जहाँ नर्सले गर्छन् अपरेसन, विदेशी डाक्टर कुर्दाकुर्दै गुम्छ दृष्टि‌‌…

सियरालियोनकाे आँखा शिविर अनुभव

जहाँ नर्सले गर्छन् अपरेसन, विदेशी डाक्टर कुर्दाकुर्दै गुम्छ दृष्टि‌‌…

हामीले बेला–बेला नेपालका दुर्गम भेगका अतिरिक्त आर्थिक अवस्था कमजोर भएका मुलुकमा आँखा शिविर सञ्चालन गर्दै आएका छौं।

मैले स्वयंसेवाका रुपमा त्यसरी शिविरहरु चलाउने गरेको छु भन्ने थाहा पाइरहेका एक अमेरिकी साथीले अफ्रिकी मुलुक सियरालियोनमा आँखा शिविर सञ्चालन गर्न आग्रह गरे। उनी सियरालियोनकै नागरिक थिए। उनले भने– मेरो देशमा केही गरौं, तिमी आउ, म पनि अमेरिकाबाट आउछु। त्यहाँ मोतिविन्दु या अरु रोग लागेर आँखा नदेख्नेहरु धेरै छन्। विदेशी डाक्टर आउला र अपरेशन गरुँला भनेर कुर्ने धेरै छन्।’

साथीको यो कुराले मलाई भित्रैसम्म छोयो। त्यहाँ आँखाका डाक्टर जम्मा ६ जना छन्, त्यसमा पनि अपरेशन गर्ने २ जनामात्रै भन्ने पनि सुनेँ।

अनि म ग्लोबल आँखा अस्पतालको टोलीसहित गत माघकाे अन्तिम साता सियरालियोन हिँडे। हामी बो सहरमा ४ दिने निःशुल्क आँखा शिविर सञ्चालन गर्न पुगेका थियौं। अमेरिकाबाट तीन जना साथीहरु आएका थिए। हाम्रो टोलीमा स्थानीय स्वास्थ्यकर्मीलाई पनि संलग्न गराइयो। शिविरलाई सर्जिकल आइ एक्सपीडीसन, लोमा लिण्डा युनिभर्सिटी, हिमालयन क्याटार्‍याक्ट प्रोजेक्ट तथा सियरालियोनको स्वास्थ्य मन्त्रालयको सहकार्य भएको थियो।

आँखाका डाक्टरको अभावमा प्यारामेडिक्स लाई पनि अपरेशन गर्ने छुट दिएको रहेछ त्यहाँको सरकारले। उनीहरुलाई पनि संलग्न गराएर मेरो नेतृत्वमा २ सय जनाको निःशुल्क मोतिविन्दुको अपरेशन गर्‍यौं।

यस अतिरिक्त हामीले स्थानीय डाक्टर तथा स्वास्थ्यकर्मीलाई पनि सीप हस्तान्तरण गर्ने काम गर्‍यौं। हामीले १५ वर्षअघि प्रयोग गरेको विधिबाट उनीहरुले अपरेशन गर्दा रहेछन् । हामीले पछिल्लो प्रविधिको प्रयोगबारे पनि सिकायौं, तालिम दियौं। किनभने आँखाको अपरेशन गर्ने विभिन्न तरिका छन्। त्यसमध्ये परिस्कृत हुँदै आएका सुरक्षित विधिहरु छन्। नयाँ प्रविधिबाट उनीहरुलाई जानकारी नभएको पाइयो।

सियरालियोनमा मोतिविन्दुका कारण ५० हजार मानिस अन्धोपनको शिकार भएको तथ्यांक रहेछ। त्यहाँ प्रति दशहजार मानिसमा १.२ जना अन्धोपनबाट प्रभावित रहेछन्। त्यसको प्रमुख कारण मोतिविन्दु नै रहेछ। नेपालमा भने अलिक सुधारिएको अवस्था छ। यहाँ प्रति दशहजार जनामा ०.३ जना अन्धोपनबाट प्रभावित छन्।

त्यहाँ र यहाँको फरक के देखेँ भने नेपालमा नेपालमा आँखा धमिलो हुनेबित्तिकै अपरेशन गर्ने चलन छ। त्यहाँ सियरालियोनमा भने दुवै आँखा नदेख्ने र डोर्‍याएर हिड्नुपर्ने अवस्थामा मात्रै मानिसहरुले मोतिविन्दुको अपरेशन गर्दा रहेछन्। त्यो रहर नभई बाध्यता रहेछ। डाक्टरहरु छैन, अस्पताल पनि नजिक पहुँचमा छैन, जसले गर्दा धेरै समय कुर्नुपर्ने अवस्था रहेछ। अर्थात् अन्धोपन लिएर बस्नु मानिसको रहर नभएर बाध्यता रहेछ।

कोही विदेशी डाक्टर आउला र अपरेशन गरौंला भन्दाभन्दै आँखा नदेख्ने भइसक्दा रहेछन्। हामीले शिविर गरेको ठाउँमा १५ वर्षपछि त्यस्तो ठूलो शिविर आयोजना गरिएको रहेछ। नत्र भने त्यहाँ नर्सहरुले अपरेशन गर्दारहेछन्। नर्सहरुलाई निश्चित अवधिको तालिम दिएर सरकारले नै अपरेशन गर्ने स्वीकृति दिएको रहेछ। तर यो खासै प्रभावकारी छैन। केही अपवादबाहेक मानिसहरु नर्सले गर्ने अपरेशनप्रति विश्वास गर्दारहेनछन्।

त्यस्ता मानिसहरु विदेशी डाक्टरलाई कुर्दा रहेछन्। तर विदेशी डाक्टर पुग्ने कहिले हो कहिले?

छिमेकी मुलुकबाट समेत डाक्टर आए, डाक्टरलाई ढोग्ने पनि भए

हामीले एक ठाउँमा बेस बनाएर अपरेशन गरेका थियौं। हामी पुग्नुअघि नै अपरेशन गर्ने मानिसहरु छानिएका थिए। ६–७ घण्टाको दुरीमा पर्ने छिमेकी मुलुक लाइबेरिया, गिनीदेखि समेत मानिसहरु मानिसहरु आएका थिए।

मोतिविन्दुको अन्तिम अवस्था छ भने कहिलेकाही अपरेशन सफल नहुन पनि सक्छ। त्यस्ता खालका मानिसहरु पनि शिविरमा आएका थिए। हाम्रो देशमा दुवै आँखा नदेख्ने मानिसहरु आजकाल निकै कम हुन्छन्। तर त्यहाँ दुवै आँखा नदेख्ने अवस्था सामान्यजस्तै देखिएको थियो। अधिकांशलाई सन्तानले डोर्‍याएर ल्याएका देखिएका थिए। नेपालमा भने दुवै आँखा नदेख्ने अवस्था निकै कममात्र पाइन्छ आजकाल। यो भिन्नता पाएँ मैले। बाँकी कुरा चेतना, शिक्षा र अन्धोपनको अवधारणा उस्तै रहेछ।

प्रायः मानिसले अंग्रेजी बोल्ने, बुझ्ने भएकाले पनि हामीलाई सजिलो भयो। यसैले अपरेशनका क्रममा र पछि पनि उनीहरुसँग यथेष्ट रुपमा अन्तक्र्रिया गर्ने अवसर पाइयो। उनीहरु तत्कालै प्रतिक्रिया जनाउने खालका रहेछन्। अपरेशनपछि आँखा देखेपछि डाक्टरलाई धन्यवाद दिने, ढोग्ने गरेको पाएँ।

सीप हस्तान्तरण

अपरेशन गरेर राजधानी फ्रि टाउन फर्कियौं। राजधानी सहरको मेडिकल कलेजमा पनि आँखाको प्लास्टिक सर्जरी गर्न धेरै बिरामीहरु लाइनमा हुँदा रहेछन्। डाक्टरहरु खासै थिएनन्। हामीले स्थानीय डाक्टर तथा स्वास्थ्यकर्मीका लागि तीन दिन गोष्ठी गरेर प्लास्टिक सर्जरी गर्ने तरिका सिकायौं। तालिमपछि उनीहरुले सामान्य खालका अपरेसन गर्न सक्ने बनायौं।

तर यो दीर्घकालीन समाधान थिएन। हामी फर्केपछि बिरामीहरुको उपचार कसरी निरन्तर गर्ने भन्ने थियो।

अहिलेसम्म सरकारले स्वास्थ्य चौकीका नर्सहरुलाई तालिम दिएर तिनैलाई क्याटार्‍याक्ट सर्जनको रुपमा काम गर्ने स्वीकृति दिएको रहेछ। त्यस्ता नर्समातहत अरु चार–पाँच जना कर्मचारी हुँदा रहेछन्। सियरालियोनमा छुट्टै आँखा अस्पताल छैन। जनरल अस्पताल परिसरमा आँखा विभाग राखेर उपचार गरिएको हुँदोरहेछ। तर मानिसहरुले नर्सलाई खासै विश्वास गर्दा रहेनछन्।

त्यहाँ सिबीएम भन्ने संस्थाले आँखासम्बन्धी कार्यक्रम चलाइरहेको छ। त्यही सिबीएमले नेपालको लहान आँखा अस्पताल चलाइरहेको छ। तर डाक्टरको कमीले सिबीएमले चाहेजसरी कार्यक्रम चलाउन सकेको रहेनछ। ‘पटके’ अर्थात कहिलेकाँही जानेले तपाईंका समस्या दीर्घकालीन रुपमा समाधान हुँदैन भनेर आएका छौं। दीर्घकालीन योजना बनाउनुस्, हामी सहयो गर्न तयार छौं, डाक्टरहरुलाई तालिम दिने संस्था खोल्नुस् भनेका छौं। सरकारले चाह्यो भने सक्छ।

अरु देशको अनुभव

मेरो विदेशमा स्वयंसेवा यात्रा सन् २०१५ देखि सुरु भएको हो। त्यतिबेला म पपुआ न्युगिनी गएको थिएँ। अस्ट्रेलियानजिकैको देश भन्नेबित्तिकै विकसित होला भन्ने लाग्न सक्छ। तर त्यो निकै पिछडिएको मुलुक हो।

पपुआ न्युगिनी मान्छेलाई नै खाने ठाउँ हो भन्ने सुनेका थियौं। त्यसैले म डराईडराई गएँ। एक्लै गएको थिएँ। अमेरिकाबाट प्लास्टिक सर्जन साथी पनि पुगेका थिए।

त्यहाँ एउटा गाउँभरि नै अनौठो खालको आँखाको रोग रहेछ–ढकनी सानो हुँदै जाने। हामीले ७६ जनाको अपरेशन गर्‍यौं, साथमा यसबारे अनुसन्धान पनि। बिरामीको डीएनए परीक्षण गर्‍यौं, मासु जाँच गर्‍यौं। तर त्यस्तो किन भयो भन्नेबारे अहिलेसम्म जवाफ पाएका छैनौं हामीले।

यसबाहेक इथियोपिया, घाना, इण्डोनेसियामा पपिन गएर अपरेशन गरेको छु।

इण्डोनेसियामा खासगरी तालिम दिन गएका थियौं। लाइभ अपरेशन गर्‍यौं। त्यहाँ प्लास्टिक सर्जन पर्याप्त छन्। तर गुणस्तरीय चिकित्सक अभाव छ। जनसंख्या धेरै भएकाले अनुपातमा डाक्टर निकै कम छन्। अपरेशन गर्दैगर्दा सहभागीले प्रश्न सोध्ने र त्यसको जवाफ दिनुपर्ने थियो। एक घण्टाको अपरेशन गर्दा २० जनाको प्रश्नको जवाफ दिनुपथ्र्यो।

इथोपिया र घानामा पनि मोतिविन्दुको समस्या धेरै रहेको पाएको थिएँ। हामीले सात दिनमा १६ सय जनाको अपरेशन गर्‍यैं। इथोपियामा पनि नर्सहरुले अपरशेन गर्थे। तर उनीहरुले गर्ने अपरेशन हाम्रोभन्दा कम थिएन।

यसअतिरिक्त नेपालमा हामीले बेला–बेलामा दुर्गम भेगमा आँखा शिविर सञ्चालन गर्ने गरेका छौं। केही समयअघि पनि ग्लोबल अस्पतालबाट हामीले खोटाङमा गएर २ सय जनाको निःशुल्क अपरेशन गर्‍यौं।

प्रस्तुतिः अमृत दाहाल

(डा लिम्बु क्याटार्‍याक्ट, अप्थाल्मिक प्लास्टिक एण्ड रिकन्स्ट्रक्टिभ सर्जन हुन्। लामो समय तिलगंगा आँखा अस्पतालमा कार्यरत डा लिम्बुले इटहरीमा ग्लोबल आइ हस्पीटल सञ्चालनमा ल्याएका छन् भने काठमाडौंमा पनि ग्लोबल आँखा केन्द्रमार्फत् सेवा दिँदै आएका छन्।)


Leave a Reply

Your email address will not be published.