्णा बढेकोले राम्रो काम गर्न गम्भीर बन्नुपर्ने बताए। ‘काठमाडौंमा बालेन र धरानमा हर्कजी स्वतन्त्रका रुपमा विजयी हुनुभएको छ। जनताले आफूलाई रुचाएकालाई मतदान गरेका छन्। उनीहरु आफ्नो मेहनतले विजयी भएका हुन्। राजनीतिप्रति देखिएको वितृष्णाप्रति हामीले ध्यान दिन आवश्यक छ’, उनले भने।