‘ओलीको काखमा हुर्केका’ सिवाकोटी माओवादी कोटामा राष्ट्र बैंक सञ्चालक

‘ओलीको काखमा हुर्केका’ सिवाकोटी माओवादी कोटामा राष्ट्र बैंक सञ्चालक

काठमाडौं।

मुलुकको बैंक तथा वित्तीय संस्थाहरूको नियामक निकाय, अझ भनौं नोट छाप्ने र जारी गर्ने निकाय नेपाल राष्ट्र बैंक। यति ठूलो निकायको सञ्चालक सदस्य हुन लरतरो पाराले हुँदैन, ठूलै पापड बेल्नुपर्छ। यतिसम्म कि जीवनभरि साथ दिएको राजनीतिक दल पनि त्याग्न सक्नुपर्छ।

राष्ट्र बैंकको सञ्चालक समिति सदस्य हुन एकजना खाँट्टी एमाले कार्यकर्ताले जीवनभरिको राजनीतिक ओतलाई तिलाञ्जली दिएका छन्।

उनी अरु कोही होइनन्, बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीबाट राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनियताको शपथ लिएका चिन्तामणि सिवाकोटी हुन्। उनी आगामी पाँच वर्षका लागि नियुक्त भएका हुन्।

उनी लरतरो पाराले केन्द्रीय बैंक सञ्चालक बनेका होइनन्। उनी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नरसमेत हुन्। आधा जीवन राष्ट्र बैंकमा बिताउँदा सिवाकोटी सधैं नेकपा एमालेको कार्यकर्ताकै ‘हैसियत’ मा रहे।

खासमा सिवाकोटी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘काखमा हुर्केका’ कार्यकर्ता थिए। एमालेकै नाम, शक्ति र पहुँचका कारण उनी डेपुटी गभर्नरसम्म हुन सफल भएका थिए।

२०७६ चैत २४ गते केपी ओली नेतृत्वको सरकारले राष्ट्र बैंकमा महाप्रसाद अधिकारीलाई नयाँ गभर्नरका रूपमा नियुक्त गरेको थियो। तर, त्यसबेला गभर्नर बन्ने दौडमा डेपुटी गभर्नर सिवाकोटी पनि सँगसँगै थिए।

त्यसबेलाका अर्थमन्त्री तथा पूर्वगभर्नर युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले लगानी बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) अधिकारी, तत्कालीन डेपुटी गभर्नर सिवाकोटी र पूर्वसचिव केशव भट्टराईको नाम सिफारिस गरेको थियो। तर, गभर्नरको बाजी भने अधिकारीले आफ्नो पोल्टामा पार्न सफल भएका थिए।

सिवाकोटी र एमाले अध्यक्ष ओली दुवैको जन्मथलो तेह्रथुम हो। पछि दुवैजना झापा बसाइ सरेका हुन्। ओली अहिले भक्तपुर बालकोटका वासिन्दा हुन् भने सिवाकोटी काठमाडौं महानगरपालिका-५ हाँडीगाउँका वासिन्दा हुन्।

२०७६ फागुन दोस्रो साता प्रधानमन्त्री ओलीको जन्मदिन मनाउने कार्यक्रम उनको जन्मथलो तेह्रथुम आठराई गाउँपालिकामा तय भएपछि राष्ट्र बैंकका डेपुटी गभर्नर सिवाकोटी त्यहीँ पुगेर ओलीलाई शुभकामना दिएका थिए।

त्यसको केही दिनअघि सिवाकोटीले आफूद्वारा लिखित पुस्तक ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ विमोचन र ‘समृद्ध नेपाल सुखी नेपाली’ शीर्षकको गीत सार्वजनिकीकरण कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारभित्रै गराइदिए। ओलीले नै उनको पुस्तक विमोचन र गीत सार्वजनिक गरिदिएका थिए।

सिवाकोटी कतिसम्म ‘शक्तिशाली’ छन् भन्ने उदाहरण यसले पुष्टि गर्छ।

‘अब नेकपा एमाले अर्थात केपी शर्मा ओली पाँच वर्ष सत्तामा आउँदैनन् भन्ने निर्क्योल भएपछि सिवाकोटीले पार्टी परिवर्तन गरेका थिए,’ उनी निकट स्रोतले दाबीका साथ भन्यो।

‘तर, नेकपा माओवादी र नेपाली कांग्रेसले सिवाकोटीलाई किन राष्ट्र बैंक सञ्चालक समिति सदस्य बनाए भन्ने बुझ्न गाह्रो छ,’ सम्बद्ध स्रोत भन्छ, ‘सायद गठबन्धन सरकार भएका कारण सिवाकोटीलाई माओवादीको कोटामा रहेको एक सदस्यको भाग चिठ्ठा परेको हुनसक्छ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र नेकपा माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्रीको कुुर्सीमा बसेका बेला सिवाकोटीलाई ‘ईश्वर दाहिना’ भएको स्रोतको भनाइ छ।

यसअघि माओवादी कोटाबाट राष्ट्र बैंक सञ्चालक समिति सदस्य रहेका श्रीराम पौडेलको पाँच वर्षे कार्यकाल सकिएपछि रिक्त स्थानमा पूर्वडेपुटी गभर्नर सिवाकोटीलाई नियुक्त गरिएको हो।

अर्को रिक्त सदस्यमा राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक शंकरप्रसाद आचार्य नियुक्त भएका छन्। दुवैजनालाई अर्थ मन्त्रालयको सिफारिसमा सरकारले राष्ट्र बैंक सञ्चालक सदस्य नियुक्त गरेको हो।

पाँच सञ्चालक सदस्य राष्ट्र बैंककै पेन्सनर

राष्ट्र बैंकको सात सदस्यीय सञ्चालक समितिका पाँच सदस्य त्यही संस्थामै मासिक निवृत्तिभरण खाने ‘पेन्सनर’ हुन्।

राष्ट्र बैंक सञ्चालक समिति अध्यक्ष तथा गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बमबहादुर मिश्र तथा नवनियुक्त सदस्यद्वय पूर्वडेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र पूर्वकार्यकारी निर्देशक शंकरप्रसाद आचार्य पाँचैजना राष्ट्र बैंकका पेन्सनर हुन्। पाँचैजना कार्यकारी निर्देशकबाट सेवानिवृत्त भइसकेका कर्मचारी हुन्।

सञ्चालक समितिको पदेन सदस्यमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, छन् भने अर्का सदस्यमा चार्टर्ड एकाउन्टेन्ट सुबोधकुमार कर्ण छन्।

वर्तमान गभर्नर अधिकारी डेपुटी गभर्नर हुँदा हालका डेपुटी गभर्नरद्वय ढुंगाना र मिश्र उपनिर्देशक थिए। तर, सिवाकोटी डेपुटी गभर्नर हुँदा भने उनीहरू दुवैजना निर्देशक बनेका थिए।

 


Leave a Reply

Your email address will not be published.