महिलाको चरित्रहत्या गर्ने प्रहरी जवानसहित दुई पक्राउ
काठमाडौं – प्रहरीको साइबर व्यूरोले महिलाको चरित्रहत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। एकजना भने नेपाल प्रहरीका वहालवाला कर्मचारी रहेका छन्।
विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुर गरेको आरोपमा रौतहटका घर भइ धनुषामा कार्यरत प्रहरी जवान कृष्णकुमार यादव र विराटनगर घर भएका मोहम्मद कसिमलाई धरान प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याइएको छ।
यादवले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाएर प्रलोभनमा पारी खिचिएका अन्तरङ्ग तस्वीहरू सामाजिक सञ्जालमा पोष्ट गर्ने, धम्क्याएर पीडितलाई मानसिक तनाव दिई चरित्र हत्यासमेत गरेको दाबी गरिएको छ।
कासिममाथि सामाजिक सञ्जालमा नक्कली एकाउन्ट खोली युवतीको अन्तरङ्गका तस्वीर विभिन्न व्यक्तिलाई पठाइ चरित्र हत्या गरेको आरोप छ। काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान जारी रहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।