स्वास्थ्यका ठेक्कामा जेलिएको ‘समाजवादी’ तार

स्वास्थ्यका ठेक्कामा जेलिएको ‘समाजवादी’ तार

काठमाडौं–स्थानीय तहको निर्वाचनको तयारी जोडतोडले चलिरहेका बेला गत चैतको पहिलो साता बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले ६४ करोडका स्वास्थ्य सामग्री खरिदका लागि टेण्डर आव्हान गर्‍यो। जसमा ८ करोडको पोर्टेबल अल्ट्रासोनोग्राफी (युएसजी) मेसिन, ५ करोड ४७ लाखको लिक्विड वेस्ट ट्रिटमेन्ट सिस्टम, ३२ करोडको सीटी स्क्यान मेसिन र १६ करोडको एमआरआई मेसिन थिए।

यी सबै टेण्डरका एउटै विशेषता थिए–धेरै बजेटमा कमजोर स्पेसिफिकेसन। र, तिनमा प्रशस्त अस्पष्टता र त्रुटि थिए। टेण्डरका स्पेसिफिकेसन कुनै निश्चित आपूर्तिकर्तालाई मात्र मिल्ने गरी बनाइएका थिए।

यो त भयो बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको कुरा।

यता, संघअन्तर्गतको स्वास्थ्य सेवा विभागले पनि चैतमै बागमती प्रदेशकै शैलीमा करोडौका स्वास्थ्य सामग्री किन्ने हतार गर्‍यो। धमाधम टेण्डर आव्हान गरिए। चुनावको हतारोका बीच टेण्डर खोलिए। चुनावको दौडादौडका बीच यसको वास्ता कसैलाई भएन।

स्वास्थ्य सेवा विभागको अल्ट्रासाउण्ड खरिद प्रक्रियाविरुद्ध उजुरी, छानिएको कम्पनीको स्पेसिफिकेसन नपुग्ने दाबी

विभागले ३१ करोड रुपैयाँको थ्रि टेस्ला एमआरआई मेसिन, ३० करोडको पोर्टेबल अल्ट्रासाउण्ड मेसिन र १४ करोडको मोबाइल डिजिटल रेडियोग्राफी(डीआर) मेसिन खरिदका लागि प्रक्रिया अघि बढायो। यिनमा पनि निश्चित आपूर्तिकर्तालाई मात्रै मिल्ने गरी स्पेसिफिकेसन राखियो।

३० करोडको पोर्टेबल अल्ट्रासाउण्ड मेसिन खरिदका लागि लुम्बिनी हेल्थकेयर प्रालिलाई छनोट पनि गरियो। तर उक्त कम्पनीको स्पेसिफिकेसन नपुग्ने भनी उजुरीसमेत परेको छ। कृष्णा इन्टरनेशनल र म्याक्स मेडिटेक गरी दुई कम्पनीले उजुरी गरेका छन्। हालसम्म उजुरीमाथि कारबाही अघि बढाइएका छैनन्।

ठेक्कामा जोडिएको ‘तार’
चुनावमा मुलुक व्यस्त भइरहँदा बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र केन्द्रीय स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागलाई स्वास्थ्य सामग्री किन्ने हतारो किन पर्‍यो त?

सीटी स्क्यान खरिदमा ‘सेटिङ’ बारे छानबिन गर्न समिति गठन

स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्री विरोध खतिवडा र बागमती प्रदेशको नेतृत्व लिएका मुख्यमन्त्री राजेन्द्र पाण्डे दुवै नेकपा एकीकृत समाजवादीका नेता हुन्। एमालेबाट विभाजन भएर एकीकृत समाजवादी गठन भएको भर्खर ८ महिनामात्र (भदौ ९, २०७८ मा निर्वाचन आयोगबाट मान्यताप्राप्त) भएको छ। स्रोतका अनुसार एकीकृत समाजवादी अहिले पार्टीको संगठन स्थापित गर्ने चुनौतीका बीच अघि बढिरहेको छ। यहीबीचमा पार्टीलाई चाहिने अर्को अत्यावश्यक कुरा हो–खर्च व्यवस्थापन।

सोही उद्देश्यले बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागले हतारहतार स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाएको स्रोतको भनाइ छ।

स्वास्थ्य सामग्री खरिदमा ‘सेटिङ’: स्पेसिफिकेसनका त्रुटि सच्याउन बागमती स्वास्थ्य मन्त्रालयको अटेरी

विभागको ठेक्का प्रक्रिया अघि बढाउन पूर्वस्वास्थ्य राज्यमन्त्री एवं हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको सक्रियता एवं स्वास्थ्यमन्त्री खतिवडाको सहयोग रहेको स्रोतको दाबी छ। यसमा मन्त्रीले सचिव रोशन पोखरेललाई समेत ‘बाइपास’ गरेको बताइएको छ।

स्रोतका अनुसार टेण्डर प्रक्रिया सुरु गर्नुअघि लुम्बिनी हेल्थकेयर प्रालिका सञ्चालक पोष्टराज ज्ञवाली र स्वास्थ्यमन्त्री विरोध खतिवडाबीच कमिसनका विषयमा ‘डिल’ भएको थियो। खतिवडाले पार्टीका नाममा डिल गरेका थिए भने १५ प्रतिशत कमिसनमा कुरा टुंगिएको थियो।

सोहीअनुसारको स्पेसिफिकेसन राखी टेण्डर अघि बढाइएको स्रोतको दाबी छ।

चुनावअघि नै अर्बकाे स्वास्थ्य उपकरण किन्ने हतार, स्पेसिफिकेसनमै ‘सेटिङ’

यो विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसम्म पनि कुरा पुगेको थियो। तर, अहिलेसम्म खरिद प्रक्रिया विनाअवरोध अघि बढेकाले स्वास्थ्य सेवा विभाग र बागमती प्रदेशका स्वास्थ्य सामग्री खरिदमा अध्यक्ष नेपालको समेत ‘मौन समर्थन’ रहेको रुपमा बुझ्न सकिने स्रोतको दाबी छ।

बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको टेण्डरको प्राविधिक स्पेसिफिकेसनमा त्रुटि र अस्पष्टता रहेको कुरा आएपछि चैत १७ मा भएको प्रि–बिड मिटिङमा सबै टेण्डरकर्ताहरुले त्रुटिका बारेमा औंल्याएका थिए। उक्त बैठकमा टेण्डरकर्ताहरु र व्यवस्थापन केन्द्रका पदाधिकारी उपस्थित थिए। तर टेण्डरको अस्पष्टता सच्चिएन। खरिद प्रक्रिया अघि बढ्यो। यसले पनि टेण्डर प्रक्रियाको ‘सेटिङ’ मा सबै मिलेको रुपमा बुझ्न सकिने स्रोतको भनाइ छ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा एम्बुलेन्स खरिदमा अनियमितता, स्पेसिफिकेसनमै चलखेल


Leave a Reply

Your email address will not be published.