एमालेले देखेको ‘अन्तर्घात’

एमालेले देखेको ‘अन्तर्घात’

स्थानीय तह निर्वाचनका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार दलहरूको गठबन्धनलाई खिसी गर्दै एमाले एक्लै लड्ने भनिरहे।

चुनाव तर चुनाव संघारमा आउँदै गर्दा एक्लै चुनाव लड्ने अडानमा ओली त्यसमै कायम रहन सकेनन्। उनी राप्रपा नेपाल, परिवार दललगायतका ८ दलहरूसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिए।

चुनावमा एकातिर सत्तारुढ पाँच दल र अर्कोतिर एमालेसहितको आठ दलको गठबन्धन प्रतिस्पर्धामा थियो।

चुनावअघि ओलीले पाँच दलीय गठबन्धनलाई ‘एक–एक किलोको ढक’ भनेर व्यङ्ग्य गरे। ओलीको भनाइ थियो– ‘गठबन्धन ढक हो। अनि, एमाले क्विन्टल।’

गठबन्धनलाई मात्रै होइन ओलीले एमालेबाट अलग्गिएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमाथि पनि निरन्तर व्यङ्ग्य गरिरहे।

एमालेका पूर्वअध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालको नेतृत्वमा गत भदौमा बनेको एकीकृत समाजवादीलाई टिक्नै नदिन एमालेले लामो समयसम्म प्रयास गरिरह्यो। प्रतिनिधिसभाको अवरोध त्यसैको प्रतिक्रिया थियो।

यहाँसम्म कि चुनाव हुनुअघिसम्म अध्यक्ष ओलीसहित एमालेका नेताहरूले एकीकृत समाजवादीले पार्टीको रूपमा स्वीकार गरेनन्। ओलीले सार्वजनिक मञ्चहरूबाटै एकीकृत समाजवादीलाई ‘माकुने गुट’ भनिरहे। पार्टी नै नबनेको दाबी गरिरहे।

एकीकृत समाजवादी स्थानीय तह चुनावमा जित्नै नसक्ने आत्मविश्वास देखिन्थ्यो ओली र एमालेका नेताहरूमा। त्यसैले होला ओलीनिकट एमाले नेता एवं व्यवसायी दुर्गा प्रसाईंले ‘एकीकृत समाजवादी एक सिट पनि जिते, मेरो सबै सम्पत्ति सरकारको नाममा गरिदिनु र म त्यही दिन वृन्दावन जान्छु’ सार्वजनिक रूपमै आह्वान गरे।

तर, २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन एमाले अध्यक्ष ओली र उनका पार्टीले सोचेभन्दा इतर आइदिएको छ। स्थानीय तह निर्वाचनमा भोग्नु परेको पराजयले रक्षात्मक अवस्थामा पुगेको एमाले ‘ढक भयो, गठबन्धन क्विन्टल।’

ओलीले दाबी गरिरहेको भन्दा फरक नतिजा पाँच दलीय गठबन्धनले ल्याएको छ नै। ८ महिनाअघि जन्मिएको एकीकृत समाजवादीले पनि महानगरसहित अरू पालिकाहरूमा जित हासिल गरेको छ।

एकीकृत समाजवादीले पोखरा महानगपालिकासहित २२ पालिकाको प्रमुख-अध्यक्ष जितेको छ। त्यस्तै २३ उपप्रमुख-उपाध्यक्ष र अन्य पदहरूमा पनि जित निकालेको छ। कतिपय पालिकामा गठबन्धनको सहयोगमा निर्वाचन जितेको भए पनि एकीकृत समाजवादीले आफ्नो अस्तित्व देखाएको छ।

कैयौं पालिकामा त एकीकृत समाजवादीले एमालेकै उम्मेदवारलाई पराजित गरेका छन्। रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीका उम्मेदवारले कांग्रेस, एमाले तथा माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरेका छन्।

त्यस्तै सल्यानको कपुरकोट गाउँपालिका, मुगुको सोरु, उदयपुरको उदयपुरगढी गाउँपालिकामा एमालेकै उम्मेदवारले पराजित गरेको छ, एकीकृत समाजवादीले।

गठबन्धनको हिसाबले एकीकृत समाजवादीको पक्षमा आएको परिणाम सन्तोषजनक नरहेको पार्टीका नेताहरूले बताउने गरेका छन्। परिणामलाई हेरेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नै असन्तुष्टि पोखिसकेका छन्।

यद्यपि निर्वाचनकै परिणामका कारण गठबन्धन नटुट्ने पनि उनले बताएका छन्।

२०७४ मा एक्लै चुनाव लड्दा देशका २ महानगर, ७ उपमहानगरपालिकासहित २९४ स्थानीय तह जितेको त्यही एमाले अहिले २०५ पालिकाको नेतृत्व जितेको छ।

दुई उपमहानगर जित्न सफल भए पनि यसअघि जितेको काठमाडौं र पोखरा महानगरको नेतृत्व एमालेले गुमाउनु परेको छ। समग्रमा उसलाई ८९ पालिकाको नेतृत्व घाटा लागेको देखिन्छ।

टिकट वितरण, कार्यकर्ता परिचालनलगायतका कारणहरू पनि होलान्। तर, धेरै हदसम्म एकीकृत समाजवादीको निर्माणलाई नै एमाले पराजयको प्रमुख कारणको रूपमा हेरिएको छ।

गठबन्धनका कारण स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन बढी प्रभावशाली हुने आकलन गरिए पनि व्यवहारमा अपेक्षाकृत सफल हुन नसकेको एकीकृत समाजवादीको ठहर छ।

कांग्रेस र माओवादीले मात्रै फाइदा लिनेगरी उम्मेदवारी तय गरिहँदा एमालेलाई प्रभाव पर्न सक्ने कतिपय ठाउँमा उसले आफ्नो विरासत जोगाउन सफल भएको एकीकृत समाजवादीको निष्कर्ष छ।

आफूहरूलाई सिट नदिँदा वाम बर्चस्व रहेको कलैया, घोराहीजस्ता उपमहानगरमा एमालेले जित निकालेको एकीकृत समाजवादीका नेताहरूको ठम्याइ छ।

विभाजनअघि उम्मेदवारहरूले एमालेको सग्लो मत पाएर निर्वाचित भए। २०७४ को निर्वाचनमा एमाले पहिलो राजनीतिक शक्ति बन्न सफल भयो। यसपटक एमालेको मत विभाजित भएर एकीकृत समाजवादीका उम्मेदवारतिर गयो।

तर, एमालेले भने आफ्नो ‘पराजय’ को कारण एकीकृत समाजवादी नभएर धाँधली र अन्तर्घात रहेको तर्क गरिरहेको छ।

स्थानीय तह चुनावमा पराजयको प्रमुख कारण अन्तर्घात भएको बताएका छन्।

‘यस पटकको चुनावमा अन्य दलमा नभइ एमालेभित्र अन्तर्घात भएको छ। कांग्रेस, माओवादी र माधवकुमार नेपालको पार्टीमा होइन यसपटक एमालेमा अन्तर्घात भयो,’ बुधबार संसदीय दलको बैठकमा ओलीले भनेका थिए,‘कहाँबाट सिके यस्तो। यस विषयमा वृहत्तरूपमा समीक्षा गरिनुपर्छ।’

चार–चारवटा महानगरपालिकामा उपमेयर जित्नु अनि मेयर हार्नु अन्तर्घातबाहेक अरू केही हुन नसक्ने उनको भनाइ थियो।

१ जेठमा महासचिव शंकर पोखरेलले निकालेको विज्ञप्ति र ३ जेठमा प्रतिनिधिसभामा उपमहासचिव प्रदीप ज्ञवालीको सम्बोधन निर्वाचनमा धाँधलीको संकेत गरेका छन्।

ज्ञवालीले त एकीकृत समाजवादीतर्फ इंगित गर्दै जनताले ‘विभाजनकारी’ लाई सजाय दिएको दाबी गरे। ‘अदालतले कारबाही नगरे पनि स्थानीय तह निर्वाचनमार्फत जनताले उचित फैसला गरेका छन् भन्ने मलाई लाग्छ। विभाजनका कारकहरूको परिणाम हामीले हेरिरहेका छौं,’ उनले भनेका थिए।

निर्वाचनको परिणामबाट त्यति धेरै सन्तुष्ट नदेखिएको एकीकृत समाजवादी भने जनताले एमालेलाई सजाय दिएको तर्क गरिरहेको छ।

‘नेपाली जनताले मुलुकलाई प्रतिगामी दिशामा लैजाने, लोकतन्त्रविरोधी, संविधान समाप्त गर्न चाहने शक्तिलाई सजाय दियो,’ एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठ भन्छन्।


Leave a Reply

Your email address will not be published.